१.
उदास भन्दा पनि उदास
र बेरङ मौसमबाट पनि सबभन्दा
चहकिलो रङ सजाउन सक्ने
कयौँ दिनहरूदेखि सुकेको फूल
र डालामा पनि ओ हेनरी’को कलात्मकताले
जीवन भर्न सक्ने
जीवनको कठिन भन्दा कठिन
र जटिल समयमा पनि खुशीको
एकेक मलिक्युल जुटाउन सक्ने
मेरी उनी !
२.
वेदनाको नुनिलो समुद्र
जस्माथि कुनै पुल छैन
तिमी एउटा टापु भएर आज पनि प्रतिक्षा गरिरहेछौ !
वा पर्खिरहेछौ !
कहिलेदेखिका हुन् तिम्रा प्रतिक्षाहरू
आज पनि यथावतै छन्
यसै बेला, म त्यही समुद्रको किनारमा
अढेस लागेर
लेखिरहेछु जीवनको अन्तिम
कविता !!
३.
कुनै एउटा साँझ हुने गर्थ्यो
एउटा पर्खाइ हुने गर्थ्यो
एउटा स्थायी बाटो हुने गर्थ्यो
र एउटा कुर्सीले
मेरो बाटो जोतिरहेको हुने गर्थ्यो
एउटा रुख हुने गर्थ्यो
त्यस्को शीतल छाँयामुनि
एक जोडा आँखाहरू उभ्भिरहेको हुन्थ्यो
अहिले सब बिदाजस्तै सामेल छ यो जिन्दगीमा !
४.
दालमा नून जति चाहिएको हुन्छ त्यति नै
एउटा स्यानो घरलाई जत्रो आँगन
चाहिएको हुन्छ त्यति नै
सन्नाटालाई रसिल बनाउन जति सरगम
चाहिएको हुन्छ त्यति नै
सुन्दरतामा जति केही विनम्रता चाहिएको हुन्छ
त्यति नै
मलाई
तिम्रो केही
फुर्सद चाहिएको छ !
५.
मभित्र
कयौँ दिनहरूको उज्यालो
निलेर गुजुल्टिएको
एउटा रात छ !
र बाहिर कयौँ रातहरूको अँध्यारो
पालेर बसेको एउटा
दिन छ !
६.
तिमी जब मुस्कुराउँछ्यौ
म धेरै राम्रो महसूस गर्छु
यो अलग कुरा हो प्रिय कि
तिम्रो मुस्कानसित
मेरो कमिजको रङ मिल्छ !
अचेल सारा हप्ता दिन म त्यही कमिज
पहिरन्छु
तिम्रो मुस्कानको रङजस्तै
अचेल म तिम्रो मुस्कान ओढी हिँड्छु प्रिये !
७.
आकासभन्दा अधिक आभार व्यक्त
गर्न चाहन्छु, म त्यो धरतीलाई
जस्को हुनु मात्रले सुन्दर छ
यो आकाशको कल्पना !
समुद्रभन्दा धेर धन्यवादी हुन चाहन्छु
ती नदीहरूप्रति
जस्का पानी छोएर नै पानीजस्तै
भएको हुँ !
ईश्वरभन्दा पनि धेर म
नतमस्तक हुन चाहन्छु
ती स्त्रीप्रति जस्ले मेरा हरेक
कमजोरीहरू स्वीकार गरिदिएर
बलियो गरी उभ्भिने साहस मलाई
फिर्ता गरिदिए!
केवल तिमी मात्र एक छ्यौ संसारमा
जस्ले मलाई कवितापश्चात अत्यधिक
चकित पार्ने गर्छौ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ असार २०८३, शनिबार 










