
साँझ हुनुभन्दा केही घण्टाअघिको समय । मध्यदिन उत्तरार्द्धतिर ढल्किसकेको समय । आन्तरिक पर्यटकहरूको चहलपहल मिनेट-मिनेटमा झाँगिँदै र त्यसरी नै सुस्ताउँदै पनि गइरहेको समय । थुम्काथुम्कामा भलै शिशिरले आफ्नो साम्राज्य बढाए पनि त्यसको प्रभावस्वरूप विवेकी प्राणीले आफूलाई बचाउन अनेक चेष्टा गरेका दृश्यहरू । धर्तीउँचा वायुमण्डलमा साइबेरियन पक्षीका बथान दक्षिणकाली दिशातर्फ त्राणमय यात्रामा एक सुरले उडिरहेझैँ अनेक योजना र गन्तव्य मनमा गुथेर डिलउपर यत्रतत्र, सर्वत्र छरिएका मानवहरू, उतिकै सङ्ख्यामा अदृश्य पशुपंक्षीहरू पनि ।
ती सबै राजधानीको दक्षिण पश्चिम भेगतिर विराजमान भएका दुई विराट चट्टानका डिल आसपास बसेर; रमेर; तपेर; डुलेर; थाकेर; झिँजिएर; पुनः गम्भीर भएर र जिज्ञासा पोखेर झुन्ड-झुन्डमा एकत्रित दृश्यहरूले कुनै कुनै जिज्ञासु प्राणीमा उत्सुकताको चाङ बेहिसाब लगाइदिन्छन् ।
वर्तमानमा एक जिज्ञासु प्राणी त्यहीँ समोच्च भागमा अल्झिएको छ जुन भूमिको पौराणिक नाम हो – ‘च्वाबाह:’ । ‘च्वा’को अर्थ ‘समुच्चा ठाउँ’ र ‘बाह:’ को अर्थ ‘बस्ती’ भन्ने रहेछ । पछिपछि चोभार भन्न थालिएको इतिहास रहेछ । त्यहीँ च्वाबाह:मा केही वर्षदेखि नडगमगाई उभिएका ३३ फिट अग्ला नवअवतारका मञ्जुश्री त्यहाँ आउने पर्यटकहरूका बाह्रथरी कुरा सुनिरहन्छन् अनि एक सुरले खित्खिताइरहन्छन् । तर उनी बोल्दैनन् । बोल्थे त कति भीड हुन्थ्यो होला त्यहाँ इतिहास पारखीको/आगन्तुकको ।
चन्द्रागिरिपट्टिबाट यति नै बेला चिसो स्याँठ हुइँकिदिन्छ । मानौँ, यति खैरै लाङटाङ लिरुङ वा गणेश हिमालको पछ्यौरी उडेको छ र हुत्तिएर खाँदिएको छ तल्तिरका खोचहरूमा । ओहो ! यसले कति सताएको छ हिमाली/पहाडी बस्तीहरूमा र कति प्रभाव पारिरहेछ तराइका जनजीवनमा ! आशा गरौँ- त्यो अखबारमा शुभ नै पढ्न पाइएला ।
अविश्रान्तको हुरीबतासले एकैछिन पनि विश्राम लिने निधो गरेन । अब त, यो मुटु छेड्ने चिसोले डाँडामाथि आफ्नै सुरमा रमाइरहेका मनुष्य जातिलाई बलात् जितिरहेका दृश्यहरू नमीठा लाग्न थालेँ । उनीहरू ‘आछु…. छु’ को भावमा अनुहार बिगार्दै कोल्टे फर्किन थाले । जेबभित्र आफ्ना हात लुकाए । त्योभन्दा अघि जिपरलाई घाटीसम्म नमज्जाले घ्याच्च घिच्च्याए । सिरेटो चलेसँगै देखिन थाले माथिमाथि उकालोतिरका दृश्यहरू – बूढाबूढी र केटाकेटीहरूले रफ्तारमा बाटो तताइरहेका । एउटा उराठलाग्दो हलचल आँखाले टिप्यो टपक्क र मनलाई सुराक गरायो । मन न हो । फलतः दिक्दारी मान्न थाल्यो । लग्यो- मलाई पनि अब बसिरहन यहाँ कुनै रहर छैन ।
मानिसहरू तितरबितर त भए तर केही जिज्ञासुहरूको जमघट किञ्चित बाँकी रहेको देखियो एक समुच्चामा । नभन्दै दृश्यहरू पनि थोरै फेरिए । अल्झिएका जिज्ञासुहरूले आफ्ना कान तीखा पारे । पहरहरू तीनै झुन्डतिर लम्किन मन गरे । मानौँ, अब कुराकानी केही गम्भीर मोडतिर लहस्सिनेवाला छ । लम्किँदालम्किँदै मनले हठात् यो सोचिदियो – ‘यही बखत चोभारदेवीमा फुस्फुस् हिउँ झर्ने पो हो कि ! यदि त्यसो भए त पुनः भीडभाड बढेर जाला । इतिहास छैन भन्न पनि मिल्दैन नि मौसमको साम्राज्यमा । प्रकृतिको काखमा बसेपछि जतिखेर जे पनि हुन सक्ला । राम राम !’
झुन्डमा त इतिहास वा किंवदन्तीको सरगर्मी चलिरहेछ । ‘खै खै अलिकति ठाउँ मलाई पनि ।’ सुरु हुन्छ चोभारको उच्च भागमा खडा भएकी आदिनाथ मूर्तिका आँखाबाट । किनकि, सबैले आफ्नो मुन्टो उठाउँदा त्यहीँ ठोकिदिन्छन् आँखा । आखिर किन आदिनाथका आँखा उँघो खडा छन् त ? त्योताका कसरी खडा भए आदिनाथ त्यो डाँडामा ? आँखामा प्राकृत धर्म बोकी ज्योतिलाई बगाएर बाग्मती गल्छीबाट बटारिएजस्तै पर्यटकका कौतुकमय चालाको मन त्यतै गइदिन्छन्, केही दूर । जिज्ञासु भने मन गर्छ त्यहीँ बसेर मञ्जुश्रीको कुरा खोतल्न, अगाडि आसीन उनको वर्णन सुन्न । “आ.. कुरा त बुढापाकाकै सुन्ने हो । आलोकाँचाको के सुन्नु नि ।’ अन्ततः जिज्ञासुलाई पनि यस्तै यस्तै लाग्छ । हो ता नि । ऊ त्यो झुन्डलाई छोडेर अघिल्तिरको झुन्डमा चिसोको बेपर्बाह गर्दै घुस्रिन्छ ।
“आदिनाथ त थसी (ललितपुर) का देवता हुन् नि । त्योताका त्यो ठाउँमा पानी लगातार नबर्सिएर अनिकालै लाग्यो रे । फलस्वरूप, थसीबासीहरूले रिसले चुर हुँदै आदिनाथलाई ‘अलच्छिनी देवता’को पगरी लगाएर बाग्मतीमा हत्याइदिए । स्वच्छ र सफा निलो पानीमा त्यो बग्दाबग्दै नख्खु दोभानमा पुगेर अड्कियो । त्यसलाई एक गोठालाले देखेका र नजिक जाँदा ती गोठालासँग आदिनाथले आफू माथि डाँडामा बस्न चाहेको इसारा गर्दै आँखा माथितिर उठाएका र सोही चाहनाअनुसार बाजागाजासहित उनलाई जस्ताको त्यस्तै चोभारडाँडामा स्थानान्तरण गरियो । अन्ततोगत्वा आदिनाथ खडा भए चोभारको समुच्चलीमा, आँखा आकाशतिर गाडेर ।” एक किम्बदन्तीले यसो भन्यो ।
“इतिहास त यति मात्र होइन होला नि । थसीबासीले किन त्यसो गरे त बिचरा आदिनाथलाई, ए बाज्या के छ यसको कारण ?”, छेउको एक जिज्ञासु प्राणीले आदिनाथको पक्षमा ढल्किएर पृच्छा गर्यो ।
बाज्या अगाडि बढ्छन्, “चोभारको सम्बन्ध काठमाडौँसँगै छ नि । आदिनाथ कहलिनुअघि यो ठाउँ वसुन्धरादेवी (म्हा: सुख्वा: द्धयो) को थियो रे । एक रथ यहाँबाट तानेर सेतो मच्छिन्द्रनाथ (जनम्हा: द्द्यो) को रथमा ठोक्काएपश्चात् चोभार नै फर्काइन्थ्यो । अब, फर्काउने क्रममा: व्हंगाल (हालको बल्खु) आइपुग्दा अचानक अवरोध खडा भयो । अवरोध चैँ घनघोर वर्षाले निम्ताइदियो । हावाहुरी र आँधीबेहरी चल्यो । रथ गुडाउनै सकिएन । त्यो रात रथलाई बल्खुमै पुजारीले कुर्ने निधो भयो । तर, मध्य राति अचम्मको क्रूर घटना घट्यो । तिब्बतीहरूको एक झुन्डले रथमाथि आक्रमण गर्यो र यहाँकी वसुन्धरादेवीको अपहरण भयो । यसले गर्दा रथयात्राको परम्परा त बिथोलियो बिथोलियो, च्वबाह: भगवान्विहीन भएर संस्कृति नै नासिएर जाने कुराबाट जनता त्रसित भए । अनि, यही कामना गरे- उनको आत्मा फर्किएर आओस् प्रभु !
नभन्दै एक दिन उनको आत्मा युवतीको रूप धारण गरी काठमाडौँ फर्किन सफल भइन् र गोरेटो खोजेर उही बल्खुसम्म आइपुगिन् । बल्खुबाट चोभार निस्कने बाटो नै पहिल्याउन नसकी छटपटाइरहेको बेखत एक तान्त्रिकले खेलाउँदै ललितपुरको थसी लगे र थसीबासीले नयाँ भगवान् मानेर नाम दिए- ‘आनन्दादी लोकेश्वर’ ! तर, उनी त्यहाँ कहाँ खुसी हुन सकिन र ? उनको मन त चोभार डाँडैमा थियो नि । उनको नाखुसका कारणले त्यो भेगमा अनिकाल निम्तियो । महामारी फैलियो । बालीनाली नष्ट भयो । भोकमरी चल्यो । थसीबासी भर्खर बसाएकी आन्नदादी लोकेश्वरसँग रिसाएर यो निर्णय गरे कि अब यो भगवान्लाई नख्खु खोलामा बगाइ दिनुपर्छ अनि मात्र, सबै ठिकठाक हुनेछ । सैपरी त्यसै गरे । लोकेश्वर बग्दै बग्दै जाँदा एक गोठालाले पछि देखेका त हुन् र ‘च्वाबाह:’ मा ल्याएका हुन् !”
आदिनाथ लोकेश्वरको कथा त सकियो तर सकिएको थिएन मनका जिज्ञासाहरू । यस्ता कुरा सुन्न सायद जोसुकै जिज्ञासुलाई बढो गजब लाग्छ । पल्लो झुन्डमा चोभारमा अवस्थित एक हजार दुई सय पचास मिटर लामो गुफाको कुरा चलिरहेको सुनेँ । यतिखेरै जिज्ञासुलाई शङ्कर लामिछानेको ‘चखुंतिति बखुंतिति’ निबन्धको याद आयो । अनि मनमनै परिहासले मरिहाल्यो । दायाँपट्टि चोभार गल्छी किनारको जल विनायकको कुरा चल्दै होला । यस्तै यस्तै चोभार विशेष गन्थन कतै न कतै त हुँदै थियो । धेरै त मञ्जुश्री विशेष गन्थन थियो । कतै माथि चैत्य गुम्बाको भने कतै कर्कट नाग विशेष टौदह रानीको । कतै माथिकी आदिनाथ जात्राको त कतै प्राकृतिक धरातलको, भू-बनौटको ।
माथिपट्टि मुन्टो उठाउँदा यसो पश्चिम डाँडामा शक्ति क्षीण हुँदै गइरहेको घामको चुम्बनमा एक जोडी रमाइरहेका थिए । यस्ता रमाइरहेका दृश्य त कुना, कान्ला, डाँडा, पाखातिर कति हो कति भेटिन्छन् यहाँ । लाग्छ- चोभार पिरतीको फूलबारी हो । ।
कुनै जिज्ञासुका लागि कमी नै के छ र यहाँ ? कोही नभए पनि प्रकृति साथमा हुनेछिन् । अलि पर्तिरको झुन्ड जहाँ मञ्जुश्रीको बारेमा इतिहास गुन्जिरहेको थियो । मन त्यतै जाने रहर गर्यो । चलिहाले पहरहरू । “स्वयम्भू पुराणअनुसार प्राचीन कालमा मञ्जुश्री दुई महिला(बरदा र मोक्षदा) का साथ चीनबाट तीर्थयात्रामा नेपाल निस्केका थिए । त्योताका नेपाल खाल्डो जलमग्न थियो । बाघद्वाराबाट निस्केकी बाग्मती विभिन्न ठाउँको विचरण गर्दै जाँदा चोभारको चट्टानमा ठोकिरहेकी थिइन । मञ्जुश्रीलाई लाग्यो- ‘चोभारको यो डाँडोलाई काट्यो भने बस्ती बसाउन सकिन्छ होला ।’ उनले हत्तपत्त यही सोचेर आफ्नो चन्द्रहास खड्गले त्यो भीमकाय चट्टानलाई गहिरो गरी दुई टुक्रा पारिदिए । र, यसरी उपत्यकालाई मानिस बस्न योग्य बनाएको किंवदन्ती छ । शिरको मुकुटमा सात चुच्चो र कपालका पाँच चुल्ठो भएका मञ्जुश्री ज्ञानको ज्योति बालेर प्रज्ञापारमिता पुस्तक हातमा च्यापी यो पुण्यभूमिको दर्शन गरेको इतिहास छ ।” वरपरका जिज्ञासुको मन शान्त भयो । जिज्ञासुको मनमा एक विचार सलबलायो- ‘हुन त उनको भ्रमण माथि स्वयम्भूनाथतिर पनि थियो होला तर त्यो कुरा अर्को गन्थनमा आउँला नि त !’
मञ्जुश्रीकै अगाडि बसेर गन्थन मन्थन सुनिरहेको अवस्थामा जिज्ञासुको मन शान्त भएसँगै जल विनायक मञ्जुश्री पार्क परिसरभित्र मञ्जुश्रीले आफूलाई हेरिरहेको भान भयो । करिब ३० रोपनी जग्गामा एक्लै रमाएर आफूले अगाडिको चट्टानलाई च्वाट्ट छिनाल्न प्रयोग गरेको खड्गग दायाँ हातमा र बायाँ हातमा ‘प्रज्ञा-पारमित’(पुस्तक) बोकी त्यही छिनालेको चट्टानतिर आँखा गाडेर खडा छन् उनी । शुद्धताको प्रतीक कमलको फूलमाथि विराजमान भएर किसिम किसिमका पर्यटकलाई नियालिरहेका छन् र लोभ्याइरहेका छन् तीनका आँखाहरूलाई आफूतिर । नेपाली र चिनियाँ शैलीका मिश्रित कपडा परिधान गरेर छन् । झन्डै ६ वर्षको नेपाली मूर्तिकारहरूको रफतपश्चात् शृङ्गारयुक्त भएर चिनिया शैलीमा उनको अपूर्वता खडा भएका छ । तिनी बडो अद्भुत देखिन्छन् हेरिरहँदा, एक महान् पुरुष जसको मूर्तिभरि आरण्य भाव झल्किन्छ र हेरिरहूँ लागिरहन्छ उत्सुककीलाई । बौद्ध धर्मावलम्बी भए पनि सबै धर्मका अनुयायीले उतिकै सप्रेम, सद्भाव र सम्मान गरेका छन् । अतः सम्पूर्णको आस्थाको केन्द्र बनेका छन् ।
जिज्ञासुले वरपर वायुमण्डलमा आँखा नचायो । क्षितिजीय ज्योति केही भए पनि क्षीण भएर गयो । सुस्तरी निहारिकाको समूहले बचेखुचेको आभालाई क्षितिजमा कालो पर्दा लगाउँदै गयो । फलस्वरूप, झन् उँचो भएर गयो चन्द्रागिरिको बाटो हुँदै आएको चिसा पाहुनाको प्रभाव । एकदम कष्ट साध्य भयो । यस प्रकार क्रमशः भ्रमणकर्ताको चहलपहल सुस्ताएरै गयो । वरपरका बचेखुचेका आगन्तुकहरू सायद भोलिको आशामा बाटो लागे । सडकमा गाडी गुडेको आवाजसिवाय अरू केही आवाज थिएन त्यहाँ- स्वाँ…..घुर्र…..ट्या..! जिज्ञासु पनि फर्कियो आफ्नो बाटो तर ठाउँ ठाउँमा बलेका प्रेमका बत्तीहरूले उसका आँखालाई तानिरहे । नदेखेझैँ गरी ऊ हतार हतार लम्किरह्यो बसेरातिर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

