
व्यास बाजेले भुँडी पुराण लेख्न बिर्से भन्दै बिलौना गर्ने भैरव अर्याल, जय भुँडीको नारामा अल्झेको बेला देखि नै हो मैले सोच्न थालेको आफ्नो भुँडीको बारेमा। उनले भने जस्तै ठन्डाराम भुँडी लिएर जन्मेको म यतिका वर्ष सम्म प्रयास गर्दा पनि घ्याम्पे भुँडी मा परिणत हुन सकेको छैन। वरिपरि छरिएका दर्जनौँ मान्छेहरू हाँडी घोप्टे भुँडीमा पदोन्नति भइसक्दा आफू भने अझै टाकनटुकनमा पनि पुग्न नसक्दा मलाइ सृष्टि कर्ता ब्रह्मा देखिनै झोक चलेर आउँछ। भुँडी बनाएर गर्नु गल्ती गरेछन् बुढाले। मान्छेको शरीरमा भुँडी नै नहालिदिएको भए जे पनि हसुर्न पल्केका हाँडी घोप्टेहरूको बिगबिगी त सहनु पर्दैन थियो कमसे कम।
आफ्नो ठन्डा राम भुँडी सृष्टि कर्ताको गल्ती ठहर गर्न पुग्दा श्रीमतीलाई मन पर्दैन। उनको भनाइ अनुसार मेरो सुकेको भुँडी फुकेको भुँडी नबन्नुमा मेरो नै गल्ती हो। उनी भन्छिन् मैले खान नै जानेको छैन त्यसैले होला मेरो भुँडी सधैँ सुकेको सुक्यै। खाँदा स्वाद लिई लिई खानु पर्ने, मिलाएर खानु पर्ने, अनि अवस्था र समय अनुसारको खान खानु पर्ने सल्लाह दिन्छिन् उनी। अर्को महत्त्वपूर्ण कुरा त खाए पछि पचाउन सक्नु पर्ने जुक्ति पनि हो। कोही खान्छन् तर पचाउन सक्दैनन् अनि उही सुकेको सुक्यै। कोही खान पायो भन्दै जे पनि खाइदिन्छन् अनि पचाउन नसक्दा ट्वाइलेट धाउँदैको सास्ती। यसरी जे मन लाग्यो खाएर ट्वाइलेटमा अड्डा जमाउन पुग्दा आउने दिनहरूमा खान नै नपाइने अवस्थाको सिर्जना हुन सक्ने बताउँछिन् श्रीमती। उनको खानेकुराको ज्ञान घतलाग्दो छ। त्यतिकै घतलाग्दो छ उनको पकाउने, खाने अनि पचाउने कला।
उनी अर्थ्याउँछिन् मलाई, “दाल, भात मात्र खाएर सुकेको भुँडी घ्याम्पे भुँडी मा प्रमोसन हुँदैन। त्यसको लागि त अरू कुराहरू पनि खान जान्नु पर्छ।” उनको कुरा सुनेपछि मैले पनि थाहा पाए, पाँच मिनेटमा पाक्ने आलु देखि पाँच वर्ष लगाएर बन्ने योजनाहरू सबै खान जान्नु पर्ने रहेछ भुँडी फुकाउन नत्र भने सुकेको भुँडी को कहिल्यै पदोन्नति नहुने रहेछ। सुकेको भुँडीमा त्यस्तो वर्षौं लागेर बन्ने योजनाहरू कसरी अट्लान् त भनेर अचम्म नपर्नुहोस् तपाईंहरू, खान जान्ने कला भए भुँडी सुकेको होस् वा फुकेको जे पनि अटाउन सकिन्छ अनि जहिले पनि। रमाइलो कुरा त के भने खान जान्ने कला आयो भने जति खाए पनि, जहिले खाए पनि, जे खाए पनि अनि जहाँ खाए पनि भुँडी भरिन्न।
भुँडी भर्नलाई भुँडी बाटै जन्मेका हामी सबै, भुँडी भर्ने उपाय बिहान उठेदेखि बेलुका ओछ्यानमा लम्पसार नपरुन्जेल सम्म गरिरहेका हुन्छौँ। म पनि किन अपवाद हुन्थे र। आफ्नो खोक्रो भुँडी मा दुइ हात मुसार्दै सान्त्वना दिई रहेको हुन्छु म, “भोलि पक्कै केही खान पाउँछस् तैँले पनि” भन्दै। खोक्रो भुँडी बाट ‘कुइँ कुइँ’ आवाज बाहेक केही आउँदैन उत्तरमा। श्रीमती कत्ति भुँडी कराएको हजुरको भन्दै कोल्टे फेर्छिन्। मेरो भुँडीको आवाज उनको निद्रा खलबल्याउने निहुँ बन्न पुग्छ सधैँ।
मेरो अनुभव साथीलाई सुनाउँदा उसको प्रतिक्रिया नितान्त बेग्लै हुन्छ, “भुँडी बज्नु नौलो कुरा होइन। भुँडी सबैको बज्छ चाहे त्यो खोक्रो होस् या भरिएको। कुनै भुँडीमा भात कोचेर बज्न बाट बन्द गर्नु पर्छ त कुनै भुँडीलाई लात हानेर। कुनै भुँडीलाई पानी भए पुग्छ, कुनैलाई त्यो पानी बग्ने पाइप देखि पानीको मुहानै चाहिन्छ। कुनै भुँडी त्यतिकै अघाउँछ भने कुनै श्री सम्पत्ति स्वाहा नहुन्जेल अघाउँदैन। कोही आफ्नो भुँडी भर्छन् चुप लाग्छन् त कोही सात पुस्ता सम्मको भुँडी भर्न आतुर रहन्छन्।” कुरै कुरामा साथीले खान जान्नु पनि एउटा कला हो भन्ने कुरा दोहोर्याउँछन्। उनको भनाइअनुसार खान नजान्दा घ्याम्पे भुँडीहरू पनि ठन्डा राम भुँडी मा परिणत हुन् बेरै लाग्दैन। यो कलाको अभावमा दाउरे भुँडी, चाउरे भुँडी, र ठन्डा राम भुँडीहरू आपस आपसमा जतिसुकै ङ्यारङ्यार गरे पनि फुकेको भुँडीको रूपमा पदोन्नति पाउन सक्दैनन्। त्यसैले होला संसारमा यस्तै सुकेको भुँडीहरूको बाहुल्यता भएको। यस अर्थमा भन्नु पर्दा धेरै जसोलाइ खान नै नआउने रहेछ भन्ने बुझ्नु पर्छ।
“खाने कला कस्तो हुनु पर्छ ? कसरी खाने त ?”, मेरो यस्तो प्रश्नको उत्तरमा साथी भन्छन्, “अवस्था र समयअनुसार, सम्झाएर खानुपर्छ, अर्थ्याएर खानुपर्छ, लुकाएर खानुपर्छ, कहिलेकहीँ तर्साएर खानुपर्छ अनि झुक्याएर खानुपर्छ। यिनीहरू भन्दा प्रभावकारी चाहिँ माथिकालाई छुट्ट्याएर खानु हो।” यस्ता सबै खाने कलामा निपुण भए मेरो जस्तो सुकेको दाउरे भुँडी पनि छिट्टै फुकेर घ्याम्पे भुँडी मा परिणत हुन सक्छ।
भुँडी भर्नलाई ठाउँ पनि उचित हुनु पर्ने रहेछ। कोही भान्छामा भुँडी भर्छन्, कोही खुला मैदान मा नै भरि दिन्छन्। कोही कार्यालयको बन्द कोठामा भुँडी भर्दा रमाउँछन्। म जस्ताहरू ससुरालीमा भुँडी भर्न पाउँदा स्वर्ग नै पाए जस्तो गर्छन्। हाम्रो पण्डित बाजे श्राद्ध अनि पूजामा महिनौँदेखि भोकाएको झैँ कोची कोची भुँडी भर्छन्। अनि यी सबै गर्न नपाएका लम्पटरामहरू पम्पु लगाई लगाई आफ्नो भुँडी बेलुन झैँ फुकाउँछन्। कतिखेर प्याट्ट हुने हो उनीहरूलाई नै थाहा हुँदैन।
हुन त यस्ता लम्पटरामहरूको के कुरा गर्नु ! सहरदेखि गाउँसम्म हाँडी घोप्टेहरूको झोला बोक्दै हिँड्दा कहिले खानेकुरा खस्ला र खाउँला भन्ने ताकमा बस्ने लम्पटरामहरूको भुँडी भर्ने कुनै ठेगान नै हुँदैन। कोही टाकनटुकन मै रमाउँछन् त कसैलाई बेला बखत भुँडी भर्ने चिट्ठा आइलाग्छ। चिट्ठा को बदौलत हिजोको चाउरे भुँडी आज घ्याम्पे भुँडी भइदिन पुग्छ। अनि यस्ता घ्याम्पेहरूलाई देख्दा आफू लम्पटराम बन्न नसकेकोमा मलाई आफै देखि रिस उठ्छ। मेरो रिसको पारो बढाउन श्रीमतीले मद्दत गर्छिन्, “वरिपरिका लम्पटराम कहाँबाट कहाँ पुगी सके, हजुर चाही त्यही चाउरे भुँडी सुमसुम्याउँदै बस्नु।” अब म के गर्नु त ! उनीहरूको जस्तो भए भुँडी मा तबला बजाएर एउटा नयाँ धुन नै बनाउन हुन्थ्यो। आफ्नो चाउरे भुँडी मा न तबला बजाउनु न त सारङ्गी रेट्नु। आफ्नो भुँडी को हरिबिजोग गाउनु पर्दा दिक्क लाग्छ मलाई।
यो दिक्दारीबाट छुटकारा पाउन मैले पनि “ॐ भुँडी पुजाए नमः” भन्दै भुँडीमस्त बाबा को आश्रम मा हुन लागेको ‘भुँडी विकाश’ कार्यक्रममा भाग लिने विचार गरेको छु। भुँडी विकाश कार्यक्रमको मुख्य उद्देश्य सुकेको भुँडीलाई फुकेको भुँडीमा परिणत गर्नु रहेछ। यसको लागि प्रयोग हुने सम्पूर्ण प्रविधिको प्रदर्शनदेखि लिएर प्रयोग गर्ने तरिका सिकाइने रहेछ। साथै यस प्रविधिको असरहरू लगायतका कुराहरूमा भुँडीमस्त बाबाबाट प्रवचनको पनि कार्यक्रम रहेछ।
कार्यक्रममा पुग्दा म जस्तै चाउरे भुँडीहरूको लस्कर देख्दा मलाई अचम्म लागेन। उत्तर तिर बाट आएका चाउरेहरू दक्षिण तिरका सँग अँगालो मार्दै थिए भने पूर्वकाहरू पश्चिमेलीसँग। त्यहाँको माहौल देख्दा देशभरि चाउरे भुँडीहरू मात्र रहेछन् भन्ने कुरामा पुनः विश्वास भयो मलाई। भुँडीमस्त बाबा र उसका आसेपासेहरू अपवाद स्वरूप आफ्नो घ्याम्पे भुँडी हल्लाउँदै हामी चाउरेहरूमाथि हुकुम चलाइरहेका थिए।
कार्यक्रमको अन्त्यसम्म पुग्दा थाहा भयो यस्ता भुँडी मस्त बाबा र उनका अनुयायीहरू त केवल आफ्नो भुँडी विकाशको योजना बनाउँदा रहेछन्। हामी चाउरेहरू त त्यसको सिर्फ माध्यम रहेछौ। नहुनु पनि किन, हामीलाई त उनीहरूको हाँडी घोप्टे भुँडी हेर्ने बानी परेको छ र हामी त्यही हेरेर दङ्ग छौँ। त्यसैले होला हाम्रो गाउँ सहरमा बेला बेला यस्ता भुँडी मस्त बाबाहरूको ‘भुँडी विकाश’ कार्यक्रम भइरहन्छन्। तर जति कार्यक्रम भए पनि म भने अझै आफ्नो सुकेको भुँडी को बाजा सुन्दै रात कटाउन बाध्य छु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

