विहान…
‘मलाई छोरी हेर्न कस्तो मन छ । कत्रो भई होली ? कस्तो भई होली ?’
फोनबाट यति भनिसकेर ५१ मिनेट पछि हाम्रो माधुर्य वार्तालाप पनि अन्त भयो । उनको स्वरमा छोरी हेर्ने तृष्णा र पीडाको सम्मिश्रण थियो । बोल्दा बोल्दै पीरले बोल्न नसकेर फोन राखिन् ।
मैले थाहा पाएँ कि तिमीले मैले नदेख्ने गरी आँसु बहायौ । अनि तिमीले थाहा नपाउने गरी मेरो पनि आँखा रसाएर आएथ्यो । बुझ्यौ ?
अब त मेरी श्रीमती सानी छोरीलाई छोडेर बिदेसिएको पनि लगभग बर्षौं वर्ष पुग्न लाग्यो । आफ्नी सानी छोरी, परिवार, नातागोता, छरछिमेक, समाज, देशलाई नै छोडेर परदेशको भूमिमा पसिना बगाउन जानु एउटा नेपाली चेलीको लागि कति दर्दनाक र पीडादायी व्यथा हुँदो हो । व्यथा एकदम दर्दनाक र पीडादायी भएपनि रोजीरोटीको लागि वाध्यतावश परदेश पुग्नै पर्ने परम्परा हाम्रो देशमा पहिले नै देखि अहिलेसम्म चलिआएकै छ । कोही न कोही यो परम्पराको शिकार भइरहेकै छन् । र कैयौं नेपाली चेलीहरू, (सुश्री, श्रीमती, आमा) परिवार र स्वदेश नै छाडेर विदेशमा भासिनेहरूका संख्या अति भयावह हुनुपर्छ ।
नारीहरू आमा बन्ने ठूलो सपना साँचेर बाँचेका हुन्छन् । आमा बन्ने तीव्र चाह च्यापेर जिएका हुन्छन् । बल्ल बल्ल आमा बन्छन् । आमा बने लगत्तै केही समय पश्चात् कोही कोहीलाई बाध्यताको हुरीले उडाएर विदेशी भूमिमा पुर्याउँछ । आफ्नो मुटुको टुक्रा यतै छाड्न पुग्छन् । मुटु यता राखी छाडेर उता कसरी प्राण धान्छन् ? सोच्न पनि सकिन्न । नारीहरू धर्ती हुन् । धर्तीले सबै बोझ र भारहरू थामेर बसे झैँ नारीहरुले पनि पीडा र पीरका बोझ र भारहरू थामेर बस्नुपर्ने बाध्यात्मक
वातावरण नचाहँदा नचाहँदै स्वतः सृजना भइदिँदो रहेछ ।
दिउँसो…………..
सुन्धारा, चाइना टाउनमा पाइला अडियो । श्रीमतीले विदेशबाट रकम पठाएको मैले बुझिलिएँ । म बेस्सरी झस्किन पुग्छु । एक पुरुष मनले भन्छ, कस्तो लज्जास्पद कुरा । श्रीमानले पो विदेश गएर कमाएर घरपरिवार हेर्नु पर्ने त । तँ नामर्दलाई श्रीमतीले कमाएको पैसा हातमा थाप्न लाज लाग्दैन ? हातमा आइसकेको रकम त्यही कतै छोडूँ छोडूँ जस्तो पनि लागेको थियो । अर्को मनले भन्छ, के पैसा कमाउने काम, परिवारलाई हेर्ने जिम्मेवार के सधैं श्रीमानको मात्रै हुन्छ र ? श्रीमानको मात्रै पेवा हो र ? अनि फेरि अर्कै मनले भन्छ, के मेरी श्रीमती मात्र हुन् र ? विदेश गएर पैसा कमाएर घरपरिवारको लागि पठाउने ?
आफूभित्रै धेरै मनहरू एकआपसमा अनेक तर्क, वितर्क र बहस गरिरहेका थिए । धन्न मेरो आफ्नै चेतनाले कुनै पनि मनहरूको कुरा नसुन भनेर सान्त्वना दिएपछि म चुपचाप हिडेँ ।
रकम हातमा पर्ने बित्तिक्कै सबैभन्दा पहिला म आफ्नो गिदीलाई खुवाउने योजना बुनिहालेँ । गिदीलाई खुवाउन जमल स्थित एजुकेशलन बुक हाउसतर्फ लागेँ । मेरो गिदीको लागि सधैं पसिरहने एउटा भट्टी पसल यो हो । यहाँ म किताब पिएर लट्ठ हुने गर्दछु । किताब खाएर मात्ने गर्दछु । मैले गिदीलाई खुवाउन एउटा किताब किनेँ । डा. कीर्तिस्वरुप रावतको ‘पुनर्जन्म’ ।
मेरो एउटा रुचिकै विषयवस्तु हो, पुनर्जन्म । पहिला पहिला त मरे पछि फेरि पुनर्जन्म भएर जन्मनु पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले आएर ती चाहना र कामनाहरू तुहिएको छ । अहिले मेरो जीवन हेर्छु । श्रीमती हुँदा–हुँदै पनि विदुर जस्तो भएर बाँच्नुपरेको अवस्था छ । आमा हुँदा–हुँदै पनि टुहुरी जस्तो मेरी छोरी मेरै काखमा छिन् । सम्बन्धविच्छेद नभए पनि सम्बन्धविच्छेद भए जस्तो बाध्यताले हामी एक अर्कालाई दूर–दूर बसाएको छ । पुनर्जन्म भएर पनि फेरी यस्तै नियति बेहोर्नु पर्यो भने, भोग्नु पर्यो भने के लाभ भयो र ? के अर्थ भयो र ? पुनर्जन्म भएपछि यस्तै नियति फेरि पनि नदोहोरिएला भन्न सकिन्न ।
पुनर्जन्म किताबलाई बोकेर मैले मेरो आफनो पुनर्जन्मलाई यही जुनीमा फाँसीमा झुन्डाएर म घर तर्फ फर्के ।
राती…
म घर पुगेँ । कोठा प्रवेश गरेँ । ओछ्यानमा आमा र छोरी सँगै सुतिरहेको देख्दा म निक्कै बेर स्तब्ध भएँ ।
मलाई थाहा भयो, अब । तिमी मेरो सपनामा आएर आफ्नी सानी छोरीलाई हेर्दै रहिछौ । अब त देख्यौ होला नि तिम्री सानी छोरी कस्ती र कत्री भएकी रहेछिन् ?
फेरि विहान आइदियो । अज्ञात पलहरू बोकेर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 










