१. त्यो देशमा
————–

त्यो देशमा

दलदलमाथी उभिएको घरमा
युद्धको भोक ब्युँतियो
र कमरेडले तत्समय
बुद्धको मुर्तिलाई बन्दुकको कविता सुनाउनु भयो

कमलको कोपिलाबाट एउटा ग्रेनेड खस्यो
दलदलमाथी उभिएको घरमा
र भोलिका मान्छेहरूको गर्धन
आजको भग्नावशेषले उछिट्यायो।

देख्यौ
फेरि नजिकैबाट नरोकिई/नहेरी
एउटा सैनिक ट्रक
एउटा ट्याङ्क
एउटा एम्बुलेन्स
एउटा मिसनको गाडी
र अन्तिममा एउटा राहतको गाडी कसरी हुँइकियो?

 

२. सर्वाधिकार
———————

सिमाना
ठुला देशहरूको मात्र हुन्छ
साना देशहरूको त आली हुन्छ
जुन ताछ्न मिल्छ

नक्शा
शक्ति राष्ट्रहरूको हुन्छ,
साना देशहरूको त कागजको चित्र हुन्छ
जुन कुनाबाट क्रमश: च्यात्न मिल्छ

जनता धनि देशहरूमा बस्छन्,
गरिब देशका मान्छेहरूलाई
लखेट्न मिल्छ
तोपको निशानामा रोक्न/ठोक्न मिल्छ

त्यहाँ प्रजातन्त्र छ/सरकार सरकार हुन्छ
अन्यत्र यत्रतत्रका सरकार
उस्ले फेर्न मिल्छ।

युद्ध उनिहरूले मात्र गर्न मिल्छ,
शान्ति उनिहरूले मात्र ल्याउन मिल्छ

के मिल्छ के मिल्दैन ?
उनिहरूले भन्छन्
तिमीले त सर्वाधिकार उनीहरूलाई छाडिदिनु पर्छ।

३. प्यारासुट
—————–

आकाशबाट प्यारासुट ओढेर झरेको एक बोरा राहतले

मेरो खण्डहर घरको बाँकी धुरी भ्वाङ् पार्न सक्छ,
गोलीको आवाज कम भए पछि
भर्खर निदाएको मेरो नाबालक बच्चा माथि बज्रिनसक्छ,
आँगनमा बज्रिएर पिठो माटो बन्न सक्छ,
हात हातहरूको बिचमा खसेर
लडाईभित्र अंशभण्डाको अर्को उपलँडाई शुरू हुन सक्छ

तर पनि हप्तौं देखि मेरा आँखाहरू
आकाश तिरै फर्किएका छन्
प्यारासुट ओढेर केही खस्छ कि भनेर ।

४. अवधि

————–
ट्रकबाट
एक बोरा पिठो खस्छ
या एक राउण्ड गोली चल्छ

भाग्य तिम्रो हो
थप एक महिना बाँच्छौ
कि आजै मर्छौ ।

५. रोटी र राष्ट्र

——————-
महिनौंको भोको बस्तीमा
शत्रुले पठाएको राहत पनि
कुनै सिकारूले बेले जस्तो
रोटीमा देशको क्षतबिक्षत नक्शा उतारेर दिए पछि

कसरी सोच्नु मान्छेले
आफ्नो माया गर्नु पर्छ कि देशको ?

——————-

शंखादेवी