कति सुन्दर छ बिहान!
म टिप्न खाेज्छु
बिहानको लालिमा
प्रेमकाे कविता लजाएजस्तै
लजाउँछ बिहान
अाङ्गमा एकसरो छाेएर
ऊ कहिले तल सर्छ
कहिले माथि पुग्छ
प्रेयसीकाे न्याना पलहरुकाे
कल्पनाशीलताजस्तै छ बिहान

म त्यही बिहानकाे घामफूल टिपेर
पहिरिन खाेज्छु पाेशाक
दिउँसाेभरि अघाउन
टिप्न खाेज्छु एक अँजुली
घामकाे बिस्कुन
उभाएर एक सुर्काे घाम
अचाउन खाेज्छु
बिहानकाे पञ्चामृत

मलाई उस्तै लाग्छ
बिहान र प्रेयसी
म टिप्न खाेज्छु बिहानीकाे
दीप्तिमय साैन्दर्य
मनभरि सजाउन खाेज्छु
पारिजातकाे जस्तै बिहानीकाे लावण्य

बिहान छाया भएर पाेखिन्छ
बिहान सबैकाे ढाेकाकाे सँघारमा
रङ्ग भएर छरिन्छ
प्रियतमकाे हाँसाेजस्तै
लाग्छ,बिहानकाे गुराँसे बैँस
हरेक दिन उदाउँछन्
फेरि फेरि उदाउने
सङ्कल्प बाेक्छ बिहान
मलाई प्रिय लाग्छ
बिहानकाे अाभा र प्रियतमकाे मुहार।

ललितपुर, गाेदावरी