“मनको ताना टिपेर

वनको गानालाई

भावनाको त्यान्त्रोमा उन्दै

निराशलाई आशा जगाउन

शब्दको माला बनाउने काम

कहाँ सजिलो छ र ?”

जगतको विराट लीला,कतै चमत्कारपूर्ण अनुरञ्जन,कुनै अर्थबोध, कुनै कम आस्वाद, सन्तुष्टि, मनोबिनोद, व्यङ्ग्य, लालित्य अनेक रुपका शाखा-विशाखामा चलेका छन स्रष्टा र सर्जकका मन ,मस्तिष्क र कलम समाउने हातहरू।

वैदिक कालदेखिको हो लेखनको क्रम। शत-शास्त्र यसको ज्वलन्त साक्षी छ । लेख्य रूपमा विभिन्न विधागत ग्रन्थ र लेखोटहरू प्रचुर मात्रामा भेटिन्छन्। कहीँ मनलाई प्रमोदित गर्ने भाव,कतै विचारको उच्च शक्ति । कहीँ चित्तवृत्तिको  सुन्दर प्रतिबिम्ब ।भेटिन्छन् पठनीय र दर्शनीय  उदवोधहरू, दर्शन, चिन्तन,जीवनोपयोगी सुक्ति-उक्ति र अन्तर मनबाट निस्केका मनलाई कोमल र प्रमुदित बनाउने विनयी भावका तरङ्गहरू । अल्पविद्याको अल्पचेतले कहाँ गर्न  सक्छु र म परिभाषा ।

लेखन कौशल र लेखन कला मौलिकता , खोज, नवीनता, आवृत्ति, पुनरावृत्ति सत्यता,तथ्यता कल्पनाशीलता आदिको सूक्ष्म र समष्टिगत विश्लेषणात्मक अवस्था हो लेखन कला ।

ऋषभदेव घिमिरे

मानव सभ्यताको विकाससँगै विकसित हुँदै गएको हो हाम्रो भाषा, साहित्य, कला र संस्कृति । मानिसप्राणी मध्ये सर्वश्रेष्ठ हुनुको पछाडि भाषा, साहित्य, कला, संस्कृति, संस्कार, खान-पान, भेषभूषा, श्रृङ्गार आदिको भूमिका विशेष भएका कारणले नै मानिस प्राणीहरूमा पनि उच्च कोटिमा पुग्न सक्यो ।

शिक्षा,चेतना,सुसंस्कारबाट मानिसले युग, कल्प र सभ्यता निर्माणका लागि थुप्रै गुण लगाएका छन् । यी गुणको आधार भनेको हाम्रो पूर्वीय ग्रन्थ,पुराण र साहित्य नै हुन्। त्यस्ता गहन ग्रन्थ, दर्शन र साहित्य सिर्जना गर्ने युग पुरुष र युग बिदूषीका हामी तमाम सन्ततिहरू अहिले यो अवनीतलमा विचरण गरिरहेका छौँ। विचरण कै क्रममा हामी पूर्वजहरूका देन,योगदान र गुणप्रति विभ्रमित पनि बन्दै गइरहेका छौँ।

उद्गम र आधारबिना केही कुराको पनि स्थायीत्व हुँदैन। प्रस्तुत निबन्धमा सभ्यताको कुरा भन्दा पनि म भाषा,साहित्य,कला र लेखन कौशलको बारे केही भावनाहरू प्रतिबिम्बित गर्ने चेष्टामा छु। प्रकृतिका सबै चराचरको स्वभावसिद्ध चेतना छ, कतिका भाषा छ, शिक्षा छ, चराले गाउने चिरबिर र गाईबस्तुले डुक्रने भाषामा आनकाैँ फरक छ ।त्यो हामी अर्थात् मानिसले बुझ्न सक्दैनौं । उनीहरूको समुदायले स्वभावले, भावले र आवाजले  बुझ्दछन्। केही अपवाद बाहेक हामी त्यसमा अनभिज्ञ नै छौँ । मानिसका बीचमा भावना आदानप्रदान गर्न भाषा चाहियो जो आफ्नो समुदायका बीच बुझियोस्। त्यसले भावको सम्प्रेषण गरोस् एकअर्काका बीच सन्देश प्रवाह होस् । यसैका लागि भाषाको जरुरी भयो ।भाषा बन्न थाले र विकसित हुँदै पनि जान थाल्यो ।

हामी पहिलो भाषा, शिक्षा र उच्च साहित्यको जगमा छौँ ।

भाषा विचारको वस्त्र र समाजको आभूषण हो। भाषाले पारस्परिक संवाद मात्र गर्दैनन् ।भाषाले वाकपटुता र वाकप्रतिक्रयाको अतिरिक्त शिक्षा,संस्कार,संस्कृति र साहित्यमा भाषा समृद्धि हुँदै मुखरित भएको हुन्छ । यसैले हामी भाषा र साहित्यमा समृद्ध छौँ। मैले यसो भनिरहँदा कति पयलाई लाग्दो हो। नेपाली भाषा काम चलाउ मात्र हो। अन्य देशी भाषा पो उत्कृष्ट भन्ने। त्यो मनोगत भ्रम हो । देशी भाषाको अनादर नगरी मौलिक भाषाको सम्मान र राष्ट्र भाषा नेपालीको उच्च सम्मानभित्र मात्र मौलाउन सक्छन् हाम्रा तमाम साहित्य ।

भाषा जरा हो। शिक्षा फेद र साहित्य तिनका सुन्दर शाखा, हाँगा, लहरा, पात, फूल र फल। यिनै पृष्ठभूमिबाट हामीले बोली साटेका छौँ ।लेखक, साहित्यकार, जागिरे, विद्यार्थी, सम्पादक, समालोचक आदिका भूमिकामा खाई खेली गरेका छौँ भने यही भाषाको बुई चढेर तिता-मिठा, झर्रा-मसिना गाली गर्न समेत खप्पिस भइसकेका छाैँ । अहिले पनि  मै हूँ भन्छन्। अझ जनैको साटो “ल्यापटप” भिरी हिँड्ने कतिपय घुम्ती शिक्षक र पत्रकारबन्धु त कसैलाई गन्दै गन्दैनन्। एक्लै दौडमा आफैँ पहिला भने झैँ लाग्छ उनीहरूलाई।

जे भने पनि जसो गरे पनि हाम्रो भाषा, शिक्षा, साहित्य र संस्कृतिको आधारशिला भनेको यज्ञ बल नै हो । यज्ञका निमित्त विधि, विधान, पद्धति, मन्त्र, कर्ता, होता,आचार्यलगायतका उपक्रमहरू आवश्यक हुन्छन् । प्रारम्भ मै रेखी हालेर, सर्वतोभद्र तथा अन्य मंगल सूचक वेदी निर्माण गरेर अनुष्ठानको आयोजना गरिने प्रचलन सदियौंदेखि छ। लेख्न,पढ्न पुर्खा जान्दैनथे भने रेखो कसरी हाले ? ग्रहअनुसारको रङ भरेर कसरी बनाए सुन्दर ग्रहशान्तिको यज्ञ मण्डप र कसरी लेखे गणितीय होरा चक्र ? अरू जान्दैनथे भनेर भन्नु अविचारणीय कुरा मात्र हुन्।

हरेक जात, वर्ण र परम्परा अनुरुपका आ-आफ्ना धर्म र संस्कृतिहरू छन् र हुन्छन् पनि । नमान्नु अलग कुरा हो । सनातन धर्मले त्यसलाई अज्ञान दोष भनेर भनी दिएता पनि कुल परम्पराअनुसार मानिआएका छैठी, न्वारन, छेवर,  चूडाकर्म ,जातकर्म, उपनयन, अक्षरारम्भ, निष्क्रमण, विवाह र कतिपयले त समापवर्तनमा समेत जाने र पुनरागमन भई दीक्षान्त लिने चलन अझै छ। यसरी दीक्षित भएका महापण्डितहरूले समेत कतिकय अवस्थामा भाषालाई, संस्कृतिलाई, साहित्यलाई दोषारोपण गरेर आफू विद्वान् अरु खराब। भाषा खत्तम, संस्कृति खत्तम भनेर भन्न किंमार्थ सुहाउँदैन । क्षणिक तुष्टिका लागि गालि सुहाउला तर आफ्ना कर्महरू तिनै मुन्धुमलगायतका अन्य शास्त्रीय विधिको आधारमा भएको धरातलीय अवस्थालाई बिर्सन सकिन्छ र ? साउँअक्षर सिक्ने क्रममा तिनै वर्णमाला,रञ्जना लिपी र अन्य मातृ भाषाका लिपी सिकेको हैन र ? सबैले बुझ्ने किसिमको गाली कै भाषा लेख्नका लागि उहीँ देवनागरी लिपीको प्रयोग गर्ने होइन र ? अंग्रेजी, फारसी, हिन्दी, हिब्रू आदि भाषा त पछि आएका न हुन् ।

हामीले हाम्रो भाषा र संस्कृतिप्रति गर्व गर्नु पर्दछ । हामीसँग यति धेरै तत्सम, तत्भव, आगन्तुक र पारिभाषिक शब्दहरू छन् । भाषा र संस्कृतिका हिसाबले हामी धनी छौँ ।

भाषाबिना शिक्षा हुँदैन, शिक्षाबिना संस्कृतिको सम्बर्द्धन हुँदैन, संस्कृतिको बहुपक्षीय अध्ययन, अनुसन्धान र विश्लेषणले साहित्यको श्रीवृद्धि हुन्छ । भाषा, शिक्षा, संस्कृति र साहित्य आपस्तका सहचक्र हुन् । उत्कृष्ट साहित्य थिएन, छैन र हुँदैन भन्ने दुर्बुद्धले के बुझ्नु जरुरी छ भने पूर्वजहरूले गाली लेखेनन्। सर्वजनीन र सार्वकालिक कुरा लेखेर छोडेका कारणले नै अहिले हामी त्यसैको अध्ययनले बोली बोल्न जान्ने भएका छौँ।

व्यास, भानुभक्त, लेखनाथ, लक्ष्मीप्रसाद र समकै दृष्टान्तहरू अहिले पनि जिउँदा र उम्दा छन् । गजाधर सोतीलाई गाली गरेको भएन भन्नेहरूले पनि लेखिरहेकै छन् पाँडेशैलीका गालीहरू। कहाँ फेरिएको छ र हाम्रो परिधि । फेरिएको केही छैन भन्दिनँ म । हाम्रा लेखन शैलीमा  केही प्रयोगहरू आए। नवीन चिन्तन थपिए । स्वच्छता र परिस्कृतवादी धारा र धारणाहरू विकसित भए। यी हाम्रा उपलब्धिहरू हुन् । थिएन, छैन र मैले गरे भन्नु एक हातले ताली पिटेर डङ्का पिटाए भनेर स्व:प्रचार गर्नु भनेको “क्षणे पूण्यम् मर्त्य लोकं विसन्ति” भने जस्तै हो।

लेखकीय भाषा कौशल भाव र विचारको समायोजन हो । जो कल्पनाशक्ति र कलात्मक प्रस्तुतिले लेखन शैली सुलेख्य बन्दछ भन्ने लाग्दछ। सुन्दर सिर्जनाका लागि थुप्रै आत्मनिष्ठ र  बस्तुनिष्ठ संरचनाको आवश्यकता हुन्छ । परस्पर वर्ण तथा वर्णको मात्राको उचित प्रयोग, शब्द चयन, श्रृङ्गारिकता, तार्किक, सन्देशात्मक आदि नियम र गुणले युक्त हुनु पर्दछ आलेखहरू। लेख, निबन्ध, काव्य र लेखनका दोष हुन सक्छन्। कतिपय सवालमा लेखन दोष कहिले  व्यक्तिगत कारणबाट हुन्छ भने, कहिले प्राविधिक,व्याकरणीय अशुद्धि एवं सम्पादकीय कारणले पनि हुन जान्छन् । त्यस्ता स्वभावतः हुने कमीकमजोरीलाई उपेक्षा भावले हेर्ने परिपाटी मोलाउँदै गयो भने सिर्जना मर्ने र सर्जकमा नैरास्यता आउने हुन्छ । त्यस्ता कुरालाई बढावा नदिनु नै बेस। लेखनले जड तत्वलाई चेतनाको लक्ष्यतर्फ लैजान सक्नु पर्दछ । दर्शन, चिन्तन लेखकको मस्तिष्कको उपज भएको हुँदा त्यस्ता आलेखले मधुरता र शीतलता दिन्छ भन्ने ध्येयले लेखियो भने काव्य,निबन्ध,प्रबन्ध वा अन्य लेख र ग्रन्थ चीरस्थायी हुन्छन् ।

हामीले हाम्राे मौलिक लेखनसँगसँगै युरोपबाट प्रारम्भ भएको रुमानी शैली पनि अनुसरण गरिरहेका छौँ। आधुनिकता र उत्तर आधुनिकतालाई पनि आत्मसात् गरेर लेखिरहेका छौँ । तर हामी आधुनिकताका नाममा अश्लीलता लेख्न भने सक्दैनौँ । भावलाई उल्लासमय बनाउँदै सौन्दर्यको उपासना गर्नु र प्रकृति प्रेमको चर्चा गर्नु त साहित्यको स्वाभाविक धर्म हो। लेखन कौशल र कला परिस्कृत हुँदै जानु जरुरी छ। नेपाली लेखन यात्रा त्यो दिशातर्फ उन्मुख छ।

कतिपय सवालमा अलिखित सामाग्री पनि कालजयी साहित्य बनेर बसिदिन्छ हरेकको मनमा। अघिल्लो पुस्ताका कतिपय अक्षर चिन्दैनथे । तर श्रुति परम्पराको बलियो ज्ञान, धारणा र  आधारले सुनेकै भरमा रामायण, महाभारत र संस्कृतका कठिन श्लोकहरू कण्ठस्थ हुन्थे । लोक भाकाका झ्याउरेहरू मुखस्थ हुन्थ्यो अनपढलाई समेत । तिनै अनपढले गहिरो अध्ययन गरेका हुन्थे समाज, संस्कृति र संस्कारको।

हाम्रो पूर्वीय  शास्त्रीय संगीतमा अलौकीक आकर्षण र सकारात्मक धारणा निर्माण गर्ने क्षमता छ भनेर पश्चिमा विश्वविद्यालयहरूले अनुसन्धान गरिसकेका छन् ।

शास्त्रीय संगीतको तालले मस्तिष्कमा कम्पन ल्याउने हुँदा सकारात्मक साेच उत्पन्न हुन्छ । जब हामी शास्त्रीय संगीत श्रवण गर्छौं त्यतिबेला स्वाभाविक रुपमा टाउको हल्लन्छ । टाउको हल्लँदा आनन्दको अनुभूतिसँगै चिन्तनशील ऊर्जाको विकास हुन्छ । ज्याज, रक, पपजस्ता पश्चिमी आधुनिक संगीतको तालले कम्पन दिँदा खुट्टा र हृदयमा दिन्छन् । यसले मस्तिष्कमा कुनै न कुनै विचलन ल्याउँछ । विचलित मानसिकता र सकारात्मक चिन्तनबाट सिर्जित सिर्जना कुन राम्रो होला मैले भनिरहन पर्दैन ।

विलियम शेक्सपियरले भनेका छन- “संगीतले एउटा खराब वस्तुलाई पनि असल रुपमा ढाल्न सक्छ र असललाई हानिकारक पनि बनाउन सक्छ।” हाम्रो मौलिक लोक लय र शास्त्रीय संगीतले खराबलाई असल बनाउने नै हो। अनगिन्ती अलिखित हाम्रा गीत र संगीत कवि सिद्धिचरण श्रेष्ठले भने झैँ नै छन्- “गीत नै हो दिव्य साँचो स्वर्ग जाने द्वारको।”

यावत जटिलताहरूको बिचमा पनि हुर्केको परिपाक पूर्ण स्थापित प्रथा हो संस्कृति । माथि नै भनियो हामी भाषा,साहित्य र संस्कृतिले अत्यन्त धनी छौँ। विद्वान् दार्शनिक इ.बी.टेलरले भनेका छन् कि “संस्कृति त्यो सम्पूर्ण जटिलता हो, जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, प्रथा तथा सम्पूर्ण क्षमता एवं गुणहरू सम्मिलित हुन्छन् ।” बहुगुणी संस्कार, संस्कृति र साहित्ययुक्त भएका हामीले अब गर्नु पर्ने भनेको मात्र विश्वव्यापीकरण हो ।

“साह्रै कार्टेलिङ भयो,साहित्यमा ।”

“छाप्दैनन् हाम्रो त !”

“ग्रुुपिजम् अचाक्ली भयो, मूल प्रवाहमा बसेर लेख्ने लेखकहरू छाया परे।”

यी र यस्ता प्रश्न प्रतिनिधि प्रश्न मात्र हुन् । र पनि  सामान्य विश्लेषणले नहेरी अलि फराकिलो हेराइले हेर्ने हो भने विषय चुनौतीपूर्ण छ । प्रश्नहरू अझ तेर्सिन सक्थे । मैले सुन्न चाहिनँ । लेखक मित्रले कुरा मोडेर बुर्जुवा शिक्षा, कर्मकाण्डी संस्कार-संस्कृति र प्रगतिशील साहित्यका कुरा थाल्नु भयो । प्रस्तुत विषय वृहत् छलफलको मुद्दा हो पछि गरौँला भनेर मैले भने, उहाँको मन मानेको थिएन हामी छुट्टियौँ ।

प्रश्नहरूले घोचिरह्यो । जवाफी शैलीमा यति मात्र लेखेर उहाँ लगायतकालाई पढाउन मन लाग्यो । तीन फन्काे रैथाने पिपलको बोट घुम्नोस् त्यहीँ जीवित छ भाषाको सुभास । अर्को फन्काे मारेर लामो श्वास लिँदै सोच्नुस् त्यहीँ छ हाम्रो मौलिक संस्कार, संस्कृति र संगीत । अर्को फन्को मारेर हेर्नोस् आकाश, त्यहीँ छ विशाल साहित्यको भण्डार ।