विद्या आर्जन गर्ने काल नै विद्यार्थी जीवन हो ? ‘होइन ।’

सद्विद्या आर्जन गर्ने काल विद्यार्थी काल ? ‘अहँ ।’

म एकछिन अल्मलिएँ र विश्वविद्यालयको चमेना गृहतिर लागेँ । भित्र केही विद्यार्थीहरू चर्काचर्की गरिरहेका थिएँ । एउटाले भन्यो, ‘गुरुले पढाएको केही बुझिनँ भने म किन चुप लागेर बसूँ ?’ अर्कोले भन्यो, तँ हुँदा पनि त्यै नै हो हालत । आफैँले नपढीँ हुँदैन, उनीहरू त अपठ्यारोमा बाटो देखाउने मार्गदर्शी मात्र ।’ हुँदा हुँदा त्यहाँ दुई समूह खडा भए । एउटा अर्को शिक्षकको माग गर्ने र अर्को त्यही शिक्षकलाई निरन्तरता दिने । फलस्वरूप, मेरो मनभित्र यो कुरा खेल्न थाल्यो कि विद्यार्थी जीवन आफूले रुचाइएको शिक्षक छान्ने उमेर हो तर म यो निर्णयमा पुगिनँ किनकि यो परिभाषा मेरो क्षणिक दृष्टान्तको सन्की परिभाषा हो । मैले दिएँ निर्णय गर्न जिम्मा समयलाई र पढाइमा केन्द्रित भएँ ।

साँझमा कोठा पुगेँ र पुनः घोत्लिन थालेँ । सिक्ने प्रकिया त जीवनभर चलिरहन्छ नि । यहाँ चार पर्खालभित्र मात्र विद्या आर्जन गर्ने सिलसिला सीमित रहन्न नि । त्यसैले सिकिरहने काल विद्यार्थी काल हो । यो निर्णयमा नपुग्दै एक प्रश्न जुरुक्क उठ्यो । के त्यसो भए आफ्ना पितालाई मैले विद्यार्थी भन्दा जायज ? मैले फोन लगाएँ पितालाई र बेप्रसङ्ग सोधेँ- ‘तपाईँलाई कसैले विद्यार्थी भनेर सम्बोधन गर्‍यो भने के जवाफ दिनुहुन्छ ?’ उहाँलाई थाहा छ म बेला बखतमा यस्तै यस्तै प्रश्नहरू सोध्ने गर्छु त्यसैले आनाकानी वा अप्ठ्यारो भएन उहाँलाई । उहाँले जीवनमा नयाँ ज्ञान सिकेझैँ गद्गद् हुँदै भन्नुभयो, ‘अहिले म नयाँ प्रजातिको मकै कसरी रोप्ने भनेर कृषि तालिम लिएर आउँदै मात्र छु, भरे फुर्सदमा कुरा गरौँला ।’ म अर्धसन्तुष्ट भएँ । त्यसो भए ठिक छ:- ‘विद्यार्थी जीवन जिज्ञासा, अनुभव, उत्सुक्त्ता, परिश्रम, सृजना र मूल्य खोज्ने उमेर । यसमा उमेरले फिक्री छैन ।’ परिभाषा केही सन्तोषजनक छ ।

विमल सिटौला

आज विश्वविद्यालयको कोठाभित्र बसेको पनि दुई वर्ष नाघिसक्यो, स्नाकोत्तरका पुस्तकहरू छिचोल्नलाई । पुस्तकहरू ज्यादा जसो पाश्चात्य भाष्यमा केन्द्रित छन् । अध्यापन पनि बेजोडले तिनैमा केन्द्रित हुने भै हाले । कति जितेको त्यो दर्शनले ? म छक्क पर्छु । मन पटक्कै छैन पश्चिमाहरूले निकै वर्ष पहिले प्रतिपादन गरेका ती दर्शनलाई मगजमा पसाउँन । तर, बाध्यता जीवित छ । म अङ्ग्रेजीको अध्येता । त्यसबखत पिताको ढिपीमा मैल अङ्ग्रेजीमा दख्खल राख्ने चेष्टा गरेँ । अङ्ग्रेजी फरर्र बोलोस् भन्ने पिताको चाहाना थियो त्यसबेला । अहिले के छ मैले सोधेको छैन । मलाई के थाहा ? कक्षाकोठामा गुरुका अगाडि अङ्ग्रेजी छाँटेपछि आँखाको नानी भइँदो रहेछ । बस् अङ्ग्रजी प्रस्टसँग छाँट्नु मात्र पर्‍यो केही गुरुका अगाडि । केहीलाई त्यतिले पुग्दैन, साथसाथै सार चाहियो । अर्काथरि बोलक्कडमा केन्द्रित । कति वीभत्स र गम्भीर भाषा छ उसको ?  ठाउँठाउँमा रोकिँदै र झोकिँदै बोलिरहेछ तर पनि आफ्नो निकटको भएपछि उत्तम । यता, न तर्क छ,  न प्रश्नको तुक ।

‘मलाई जहाँबाट जे सोधे पनि हुन्छ ?’  गुरु विद्यार्थीउपर हाकाहाकी भन्नुहुन्छ । मलाई लाग्छ असली गुरु यस्तो पो । अनि म खोतल्छु तिनको व्यक्तित्व ! फेरि मलाई त्यति विघ्न जाँगर आउँदैन किनकि प्राप्ताङ्कमा मात्र विश्वास नगर्ने मेरो बालकैदेखिको व्यसनले मलाई पछ्याउन छाडेको छैन । भित्रभित्रै परिहासले बेरिन्छु । ख्याल छ ? मुख बाँध्नुमा मजा छ । सुन्नुमा आनन्द छ । लेख्नुमा अत्यानन्द छ र वाञ्चित पुस्तक पढ्नुमा सबै छ जुन भरजीवनकाल हुने गर्छ, न कि विश्वविद्यालयमा मात्र । त्यसैले, विद्यार्थी जीवनका असली पुस्तक ती सजीव र निर्जीव मानव वा वस्तु हुन् जुनले हामीलाई भोक बिर्साउँछन्, उत्सुकता जगाउँछन्, लेखूँ-लेखूँ गराउँछन् । पात्रहरू सपनामा आएर बातचित गर्छन् । विचारको पिउरी तन्किएर किनार छोऔँलाझैँ गर्छन् । जानेका कुरा बोलिहालौँ भन्ने पनि लाग्दैन । कुनै पृच्छा तेर्स्याऊँ पनि लाग्दैन । अनि सबै भएर पनि के के नभएजस्तो, अभावको गुन्जायस भइरहन्छ । यो विद्यार्थी कालमै हुने गर्छ ।

जीवन अभावहरूको चाङ हो । देखासिकीको प्रतिरूप हो वा नक्कलिपना हाबी भएको समय हो । ‘अर्थ’मै सबैथोक केन्द्रित हुन्छ भन्न पनि सकिँदैन । फर्किएर अमादरफद गर्ने हो भने केही सहुलियतहरू पाएका छौँ हामीले । तर पनि प्रथमत: तगारो बनेर त्यही आउँछ । असल गुरुको अभाव छ । मित्रहरूको खडेरी छ । विश्वासमा धमिरा लागेको छ । अन्तरघात र खुट्टा तान्ने प्रवृत्ति यत्रतत्र छ । अल्पज्ञानीहरू अग्रसर छन् । ज्ञान भएकाहरू पछाडि परेका छन् । खराब बानी बसेको छ हाम्रो । हामी भविष्य सोचेर पुस्तक उल्टाउँछौँ, परीक्षा आउँदा पल्टाउँछौँ । तर कुनै कुनै गुरुहरू भन्नुहुन्छ- ‘भविष्यका लागि तयारी गर, परीक्षाका लागि होइन ।’ दिल खुस हुन्छ । सम्मान र प्रेम जाग्छ । म चनाखो हुन्छु । अरूलाई भने रुचि छैन । अर्को गुरु आउनुहुन्छ र भन्नुहुन्छ – ‘राम्रो अङ्क ल्यायौ भने बजारमा बिक्छौ ।’ म नकार्न पनि सक्दिनँ । त्यसैले म द्विविधामा छु । तर यसको छिनोफानो आफैँलाई प्रयोगशाला बनाएर गरी पनि रहेको छु । परिणाम के आउँछ । ‘देखा जाएगा ।’

अब प्रसङ्ग बदलौँ ।

विद्यार्थी जीवन एउटा मग्मगाउँदो उमेर यिनकि साहित्यकार अमर न्यौपानेले लेखेजस्तै ‘गुलाबी उमेर ।’ विद्यार्थी फूलमा भमराहरू बस्छन् । कतिलाई यसैमा मजा छ । थोरैलाई बेकार र अर्थहीन लाग्छ होला यो कुरा । तर यस कालमा सोच्दै नसोचेका मानिसहरू एकाएक जोडिन्छन् र प्रेमको संसारमा रमाउँछन् । अनि फेरि एकाएक छक्क परिन्छ जब ती शिशिरको पूर्वसन्ध्यामा छुट्टिन्छन् । त्यसैले मिलन र बिछोड विद्यार्थी कालको अर्को विशेषता हो । कहिलेकाहीँ हामी बोलिरहेका साथीहरूसँगको सम्बन्ध चटक्कै चुडाल्छौँ । अरू कोमल मनका वा रुचाइएका साथीहरूसँग नजिकिन्छौँ । कहिलेकाहीँ जबरजस्त स्वभाव विपरीत साथीहरू रोज्नुपर्ने हुन्छ । तिनीहरूबाट पनि केही सिकिरहेका हुन्छौँ । कोही साथीहरू रैवारे हुन्छन् कुराको ओसारप्रसार गरिरहने, नियोजित रूपमा सम्बन्धमा धाजा होस् भन्ने उत्कण्ठाले अभिप्रेरित भएका । उनीहरूलाई प्रस्ट चिनिन्छ । यद्पि उनीहरू पनि हाम्रा ज्ञानका श्रोत हुन् । हामीहरू ज्यादा अरूको पछि लागिरहेका हुन्छौँ । कहिलेकाहीँ त आफ्नो धरातल बिर्सेर रिस/द्वेष पनि पालिरहेका हुन्छौँ । म त भन्छु, ‘प्रतिस्पर्धा आफैँसँग गर । आफैँलाई रिस गर । आफूलाई पछ्याऊ । हिजोको आफूलाई आज जित्ने प्रयत्न गर ।’ अत: गुलाबी उमेरलाई जगेर्ना र स्थान्तरणको खाँचो छ । यसका लागि आफैँ उत्तरदायी हुनुपर्ने मेरो अनुभवले बताउँछ ।

विद्यार्थी उमेर सृजनाको अतिरेक भएको उमेर पनि हो । आफ्नो रुचिअनुसारको कलामा आफूलाई तिखार्नु र आत्मीयहरूबाट बारबार सल्लाह सुझाव लिनु एउटा सृजनशील अध्येताको निको नहुने रोग हो । विध्वविद्यालय धाउँने कतिपय साथीहरूमा त्यो विषयमा ध्यान देखिँदैन । फगत प्रमाणपत्रमुखी मात्र भएको छ हाम्रो शिक्षा । हामीलाई उत्तम ग्रेड चाहिएको छ । सायद त्यै भएर पो हो कि हामीलाई आफ्नो रागबारे सोच्ने फुर्सद नभएको । म कक्षामा कहिलेकाहीँ एक्लो महसुस भएको बखत कलापट्टि बहुल रुचि भएका अध्येताहरूको तलास गर्छु । फेरि पनि एक्लो हुन्छु र यही निबन्ध लेख्न अघि सर्छु । के विद्यालय वा विश्वविद्यालयले कुनै साहित्यिक कार्यक्रम सञ्चालन गरेको छ ? छैन । के कविता, कथा वा अन्य बिधा कसरी लेख्ने भन्नेबारे सिकाउन चाहेको छ । के मैले पढेको विश्वविद्यालयमा साहित्यमा दख्खल राख्ने गुरु हुनुहुन्छ ? खै यो दुई वर्षको अवधिमा म जानकार छैन ।

म चाहन्छु, कोपिलालाई गोडिदिने माली गुरु भैदिउन् तर विश्वविद्यालयमा अभागी विद्यार्थी हामी । हामीले लादिएको पुस्तकमा मात्र ध्यान दिनुपर्ने । त्यसैमा हाम्रो मूल्याङ्कन हुनुपर्ने । मृत मानिसका परिभाषा घोक्नुपर्ने । कठै !

विद्यार्थी जीवनमा नै राजनीति हुने गर्छ । राजनीतिको ‘र’ नजानेको विद्यार्थी यो कालमा नीति र सिद्धान्तका कुरा गर्छ । यसर्थ, यो आफूलाई पहिचान गराउने उत्तम थलो पनि हो तर राजनीति गर्ने चाहना भन्दा सेवा गर्ने चाहना बढी भएमा ऊ विद्यार्थीउपर कहलिन्छ । मानव सेवाको भाव विद्यार्थीमा हुनुपर्दछ । आफूले जानेको कुरा सिकाउन, आफूले सकेको सहयोग गर्न, लिनभन्दा पनि दिन अग्रसर भएको राम्रो तर राजनीति गर्ने नाममा कुनै कोरा सिद्दान्तलाई जबरजस्त लाद्ने प्रयास गरियो वा भुलाएर/छकाएर त्यस किसिमको हर्कत गरियो भने विद्यार्थी दोस्रोपटक सचेत हुन्छन् । हुन त असल अध्येताको मन पढाइपट्टि नै हुन्छ । गुरुहरूको प्रतीक्षामा ज्ञानको भोको भएर तदाकर रहनु नै असल अध्येताको विशेषता हो । ऊ फाल्तु कुरामा मरिहत्ते गर्दैन । ऊ प्रश्नहरू गर्न रुचाउँछ । रुचि वा उत्सुकताले भरिएको हुन्छ । यसले विद्यालयको छाँट बढाउँछ र परिश्रमी बनाउँछ । उसको ध्यान अन्त हुँदैन । आफैँलाई खोतल्दैमा उसको समय सकिन्छ । तसर्थ पढाइ कि राजनीति ? त्यो अध्येताको पृष्ठभूमि, रुचिको क्षेत्र, क्षमताको पहिचान र साथीभाइको लहैलहै डोहोर्‍याउने रहेछ ।

अन्त्यमा, विद्यार्थी जीवन, आफैँले आफैँलाई ‘म को हुँ?’ भनेर प्रश्न गर्ने उमेर हो । सिकाइको क्रम नरोकिने काल हो । रहर, उत्तेजना, प्रेम, श्रद्धा, सहयोग, अनि मिलन र बिछोडको सङ्गम नै विद्यार्थी जीवन । आफूलाई चिनेर आफ्नो मार्गमा दत्तचित्त भई लाग्ने उत्तम सिकारु काल नै विद्यार्थी जीवन हो ।