“देशमा हिमाल थियो, हिमाली थिएनन्; पहाड थियो, पहाडी थिएनन्; तराई थियो, मधेसी थिएनन्; सबै सबै मात्र नेपाली थिए; सबै समान नेपाली।” आहा !  राष्ट्रियता र राष्ट्रप्रेमको कति मीठो अभिव्यक्ति । कति उच्च तहको चिन्तन ।  देशभन्दा माथि आखिर केही छैन । समृद्ध राष्ट्र निर्माणमा छलाङ मार्न अपनाउनु पर्ने मूल मन्त्र यही नै हो ।

“हिमालबाट पहाड पुग्न एक घण्टा पनि लाग्दैनथ्यो; पूर्वबाट पश्चिम एकैछिनमा पुगिन्थ्यो । प्रविधिले शिखर चुमेको अवस्थाको अनुभव भयो । यो अभिव्यक्तिबाट प्रस्ट हुन्छ, विकाशले छलाङ मारेको सुखद पल आउनेछ कुनै दिन ।

“नदीमा बग्ने पानीका हरेक थोपा अमृत बनेका थिए; सबै ढुङ्गा शालिग्राम बनेका थिए । मान्छे बौद्ध होइन, बुद्ध बनेका थिए; कसैमा हिन्दु बन्ने अभिलाषा पलाउँदैनथ्यो, सबै राम बन्ने बाटोमा थिए । क्रिश्चियन अनि मुस्लिम बन्न कोही चाहँदैनथ्यो, सबै जिसस अनि मोहम्मद बन्न चाहन्थे; अर्थात् हिजोका मानव आज महामानव बन्ने यात्रामा थिए । यसरी देशले छलाङ मार्यो ; मानवता, चेतना, समता, समृद्धि अनि विकासको वास्तविक छलाङ।” विराट् चेतना उजागर भएको कति आनन्ददायी पल होला देशले चौतर्फी रूपमा छलाङ मार्दा ।

‘छलाङ’ उपन्यास हातमा लिने बित्तिकै पुस्तकको आवरण पृष्ठमा मेरा आँखाहरू नाच्न पुगेका थिए । अगाडिको चित्रमा एउटा सुकेको रूख छ, जसको जरा उखेलिएर बाहिरै निस्किएको देखिन्छ । त्यो रूख रूख नभएर नेपाल आमा हो जस्तो लागेको थियो । छलाङभित्र गोता लगाउन थालेपछि मेरा तमाम प्रश्नहरू शान्त हुँदै गए । आफ्नै सन्तानहरूले पटक पटक चिथोरेर, गिजोलेर, निचोरेर , काटेर नेपाल आमालाई हाराबारा खेलाए । सम्भव भएसम्म आफुले बेचे । आमालाई बेच्न अझ बाँकी छ जस्तो लाग्दा दलाल लगाएर पनि बेचेर खाए र खुवाए । आमाको नाममा राजनीति गरे। भ्रष्ट्राचार गरे। आफ्नै सन्तानहरूले जसरी मन लाग्छ उसै गरी आ-आफ्नो निजी स्वार्थ पूरा गर्न आमाको छातीमा असङ्ख्य सङ्गिनले रोपे ।

आमालाई शिथिल मात्र पारेनन् अपाहिज नै बनाए ।  तर पनि आमा आमा नै हो किन हार खान्थिन् र ? काटेको स्थानबाट पनि जीवित भइन् । जरा काटिएकी नेपाल आमाको नाभि चक्र अझ जीवित  नै थियो ।  अनन्त शक्तिले सुरक्षित नाभि चक्रबाट सम्भावनाको झिल्को देख्ने एउटा सपुत जन्मियो । सम्भावनाको प्रभातले मस्तिष्कको शल्यक्रिया गरिरेको पक्कै थियो,  त्यसैले त उसको लक्ष्य अटल भयो,अरू भन्दा पृथक् रह्यो र उसले देखेको उज्ज्वल भविष्यको सपना साकार हुँदै गयो।

सन्तानको इमानदारी, जिम्मेवारी र समझदारीले गर्दा नेपाल आमाको शिरतिरबाट सम्भावना, सफलता र समृद्धिको लहरा झाँगियो । दिगो र अविचलित सकारात्मक सोचले सफलताको शिखर चुम्न सजिलै सकिन्छ  भन्ने सन्देश छलाङले मज्जाले दिएको छ ।

आमाका अनगिन्ती समस्याहरूलाई छिनालेर प्रभात र मानवीले वास्तवमा नौलो छलाङ मार्छन् । जब अग्र पृष्ठबाट मेरा आँखाहरू पछिल्लो पृष्ठमा पुगे म अवाक् भएँ । जब माथिका हरफहरूलाई हृदयको आँखाले पढेँ मैले झट्ट बालकृष्ण समको ‘आइमाई मान्छे’ नाटकलाई सम्झिन पुगेँ । साँचो अर्थमा देशले छलाङ मार्न हरेक नागरिकको मस्तिष्कको शल्यक्रिया गर्नै पर्छ । मलाई छलाङभित्र छलाङ मार्न वास्तवमा सशक्त आवरणले नै घचघच्याएको हो ।

मैले पनि समृद्ध नेपालको सपना देख्दै आएकी छु । देशमा विकासले छलाङ मार्यो भने असम्भव केही छैन भन्दै सगरमाथालाई प्रविधिको सहाराले हेर्ने कल्पना गरेकी थिएँ र एउटा कविता कोरेकी पनि थिएँ।

“सोच्नु पर्दैन आमा, त्यो बेला सगरमाथाको देशमा जन्मेर पनि

सगरमाथा देखेको र टेकेको छैन भनेर

छातीमा सगरमाथा बोकेर सगरमाथाको उचाइ चुमौँला:

राजनीतिक लडाइँ सकियो आमा !

अब आर्थिक क्रान्तिले समृद्धिको शिखर चुम्ने छ,

त्यसैले आमा अब खुल्ला आँखाले हेर्न थालौँ प्रभातको सुनौलो सपना:

‘सकारात्मक भएर सोचौँ आमा !

कति गर्नु अझै युरोप, अमेरिका र अस्ट्रेलियाको भ्रमण ,

अब हामी नौलो भ्रामण गरौँला

तिमी र म मङ्गलमा गएर लन्च गरौँला

चन्द्रमामा गएर सेल्फी खिचौँला,

फेसबुकमा फोटो अपलोड गर्दै

ट्विटरमा ट्विट गरौँला,

अनि आफ्नै घरमा आएर सँगै डिनर गरौँला ।”

मेरो कल्पनालाई पनि उपन्यासकारले छलाङ मार्फत् छर्लङ्ग पारेको देखेर आफूले उपन्यास लेख्न नसके पनि लेखेको जस्तै आनन्द आयो । उपन्यासकारको कल्पनामा पनि देशले विकासको उडान भरेको छ । सुशासन, अनुशासन, कानुन, नीतिनियमको पालना भएको छ । हत्या, हिंसा र बलात्कारको अन्त्य भएको छ ।  प्रविधिको विकाशले छलाङ मारेर हिमालको काखकाखमा केबुलकार दगुरेको छ । हिउँमा पनि वातानुकूलित केबुलकार, बुलेट ट्रेन, मोनो रेल, सफा सुग्घर सडक, सफा नहर, कञ्चन बाग्मतीको सुन्दर परिकल्पना पढ्दा पढ्दै मैले त सबै कुरा साँच्चै हो जस्तो मानेँ ।

मैले खुल्ला आँखाले नेपाल यस्तै छ कि भनेर  नेपालको रमणीय दृश्यहरू नै देख्न थालेँ । वैदेशिक रोजगारीमा नेपाली नागरिकहरू जानु नपरेको सुखद पलहरू छाम्न थालेँ । नेपालीहरूले नै बरु अरू मुलुकबाट घरेलु कामदार भित्र्याएको बढो रमाइलो सपना पनि देख्न थालेँ । कल कारखाना, उद्याेगधन्दा, रोजगारी, वैज्ञानिक कृषि, उन्नत बिउ, उन्नत जातजातिका फलफूलहरूले सु-सम्पन्न समाज देखेँ । सेतो डलरले भरिपूर्ण अर्थतन्त्र भेटेँ । कृषि उत्पादनले समृद्ध बनेको नेपाललाई अङ्गालो मारेर हाँसेँ । आहा! गजब सोच ।

‘छलाङ’मा ढकालले अनेकौ सङ्घर्षका बाबजुद एक सकारात्मक सोच, लगनशीलता, धैर्य र दृढ सङ्कल्पपछि यस्तै राम राज्यको मीठो सपना देखेका छन् । ढकालले देखेको समृद्ध नेपालको सपना के उपन्यासकारको स्वैरकल्पना मात्र हो त ? वास्तविकतासँग यो अभिव्यक्तिले कतिको समानधर्मीता राख्छ आजको परिवेशमा ? प्रत्येक नागरिकले सोच्न आवश्यक छ ।  गुरु गम्भीर भएर मैले पनि सोच्न पुगेँ । दिलीप ढकालले देखेको समृद्ध नेपालको सपना ढकालको मात्रै त पक्कै होइन, हामी सबै नेपालीको यो मीठो सपना हो । के यो हाम्रो जीवनकालमा पूरा होला त ? स्वर्गको टुक्रा जस्तो यो देश आखिर किन अस्तव्यस्त भयो ? सुनको खानीमा सजिएर पनि मेरो देशलाई किन दरिद्रताले गाँज्यो ? देशको हुर्मत लिने धुन्धकारीहरूलाई टपक्क समातेर  सजाय दिन किन नसकेको होला ?

देशलाई थिलथिलो पारेर देशकै छातीमा रजाइँ गर्नेहरूलाई प्रभातले पक्कै उज्यालो छर्ने छ । मेरो सपनाको नेपाललाई धुलिट्याम पार्न खोज्ने तत्त्वहरूको नाश पक्कै हुने छ। सुन्दर नेपालको सपना ढकालले सकारात्मक पाटोबाट हेरेका छन् । उपन्यासको कथावस्तुले पाठकलाई बारम्बार घोचिरहन्छ । आखिर देश निर्माण गर्छु भनेर होमिएका समूहहरूले किन बाटो बिराए ? सत्तामा पुगेपछि फेरि किन आफैले बाँडेको सपनामा हिलो छ्यापे ? रगतको खोलो बगाएर हिँडेका क्रान्तिकारीहरूले किन इमान बेचे ? देशभन्दा माथि किन जात, वर्ग, धर्म, राजनीति, पार्टी हाबी भयो ।

मानवता र राष्ट्रियता भन्दा ठुलो अर्को कुन धर्म हुन्छ ? किन हामी मान्छे हुन बिर्सेर अरू जम्मै थोक बन्न खोज्छौँ ? देशलाई बरबाद पार्ने यस्तो घिनलाग्दो राजनीतिको अन्त्य कहिले होला ? भ्रष्टाचार, बलात्कार र अराजकताको निर्मूल कहिले होला ? छलाङले मलाई भिन्न भिन्न प्रश्नहरू उब्जाउँदै ल्यायो । छलाङभित्रको राजनीतिक दल वास्तविक होस् जस्तो पनि लाग्यो ।

उपन्यासभित्र त वर्षौंदेखि चल्दै आएको जातीय, वर्गीय, लैङ्गिक, वैचारिक, धार्मिक, बाैद्धिक र राजनीतिक छुवाछुतको अन्त्य भएर एक उन्नत राष्ट्रको यात्रा पनि मज्जाले गर्न सक्छौँ । तर के साँच्चै देशले चौतर्फी छलाङ मार्ला ? मानवले इजरायलमा देखेको विकासको मूल हाम्राे देशका फुट्ला । मानवी सोच्न विवश छे इजरायलको चमकदमक देखेर । देश निर्माणको  जिम्मा लिएका नाइकेहरूले यदि इमानदार भएर राष्ट्र निर्माणको लागि लागि पर्ने हो भने हाम्रो देश पनि अति विकसित राष्ट्रको सूचिमा आउने थियो । ‘छलाङ’ पढेपछि यस्ता प्रश्नहरू भरभराएर उठे ।

उन्यासभित्रका पात्रहरूको जीवन सङ्घर्षसँग नजिक हुँदा कहाली लाग्छ । प्रभातको दैनिकी, राजनीतिप्रतिको वितृष्णा, ऊर्जाशील उमेरमा भौँतारिनु परेको यथार्थ, मानवले भोग्नु परेको विभेदका खाडलहरू र सङ्घर्षका डरलाग्दा उकाली ओरालीहरूले उपन्यासलाई सलल बगाएको छ । राजनीतिक विभेदका विभिन्न आयामहरू, जातीय, वर्गीय, लैङ्गिक विसङ्गतिहरूका अनगिन्ती खर्पासहरू नाघेर मानवी र प्रलादले आखिर सुशासनको स्थापना गरेरै छोडेका छन् । मानवीको चेतनाले दलित बस्तीको कायापलट निकै अर्थपूर्ण छ । दलित सोच भएका अवसरवादीहरू, निजी स्वार्थका लागि नेपाल आमालाई बेच्न पछि पर्दैनन् । इमानदारी, जिम्मेवारी र समझदारीलाई दुई कौडीमा बेचेर घिच्न पल्केका दलालहरूले आखिर देशलाई नै अछुत पार्न लागिसकेको भान हुन्छ ।

वैदेशिक रोजगारीले निम्त्याएको पृथक् समस्या र चुनौतीहरूलाई मानवले अनेकन हन्डर खाएर  भए पनि अन्ततः समाजमा परिवर्तनको बिगुल फुकेरै छोड्छे । तर म निकै बेर घोरिएँ – “के मानवीको जस्तो सहज परिस्थिति वैदेशिक रोजगारीमा गएका सबै नारीहरूले प्राप्त गर्लान् र  ? पराइ मुलुकमा नेपाली नारीले शारीरिक र मानसिक यातना भोगेर बाँच्नु पर्ने दिन आखिर किन आयो, यो परिस्थितिको अन्त्य कहिले हुन्छ ? बारम्बार वैदेशिक रोजगारीको तीतो यथार्थले चिमोटिरह्यो ।

जातीय छुवाछुतले छलाङ मार्दा ब्राह्मणको छोरोले कामीको छोरीलाई बिहे मात्र गरेन,पतिबाट छाडिएकी एक विवाहित नारी त्यो पनि इजरायलबाट फर्किँदा यहुदीको गर्भ बोकेर आएकी कलङ्कित महिलालाई स्विकार्ने पुरुष साँच्चै समको “स्वास्नी मान्छे” को चखुँती- बखुँती गुफाभित्रबाट मस्तिष्कको शल्यक्रिया गरेर पूर्ण रूपमा भावनाको परिवर्तन गरेर बाहिर निस्केको आइमाई मान्छे रहेछ भन्ने भाव ममा आयो ।