निर्मल आग्रह

१.

हजारौं सालको तिर्खा
मेरो घाँटीमा आएर टक्क अड़केको छ

असंख्य अतृप्त आत्माको मुक्तिको गीत
मेरो कानछेउ बजिरहेको छ

आँखा खोलिहेर्छु जङ्गलघारी मात्र देख्छु

बीच जङ्गलघारीमा म एक्लै ।

२.

फेरि ऐंठन पारेको छ मध्यरात्रीको
निर्मम पहरहरूले
र फेरि त्यही हजार वर्षको पुस्तैनी तिर्ख़ाले
सुकेको छ घाँटी
कण्ठमा उम्रेको छ एउटा प्राचीन गीत

सुतेका खुट्टाहरू सँगसँगै जागिरहेछ
संसारको सबभन्दा लामा यात्राहरू

एकचोटि फेरि मन आतुरिरहेछ
त्यो आदिम गीतको ध्वनि सुन्न
जो कि
संसारको पहिलो पवित्र गीत हो
जस्ले नजिकबाट छुनसक्छ
संसारको मायालु हृदयको
नवजात धुकधुकीलाई
र उद्धार गर्नसक्छ हजारौं आँखाहरूलाई
जो यस बेला
संसारको बृहत्तम र प्राचीन म्युजिम घरहरूभित्र
छटपटिरहेका छन्
मुक्तिको उच्छवासको लागि।

 

३.

खोजीले नै हो ऊ
अँध्यारोको चेपचाप, कुना खन्दै
आँखाको उज्यालोसम्म पुग्न सकेको

त्यसले नै हो आफ्नै तिर्खाले पानीलाई छयाप्प भिजाएको
गिलो कपड़ाले घामलाई बेस्मारी निचोरेको
झरीको थोपा-थोपा बटुलेर बादल बनाएको
दृश्यहरूबाट एकेक जोड़ेर आँखा खोपेको
सम्वेदनाहरूबाट शूल अझ्झ धारिलो पारेको
यहाँसम्म कि आगोको मुश्लोबाट सलाईको तिली बनाउने पनि त्यही हो
त्यो जो अनुहारहीन छ
त्यसको शरीर हावाको आँशुले बनेको छ
त्यसको हाँसोजस्तो रहस्यपूर्ण अरु केही छैन संसारमा
त्यो जस्ले हरेक पुरानाहरूबाट नयाँ
र नयाँहरूबाट पुराना बनाउँछ
त्यो सन्तानदेखि एक्लो थियो एक्लै छ
एक्लो नै रहनेछ
तर जाग्रत ! सचेत ! सक्रिय !
मध्य रातको सघन अँध्यारोमा पनि त्यो जूनभन्दा चम्किलो छ ।
त्यसले आँखा खोल्छ र सारा संसार एक नजरको दायराभित्र कुचुक्क परिदिन्छ।

केही न लुक्न सक्छ न त कोही भाग्न सक्छ
त्यस्को धारिला नजरबाट
त्यो जहाँ तहाँ छ त्यो

को होला त्यो ?
त्यो जस्तो रहस्यपूर्ण अरु केही छैन
महामानवको अवतार या अरु केही ?