१
कल्पनाको उडान यथावत चलिरहोस्
कल्पना उन्मुक्त उडिरहेको राम्रो ।
नत्र मानिसले कहिल्यै पहिल्याउन नसकेका
अँध्यारोका जराहरू काट्न
धारिला बनचराहरू बोकेर जङ्गल को पसने ?
सपना निर्दिष्ट बढिरहेको राम्रो
नत्र मानिसले कहिले फेला पार्न नसकेका
विपनाले बुनेका इन्द्रजालका काला अध्यायहरु
च्यात-च्युत पार्न
तिखातिखा नंग्राहरु बोकेर एलोरामयी गुफाभित्र
को पस्ने ?
विचारको आगो निख्लाम बलिरहेको राम्रो
नत्र अन्धो परम्पराका ईश्वरहरुले बसालेका
काला साम्राज्य खाक पार्न
चट्टान जस्तो उद्देश्य लिएर मैदानमा
को ओर्लने ?
२.
आँखाहरु मात्तिनु छोडेका छैनन्
आँखाहरु उत्ताउला हुन छोडेका छैनन्
आँखाहरूले
अहँ अराजक प्रवृति ठ्याक्कै त्याग्न सकेका छैनन्
यस्कारण पनि जारी छ सन्तानदेखि चलिआएको यो महासंग्राम
न्याय बनाम अन्याय
सपना बनाम विपना
प्रेम बनाम अहंकार
र
धर्म बनाम अधर्मको
फरक यति हो
एउटा आँखाले आँखै-आँखाहरूको घर बनाउँदैछ, अर्कोतिर हजारौं आँखाहरु मिलेर एउटै आँखाको घर बनाउँदै छन् ।
३.
कुरा एउटै हो
अर्थात तिमीले पहिरेको त्यो ड्रेसकोड
तिमीले ओडेको छालाको त्यो अनुहार
र
तिमीले बोल्दै गरेको भाषा
जम्मै उतार
एउटा केही नराखि नाङ्गो पार
आफूलाई
र
त्यसपछि ओर्ल मैदानमा
एउटा अन्तिम निर्णायक युद्ध लड्न
त्यसपछि मात्र यो संसार भयमुक्त हुनेछ
त्यसपछि मात्र यो संसार दासमुक्त हुनेछ
त्यसपछि मात्र यो संसार रोगमुक्त हुनेछ
किनभने पहिलोचोटि
जुन दिन हो तिमीले सभ्य हुनुको स्वाङमा एउटा भाषा बोल्यौ
एउटा अचिन्हित मुखौटा पहिरियौ
र उद्वेगको ड्रेसकोडले आफूलाई चिनाउने कोसिस् गर्यौ
त्यही दिन हो शुरू भएको तिमीले गुमाउनु पर्ने सिलसिला
र अहिले आएर सर्वस्व
यहाँसम्म कि तिमीले बाँच्दै गरेको जीवन समेत तिमीले गुमायौ
अर्थात तिमीले आफूले
आफूलाई सम्म गुमायौ
यसरी नै हो हराउँदै गएको उज्यालो संसारबाट
र हराउँदै गएको हो मानिस त्यही
अँध्यारोभित्र
अब या त अँध्यारो अँध्यारोकै मात्र डर छ
अब या त उज्यालो उज्यालोकै मात्र आशा छ।
डुवर्स, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।