१४.
साँपलाई हेर्नुस्
साँप साँप जस्तै छ
कुकुर कुकुर जस्तै छ
फूल फूल जस्तै छ
पुतली पुतली जस्तै छ
चरी चरी जस्तै छ
माछा माछा जस्तै छ

सभ्यताको निर्माण क्रममा
जो बाँदर रहिगए
बाँदर नै छन्

तर मानिसले किन
मानिस बन्न जानेन आजसम्म ?

१५.
कविता लेख्न पर्दा-
पहिलो कविले आकाशबाट शब्द टिप्छन्
दोस्रो कविले धूलोबाट
तेस्रो कविले माटोबाट !

पहिले निर्वात हुन भन्नु गाह्रो
तिमी ताकीबस्नू
तर्कका तहमा साँचो देख्नेछौ

दोस्रो गुलाब हुन्
नाकमा गन्ध आइरहेछ

तेस्रो नदी हुन्
जस्को किनारमा एउटा डुङ्गा
घोप्टो लडी राखेको छ ।

 

१६.
एक दिन बुद्धले सपनामा आएर
मलाई सोधे
के चाहियो तिम्लाई
स्वाधीनता या मोक्ष ?

मैले भने स्वाधीनता !

मोक्ष के गर्नु मैले
त्यस्मा जीवन कहाँ ??

१७.
गुङ्गाहरूको गाउँमा एकदिन
अचानक एउटालाई बोल्न आयो
त्यस्ले जोडसित कराउँदै भन्यो
म त्यही गुङ्गा हूँ
अब बोल्न सक्ने भएँ
र तिमीहरूले बोल्न नसकेका कुराहरू
म बताउनेछु !

एकैछिनमा गाउँका गुङ्गाहरु थुप्रिए
सप्पैले टाउका हल्लाउँदै भने
होइन, तिमी त बोल्न सक्दारहेछौ
तिमी अब हामीमध्ये रहेनौ !

साँझको बेला गाउँका मुखिया लगायत अन्यान्य प्रमुखहरू मिलेर निर्णय लिइयो- भोलि मिरमिर्रेको बेला नै त्यसलाई गाउँ निकाला गरिनेछ।

सिलगुडी, भारत