१.

तिम्रो घर मेरो भाषाको घेरोदेखि केही बाहिर पर्छ
तर म मेरो भाषाभित्र देख्न सक्छु
तिम्रो घरको आँगनमा फुलेका बैगनी रङका
फूलहरू
तिनै रङहरू देखेर तिम्लाई देखेको महसूस गर्छु

निर्मल आग्रह

जबकि यो आफैँमा
कठिन
र उदास पार्ने खाल्को छ

मेरा निज सन्नाटाभित्र सुन्छु तिम्रा घरको
सोर
कुनै कुनै बेला हुन्छ मेरो घरले सन्देह भरमा
सोध्छ कोही आयो कि घरमा ?

सन्नाटाभित्र म एक्लो मान्छे
एकापट्टि एउटा दैलो खोल्छु
दैलो खुल्छ अर्कैपट्टि

त्यतिबेलै नाकमा ठोक्किन्छ एउटा अजीब गन्ध
र सोच्छु
कसैलाई एउटा भाषादेखि अर्को भाषामा तानेर ल्याउनु कस्तो हुन्छ होला !

 

२.

भेटनुमा छुट्टिनुको कति आशङ्काहरू हुन्छन्
नभेटिनु हुँदो त कयौं छुट्टिनुहरू जोग्गिन्थे होला

काश ! भेट्नु र छुट्टिनुहरू पनि चिट्ठीहरूमा नै सीमित हुँदो त कति भाषाहरू जोग्गिन्थे होला !

यसैगरी जोग्गिन्थे संसारभरि लाखौँ लाख सुन्ने र भन्ने कुराहरू
जोग्गिन्थे असंख्य अँगालो र आलिङ्गनका बेहद रोचक किस्साहरू !
रहिजान्थ्यो दुनियाँमा
गन्ध, सुवासना र स्पर्शहरू मात्र ।

प्रेम कागजको टुक्रामा सीमित रहिजान्थ्यो ।

३.

त्यो भाषा नै थियो बजारको रङ चढेको
जस्को मैले सहज प्रतिकार गरेँ

त्यही भाषादेखि टाढिनलाई नै हो मैले
दिशा बदल्न चाहे
दिशा नाघ्न चाहे

मैले जब दुर्बिनले भाषाको अनुहारमा हेरेँ
एउटा बुलेटभन्दा पनि भाषा खतरनाक हुनसक्छ
मैले थाहा पाएँ

मरेका मानिसको भाषा खिएर जान्छ
सबभन्दा
खतरनाक सिकार भाषाको आडमा गरिन्छ

यो पनि मैले यी दिनहरूमा जान्न सकेँ !

४.

एकान्त-
जहाँ कविता गद्यपाठमा रुपान्तरण हुन्छ औ कथा
काव्यपाठमा

भीडको चोटको मलम एकान्त नै हुन्छ।

भीडको तिलस्म सदैव निर्मम र क्रूर हुन्छ
तर एकान्तको वैध स्वरको सामुन्ने त्यो
निरस्त हुन्छ

एकान्त अवचेतन मस्तिष्कको त्यो सक्रिय हिस्सा हो
जो या त जोडिँदै गरेको पहाडको ठोस देह हो
या त भर्खरै जाग्दै गरेको नदी या श्वास लिइरहेको एउटा सागर

हतार गर्नेहरूको त्यहाँ कुनै ठाउँ हुँदैन

किनभने
त्यहाँ कतिबेला सृजना आगो हुन्छ र तापमान बढ्छ
कतिबेला पानी हुन्छ र तापमान घट्छ
कस्सैलाई थाहा हुँदैन।

एकान्त त्यो स्थिति पनि हो जसले वाक र विचार दुवैलाई अतिक्रमण गर्न सक्छ

कानलाई सबभन्दा कर्णप्रिय लागेको गीत पनि एकान्त हो

वास्तवमा एकान्त मौनको एउटा अर्को प्रतिरूप हो र मौन सृजनाको अनन्त गर्भ

●●

सिलगड़ी, भारत