
१
केटाकेटीहरुमा दुनियाँ जहानको प्यास हुन्छ ।
संसार जान्ने
जीवन जिउने
पहाड चढ्ने
झरनामा नुहाउने
जून छुने
नदी तर्ने
सागर पिउने
केटाकेटीहरुमा हरेक बर्जित फल चाख्ने
हरेक ईश्वरलाई ललकार्ने प्यास हुन्छ ।
केटाकेटीहरुलाई नसोच्नु कहिले
नादान बच्चा जस्तै
तिनीहरुमा जिन्दगीलाई अथाह प्यार गर्ने प्यास हुन्छ ।
तिनीहरु हजारौँ असम्भवहरुमा पनि सम्भव हुन्छन् ।
२
के तपाईँले कहिल्यै देख्नु भएको छ
स-साना केटाकेटीहरुलाई
आँधीलाई पनि खुल्ला आँखाले हेरिरहेको ?
के तपाईँले देख्नु भएको छ यी केटाकेटीहरुलाई अलिखित शब्दहरु पनि चुपचाप पढ्दै गरेको ?
केटाकेटीहरुलाई सुन्नु भनेको
सुन्दर भविष्यको अनुभूत गर्नु हो ।
केटाकेटीहरु भन्छन्
फूलका गाछ अग्लो हुनु
फलहरूको होचा
अम्बक केरी मेवाहरूको रङ्ग अर्कै हुनु ।
तिनीहरु अझ थप भन्छन्
मटर हरियो होइन रातो हुनु
गाजर पहेँलो हुनु धनियाँ नीलो र
भेन्डि सातरङ्गी हुनु ।
कुनै पनि बस्तु वा चीजहरुलाई यथावत रुपमा स्वीकार नगर्नु
भविष्यमा बदलावको सूचक हुन
एकदिन तिनीहरूको मस्तिष्कबाट यी सब
हाम्रा आँखा सामुन्ने उभिनेछन् ।
यसरी नै एकदिन आउनेछ
जब तिनीहरुले अस्वीकार गर्ने छन्
जातपात र परम्पराहरु
ठूलो र सानाको भेदभाव
स्त्री र पुरुष हुनुको परिभाषाहरु
आज सम्पूर्ण संसारमाथि हकडग चलाउने
आफ्नो अधिपत्य जताउनेहरु बितेर जानेछन् ।
तिनीहरु बनाउनेछन नयाँ संसार
र तयार पार्नेछन नयाँ दस्तावेजहरु
कस्को भागमा कति ? वा कस्लाई कहाँ ?
हरेक कुरा तय गर्नेछन तिनीहरु ।
३
दुनियाँभरका माग र मुद्दाहरूदेखि
कोसौँ टाढा हुन्छ दुनियाँ
केटाकेटीहरूको ।
यसैले तिनीहरूको समस्यामाथि संसारको कुनै पनि संसद भवनमा चर्चा गरिदैन
जबकि आज देशभर बाल अपराधहरु खुल्लम खुल्ला भैरहेका छन् ।
केटाकेटीहरु कति सुन्दर हुन्छन भने
तिनीहरु क्यालेन्डर हेर्न त जान्दछन्
तर दिन गन्ती गर्दै बस्न सक्दैनन् ।
तिनीहरुलाई जतिबेला पनि भोक लागिरहन्छ
जबकि पेट भने मुठ्ठिभर पनि हुँदैन
कागजका रङ्गीन चित्रहरुले तिनीहरुलाई आकर्षित गर्छ
आफ्नै नाक कान दाँत पेट दुखिरहेको कुरा पनि ठीक सङ्ग भन्न नसक्ने केटाकेटीहरुले
खुब चिनेका हुन्छन प्रेम
र दयाको रङ्गहरु !
नयाँ साथीहरुसीत छिट्टो घुलमिल हुनु
ठूलाहरुसित सदाचारसाथ बोल्नु
झरी परिरहेको बेला पानीका थोपाहरूलाई नियाली
बस्नु
खेल्नु कुदनु फूलसित बात मार्नु आकाशमा ताराहरु चमचम चम्किरहेको देखेर बेकारण खुसी हुनु
र घरमा पाहुना पात आएको समय चुपो
लागेर घरको एक कुनामा बस्नु ।
यी केटाकेटीहरु पेटभन्दा धेर स्नेह र प्रेमको भोका हुन्छन् ।
निर्मल आग्रह ,सिलगढी ,भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 










