मैले गत जनवरी ३१ तारिखका दिन ‘आज राति १२ बजेदेखि एक महिनाका लागि सबै प्रकारका सोसल मिडिया प्लेटफर्मबाट स्वैच्छिक बिदामा बस्दै छु ।’  भनेर घोषणा गरेको थिएँ ।

केही मित्रहरूले एक महिने  ‘डिजिटल हाइबर्नेसनको अनुभव लेख्नुहोला है !’  भनेर अनुरोध पनि गर्नुभएको थियो ।

आजको सामाजिक सञ्जालको जमाना, त्यसमा पनि म केही न केही लेखिरहने मान्छे । अनेकौं मित्रहरूका अनेकौं कौतुकहरू हेरेर र पढेर रमाउने मान्छे । नढाँटी भन्ने हो भने सोसल मिडियाबाट निकै फाइदा उठाएको मान्छे । अलिकता थकथकी पनि नलागेको होइन । तथापि त्यो म आफैले रोजेको एउटा परीक्षा थियो ।

चञ्चल चित्तलाई निरोध गर्न सक्ने हो भने ठुलै कुलत, अम्मल र अभिमानलाई पनि त्याग्न सकिन्छ । किन्तु त्यो निरोध निषेध, प्रतिबन्ध वा जोर जबरजस्तीबाट निर्देशित भयो भने प्रत्युत्पादक र निष्फल हुन्छ । सकारात्मक चेष्टा गर्ने व्यक्तिमा आफूप्रति निष्ठा र विश्वास हुनु जरुरी छ ।

त्यस अवधिमा मैले मेरो प्यारो प्लेटफर्मलाई भुसुक्कै बिर्सेको थिइनँ । तथापि तीन दिनपछि जिज्ञासाको तीव्रता मन्द हुँदै गयो । एक महिना त हो नि भनेर चित्त पनि स्थिर हुँदै गयो । यस दुनियाँमा दैनन्दिन लाखौं करोडौं घटना र गतिविधि भइरहेका छन् । हामीले थाहा पाउने सूचना भनेको प्रशान्त महासागरबाट एक बुँद पानी झिके जत्ति मात्र हो । तथापि हाम्रो जीवनमा त्यही सानो बुँदको बृहत्तर र निर्णायक महत्त्व हुन्छ । सदा कालका लागि सञ्जाललाई त्याग गरेर बस्छु भनेर कसैले भन्छ भने त्यो उसको निर्णयको कुरा हो । साँच्चै त्यागी जिन्दगी बिताउने हो भने सँगसँगै जीवनका अन्य कतिपय आयामलाई समेत त्याग गर्नुपर्ने हुन्छ । ‘एको अहम् द्वितीयोनास्ती’को उदात्त भावले त्याग गर्न सकिन्छ भने त अति नै उत्तम हो ।

मैले यस अवधिमा दुई जना अत्यन्तै दिलदार हितैषीहरूको साथ पाएँ । निश्छल निष्कपट र निर्मल । ती दुई जनाको स्नेहसिक्त अनुराग र सामीप्य पाएर म धन्य भएँ । मलाई विश्वास भयो, अझै पनि मेरो उपादेयता बाँकी छ ।

एक साता बितेपछि एक दिन मलाई एउटा गीत याद आयो । ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा ।  म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा ।’ मैले यसो गमेर सोचें, के यस अवधिमा म बिना कसैलाई कहीँ मुस्किल पर्‍यो होला ?

एक मनले भन्यो, ‘मेसेन्जर खोलेर हेर् , व्हाट्स्एप र भाइबर खोलेर हेर् ।’  फेरि अर्को मनले भन्यो, ‘होइट् पगले ! तँ  बिना कसैलाई मुस्किल पर्दैन यस दुनियाँमा ।’

म बिना त्यस अवधिमा  कहीँ कसैलाई मुस्किल परेन । परन्तु मेरो खोजी चाहिँ भयो । तीन पल्ट विनीताको फोनबाट कोही सहृदयीसँग कुरा गर्ने अवस्था पर्‍यो । कतै कतैबाट सहयोगको विनम्र आग्रह एवं काम र नामको प्रस्ताव पनि आयो । मैले पनि शालीनतापूर्वक हार्दिक आभार प्रकट गरें । मनसाय सकारात्मक भए तापनि ममा अपेक्षित योग्यता, सामर्थ्य र अनुभव छ जस्तो लागेन । साथै काम गरेर देखाउन सकिने परिस्थिति पनि विद्यमान छ जस्तो लागेन । भित्र पसेर असल मानिसलाई निराश पार्नुभन्दा बाहिरैबाट किनारा लाग्न उचित लाग्यो ।

वास्तवमा रचनात्मक कुरा केही पनि भएन । लेखाइ शून्यमा झर्‍यो । फोन र ल्यापटपबाट टाढा भएपछि यसो कलम समातें । फुर्दै फुरेन । फोन, ल्यापटप र विभिन्न मिडियासमेतको अभावमा लेख्न खोजेको त लक्ष्मीप्रसाद देवकोटा चुरोटबिना कविता लेख्न बसे झैँ निस्तो भयो । सारा बाह्य प्राज्ञिक गतिविधि ठप्प भए । परन्तु मानसपटलमा भित्रको आध्यात्मिक गतिविधि भने ऊर्जाशील रह्यो I नि:शब्द, अव्यक्त र अवर्णनीय ।

केही मित्रहरूबाट ‘एक महिने’ अनुभवबारे केही लेख्ने सुझाव फेरि पनि आई नै रह्यो । मैले यस्तो जैरे व्यक्तिगत कुराको के पो महत्त्व हुन्छ र अनुभव सार्वजनिक गर्नु ? भनेर चुप लाग्ने विचार गरेको थिएँ । परन्तु अत्यन्तै सहृदयी र हितुहरूले  ‘लौ न’ भनेर आग्रह गरेको हुँदा यो संवेदनलाई यहाँहरू समक्ष प्रस्तुत गर्ने जमर्को गरेको हुँ ।

सारांशमा मेरो अनुभव यस्तो छ:-

१. संसारले तिमीलाई खोज्दैन, तिमीले नै संसार खोज्नुपर्छ ।

२. सामाजिक सञ्जाल तिमीमा बस्दैन, तिमी सामाजिक सञ्जालमा बस्नुपर्छ ।

३. सुकरातलाई समाजले ज्ञान बाँड्न आह्वान गरेको थिएन, उनी आफैले बाँडेका थिए ।

४. पृथ्वीनारायण शाहलाई राज्य एकीकरण गरिदिनु पर्‍यो भनेर कसैले बिन्ती गरेको थिएन, आफै गरेका थिए ।

५. कृष्णलाई लौ न गीता सुनाऊ भनेर कसैले भनेको थिएन, आफै सुनाएका थिए ।

६. सिद्धार्थलाई बुद्ध बनिदिनुपर्‍यो भनेर कसैले भनेको थिएन, आफै आधा रातमा सुइँकुच्चा ठोकेका थिए ।

७. देवकोटालाई कसैले पनि मुनामदन लेखेर सारा नेपालीलाई कृतार्थ बनाऊ भनेर निहोरा गरेको थिएन, आफै  तम्सेर लेखेका थिए ।

८. कविवर राष्ट्रकवि माधव घिमिरेलाई भरी जवानीमा तिम्री गौरी स्वर्गे भइन्, ल ल शोककाव्य लेख त ! भनेर कसैले उचालेको थिएन, कविले आफ्नै आँसुलाई अक्षरमा उतारेका थिए ।

९. अल्बर्ट आइन्स्टाइनलाई कसैले सापेक्ष …. .. सिद्धान्त देऊ भनेर भनेको थिएन, आफै दिएर गए ।

१०. डा.जेनरलाई सारा प्रजाजन बिफरले स्वाहा हुन थाले, लौ न बिफरको खोपको आविष्कार गर भनेर कसैले भनेको थिएन, आफैले खोजे ।

११. जुकेबर्गलाई कृपया फेसबुक बनाइदेऊ, हामीलाई भुल्ने बाटो हुनेछ भनेर कसैले अनुरोध गरेको थिएन, उनी

आफैले आफ्नै लहडमा बनाएका थिए ।

० ० ० ०

निष्कर्ष:

समाजबिना व्यक्ति एक्लो हुन्छ, किन्तु व्यक्तिबिना समाज एक्लो हुँदैन, किनकि समाजसँग अन्य तमाम व्यक्तिहरू हुन्छन् । हामी सबै ‘पल दो पलका सायर’  हौं ।  त्यसैले आफ्नो सायरी आफै गाउँदै जाऔं । ‘मसरूफ दुनियाँ’  त आफ्नै काममा व्यस्त छ । हाम्रा लागि ‘क्यों वक्त अपना बरबाद  करे?’

सामाजिक सञ्जाललाई सम्यक् तरिकाले प्रयोग गरौं । २४ घन्टामा यसका लागि दिने समय पूर्वनिर्धारण गरौं । भोक, निद्रा, कर्म एवं पारिवारिक र सामाजिक दायित्वको ख्याल गरौं । सामाजिक सञ्जाल महाको जाली पनि छ । कागले कान लग्यो भन्ने हल्लामा विश्वास गर्नुअघि आफ्नो कान छामेर हेरौं ।  सञ्जाल छाडेर लामो उपवासमा बस्नु जरुरी छैन । यदाकदा सञ्जालबाट एक हप्ते ‘उत्पादनशील स्वैच्छिक अवकाश’ लिनु हितकर हुनेछ ।