साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा- यस्तो पनि हुँदो रहेछ

भेट नभएको तीन वर्ष भएको थियो । म पनि अध्यापनमा निकै व्यस्त भएछु । लगातारको अध्यापनबाट पटाइ लागेर मैले एकदिन अनुजलाई सन्देश पठाएँ । ऊ एक दिनमै जीवनभरको गतिलो साथी बनेको थियो । ऊसँग मेरो छ्यासछुस्स कुरा हुन्थ्यो । ऊ भन्थ्यो, “फुर्सद निकाल्नुहोस् न एक साँझ ।” मेरो सन्देश थियो, “लु यो शनिवार भेटौँ अनुजजी ।” जबाफ आयो, “हुन्छ हुन्छ समीरजी ।” उनी कीर्तिपुर नै बस्थे त्यस बेला र म तीनकुने । त्यसदिन साँझपख म कोठाबाट हिँड्नुअगावै म्यासेज छाडेँ, “हाम्रो पहिलो भेट भएको ठाउँमा पाल्नुहोला अनुजजी ।” उनले सन्देश हेरेका थिए तर रिप्लाई गरेनन् । यद्यपि, म गएँ त्यहाँ र उनी आइसकेका रहेछन् ।

विमल सिटौला

झुस्स दाह्रीमा तिनको अति नै लुते ज्यान देख्दा म छक्क परेँ । पहिलेका तिनी र अहिलेका यिनी । एकदम फरक थियो । मैले भनेँ, “तपाईँ त पहिलेभन्दा बहुत लुताउनुभएछ अनुजजी ।” उनले फिस्स हाँस्दै भने, “तपाईँले पहिलो दिन नै छोडेर गइहाल्नुभयो त । त्यसपछि जीवनमा के-के भए के-के । पढाइ पनि छोडेँ र अहिले साहित्यातिर लागेको छु ।” मैले भनेँ, “हो अनुजजी, …. त्यसपछि सानोठिमीबाट पढाइ पूरा गरेँ र अहिले जीवन धान्ने काममा मात्र जोतिएको छु । त्यस्तो प्रगति हुन भने केही सकेको छैन । बरु तपाईँले खुसीको कुरा सुनाउनुभयो । म कामना गर्छु, राम्रो लेख्नुहोला ।” उनले भने, “खेल्छु टाक्कटुक्क, छोयो भने ।”

मैले नोस्टाल्जिया हुँदै ख्यालठट्टामा सोधेँ, “अनि ऊ त्यहाँ क्यान्टिनभित्र आँखा जुधेकी युवतीसँग तपाईँको खुब थियो क्यार । कहाँ पुग्यो त्यो यात्रा ?” मेरो कुराले उनी एकाएक गम्भीर बने । उनको अनुहारभाव बदलियो, मानौँ सेतो नभमा बादलका धब्बाहरूले ठाउँ ओगटे । मैले उनको असहजताई महसुस गर्दै भनेँ, “होइन तपाईँलाई सहज हुँदैन भने अहिले छाडौँ ।” तर उनले पछाडिबाट एक पत्रिका निकाले । उनले त्यसलाई पट्याएर सानो आकारमा जेबमा घुसारेका रहेछन् । सुस्तरी एक पेज निकालेर पढ्न दिए । पढ्नुभन्दा अगाडि उनले भनेँ, “यो अस्ति भर्खर लेखेको थिएँ शेखरले कर गरेर । एकछिन पढ्नू ल । म यसो डुल्नुपऱ्यो ।” उनी उठेर यसो कोल्टिए । म नबिसाई पढ्नतिर लागेँ ।

शीर्षक थियो- “यस्तो पनि हुँदो रैछ ।”

मैले बिर्सेको छैन हाम्रो पहिलो भेट कहाँ भएको थियो भनेर । मलाई सम्झना छ, शतप्रतिशत ऊ त्यो क्यान्टिमा । भोक लागेर त होइन, नव परिचित साथीको आग्रहलाई स्वीकार गरेर सँगसँगै पुगेका थियौँ । त्यो साथीसँग पहिलो भेटमा म आकर्षित भएँ जब कि म जीवनमा कलेज अवधिभर एउटै कक्षामा अध्ययन गर्दा पनि केहीसँग झिनो सम्बन्ध पनि गाँस्न नसक्ने मान्छे । यस्तै हुन्छ सम्बन्धमा, आनीबानी वा बोलीव्यवहारको एक झिल्काले तानिहाल्यो भने तानिहाल्छ नत्र एउटै बाटिकामा फुले पनि निकटता नझाङ्गिने रहेछ । यद्यपि एउटा अटुट शोभा बाँकी नै छ त्यो फूलबारीको- बहुरङ्गी । कति सुन्दर ।

हो, मलाई याद छ, समीरले लाल चिया मगाएको थियो र पछि ऊ आफैँ गएर ल्याएको थियो क्यान्टिनको भान्साबाट । सायद पहिलो दिन भएर होला, मलाई त्यो दिन असजिलो महसुस भएको थियो । मेरो मन चञ्चल र ठिकठाक मिजाजमा थिएन । म भित्ताको कुर्सीमा बसेर अगाडिको एक समूहलाई हेरिरहेको थिएँ जहाँ युवतीहरूको एउटा झुन्ड थियो, कोही खाजा खाँदै त कोही चिया पिउँदै । समीरले चिया लिन गएपछि झन् छर्लङ्ग देखेँ मैले त्यो एक समूहलाई, मानौँ आकाशको निहारिका एक्कासि बिलायो र मैले क्षितिजलाई छर्लङ्ग देखेछु । उसले मेरो आधारबिन्दुलाई पर्दा लगाएको रहेछ, छर्लङ्ग देखिएपछि मात्र ज्ञान भयो । मलाई लाग्यो, मैले मेरो अधिकार थाहै नपाई गुमाएको पो रहेछु र पुनः प्राप्त गरेछु । मेरो दृष्टिलाई अलि पर छेक्ने एक चिया पिउँदै गरेकी स्त्री नै थिइन् । उनले मेरा दृष्टिलाई छेकिन् नै त नभनौँ, बरु एउटा आधार दिइन् जुन आधारमा ठिक त्यस क्षणबाट मेरो यात्रा सुरु भयो । समीर गएपछि ती स्त्रीसम्म पुग्नलाई मलाई कसैले छेक्दैन्थ्यो अब । उनलाई देखेपछि यस्तो लाग्यो कि दुई वसन्त आधा पनि काटिनसकेको जीवनको यो खुड्किलामा पुग्नुपर्ने गन्तव्य यही त हो ।

निकै सरल र प्राकृतिक तवरले त्यो स्त्री लाल चिया पिउँदै थिइन् । उनका आँखाका गेडी ठूल्ठूला थिए । सुरुवातामा त उनी एकदम अचञ्चल थिइन् । उनका लागि पनि मेरो साथी पर्दा बनेको रहेछ । ऊ चिया लिन गएपछि हाम्रो झलक्क देखादेख भयो । मैल हेर्दा उनले आँखा अन्तै बटारिन् । उनले हातमा लिएर पिउन उठाएको चिया कप हठात् तल झारिन् र त्यसपछि मात्र मैले मेरा नजर अन्तै बटारेँ । फलस्वरूप, उनलाई चिया पिउन सहजता थपियो ।

निमेषभरमै देखेँ, कपको किनार उनको मुखमा टासिएको । फेरि मैले झलक्क हेर्दा उनले पनि मलाई हेरिरहेकी पाएँ । भनौँ, कपको एक किनार मुखमा जोडाएर प्रस्टसँग उनले आँखा तन्काएर मलाई हेरिरहिन् । मलाई नयाँ कायदा थाहा भयो कि चियापसल वा रेस्टुरेन्टमा नयाँ मान्छेको अनुहार हेर्नुपऱ्यो भने कप ओठमा जोल्ठ्याएर आँखा तन्काउनुपर्ने रहेछ । त्यसपछि त, समीर आइपुगिहाल्यो चिया लिएर र मेरो अधिकार फेरि खोस्यो उसले । मैले प्रतिकारस्वरूप केही भनिनँ, केही गरिनँ । ती युवतीझैँ प्राकृतिक तवरमा म अगाडि बढिरहेँ ।

त्रिभुवन विश्वविद्यालयमा, स्नाकोत्तर स्तरमा शिक्षा विभागअन्तर्गत अङ्ग्रेजी विषयको पहिलो दिनको पहिलो कक्षा, क्यान्टिनको प्रथम चिया चुस्की, नव परिचित साथी र भर्खर आँखा हेराहेर भएकी एक अपरिचित युवती । यी सम्पूर्ण अनुभवको एउटा गतिलो र मीठो सम्मिश्रण चियाको चुस्की सँगसँगै फरक उमङ्गका साथ म सोचिरहेको थिएँ । यद्यपि मेरो विचारको गति स्थिर भने हुन सकेन । होस् पनि कसरी ? नयाँ-नयाँ अनुभूतिले हृदयमा डेरा जमाएपछि । कहिले किनार त कहिले मझधारमा छालहरूसँगै पानीको बुँद तप्लङ गरेपछि, कहिले भर्खर पहिलो कक्षा लिएर सकाएका गुरुका अभिव्यक्तिमा, त कहिले त्यो कप उठाउँदै गरेकी स्त्रीमा । मैले भने- ”आहा ! कति मीठो चिया ।” लगतै साथीले भन्यो, “चियामा चिनी कम छ यार, मलाई त गाडा चिया मन पर्छ नि । म त चिनी थपेर आउनुपऱ्यो ।” “हँ…”- म त उसको कुराले वाल्ल परेछु र निःस्वरमा यति बोलेछु । ऊ फेरि उठ्यो र लाग्यो कप बोकेर भान्सातिर । फलस्वरूप, बन्द पर्दा खोलियो र पुनः दृष्यहरू छर्लङ्ग देखिए । आँखा र मन कौतुकमय भयो । शरीर सिरिङ्ग भयो । ”के भयो यस्तो !”

ती युवतीले मलाई पुलुक्क हेरेर दाहिने हत्केलाले आफ्नो कपाल अगाडि ल्याएर चल्मलाइन् । मुख बिगारिन् धेरैचोटि र फेरि सपारिन् अनि फेरि बिगारिन् । घरी स्थिर देखिन्थिन् त घरी अस्थिर । उनका अन्य साथीहरू दिल्लगीरूपी फोहोराका साथ बात मारिरहेका थिए । सामूहिक हाँसो बेलाबेला गुन्जिन्थ्यो कोठाभरि । यस्तै त हुन्छ युवतीहरूले भरिएको अधिकांश कोठा । परिणामस्वरूप, खाजा खान आएकाहरूको नजर त्यतातिर पनि मोडिन्थ्यो, एक-दुई पलक ।

तर त्यो युवती फरक थिई । उनलाई सामूहिक हाँसोमा आफू लतारिनु रहेनछ । गफमा गफ्फिनु पनि रहेनछ । निकै संवेदनशील मुद्रामा देखिन्थी । हो, समीर नआइन्जेलसम्म हाम्रो बात भयो, केवल आँखाबाट । त्यसको प्रमाण भित्री दिलले दह्रो गरी अठ्याएथ्यो । तत्क्षण एक फरक झिल्को जुन युवावयमा झिल्किने गर्छ, त्यो झिलिक्क पनि गऱ्यो हृदयका भित्तामा । मलाई कस्तो कस्तो अनुभूति भयो । हो, मैले फरक अनुभूति गरिरहेँ, पर्खालमा लिन हुँदै जिउ बङ्ग्याएर र उनैलाई ननियालेझैँ नियालेर ।

हामी दोस्रो कक्षामा पस्यौँ तर मलाई याद छ कि म ठिक मिजाजमा छँदै थिइनँ त्यहाँ । एक गुरु आए र मुहारमा हाँसो दबाएर भन्न थाले, “म अरूभन्दा अलि फरक छु । तपाईँहरू बिस्तारै चिन्दै जानुहोला तर एउटा कुरा के भने, म कसैको पावर, धाकधम्कीमा डराउने शिक्षक चैँ होइन, मलाई त्यस्तो काम चैँ नगर्नुहोला । राम्रो गर्नुहोस्, नम्बर लानुहोस् । अन द स्पोट नम्बर पाउनुहुनेछ ।”

मैले कुरा बुझिनँ त्यहाँ, लाग्यो कति कठोर बोली तिनको । म छक्क परेँ कि किन यो पहिलो बोलीमै नम्बरको कुरा ? के विद्यार्थी नम्बर लिन धाएका हुन् र विश्वविद्यालय ? सिलसिला के थियो । मलाई लाग्छ कि विश्वविद्यालयका कोही-कोही शिक्षकहरू यो सोचिदिन्छन् कि विद्यार्थीहरू नम्बरका लागि आफ्नो पछि-पछि लागून् । विद्यार्थीहरू मायाँ र प्रेममा चैँ बिलकुल नरमाऊन् । मानवता र जीवन कलाको सिप बिर्सिऊन् । सिप/कलालाई नतिखारून् । सहृदयदा, मेलमिलाप, भाइचारा र विश्ववन्धुत्वको पाठ सिक्न जरुरी छैन । मैले बुझ्नै सकिनँ । के भइरहेको थियो मेरो जीवनमा त्यो स्त्रीलाई देखेपछि हँ !

मेचिदेखि महाकालीसम्मका विद्यार्थीहरूको हब थियो कीर्तिपुर । लोक सेवा होस् या शिक्षक सेवा, एउटा सपना पूरा गर्ने थलो थियो र अझै पनि छ तर विश्वविद्यालयमा विद्यार्थीको चाप भने बर्सैपिच्छे घटेको घट्यै । यसको पनि कारण होला । परिचयको सिलसिला अगाडि बढ्यो र मैले ती गुरुले भनेको कुरा एक्छिन बिर्सिएँ । बिर्सिनुको पनि कारण थियो । म त्यो युवती बसेको ठिक पछाडिपट्टि बसेको थिएँ । जानेर होइन, संयोग परेछ । पहिलो दिन भरिभराउ थियो कक्षा, लगभग असीभन्दा माथि विद्यार्थी । सेक्सन ब्रेक भएको थिएन । सबैले यथास्थानबाट उठेर परिचय दिए । मलाई लाग्यो, अब एकैचोटि पालो आओस् मेरो अगाडि । मलाई अरूको मतलब थिएन, थियो त केवल त्यो गुलावी कुर्ताधारी युवती, जोसँग भर्खर संयोगले आँखा-आँखा जुधेका थिए, जो मेरा अगाडि गम्भीर भएर विराजमान थिई । न पछाडि हेर्थी न अरूका क्रियाकलापलाई नियाल्थी । उनका दायाँबायाँ बसेकाहरू भने यताउता चलमलाइरहेथे तर त्यो बिलकुल फरक थिई । उनको फरकपनले नै मेरो ध्यान आकृष्ट गऱ्यो । यसमा मेरो के दोष ! उनको के दोष !

“गुड आफ्टरनुन एभ्रिबडी, इट्स मि मानुसी, फ्रम कलङ्की, थ्याङ्क यु ।” मेरो आतुरता टक्क अडियो जब यो सुनेँ । हो, मैले उनको बोली र नाम सुनेँ । कर्णमधुर बोली कानमा गुन्जिरह्यो निकै बेरसम्म । म हराइरहेँ पछाडिबाट उनको निक्खर कालो कपालमा हेर्दै र “मानुसी” नामलाई ओठमा हिँड डुल गर्दै । एक्कासि मलाई समीरको ठूलो घोषले सम्झायो, “ओ..तिम्रो पालो आयो ।” म झसङ्ग भएँ र जुरुक्क उठेँ । मेरो झस्काई र हठात्‌को उठाई अरूका लागि त कति सजिलै हाँसोको विषय पो बन्न पुगिसकेछ । वरपरका ग्वाल्ल हाँसे । मलाई सम्झना छ, मैले हडबडाएर “मनुस” भनेछु आफ्नो नाम, मनुज उच्चारण गर्नुपर्नेमा र मैले त्यसो भन्दा युवतीले पछाडि फर्केर पुलुक्क हेरेर मुखमा हात लगेर अगाडि फर्केकी थिई । मलाई त्यो एकदम ख्याल छ ।

कतिपय कुराहरू आफैँ मिलेर आएका हुन्छन् या त पछि मिलाइन्छन् । आफैँ तमामी भएका कुराहरू समुद्रका छालजस्ता, एक तरहले अगाडि बढेका र पछाडि सरेका । त्यसमा, प्रकृतिमाथि प्राकृतिक सुन्दरता देखिन्छ । “कस्तो संजोग थियो यो । ऊ बस्ने कलङ्की म पनि कलङ्की । अब हामी बस्ने घर पनि एउटै हुनु नि कलङ्कीमा । नाम त उस्तै-उस्तै भैसकेकै हो” ,अचानक मनमनै यस्तो चिताएँ । “धत् ! कहाँ त्यस्तो हुनु ?” ,लगतै म हच्किएँ पनि र पछाडि सरेँ ।

त्यस दिनको पढाइ सकियो तर यहाँ चैँ मलाई ख्याल छैन सबै । त्यही एक शिक्षकले भनेको कुरा मात्र हेक्का थियो र छ अझैँ पनि । समीरले मलाई बल्खुसम्म छाड्यो र म बस चढेर कोठा आइपुगेँ । मैले मानुसीलाई ख्याल पनि नगरेको होइन तर ऊ भिडहरूमा कता बिलाई कता । समीरले हतार गऱ्यो हिँड्नलाई र म हिँडेको थिएँ । बोल्न मन अधिक थियो ऊसँग । परिचित हुन मन थियो चाँडै । बोलाउन मन थियो उनलाई “मानुसी” भनेर । मनले त्यसै भन्थ्यो मेरो । जसो मनले भन्छ हामीलाई त्यसै त गर्न कर लाग्छ नि ।

त्यस रात मानुसीलाई सम्झिरहेँ । उनका स्वभावहरूको काल्पनिक फेहरिस्त पनि मनमनै बनाएँ- मसिनो बोली, लामो कपाल, ठूला आँखा, थोरै बोल्ने आदत, आफ्नो काममा दत्तचित्त हुने बानी, लजालु स्वभाव, अप्ठ्यारो मान्ने स्वाभाव, शृङ्गार सुहाँउVदो र कुर्तासलवारको पहिरन, अरू के-के । यस्तै-यस्तै विविधतायुक्त परिचयले भरिएकी थिई मानुसी । उनको नाम सबैभन्दा प्रिय । बोली सबैभन्दा मीठो । अरू के भनूँ ?

भोलिपल्ट चाँडै पुगेथेँ म कक्षामा । साथीहरू थपिँदै थिए । परिचयको र निकटताको शृङ्खलाले गति लिइरहेको थियो । मैले देखेँ मानुसीलाई मध्यतिर र झसङ्ग भएँ । उनी बसिरहेकी थिइन् हिजो बसेको ठाउँमा र म उनलाई देख्नेबित्तिकै उनको पछाडि गएर बसिहालेँ । हो त, मेरो चाल केही हडबडाएको थियो उनलाई देख्नेबित्तिकै । उनीसँगै बस्न मेरो आट आएन । मन त थियो नि, मन परेको मान्छेसँग सँगै बस्न । कसलाई मन हुँदैन र ? तर झट्ट गएर बसिहाल्न मेरो आदतले रोक्यो । उनले कसरी लिने होला भन्ने प्रश्न जो जीवित थियो । उनी सम्पूर्ण विषयको विषयसूची हेरिरहेकी थिइन्, दत्तचित्त भएर । मानुसीले मलाई आएको पनि देखेकी थिइन् । मलाई देखेपछि उनी अली हडबडाएकी जस्ती भा’की पनि सही थियो । म पनि डराएको थिएँ । कस्तो डर भित्र लुकेथ्यो त्यो त म व्यक्त गर्न सक्दिनँ यहाँ । यति चैँ भन्छु कि एकदम पोलेको थियो मुटु, तातो रगत उम्लिएको जस्तो ।

सबैतिर लगभग भरिँदै थियो बस्ने ठाउँ । मैले फोन गरेर बुझेँ कि समीर आज नआउने भएछ । मेरा साथमा नयाँ साथीहरू बसे । त्यस दिन नयाँ केटा साथीहरूसँग हाई/हेल्लो भयो तर उनी बसेको ठाउँमा एक जोडी केटा आएर थ्याच्चै बसिदए र लगत्तै उनीसँग बोल्ने प्रयास गरे । कसको के लाग्छ ? चिन्दै नचिनी थ्याच्च बस्ने र प्याच्च बोल्नेहरूसँग । मनमनै लाग्यो, केटीसँग आएर झ्याप्पै बस्न कस्तो अप्ठ्यारो नलागेको होला । उनीहरू त्यहाँ बस्न आउँदा मानुसीले ठाउँ सरेर मलाई फर्केर पनि हेरेकी थिइन् र अलि असजिलो महसुस गरेकी थिइन् । गुरु आउनुभयो पढाउनुभयो, जानुभयो । त्यस दिन निकै छटपटिएर बिताएँ मैले कक्षा । साँच्चै भन्नुपर्दा एक किसिमको ईर्ष्या जागेथ्यो मनमा, ती जथाभावी बोली हिँड्ने र बसिहिँड्ने युवकहरूप्रति ।

त्यस दिन मानुसीलाई मैले एक्लै देखेँ फर्किँदै गर्दा । म पनि एक्लै थिएँ । म उनको निकटमै थिएँ । हाम्रो अझै पनि बोलचाल भएन । यसको दोष कसलाई दिनु ? म बोल्न खोजिरहेको थिएँ तर म सकिरहेको थिइनँ । प्रश्न यो थियो- “आखिर के भनेर बोलाऊँ उनलाई ? के काम छ भनेर बोलाऊँ ? झट्टै बोलिहाल्न सकिरहेको थिइनँ । जे होस् सम्पूर्ण सङ्कायका कक्षाहरू सकिएकाले सडकमा विद्यार्थीहरू थिए छरपस्ट, बस चढ्न तीनकुने लम्किरहेका । त्यही भिडमा म पनि थिएँ र मानुसी पनि । विद्यार्थीहरू कोही हामीजस्तै एक्लै, त कोही दुक्लै । ऊ निकै रफ्तारमा हिँडी । सायद पछाडि फर्केकी भए त ऊ रोक्किन्थी कि जस्तो पनि लाग्थ्यो । ऊ स्टेसनरीमा पसी र म पनि त्यहीँ पस्न मन गरेँ ।

भित्र पुस्तक हेर्दै मैले बोल्नलाई जोगामेसो मिलाएँ । “हजुरको अङ्ग्रेजी सङ्काय होइन ?” मैले जानी-जानी प्रश्न गरेँ तर कति डरपोक भएको थिएँ त्यति सोध्न पनि । “हो त” उनले जबाफ फर्काइन् र पुनः पुस्तक नियाल्नमै दत्तचित्त भइन् । त्यसपछि के भनेर बोल्ने ? म जिल्ल परेँ एकछिन । यदि दोस्रो व्यक्तिले बोल्न मन नगरेपछि गाह्रो र अप्ठ्यारो हुने रहेछ उभिरहनलाई । चाहेथेँ, उनले पनि केही प्रश्न गरोस् मलाई । लागेथ्यो, उनले मलाई चिन्छे होला तर त्यो त मेरो भ्रम मात्र रहेछ । मैले आफ्नै लयमा केही पुस्तक किनेँ त्यहाँ । उनले पनि किनिन् । म निस्किएँ त्यहाँबाट मन नभई नभई । प्रचुर वेगमा गाडी चढ्ने ठाउँमा पुगेँ तीनकुने । त्यो क्षण मलाई के भयो के ! त्यसदिनसम्म म निद्रामा रहेछु भन्ने लाग्यो र सपना देखिरहेको रहेछु । म निकै प्रायश्चित्त गर्दै दौडधुप गरेर पुगेछु बस चढ्ने ठाउँमा पनि । पछुतो हुन्छ- आखिर पछाडि फर्केर किन हेरिनँ मैले ?

हो, उनी पनि पछिपछि आएकी रैछन् र बस चढ्ने ठाउँमा पुगेर फर्केर हेर्दा मात्र मन भरङ्ग भयो । शीतल हावा मेरो शरीरलाई स्पर्श गर्दै बहेजस्तो पनि लाग्यो, उनलाई छिनभरमै देखेपछि । मलाई “बोल् मानुसीसँग बोल्” भनेर कसैले कानमा बेहद शक्तिले फुकेजस्तो लाग्यो । म आतुरिएको मान्छे उनको आगमनले फेरि एकाएक गम्भीर बन्न पुगेँ तर त्यो कस्तो सङ्केत थियो कुन्नि ! मलाई घचघघच्याउने, त्यो आवाजको ।

अन्ततः मैले अप्ठ्यारो मानीमानी बोलेँ, “मलाई याद छ तपाईँ पनि कलङ्की हो जाने ।” केही सन्नाटा छायो एक्छिन् । उनी अलमलमा परिन् र ओठमा हात लग्दै भनिन्, “ल…..कसरी थाहा पाउनुभयो ? साँच्चै कुन कुन पुस्तक लिनुभयो तपाईँले ?” हो रहेछ, शीतल बतास नै चलेको रहेछ । कसैले मेरो कानमा आएर ठिक मौसममै शङ्खघोष गरेको रहेछ । मैले साह्रै निकटको प्रतिक्रिया दिएँ, “म त्यस दिनबाट तपाईँसँग बोल्न खोजिरहेथेँ तर अप्ठ्यारो लागिरहेको थियो मानुसीजी । तपाईँले फरक पो सोच्नुहोला कि.. भनेर ।” उनी लाजले जडवत् भइन् र नयाँ बजारको सुदूरमा देखिने घरहरूतिर आफ्ना दृष्टिलाई ठोक्काइन् । मलाई लाग्यो, मैले पहिलो बोलचालमै नबोल्ने कुरा बोलेँ र उनको मनलाई धक्का पुऱ्याइदिएँ र फेरि कुन आवेगमा आएर थपेँ, “..र यो पनि होइन कि मानिस प्रेममा लगातार तड्पिरहोस् ।”

मेरो अन्तिम कुरा सुनेर मलाई उनले पुलुक्क हेरिन् । त्यत्तिकैमा गाडी आइहाल्यो र हामी चढिहाल्यौँ । उनी म बसेकै सिटमा आएर थचक्क बसिन् । त्यसपछि त निकटताको झिल्को झिलिक्क गऱ्यो र मैले उनको अनुहार झलक्क हेरेँ । एकदम डराएकी, रातोपिरो मुहार थियो उनको । मैले केही क्षण बोलिहाल्न जरुरी ठानिनँ । सायद, म पनि त भित्रभित्रै उनीजस्तै लाजले पाकेको थिएँ कि तर ज्यादै मायावी मौसम थियो त्यो, नबोले पनि क्या आनन्द आइरहने । सुन्दर मिठासले भरिएर वासन्ती मौलाएकी जस्ती ।

यात्रुको चाप गाडीभित्र ज्यादा थिएन । यद्यपि, सबै सिटहरू भरिभराउ भएर पनि कोही उभिरहेका थिए, अगाडितिर । मैले उनलाई सोधेँ, “कस्तो लागिरहेछ त कक्षाहरू ?” उनले मुखरा भएर भनिन्, “ठिकै, तर मिल्ने साथी नै पाएको छैन मैले । हिजोका साथीहरू खै कता गए, म त एक्लै आज । आज त खाजा खान पनि पाइएन ।” म पनि दुःखी भएँ उनका कुराले । भन्न त मन थियो, “मलाई भनेको भए म तयार थिएँ नि ।” तर मुखबाट फुस्किहाल्न हतार गरेनन् शब्दहरू । मैले यति चैँ थपेँ, “अँ क्यार, क्यान्टिनको लाल चिया औधी मीठो छ ।” उनले पुलुक्क हेरिन् र मुखमा हात लगेर अन्त कतै हराइन् । बल्खु आइपुगिसकेछ । हामी झऱ्यौँ, खाजा खायौँ र कलङ्की लाग्यौँ । त्यस साँझ गाह्रो भएथ्यो मलाई उनीबाट छुट्नलाई । छुट्ने बखत यस्तो भएथ्यो, मानौँ हातबाट चङ्गाको लट्टाई चुटिएजस्तो ।

देवकोटा भन्छन्, “विद्यार्थी जीवन जवानीसँग गाँसिएको हुन्छ ।” एउटा स्वर्णिम यात्रा विद्यार्थी जीवनको, मायाँको सरोवरमा । डुबिहाल्ने रहर या उत्रने खतरा- भोलिको कुरा तर वर्तमान कोमल र भावमय हुने गर्छ अनि फुकाफाल निशाचरमा रमाउने गर्छ यदि दुई आत्माको वास्तविक सङ्गम भएमा, शून्यतामा या मूर्ततामा । उनले पुग्नेबित्तिकै फोन गरिन्, “पुग्यौ कोठा ?” उनले भन्दै गरेको ”तपाईँ” लाई विश्राम लिने निधो गरिछिन् । यसमा छुट्टै मिठास र सम्बन्धमा बान्की पनि त थपिन्थ्यो । एक झिल्को झिलिक्क गऱ्यो हृदयमा र शरीर नै झमझमायो । मैले यथार्थ बोलेँ, “म एकोहोरो भएको छु त्यस दिनदेखि । किन-किन तिम्रो तस्बिर घुमिरहन्छ आँखामा । मन स्थिर हुन सकेकै छैन । के म यसरी नै तड्पिरहनु हरबखत !”

कति शक्ति हुन्छ मायाँमा ? बाफ्रे ! मलाई ज्ञान भयो । किन मानिसहरू मायाँमा पागल हुन्छन्, त्यो पनि मलाई ज्ञानातीत भयो । मैले लगतै फोन गरेर जबाफ मागेँ, “….यसमा तिमीलाई आश्चर्य पनि लाग्छ होला मानुसी, न हदै बातचित, न लामो परिचित, कसैले यति गर्न सक्छ ? सिलसिला यो हो कि मैले तिम्रो आनीबानी पछ्याएको छु । मैले तिम्रो आदतलाई मायाँ गर्छु । तिमीलाई तीन दिनबाट नियाल्दै आइरहेको छु र तिमीसँग एक्लै-एक्लै हराइरहेको छु, मनको लड्डु बनाएर । यसमा तिम्रो जबाफ के होला ? त्यो त थाहा छैन ।” मेरो कुरा सुनेर बेजबाफ उनले फोन राखिदिइन् तर राख्नुभन्दा अगाडि लामो सुस्केरा गुन्जियो मेरो कानमा । सायद कठिन भयो उनलाई निर्णय लिइहाल्न ।

र भरे नौ बजे फेरि गरिन् र सोधिन्, “खाना खायौँ । के गर्दै छौ ? आजको सरले पढाएको बुझ्यौ ?” मैले उही कुरा दोहोऱ्याएँ, “म छटपटीमा छु । अहिले म झ्यालबाट माथि आकाशमा हेर्दै छु ।” उनले नबोल्दै हतारहतार फेरि थपेँ, “मानौँ वर्षायामको एउटा खोलो जथाभावी दौडिरहेछ र बिगार गरिरहेछ आफैँलाई पुज्ने बस्तीहरूमा अनि माथि इन्द्र भगवान् टुलुटुलु हेरिरहेछन् यो विनाशलाई ।” उनले भनिन्, “कस्तो कायदा हो तिम्रो मायाँ गर्ने ? पूरै शब्दहरूमा डुबेर मेरो सम्पूर्ण तनमनलाई हल्लाइदियौ यार तिमीले । मलाई एकदम डर लाग्यो । के भयो मभित्र एक्कासि !” उनले लत्रेको आवाजमा मैसँग जबाफको अपेक्षा गरिन्, “भन म के गरूँ ?” मैले भनेँ, “एउटा विश्राम देऊ यो उत्तापलाई बिसाउँने । छहारी त आफैँ बन्ला आउँने दिनहरूमा ।”

यसरी उनको र मेरो मायाँ झाँगिएर गएको थियो, तीन दिनमै । हामी कलङ्कीबाट सँगसँगै आउँदा, कक्षामा बस्दा र जाँदा सायद अरूको मनमा हामीप्रतिको धारणा फरक थियो पनि होला । पछि-पछि परिचितहरूमा खासखुस र हल्ला पनि चल्यो क्यार । यसको हेक्का थोरबहुत त मलाई र उनलाई पनि थाहा थियो ।

पछिपछि त मेरा साथीहरू पनि झाँगिएर गए । शेखर एकदमै प्यारो भयो । ऊ साहित्यिक मान्छे थियो तर विश्वविद्यालमा कीर्तिपुरको घरबेटीकी छोरीसँग लसपस थियो भन्ने हल्ला व्याप्त थियो । यतिसम्म कि घरबेटीकी छोरी उसलाई लिन यहीँ क्याम्पसमा पनि धाउन थाली । पछि निर्दोष डेरावालको नामले परिचित भयो । कस्तो गहिरो मायाँ थियो दुई आत्माको । मैले मानुसीसँग यो कुरा पनि बताएको थिएँ ।

एक क्षण, परीक्षा सकिएको समय थियो क्यार । परीक्षा सकिनेबित्तिकै शेखरलाई प्रहरीले गिरफ्तार गऱ्यो । अचम्मित भए सबै । त्यस्तो सोझो र असल शेखरले के उपद्रो गरेछ ? ऊ बिल्कुल गलत गर्ने मान्छे त थिएन । फसाइएको हुन सक्छ तर हल्ला सही थियो या झुठो ! ”घरबेटिनीसँग रिसिबी साँधेर शेखरले उनकी छोरीलाई अपहरण गऱ्यो रे ।”

मानुसी डराइन् र मेरो नजिक आइपुगिन् । “मनुज, मलाई त एक्कासि डर पो लाग्यो” ,उनले भनिन् । मैले भनेँ, “हेर, दुनियाँमा हरेकका आआफ्नै कथा/व्याथा हुन्छन् । कुन नजरबाट हेर्दै छौ तिमी यो घट्नालाई हँ ! फेरि तिमीलाई थाहा छ नि यहाँ दुर्गम सोचका विद्यार्थी र गुरुहरू नै अरूको कुरा काट्दै हिँड्ने, बजाइदिने गरिरहेछन् । यही कुरामा अस्ति गुणराजले माफी पनि माग्यो रे । त्यै भएर यो कुरा असत्य पनि हुन सक्छ ।” उनी सम्हालिइन् मेरो कुराले र हामी पढ्न कक्षामा पस्यौँ ।

मायाँको यात्रा साँच्चै रङ्गीन यात्रा । जरुरत पर्दैन थियो कोही । बस् मायाँ गर्ने मान्छे मानुसी भइदिए पुगीसरी हुन्थ्यो । उनी कोठा पुगेपछि फोन गरिहाल्थिन्, म्यासेज गरेको गऱ्यै गर्थिन् र मबाट एकछिन पनि टाढा हुन मन गर्दिन थिइन् । मलाई सम्झना छ कि मैले गर्नेभन्दा ज्यादा प्रेम उनले मलाई गर्न थालिछिन् । उनी एक्लै बस्थिन् त्यहाँ तीनतले घरको भुईँ फ्लोरमा । यदि म कुनै दिन कलज गइनँ भने उनी पनि जान्न थिइन् । म यस विषयमा सम्झाउँथेँ उनलाई, “जाऊ, पढ म नगए पनि । यसले मलाई पनि फाइदा गर्छ ।” उनी भन्थिन्, “तिमी नभएको कक्षा, कक्षाजस्तो लाग्दैन मनुज । सारै पट्यारलाग्दो, उदासिलो लाग्छ । खिन्न हुन्छ मन तिमी भएनौ भने ।” अब कसरी सम्झाउनु उनलाई !

एक रात ज्यादै झस्किएँ म । केही दिनबाट पढाइमा मन फिटिक्कै गइरहेको थिएन । किन-किन जतिखेरै उनैसँग बोलिरहूँ लगिरहने । र बोल्दाबोल्दै ब्यालेन्स सकिएर आफैँ फोन काटियो त्यस रात । सम्झना छ- त्यसै रात एक अघोर सपना देखेको । त्यस रात चकमन्न रात थिएन, माथि जुनले आफ्नो तागत धर्तीउपर देखाइहेथ्यो र म प्रस्टसँग उनको चेहरा देखिरहेथेँ । उनी लजाउथिनँ मलाई हेर्दै अरू बेला तर त्यस बेला उनी एक किसिमको खैँचाखैँचीले जेलिएर मुखरित भएकी थिइन् । हो, मेरो झ्यालबाट उनी मेरो कोठामा प्रवेश गर्न खोज्थिन् र म मसिनो आवाजमा सम्झाउँथेँ, “यो सम्भव छैन मानुसी । बिहान हुन देऊ ।” उनी भन्थिन्, “ज्यादै हतार छ मनुज, केही भन्नु छ तिमीलाई र जानु छ म ।” मैले भनेँ, “कलेज जाँदा भनौली ।” उनले मलाई हेरेर आँसु बगाइरहिन् । मैले एकोहोरो हेरिरहन सकिनँ । मैले झ्यालबाट हात लगेर उनको आँसु पुछिरहेँ र उनको कपाल मिलाइदिएँ । अनि सम्झाउँदै भनेँ, “कति तडपाउँछौँ मलाई ? यो कस्तो रहर गर्दै छौ झ्याल फोडेर पस्नलाई ।” उनले एकोहोरो अजिब क्रन्दन पोखिरहिन् थोपा-थोपामा, सायद मेरा लागि त्यो अज्ञात रोदन भइदियो । त्यसको सङ्केत के थियो ? मेरो हत्केलो आँसुमय भयो र म झस्किएँ । अनि मात्र मेरो सपना हठात् खलल भएर भयो ।

बाफ्रे ! निकै व्यग्र र आतुरिएको बिहान भयो । लाग्यो, म ठूलो दुर्घटनाबाट जोगिएँ तर उनलाई कस्तो छ हँ ! हत्तपत्त पसल पुगेर ब्यालेन्स हालेर बाटाबाटै सम्पर्क गरेँ । उनले सुरुमै सोधिन्, “के आश्चर्य हुन लाग्यो आज ! कति छिटो उठ्यौ तिमी ?” उनको प्रश्न सुनेपछि मैले आतुरिएको आवाजलाई निस्तेज बनाउँदै मलिन स्वरमा सोधेँ, “मानुसी, तिमी सन्चै छौ नि ? प्रिय, तिमीलाई केही भएको छैन नि ।” उनले पनि आश्चर्य पोखिन्, “हैन तिमीलाई आज के भयो सबेरै, लौ जा, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले-कहिले ।

मैले खुसीले त्यै गीत गाइदिएँ,,,

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले

कसैलाई मायाँ गर्नु एउटा भूल गरेँ मैले ।

यस्तो पनि हुँदो रैछ ।

सदाझैँ त्यस दिन हामी कङ्लकीबाट गाडी चढ्यौँ । मैले उनको अनुहारमा हेरिरहेँ । उनले लाजको रङ्गलाई पोखाइरहिन् मुहारभरि र मेरो हातमा चिमोटिरहिन् । मैले रातको सपना सम्झिरहेँ तर सुनाउन सकिनँ । अनि उनलाई भने, “यस्तो पनि हुँदो रैछ हगी !” मैले अलि संवेदनशील हुँदै पुन थपेँ, “आजभोलि पढाइमा त्यति मन गएको छैन । मन पहिलेको जस्तो स्थिर पनि हुन सकेको छैन । तिमीलाई सम्झिन्छु हरबखत, हरघडी । अब यस्तो लाग्दै छ कि हामी विवाहका लागि योग्य भएका छौँ र ढिला नगरौँ । आखिर एक वर्ष पनि कटिसक्यो मायाँमा र विवाह पनि एक दिन गर्नैपर्छ ।” उनले मलाई झन् चिमोटिन् र लाजले जडवत् भएर मुख छोपिन् अनि झ्यालबाट क्षितिजतिर गौर गरिन् । मैले केही भन्न सकिनँ उनलाई त्यसपछि । मैले पनि उनले हेरेतिरै हेरिरहेँ ।

प्रेमीप्रेमिकाको हात कतिखेर छुटिन्छ ? सायद थाहा हुने भए त्यहीअनुसार योजना बुनिन्थ्यो होला यो मर्त्यलोकमा तर त्यो त हाम्रो वशमा छैन । वशमा नहुने जीवन मात्र होइन, मायाँ पनि रहेछ । हामी हात समाउँदै मायावी दुनियाँमा बल्खुमा उत्रियौँ र विश्वविद्यालय मार्गतिर लाग्यौँ । हाम्रो हात त्यहीँ पुगेर छुटेको थियो । दैवले उनलाई मबाट त्यही बेला छुटाएका थिए ।

उनी गाडीबाट उत्रिएपछि भन्दै थिइन्, “तिमी कतिसम्म मेरो हात पक्रिन सक्छौ ? भन त मनुज ।” मैले जिस्किँदै भन्दै थिएँ, “जीवनभर नि ।” उनी निसाफ माग्दै थिइन्, “साँच्चै ?” मैले भन्दै थिएँ, “हो सानु हो ।” हामी गाडी चढ्न बाटो क्रस गर्दै थियौँ । उनी प्राकृतिक तवरमा मेरो दायाँ हात समाएर रमाउँदै, तन्किँदै हिँड्दै थिइन् । यही बखत एक्कासि पछाडिबाट बेजोडका साथ गुड्दै आएको बाइकले उनको शरीरमा कुनै व्याधाले ताकेर हानेको गोलीझैँ ड्याम्मै हान्यो । मानुसी उछिट्टिएर पर पुगिन् र छटपटाइन् । छिनभरमै सडक रक्ताम्मे भयो । म सकुशल भएँ । बाइक सोहोरिएर मानुसीमाथि चढ्यो र त्यो व्याधा दक्षिणकाली पेट्रोल पम्पमा उछिट्टिएर पुग्यो । नजिकैको बयोधा अस्पताल त लगियो तर उनी जिउँदो रहिनन् । मलाई सदाका लागि छोडेर गइन् तर त्यसदिन उनले भनेका धेरै कुराहरूमध्ये एक कुरा म बिर्सन सक्दिनँ-“यस्तो पनि हुँदो रहेछ ।” अस्तु !

यति सकेर मनुजतिर हेरेँ, ऊ थिइन त्यहाँ । कागहरू कराएको आवाज भयङ्कर आइरहेको थियो । कुकुरहरू केही भुकिरहेका थिए सडकमा । झिसमिसमा मानिसको थोरै चहलपल थियो सडकमा । म खिन्न अनुहार बोकेर कोठातिर लागेँ ।

प्रतिक्रिया
Loading...