
म बाटैबाटो कुदेँ
बाटैबाटो
कुदिरहेँ
बाटो छेऊ
घरहरू पनि थिए होलान्
बस्ती थियो होला
पहाडहरू विपरीत हिँडे होलान्
सँगैसँगै खोला पनि झर्यो होला
बाटोलाई नागबेली आकार दिँदै
तर म बाटो पछ्याउनुमा अभिशप्त थिएँ
छेउका झाडीका फुल नटिप्न श्रापित थिएँ
मैले झाडीभित्र गोरेटो बन्ला भनेर सोचिनँ
पहाडलाई घुँडा टेकाइदिउँकी जस्तो पनि लागेन

शेखर आचार्य
आँखाले
ठिङ्ग उभिइरहेको
केराको खाँबोलाई पनि आँखा झिम्काएन
खै कतै बाटोमा
चौतारोमा आराम गरिरहेको कुनै रूख थियो र ?
मलाई पुग्नु थियो समय भन्दा छिटो ।
पुग्नु थियो अरू सबैभन्दा पहिले
पुग्नु थियो अरू पाइलाहरू नपुगेको ठाउँमा
केही याद छैन
म कहिले देखि हो हिँडेको
अलिकति याद
बाटोमा औंला ठोसिएको ढुङ्गाको मात्र आउँछ
अरू शून्य सबै शून्य यात्रा शून्य
नाक नभएका पुतलीहरू फूलफूल डुले जस्तो ।
बस् अपराधीलाई झैं पछ्याइरह्यो
शिरमाथिको घामले ।
बस् उसले मात्र पछ्याइरह्यो
यो झ्यालखानाभित्र कुदिरहने कैदिलाई ।
बग्दै आएको भए पनि हुने रैछ
आखिर म त्यहाँ आएर पछारिएँ
जहाँ बाटोको समानान्तर बगेको नदी पछारिएको छ ।
मेरो अवशेषको धुलो
बालुवाको कणमा मिलेर पिँधमा थिग्रिएको छ ।
दौड समाप्त ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 









