
निष्पट अँध्यारोमा एकनासले ढ्याङ्ग ढ्याङ्ग गरेर टोलै थर्काउने गरी कान्छा धामीको घरमा ड्याङ्ग्रो बजिरहेको थियो । पूर्वको सिरेटोले मेरो मनमा पसेर चिसो पारेको छ । आज फेरि को बिरामी भएछ ? मनमा कुरा खेल्न थाल्यो । बेला बेला, “हँ हँ::हो हो, त्यस::लाई म ::कालो :: बोको” थर्थराउँने आवाज शिखरको डाँडाबाट प्रतिध्वनित भएर मेरो कानसम्म ठोक्किन आइपुगे ।
चिनेले भनेकी थिई – “धामीबस्दा चिहानबाट भुत पनि बोलाउँछ्न् हाम्रा बाले । भुत त नाँच्दै आउँछन् , बाई ! वहाँले जे जे भन्यो त्यही मान्छ, राँके भुतले ।”
मलाई सिरकभित्रबाट कान्छा धामीको घरमा आउने भुत हेर्न कम्ता मन थिएन । तर मेरो हंसले ठाउँ छोडिसकेको थियो । नौनाडी गलेर फतक्क भएका थिए । बनको बाघले नखाए पनि मनको बाघले चोक्टा चोक्टा लुछ्न थालिसकेका थिए । म पखाला लागेको बिरामीझैँ इन्तुनचिन्तु हुँलाजस्तो भएको थियो । ओठ तातु जम्मै सुकेर पक्कपक्क परे । यो डर कस्तो हो ? मस्तिष्क रिङ्ग्यायो । विचारको हुरी चल्यो ।
खोलामा नुहाउन जाँदा चिनेले भनेकी थिई; “हाम्रा बाले बोलाउने भुत कस्तो छ थाह छ ?”
भुतका कुरा सुन्ने बित्तिकै हामी सबैजना खोलामै थुर्थुर भएका थियौँ । चिने हामीभन्दा ठूली थिई । उत्पातै बाठी । मलाई थर्काउन र डराउन केही बाँकी राखिन । कहिले चिनीचिउरा, कहिले आँप, कहिले तरसहितको दही उसलाई लुकाएर दिनु पर्थ्यो । मलाई पनि कहाँ सजिलो थियो र ? आफ्नै घरबाट चोरेर लैजान ।
“दहीको तर चाहिँ नचलाउनु है ! घिउ बनाउनु पर्छ ।” आमा भन्नुहुन्थ्यो ।
चिनेले भने अनुसार तरसहितको दही नबोकी खेल्न जाँदा पाखुरामा चिमोटेर रातै पारिदिन्थी । राम बहादुरको गोठमाथि चिने ,चम्पा र ताराको पुतली घर थियो । गाउँभरिमा उनीहरूको बेहुला बेहुली सबै भन्दा राम्रा हुन्थे । झुम्राका पुतली चम्पाले निकै राम्रा बनाउँथी । मलाई चम्पाले बनाएका बेहुलाबेहुली असाध्यै मन पर्थ्यो । गहना मिलाएर लगाइदिएको । राम्रा र उज्याला सारी लगाएका हेर्दै लोभ लाग्दा हुन्थे । बेहुला बेहुलीको घर पनि चिटिक्क र सफा हुन्थ्यो । खाट उस्तै आकर्षक ।

अनिता काेइराला
गायत्री र म भर्याङबाट हेरी रहन्थ्यौँ । हाम्रा आँखा लोभी हुन्थे । अनि घुटुक्क थुक निल्थ्यौँ । हाम्रो उति ढ्ङ्ग पुगिसकेको थिएन । अनि उनीहरूका अगाडि भिखारीझैँ बेहुलाबेहुली बनाइदेउन भन्दै भीख माग्नु पर्थ्यो । उनीहरूका बेहुलीले नलगाएका सारी र गहना माग्दा निकै ठूलो मोलतोल हुन्थ्यो ।चिने नेता नै थिई । आदेश दिन्थी, “पहिले गएर लिच्ची लिएर आऊ अनि बल्ल दिन्छु ।”
म बत्तिँदै कुँडारमा जान्थेँ अनि एक पोल्टा लिच्ची टिपेर ल्याइदिन्थेँ । लिच्ची दिएपछि बल्लतल्ल टाउको खुस्किन लागेको बेहुली दिन्थी । म कागती निचोरेको जस्तै हुन्थेँ । चिनेका अगाडि वाक्य वक्कै फुट्दैन थियो । ठूलो स्वरमा हकार्थी, “गहना चाहिए भोलि तरसहितको दही लिएर आऊ, अनि मात्र दिन्छु । भोलि ल्याइनौँ भने यो काठीलाई त्यही राँके भुत लगाइदिन्छु ।”
गायत्री र म नुन खाएको कुखुराझैँ लथ्रक्क पर्थ्यौं। हाँडी घोप्टे मुख पार्दै खोल्मामा आएर आफ्नै पुतलीहरूसँग खेल्न थाल्थ्यौँ । हाम्रो पुतली खेल्ने ठाउँ खोल्माको एक कुना थियो । हाम्रा बेहुला बेहुली गरीब थिए । मेरी आमा रातो सारी नलगाउने भएर जम्मै बेहुला बेहुली रङ्ग हराएका जस्ता देखिन्थे । गायत्रीको आमाको फरिया मलाई खेल्न घिनघिन लाग्थ्यो । पुरानो सुती सारी त्यो बेला निकै जतन गरेर सानो सानो पारेर घाममा सुकाएको देख्थेँ । अनि मेरी आमाको सुकाउने दिन गैसकेको भएर निर्धक्क प्रयोग गर्थें ।
त्यो दिन गायत्रीलाई निकै रीस उठेछ । आवेगमा आएर भनी – “एनी ! बुझ्यौ, आज राती तिनीहरूका जम्मै बेहुलाबेहुली चोरेर ल्याउनु पर्छ, गहना पनि ल्याउनु पर्छ । हाम्रो भाइलाई पठाउँछु चोर्न । त्यत्रो लिच्ची खाए मात्र । यस्ता जाबा पुतली त हाम्रा आमाले नै बनाइ दिन्थे ।”
“आ ! छोड्दे हामी पनि ठूलो भए पछि त्यो भन्दा राम्रो पुतली बनाउनु पर्छ ।”
बालसुलभ विशेषता ओतप्रोत थियो । एकै छिनमा सबै कुरा बिर्सिएर मख्ख पर्दै हामी मस्तसँग आफ्नै पुतलीहरूसँग रमाएर दिनभरि खेल्थ्यौँ । साँझ बत्ती बाल्ने बेलामा गायत्रीकी हजुरआमा टोलै थर्कने गरी चिच्याउँथिन् – “ए ! तीन माने हाडी कहाँ मरी राखेकी छ हँ,अझसम्म ।”
हामीलाई डाँडाले घाम खाइ सकेको होसै हुँदैन थियो । अनि डरले पैतालाको चाप दवाएर आ-आफ्नो घरमा लुसुक्क पस्थ्यौँ ।
प्रायः राती सुत्ने बेलामा चिने र राँकेलाई भूतको डर लागिरहन्थ्यो । अनि बिहान उठ्नेबित्तिकै आमासँग तरसहितको दही खान मन लागेको इच्छा जाहेर गर्थे । आमाले दिनुहुन्थ्यो । ‘भात खाएपछि खान्छु आमा चिनी हालेर’ भन्दै दही पिर्कामुनि लुकाउँथे । अरू चिज लैजान त गार्हो थिएन ।
चिनेलाई खुसी पार्न जे पनि गर्नु पर्थ्यो । धामीको छोरी अलिअलि धामी विद्या आउँछ भन्थी । डरले छुल्छु हुँदै बिरालोको चालमा घरबाट सामान ओसार्थें। आजै हो खोलामा नुहाउन गएको । चिनेले झन् डर देखाउँदै भनेकी थिई – “भुतले त मलाई चिनेको छ । मलाई त केही गर्न सक्दैन बुझ्यौ ? तिमीहरूलाई हो त्यसले समात्ने ।”
हामीलाई भुतको स्वरूपको वर्णन गर्थी- “भुतको कुमकुममा आँखा हुन्छ । गीँड्मात्र हुन्छ । उड्न पनि सक्छ । पेटमा ठूलो प्वाल हुन्छ अनि छातीभरि भुत्लैभुत्ला हुन्छ ।”
चिनेका कुराले मेरो मस्तिष्कमा साँचिकै भुत अवतरित भएर सातोपुत्लो लिइसकेको हुन्थ्यो । म जताततै अँध्यारोमा चिनेले भनेको जस्तै भुत देख्थेँ । अनि खङ्ग्रङ्ग हुन्थेँ । एकोहोरो भएको बेला कसैले बोलायो भने सिताङ्ग हुन्थेँ । कहिले केराको थामोमा त्यही राँके भुत देख्थे । कहीले आँगनको मियोमा अल्गो भुत देख्थेँ । धेरैचोटि आफ्नै छाया भुतझैँ लागेर तर्सिएको छु ।
आजै राती कान्छा दाइको ढ्याङ्ग्रो बज्यो । ढ्याङ्ग्ग्रोभन्दा बढी मेरो मुटु ढ्याङ्गढ्याङ्ग गरेको थियो । यस्तो उखर्माउलो गर्मीमा पनि सिरकले नाक मुख जम्मै छोपेर गुट्मुटु परेर निदाउने कोसिस गर्दै थिएँ । के को निद्रा लाग्नु ? पिसाबले च्यापेर खपिसक्नु भएको थिएन । जुनकिरीको पुच्छर बाहेक उज्यालोको कुनै स्रोत थिएन । माथिबाट तल झरेर पिसाप फेर्ने आँट आएन ।
परबाट एकोहोरो कुकुरहरू भुकेको आवाज आइरहेको थियो । धामी बसेको ठाउँबाट पनि कल्याङ्गकुलुङ्गको आवाज आइरहेको थियो । चकमन्न भएर होला मेरो श्वासले कपालभाँती गर्दै कोठै थर्काएको थियो । दिमागमा अनगिन्ती कुराहरूले परेड खेल्न थाले । कमलामा पौडिखेल्न जाँदा पोक्चीले पनि चिहान र मुर्कुटाका कुरा गरेकी थिई । ती कुराहरूले पनि मलाई पटक्कै सुत्न दिएनन् । पोक्चीका बोली कानमा गुन्जिरह्यो । डरले मुटु फुत्त बाहिर आउलाजस्तो भयो ।
“हरे राम ! हातगोडा पनि तात्दैनन् । यस्तो गर्मीमा पनि कस्तो जाडो भएको होला ?” म एक्लै बर्बराएँ ।
दहबाट पर पोक्चीले देखाएकी थिई – “ऊ त्यहाँ हेर त चिहान । जङ्गली आँपको कोया अड्केर हामीजस्तै केटी मरेकी थिई अरे ! अनि त्यहीँ गाडेको छ रे लासलाई । त्यो खोलामा बार्ह बजेतिर एक्लै एक्लै गयो भने बोलाउँछे रे , बाई ! त्यो केटीले । कहिले आँप खान्न भन्छे रे । कहिले रुन्छे रे । कहिले आमा !! आमा !! भन्दै बोलाउँछे रे । अझ हामी जस्तो केटाकेटी देखी भने त गट्टा खेलेको आवाज आउँछ रे, बाबै !! कहिले खितितित्त हाँस्छे रे ।”
“नहुने कुरा नगर है पोक्ची ! भुतसुत केही हुँदैन । कसले भन्यो तँलाई यस्तो नचाहिने कुरा !” मैले हप्काएको पनि थिएँ । पोक्ची मभन्दा सानी थिई, चिने पो ठूली थिई त ।
पोक्ची अझ भन्दै थिई, “साँच्चै अस्ति भर्खर कान्छी आमाले हाम्रा आमालाई सुनाका । कान्छी आमा एक्लै कोरङ्ग खोलाबाट आका रे । पछाडिबाट कुकुरले पानी चाट्याजस्तो आवाज आको रे । फनक्क फर्केर हेर्दा कोही थिएन रे, बाई ! अनि कान्छी आमा हतार हतार पछाडि नफर्की हिँड्नु भयो रे । अनि त झन् पानीमा छ्वाप्ल्याङ्ग छवाप्ल्याङ्ग गर्दै मान्छेले लघार्याझैँ आवाज आयो रे । कान्छी आमालाई त घर आएपछि हनहनी ज्वोरो नै फुट्यो रे । तीन दिन त ओछ्यान पर्नु भाको रे ।”
पोक्चीका यस्तै कुरा खेलाउँदै थिएँ । कतिखेर भुसुक्कै निदाएँ पत्तै भएन ।
सुनौलो प्रभातले आँगनभरि उर्जा फिँजाइसकेको रहेछ । मलाई आँगनमा उफ्रेको नदेखेर रवी निरास भएछ । सुटुक्क फलेकको चेपबाट मलाई भाष्करले नियाल्यो । म लम्पसार परेको देखेर। चेपबाट लुसुक्क छिरेर मेरो आँखा र गालामा मीठो चुम्बन दिँदै कानमा खुसुक्क भन्यो – “एनी ! स्कुल जान अबेर भयो उठ ।”
उठ्न खोजेँ, कम्मरभन्दा तलको भाग चल्दैन त । निकै पीडा भयो चिच्याएँ, कराएँ । बिहानको समय सबै आ-आफ्ना काममा व्यस्त थिए । मेरो कोकोहोलो सुन्ने कोही भएनन् रवी बोल्न सक्दैन थियो । मलाई ट्वाल्ल परेर हेरिरह्यो ।
केही बेरपछि बिस्तार्नी कान्छी कुच्चो लिएर बढार्न माथी आइन । म रोएको सुनेर आत्तिँदै भित्र पसिन् – “ए नानी ! किन रोएको , के भयो ?” भन्दै मलाई सुम्सुम्याउन थालिन् ।
“कान्छी ! कम्मर भन्दा मुनि चल्दैन । म उठ्न पनि सक्दिनँ ।”, झन ठूलो स्वरले क्वाँक्वाँ गर्दै रुन थालेँ ।
बिस्तार्नी कान्छी माथिबाटै चिच्याइन् – “ए बज्जै ! नानीलाई के भयो झट्ट आउनू । उठ्न सक्दिन भन्छिन् ।”
“ए कान्छा ! गोबर पछि सोहोर्नु । यहाँ नानीलाई हेर्देऊ ।”
“ए चिने ! अक्षता लिएर आइजो । अनि चौँरीको पुच्छर पनि ले । एक ओम्खोरा चोखो पानी पनि ले है ।”, कान्छीले कोकोहोलो मच्चाइन ।
घरभरि मान्छे जम्मा भए । आमाको स्पर्श पाउने बित्तिकै मेरो रोदन कोलाहल बन्यो । कान्छा दाइले जोखाना हेरे – “ए नानीलाई त शिकारीले हानेछ ।”
झुङ्गेली बाजे पनि हतारिँदै आए । बाजेले ठूलो स्वरमा हकार्दै भने – “बार्ह बजे खोला खोला पौडिखेल्न जानू पर्छ । अनि हान्दैन त शिकारीले ।”
चिनेले ल्याएको चोखो पानी छर्किँदै मन्त्र पढे । मेरो कम्मर, निधार, गोडा ओछ्यान चारैतिर अक्षता फालिदिए । चौँरीको पुच्छरले नचलेको भागमा तीन चोटि फू फू गरेर हिर्काइदिए । मेरा आँखाबाट आँसु बिस्तारै कम भयो । दुखाइ पनि हराउँदै गयो ।
“बिस्तारै उठ नानी !” भन्दै बाजे र कान्छा दाइले उठाए । मेरो जीउ सजिलै उठ्यो । तल झरेर हतार हतार बलेसीमै खोलो बगाएँ । आँगनभरि मान्छे जम्मा भैसकेका रहेछन् । सबैजना म कुदेको देखेर उज्याला भए ।
आमाले ठूलो कित्लीमा चिया पकाउनु भयो । चिनेले सबैलाई बाँडी । चिने पनि डराइछे । त्यो दिनदेखि चिनीचिउरा, तरसहितको दहीबाहेक भुतको डर देखाउन पनि छोडी । फेरि त्यसरी शिकारीले आजसम्म हानेको छैन् । आज पनि सम्झिन्छु त्यो के थियो ? साँच्चै मलाई शिकारीले हानेको थियो ? खोलाको भुत, मसान या मुर्कुटा के लागेको थियो ? कि बालमस्तिस्कमा परेको मसान, मुर्कुटा र भुतको डर मात्र थियो ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










