
गार्ड भन्नेबित्तिकै सायद सबैको मनमा आउला– बैङ्कको गार्ड, कलकारखानाको गार्ड, स्कूल वा क्याम्पसको गार्ड, परीक्षाको गार्ड इत्यादि । गार्डका पनि किसिम होलान् । अब आफू परियो विद्यार्थी । परीक्षा गार्डसँग लामो समयदेखि परिचित अध्येता । यदि तपाइँ पनि हालसाल विद्यार्थी जीवनको जुनसुकै खुड्किलाको लेखाजोखामा भाग लिनुभएको भए तपाईंको मनमा पनि परीक्षाको गार्ड बाह्र फन्का घुम्न आइपुग्नु पर्छ । वर्षैपिच्छे नयाँनयाँ गार्डहरुसँग साक्षात्कार हुन पाउनु विद्यार्थी हुनुको परिचय हो । र, यसैलाई आत्मासाथ गर्दै आज म थरीथरीका परीक्षा गार्ड र तिनका विशेषता कोट्याउँछु, बस् मैले आजसम्म देखेका र भोगेका आधारमा ।
हालसालैको कुरा हो । स्नाकोत्तरको सेमेस्टारको परीक्षा दिन भनेर म हत्पताउँदै होम सेन्टरमा पुगेको थिएँ । त्रिविको गोलघरसमिप टाँसिएको हलमा ठीक दश बजेर बाउन्न मिनेटमा एक सुरक्षा गार्डले ताल्चा खोल्दिने बित्तिकै दौडदै एक परीक्षा गार्ड सबैलाई उछिनेर भित्र पसिहाले, पाखुराभरी कपी र प्रश्नपत्र बोकेर । म देखिरहेको थिएँ, एक जना साथीले ‘नमस्कार सर’ भनेर सम्मान प्रकट गरिरहेको तर त्यस विद्यार्थीसँग परिचित उनी त्यो बखत अपरिचित नै भैदिए ।
ल भन्नुहोस्, अब कसको के लाग्छ परिचित व्यक्त्ति नै अपरिचित भइदिँदा ? सो साथी खिन्न मुद्रामा तिनै गार्डकै पछिपछि लागे र आफ्नो सिट नं हेरी लुरुक्क परेर बसे । ती गार्डलाई देखेपश्चात् मेरो मनमा हठात् झिँझिलो विचार आरुढ भएर आयो, ‘हेत्त तेरिका.. ! पहिलो दिन नै फेरि यिनै गार्ड पो मुन्टेछन् बा.. !’
हामी केटाहरुको ठट्यौली समूहमा उनी एक नामले कहलिएका थिएँ । उनी थिए- ‘बढो कडा गार्ड ।’ उनले गोलघरभित्र हुने जुनसुकै परीक्षामा गार्डको भूमिका छुटाएको देखिएन । नभन्दै, उनी भित्रपट्टि एकाएक कराउन थालिहाले । कराउन पनि होइन, चिच्याउन थाले भनौँ, कोठा थर्किने गरी, परीक्षार्थीलाई त्राहिमाम पार्ने शैलीमा । आफ्नो शक्त्ति प्रदर्शन गर्दै ।
‘….ल, चिठ्, गेसपेपर, गाइड, किताब, टिपोट, मोबाइल जे जति बोकेका छौ, सबै निकालेर अगाडि राख त । राखिहाल, यदि चेक् गर्न आउँदा मैले भेटाएँ भने सिधैँ आउट गर्दिन्छु !’
उनी चोरी औँलो उठाएर ह्वाइट बोर्ड अगाडिको स्टेजबाट विद्यार्थी चिच्याइरहेका थिए । मैले कामना गरेँ, ‘कमजोर मुटु भएका मेरा सहपाठीहरु उनको बोलीले नतर्सिउन् प्रभु !’ म उनको बोली र गराइमा पूर्वपरिचित परीक्षार्थी । सत्य कुरा गर्दा उनको आवाज कुनै पक्षबाट पनि कर्णमधुर सुन्दिनथेँ म । खस्रो आवाज भनौँ या जरकटिएको आवाज । कहिलेकाहीँ पढिरहेको बखत कक्षाकोठाभित्र उनको आवाज पस्थ्यो हावाको झोकासँगै, सि…. । फलस्वरुप, हामी केही मुखामुख गर्थ्यौँ र हाँसो दबाउँथ्यौँ ।
फेरि परीक्षा हलमा पुगेपछि उनीभित्र महिषासुरले राज गर्छ कि कुन्नि ? उनी परीक्षार्थीका सत्रुसमान बनेर उभिदिहाल्थे, फलामसमान भएर । नडगमगाउने गार्ड बन्दै परीक्षार्थीका मनोदशालाई खल्बल्याउँदै । कुनै पनि हालतमा एक इन्चपछि नसर्ने उनको कुरा हुन्थ्यो । बाफ्रे ! कस्तो कडा !
‘किन घरीघरी ठूलो घोषमा लेघ्रो तान्नु ? आचारसंहितामुताबिक शिष्टता पर्दशन गरे भै गयो नि, एउटा असल गार्डको रुपमा स्नाकोत्तरका विद्यार्थीउपर ।’ ,म उनलाई हेर्दै मनमनै यो सोच्थेँ । तर, उनी त …।
पोहोर सालको एउटा प्रसङ्ग मसँग पनि जोडियो तिनको । तपाइँलाई थाहै होला, परीक्षा अवधिभर हिँडेर हुँदैन, दगुर्नुपर्छ । म भाववेगका साथ दगुरिरहेको थिएँ, कुदिरहेको थिएँ मेरो क्षमता नाप्ने कागजको पानालाई भर्न । सायद म उता माया एङ्लोले आफूलाई कसरी ‘फेनोमेनल वुमन’ प्रमाणित गरिन् भन्ने सवालमा आफ्नो बेजोड तर्क पेश गर्दै थिएँ कि । त्यही बखत तिनै गार्ड एक्कासी मेरो समिपैबाट चिच्याए । म तर्सिनुसम्म तर्सिएँ ।
‘ए हल्ला नगर न भन्याँ, तिमीहरुको यो घर हो !? तिमीहरु के गर्न आ’का ह्याँ ? खुरुखुरु लेख, हल्ला नगरी । जति भने पनि लाग्दैन यिनेरलाई ! हँ !’
सबैलाई थाहा होला, म भावनामा बग्ने विद्यार्थी हुँ । भावनाका लहरमा मलाई बग्न मात्र होइन, पौडन पनि आनन्द लाग्छ । उनको चिच्याहटले मेरो भावनको लहर भताभुङ्ग भयो नै । न फेदमा आइपुगेँ- न टुप्पोमा । कसो गरौँ ? उफ् ! म तर्सिनुसम्म तर्सिएँ बाबै । के के लेखिरहेथेँ मैले सबै बिर्सिएँ । एकछिन एकोहोरो भएर पेनलाई ओठमा हिन्दोल गरेर हेरिरहेँ तिनलाई- खत्र्याकखुत्रुक्क भावमा । तिनको कृयाकलाप नियालिरहेँ । अनि, मुर्रमुरिरहेँ भित्रभित्रै । मलाई अचलायमान देखेर तिनी म भएतिर पो सोझिन थाले । अझै पनि मेरो लेख्ने कलम मुखमै हल्लिरहेको थियो । मलाई जाँगर आइसकेको थिएन । मनमा त्रासको पातलो धागो टाँगिएझैँ भा’थ्यो । उनी मेरो नजिक आएर अटल भएर उभिदिए र मलाई निर्मिमेस हेरिरहे अनि मलाई हत्पताउदै सोधे, ‘ ए…के छ त्यहाँ ? खै, मलाई दे त ?!’
लु जा त ! उनी मेरै चौकिदार बनेझैँ गरेर कम्मरमा हात लगाएर मलाई ब्याधा शैलीमा गार्ड गर्न थाले, अटुट आधा मिनेटसम्म । मलाई मिश्रित संबेगले अठ्याइरह्यो । मलाई सार्है असजिलो महसुस त हुन थालिसकेको थियो नै । रिस र आवेगले मेरो मनमा डेरा जमाइसकेको थियो । सबैले मतिर मुन्टो बटारेर हेर्न थालेपछि त लाज पो लागेर आउने रहेछ । म रातो न पिरो भएँ । धत् ! कस्तो कठिन समय !
त्यसपछि , खिन्नता र छटपटी अनि लाजले म निचोरिएँ र लामो उच्छवासमा आफूलाई साम्य पार्ने कसरत गरेँ । लामो शित्कार छाडेँ । अन्त्यमा, उनी मेरो कापीमुन्तिर केही छ कि भन्ने अनुमितका साथ कापी नै कोट्याउन आइपुगे । अत: केही खजाना नभेटेपछि उनी लुरुक्क परेर गए । तर, म पुन: ठेगानमा आइपुग्न शौचालयतिर लाग्नुपर्यो । शौचालयको के कुरा गर्नु ? त्यहाँको कन्तबिजोक देखेर अहिले पनि पटाई लाग्छ । त्यहाँ पुगेका आफ्नै सहपाठीहरुसँग पनि खिसिक्क हाँसिदिने समय अपुग थियो । पछि, म त्यताबाट फर्कने बित्तिकै ती गार्ड कमिलाको चालमा पछिपछि अवलोकनमा थिए । त्यस बखत चैँ मेरो दिल्लगीपूर्ण हाँसो केवल ओठमा फिस्स छल्किएथ्यो । तर, सहपरीक्षार्थीहरुलाई अरुको अनुहारमा हेर्ने फुर्सद कहाँ हुन्छ त्यो बेलामा । दौडिरहेका थिए उनीहरु । कसैले हेरेनन्, कसैले देखेनन् ।
हो, उनी अनेकन विशेषताले भरिएका थियो । सुरुवातमा पुस्तिका बाँड्ने बखतमै परीक्षार्थीका हत्केला चेक गर्न खज्थे र परीक्षार्थीलाई यसो भन्थे, ‘ल ल, देखाओ प्रत्येकले आफ्ना हात ?’ यदि हत्केलामा केही लेखेको/टिपेको पाए भने, कि त बाहिर पठाएर ‘मेटेर आइज’ भन्थे(अघिल्लो परीक्षामा) कि त सेनेटाइजर लगाइदिन्थे(यसपाला)। समग्रमा उनको व्यवहार रुखो थियो जुनले मजस्ता भाववेगमा बग्ने परीक्षार्थीहरुको मनोदशालाई खल्बल्याउँथ्यो । उनी शंका लागेमा परीक्षार्थीको अगाडि नै उभिदिन्थे र उनीहरुका कृयाकलापमा लगातार आँखा दौँडाउथे । उनी हलभित्र न कसैलाई चुइँक्क बोल्न दिन्थे न दायाँबायाँ फर्कन । फ्याट-फ्याट चिटका टुक्रा जफत गर्ने उनको कला साँच्चै लोभलाग्दो थियो । हो, यसरी नै उनी ‘बढो कडा गार्ड’ कहलिएका थिए । परीक्षा हलभित्र उनको तर्साउने किसिमको कडा बोलीउपर सबै परीक्षार्थी परार सालबाटै वाक्कदिक्क भइसकेका थिए । एकचोटि एक सुपरिवेक्षकले उनलाई घाटी नदुखाई बोल्न पनि आग्रह गरेको देखियो तर चुचे ढुङ्गो उही टुङ्गो । आफ्नो स्वभाव कसले त्याग्न सक्ने ? न विध्यार्थी, न गार्ड ।
तर, परीक्षाहलका विद्यार्थी न पर्यौँ, आफ्नो जन्मजात धर्म कहाँ भुल्थ्यौँ र हामी पनि ? ‘दायाँ र बायाँ, तत्त्व र सिद्दान्त, प्रयोग र उदाहरण’ सहपाठीहरुलाई सोध्न खाने मुखलाई जुँघाले छेक्दैन भनेझैँ हुन्छ ।
अब अर्का गार्डको प्रसङ्ग कोट्याऔँ । उनी थिइन् स्त्री गार्ड । अलि मोटी, सुडौल शरीर । उनी गार्डको परिभाषा व्यवहारबाट प्रकट गरिरहन्थिन् । उनी मुखले त्यति बोलेको सुनिएन् तर व्यवहारले बारम्बार बोलिरहिन् । उनी हरबखत स्त्रीतिर आँखा विसान गर्थिन् । तसर्थ, उनी पुरुषका लागि नरम र स्त्रीका लागी कडा गार्ड बनेर परीक्षाहलमा उभिएको आभास हुन्थ्यो । एक क्षण मेरो पछाडिपट्टि खस्र्याक्क खुस्रुक्क आवाज सुनियो, खोसेला बजेजस्तो आवाज । मैले मेरो मस्तक घुमाइहालेँ र हठात् यथास्थानमा ल्याइपुर्याएँ ।
उही त हो, परीक्षामा परीक्षार्थीले के खोताल्छन् र ? खजाना बढो कायदाले प्रश्नपत्रको मुन्तिर टपक्क बसिसकेको मेरा दुई नेत्रले देखेँ पनि नदेखेझैँ गरेँ । त्यसपछि, ‘यस्तै हो… हाम्रो परीक्षा’ भन्दै पुन: भाववेगमा हुइँकिन थालेको मात्र के थिएँ, फेरि अगाडिपट्टिबाट खस्राक्क-खुस्रुक्क आवाज आयो । म अचम्मित त किन हुनु र ? स्कूलदेखि देख्दै आएको चलन न हो ।
हाम्रो परीक्षाको चलन यस्तै त हो नि भनेर चित्त बुझाउँदै प्रश्नको उत्तर लेखिसकेर बल्ल अगाडि हेरेँ । ती महिला गार्ड त खाजा खाइरहेकी देखेँ, दरबाजाको मुन्तिर उभिएर । अनि, अर्का गार्ड घुमिरहेका रहेछन् मेरै अगाडिपट्टि । तिनले मलाई पो एक्छिन् अचलायमान देखेर घुरेर हेर्दै अघि बढे । यताका पुरुष गार्ड पल्लो पङ्तिमा पुगे र ती महिला गार्डले खाजा खाइसकेर हाम्रो लहरतिर फुत्त छिरिन् । त्यसपछि त, सियो बजेको जस्तो पनि आवाज सुनिएन । तर, उनी मेरो छेवैका स्त्री साथीको सामुन्ने आएर कागजका टिपोटलाई आफ्नो पञ्जामा पार्न सफल भइन् । उता पुरुष गार्ड चैँ अघिल्तिर एक मेरै स्त्री सहपाठीलाई प्रश्नको आशय बुझाउँदै रहेछन्, प्रफुल्लित भावमा, बेन्चमै बसेर । यसरी पुरुष गार्डले पुरुषलाई र महिला गार्डले महिलालाई बढी खेदो गरेको देख्दा एक कामना जाग्यो मनमनमा, ‘आ….परीक्षामा बरु महिला गार्ड परिदिउँन् क्या, पुरुष गार्डभन्दा त ।’
अब सोलोडोलो किसिम किसिमका गार्डका प्रसङ्ग कोट्याऔँ । अचम्म अचम्मका परीक्षार्थी भएजस्तै गार्ड पनि अजायब हुनु नौलो कुरा भएन अब । कुनै कुनै गार्डहरु सुरुमा यति डर देखाउँछन् कि क्षणभरमै शरीर नै कापेर आउँछ । हात चल्दैन पानामाथि- ‘ला….! आज त…..!’ आफ्नो निर्देशन पालना नगरे उत्तर पुस्तिका नै खोसिदिने, हलबाट निकालिदिने, रातो मसी लगाइदिने, अगाडिको सिटमा ल्याएर राखिदिने आदि । तर, व्यवहारमा भने हाय ! जिरो । यस्ता अधिकांश गार्डको कला त परीक्षार्थीलाई सुरुमै फगत तर्साउने र आफ्नो पञ्जामा लिने हुँदो रहेछ । यस्ता गार्डलाई मैले ‘खोकन्ते गार्ड’ भनि नामाकरण गरेको छु । असल मानिस चिन्न समय लाग्छ भनेझैँ असल गार्ड चिन्न पनि समय लाग्छ । तर लागेर के गर्नु ? गार्ड दोहोर्याएर पर्ने होइन रहेछन् ।
कोही गार्डका आँखा हरबखत परीक्षार्थीको हाउभाउतिर मात्र दौडिन्छन् । उनीहरु अगाडिपट्टि कुर्सीमा बसेर बढो गहिरिएर सम्पूर्ण परीक्षार्थीउपर आँखा फिँजाएका हुन्छन् । यता परीक्षार्थीलाई चैँ मलाई नै हेरिरहेको हो कि भन्ने पनि भान भइरहन्छ । गार्ड आफ्ना दुई पैताला सार्न बढो अल्छी गर्छन् तर आँखाले संसार भ्याउने चेष्टा गर्छन् । अनि, अन्तिमतिर ठूलो ठूला कर्तुत देखे पनि नदेखेझैँ गर्छन् । तिनीहरुलाई परीक्षार्थी दायाबायाँ फर्किएको मात्र ख्याल हुन्छ । अनि, त्यहीँबाट उतिखेरै औँलो ठड्याउँछन् अथवा घुरेर हेर्छन् वा जुरुक्क उठ्छन्(अति हल्ला भएपछि) । शरीर पनि मरे चल्न मान्दैन् तिनीहरुको- मूर्तिसमान । बल्ल बल्ल चल्छ । तर, अत्यति भएपछि ठूलो आवाज गुञ्जिन्छ कोठामा र एकैचोटि त्राहिमाम हुन्छन् परीक्षार्थी, फगत केही सेकेण्ड । त्यसपछि त, चुच्चे ढुङ्गो उही टुङ्गो जब उनी कुर्सीमै लेघ्रिन्छन् । यस्ता ‘लोसा गार्ड’ पर्नु अधिकांश परीक्षार्थीका लागि शुभ मानिन्छ । र, त्यसै दिन परीक्षामा पास भएको ठहराइन्छ ।
अर्का किसिमका गार्ड हुन्छन् जो एकैठाउँमा बसिरहन सक्दैनन् । घरी ओल्लो कुना घरी पल्लो । घरी बीचतिर घरी अन्तिम पङ्त्ती । यस किसिमका गार्ड पर्नु पनि विद्यार्थीका लागि वरदानसावित हुन्छ । न त यी गार्डलाई विद्यार्थीको गतिविधिउपर निगाहा हुन्छ, न त उतिसारो चासो । बस् तिनीहरु हिँडिरहन मन पराउँछन् । उनीहरुलाई चाहियो शान्त कोठा र सौम्य वातावरण । मैले देखेको र भोगेको आधारमा भन्दा यस्ता गार्डहरु अल्छि पटक्कै हुँदैनन् । यस्ता गार्डहरु परीक्षार्थीबाट मात्र अत्याधिक मन पराइँदैनन्, घरीघरी भित्रिने सुपरिवेक्षकबाट ‘अच्छा’ कहलिन्छन् । मैले यस्ता गार्डलाई ‘चतुर गार्ड’ को संज्ञा दिएको छु ।
परीक्षा र समय त ख्याल छैन मलाई । तर, यस्तै एक गार्ड परेका थिए क्यार । जब सुपरिवेक्षक हलभित्र आए, त्यतिबेलासम्म चुइक्क नबोलेका उनी एकाएक रन्किन थाले । उनले दायाँबायाँ गर्ने विद्यार्थीलाई किटेरै धम्की दिन थाले, ‘ओए…उता फर्की । उता फर्की भनेको । बाहिर निकाल्दिमँ ?’ अनि फेरि अलि पछाडि पुगेर गर्जिन थाले, ‘किन यता फर्केको ?’ ‘डटपेन झरो सर ।’ ‘मलाई भनेर टिप्ने अबदेखि । बुझ्यौ होला नि सबैले ?’ मलाई त कस्तो विचित्र लाग्यो कस्तो ! भित्रभित्रै हाँसिरहेको थिएँ, बाहिरबाहिर उसको बोक्रे आड्म्बरप्रति रिस उठिरहेको थियो । तिनी त आत्याडम्बर(आड्म्बरभन्दा माथि/मैले कोरलेको नयाँ शब्द) ले भरिएका गार्ड पो रहेछन् । यसकारण, कुनैकुनै गार्डलाई सुपरिवेक्षक भित्रिएपछि मात्र चिनिन्छन् भन्ने तर्क मेरो हो ।
यसरी धेरै किसिमका गार्डहरु स्नाकोत्तरसम्म आइपुग्दा साक्षात्कार भए । अझै पनि भइरहेका छन् । अन्त्यमा, फेरि मलाई एक गार्डको सम्झना आयो । हाँसो लाग्छ तिनलाई सम्झिल्याउँदा पनि । अधबैँसे पुरुष थिए ती । सानो कदका तिनले ढाका टोपी लगाउँदा कस्तो सुहाएको लाग्थ्यो । स्नातकताकाको प्रसंङ्ग हो, त्रिचन्द्र कलेजमा थियो केन्द्र । कोठा सानो थियो । उनी तीन घण्टाअवधिमा आधाभन्दा ज्यादा समय त बाहिरै हुन्थे । अनि, घरीघरी आएर हामीलाई हप्काउथे । गाली दिँदै बढो हाँक बढाएर उँधो र उँघो गर्थे पाँच दश मिनेट । त्यसपछि, दश बिस मिनेट हराउँथे । पुन: त्यसैगरि हत्पताउँदै यसो भन्दै ढोकाबाट भित्र छिर्थे, ‘हेत्त तेरिका ! फेरि हल्ला पो गर्न थालेछन् यिनीहरु त ! पख त तिमेर्लाई । म हेरिराको छु को के गर्दै छ यहाँ ।’ उनको पारा उही हो त्यसपछि पनि । उनी भइन्जेल सबै चुपचाप । प्रश्न उठ्थ्यो, कोठाभित्र कोही प्राणी नै छैनन् कि क्या हो ? उनी हिँडेपछि, चिठ् निकाल्ने र चोर्नेको ताँती । मलाई पनि झ्वाँक् चलेर आउथ्यो । फेरि प्रश्न उठ्थ्यो, ‘आफ्नो आँसी आफैँतिर कसरी सोझ्याऊँ मैले ?’
यसरी ‘आफ्नो आफ्नो बाँसुरी आफ्नो आफ्नो धुन’ भनेझैँ न गार्डले आफ्नो पारा छाडे न परीक्षार्थीले । बरु, कहिलेकाहीँ प्रश्नपत्रले आफ्नो पारा छाडेको भेटियो । प्रश्नपत्र काट्ने विशेषज्ञले आफ्नो धर्म छाडेको भेटियो । अन्त्यमा, यही कामना गर्छु- शिष्ट मिजाजमा, आदरार्थी भावमा, कर्णमधुर आवाजमा सुरुमा परीक्षा आचारसंहिता/नियमहरु बताउन् र शान्त वातावरणमा डेढदेखि तीन घण्टा बिताउने अवस्था सृजना गरुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










