समालोचक ज्ञानु अधिकारी म्यामको म्यासेज टुप्लुक्क आयो, म्यासेन्जरमा ।

‘नमस्कार म्याम हजुरको नम्बर पाऊँ न ।’  म्यासेज यस प्रकारको थियो ।

म अचम्भित भएँ । सोचमग्न हुँदै मनमा कुराहरू खेलाउन थालेँ ‘लौन किन चाहियो होला त म्यामलाई मेरो नम्बर । अनि हतारिँदै म्यासेजलाई सम्बोधन गरेँ । एक किसिमको डर पनि लाग्दै थियो । फेसबुकमा साथी भएर पनि, म्यासेन्जरमा धेरै कुराकानी भएका थिएनन् । ज्ञानु म्यामसँग साँच्चै भन्ने हो भने औपचारिक रूपमा परिचित पनि भएकी  थिइनँ । मलाई याद छ, रेनुका जिसीको पुस्तक ‘सनेस’को लोकार्पणका दिन म्याम वक्ता भएर आउनुभएको थियो ।

त्यही दिन पहिलोपटक भेट त भएको थियो तर नजिक भएर होइन । सेतोपाटीमा प्रकाशित मेरो लेख ‘डिग्रीवाली गृहिणी’ र बुकाहोलिक्समा मैले लेखेका पाठकीय प्रतिक्रयाहरूमार्फत् म्यामले मलाई चिन्नुहुँदो रहेछ । सनेसले जुराएको त्यो अमूल्य समय मेरा लागि सुखद बनेर आएछ । त्यही साँझ मैले नै म्यामलाई फेसबुकमा साथीको लागि अनुरोध पठाएकी थिएँ ।

म्यामले मेरो अनुरोधलाई सम्बोधन गरिहाल्नुभयो । म हर्षित भएँ । कति सहृदयी हुनुहुँदो रहेछ । पहिलो च्याटमै अनुभूत गर्न पाएँ उहाँको संवेदनशील हृदयलाई । मैले पठाएको अनुरोध म्यामले स्वीकार गर्नुभएकोमा मैले कृतज्ञ भएर लेखेकी थिएँ, “हार्दिक आभार म्याम ।”

तुरुन्तै म्यामले लेख्नुभयो, “नमस्कार म्याम, अब कहिलेकाहीँ विचार आदानप्रदान गर्नुपर्छ ।”

मैले पुनः लेखेकी थिएँ, “म्याम आज हजुरलाई सुन्दा निकै कुरा सिक्न पाएँ ।” सन्दर्भ सनेसकै थियो ।

म्यामले पुनः लेख्नुभयो, “अब हामी एकअर्काको ऊर्जा बन्नुपर्छ म्याम । मैले पनि हजुरबाट कति सिक्नु छ ।”

म्यामको यस किसिमको भाषाबाट म भावविभोर भएँ, कहाँ म्याम, कहाँ म ? कति सरल प्रस्तुति । उहाँको सादगी देखेर म अचम्भित भएँ । कति सहयोगी ? कति मिलनसार । एकै वाक्यले उहाँको संवेदना प्रदिप्त भएको थियो । मैले हडबडाउँदै भनें, ‘म्याम म त गृहिणी मात्र हुँ,  केही जानेकी छैन । हजुरजस्तो प्रेरणा दिने आत्मीय मनहरूले नै एक गृहिणीलाई अनिता कोइराला बनाउँदै हुनुहुन्छ ।”

म्याम फेरि लेख्नुहुन्छ, “होइन नि म्याम ! हाम्रा अनुभूति, भोगाइहरू, विचारहरू डिग्रीसँग तुलना हुनै सक्दैनन् । हाम्रो जीवनप्रतिको दृष्टिकोण नै सम्पत्ति हो म्याम । कोरा डिग्री केही होइन । लेख्न चाहिँ लेखिरहनुहोला !  त्यसलाई सुन्दर संयोजन गरेपछि झन् पृथक् बन्दै जान्छ लेख ।”

===

संवेदनाको समायोग

संवेदनाको समायोग

मैले म्यासेन्जर खोलेर पुनः  हेरेँ  यी पुराना कुराकानीहरूलाई । प्रायः बुकाहोलिक्समा पुस्तक पढेपछि आफ्नो पाठकीय प्रतिक्रिया लेख्ने गर्छु । मैले लेखेका प्रतिक्रियाहरूमा जब जब उहाँका दृष्टि पर्न थाले, म अझ लेख्नलाई हौसिँदै गएँ । म्यामका हौसलारूपी इमोजीहरूले विभिन्न रूप धारण गरेर मलाई ऊर्जा दिँदै गए । बौद्धिक व्यक्तिले सामान्य लेखकलाई पढिदिँदा त्यो लेखकलाई असामान्य शक्ति प्राप्त हुँदो रहेछ । उहाँले अज्ञात रूपमा मलाई जुन ऊर्जा दिनुभयो म धन्य भएँ ।

ज्ञानु पाण्डे, रजनी ढकाल, गीता त्रिपाठीजस्ता नेपाली साहित्य र समालोचनाको क्षेत्रमा कमल चलाएका दिग्गज हस्तीहरूले समालोचनाको चेतै नभएकी म जस्ती सिकारुले लेखेको पुस्तक प्रतिक्रियालाई पढेर लाइक गरिदिँदा मलाई आशीर्वाद मिल्दै गयो । चक्लेट दिएर बच्चालाई पढ्न उत्साहित गरेको झैँ मलाई पनि उहाँहरूको प्रतिक्रियाले सकारात्मक उत्प्रेरणा जागृत गर्दै लग्यो । म मखलेल हुँदै गएकी थिएँ ।

म्यामले अचानक मेरो नम्बर माग्दा डर र खुसी एकैचोटि प्रकट भए । ज्ञानु अधिकारी एक प्राज्ञ व्यक्ति अझ जल्दोबल्दो समयकी सशक्त समालोचकले मैले लेखेको पढ्नु पनि हुँदो रहेछ भन्ने लागिरहेको थियो । जब जब म्यामका रियाक्टहरू मेरो लेखनमा पर्थ्यो मलाई ठुलो हौसला मिल्थ्यो ।

वास्तवमा भन्नु हो भने थाहै नपाई उहाँले मलाई पढ्न र लेख्न हौस्याई रहनुभएको थियो । शिक्षकले गृहकार्य चेक गरेको जस्तो पनि लाग्थ्यो मलाई उहाँका रियाक्टहरू । साना साना कुराले मलाई ठुलो ठुलो खुसी दिन्छ । म आभारी हुँदै गएँ । मेरो आत्मविश्वास बढ्दै गयो । म आफ्नै मनमा ज्ञानु म्यामलाई अवतरण गराउँदै थिएँ । मोबाइलमा घण्टी बज्यो । म्यामकै रहेछ ।

उहाँ भन्दै हुनुहुन्थ्यो – “म्याम, हजुरलाई एउटा जिम्मेवारी दिन लागेकी छु । मेरो कृति ‘संवेदनाको समायोग’ आउँदो शनिबार लोकार्पण हुँदैछ। मैले पाठकीय प्रतिकियाका लागि तपाईँलाई पनि राखेकी छु । कार्यक्रम नौलो तरिकाले सञ्चालन गर्दैछौँ । चार जनाले पुस्तकको टिप्पणी गर्ने अनि चार जनाले अन्तर्क्रियात्मक परिचर्चा गर्ने ।”

म्यामको कुरा सुनेर एकपटक म झसङ्ग भएँ । अहो ! मैले कसरी त्यो मासका अगाडि उभिएर बोल्न सकुँली ? आजसम्म बोलेकी छैन । अनि डराउँदै भनें – “म्याम, मैले कहिले बोलेको छैन । अनि हजुरको किताबमा म कसरी बोल्न सकुँली !”

म डराएको देखेर म्यामले निकै शान्तभावमा मलाई सम्झाउनुभयो – “तपाईँले सक्नु हुन्छ । जसरी बुकाहोलिक्समा लेख्नु हुन्छ त्यसरी नै बोल्नु । अब तपाईँ बाहिर आउनु पर्छ । मैले सरस पाण्डे, सुधा पौडेल, साबित्रा काफ्लेलाई पनि पाठकीय प्रतिक्रियाका लागि अनुरोध गरेकी छु । अन्तर्क्रियात्मक बहसका लागि अशोक थापा, कुमारी लामा र राजकुमार बानियाँलाई निमन्त्रित गरेकी छु । ‘संवेदनाको समायोग’ आत्मपरक निबन्धसङ्ग्रह हो । पुस्तक छापामा गएको छ । अहिले तपाईँलाई सफ्ट कपी पठाउँछु है, पढ्दै गर्नुहोला ।”

म्यामसँगको कुराकानी टुङ्गिएपछि म असमञ्जसको स्थितिमा पुगेँ । अहो ! कतै असम्प्रज्ञातमा त बोल्ने होइन ? मलाई त केही थाहै छैन ? कसरी पुस्तकको बारेमा छोटो समयमा सूत्रात्मक किसिमले प्रस्तुत गर्नु ?

फेरि चिन्तनशील भएँ, अनिता यो त ठुलो अवसर हो । हिम्मत गर्नुपर्छ, तैँले बोल्नै पर्छ । म्यामले सक्छेस् भनेपछि सक्छेस् होला नि त ! कता कता सकारात्मक ऊर्जा सम्प्रेसित हुन्छ मस्तिष्कमा । अनि मैले मुटु दह्रो पारेर संवेदनाको समायोग पढ्न थालेँ ।

निर्धारित समयमा सरस पाण्डे र म कार्यक्रम स्थलमा पुग्यौँ । बागबजारको होटल हार्दिकमा कार्यक्रम आयोजित थियो । साहित्यिक जगतका अग्रजहरू आउने क्रम जारी नै थियो । म देख्दै थिएँ मैले पढेका किताबहरूका लेखकहरूलाई ।

प्राज्ञहरूलाई देखेपछि मनमा हिमालको स्याँठ चल्न थालेको थियो । बेला बेला मुटुले सास फेर्न बिर्सेला कि जस्तो पनि लाग्दैथियो । तीन दिन लगाएर पढेको त्यो मोटो किताबलाई तीन पेजमा बुँदा बनाएर लगेकी थिएँ । साथमा छे एकै कोखकी दिदी निशा कोइराला । मेरा हातहरू चिसा हुँदैथिए, भर्खरै हिउँ खेलाए जस्ता । पानी खाँदा पनि घाँटी नै कक्रक्क भएको थियो । शौचालय गएर आएपनि पुनः पुनः जान मन लागिरहेको थियो । ठुलो मास देखेर मलाई एन्जाइटी भएको थियो सायद । सभाहल भरिँदै थियो । मेरो मुटुले ठाउँ पनि छोड्दै थियो ।

मेरो मनले मलाई नै सुस्तरी भन्यो – ‘आयो निदुली तेरो काल ! निदुलीको कथा कानमा आएर वाचाल हुँदै भयो । म झसङ्ग भएँ । लौ खा अनिता ! तैँले तेरै हुर्मत लिने भइस् ? चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरेको उखान त खुब सुनेकी थिइस् तर आज आफैँ झोलमा डुब्न आइस् ।

मनको दुरूह अवस्था देखेर सँगै बसेकी साथी वक्ता सरसलाई खुसुक्क सोधेँ, “सरस म्याम मलाई त कस्तो जाडो लागिरहेको छ । गोडा पनि थरथर गरेका छन् । हात छाम्नु त हिउँमा चोपलेका जस्ता छन् ।“

मेरो कुरा सुनेर सरस म्याम सम्झाउनुभयो, ‘नडराउनू न तपाईँले राम्रो बोल्नुहुन्छ । अलि अलि डर सबैलाई लाग्छ । मलाई पनि लागेको छ । यतिका वर्ष नौ र दशका विद्यार्थीहरूलाई पढाएकी छु तर यो बौद्धिक माहौलमा उभिएर बोल्न मलाई मात्र होइन सुधा म्याम र साबित्रा म्यामलाई पनि अलिअलि दकस त भैहाल्छ नि ।”

सरस म्यामले मेरो हात चपक्क समातेर हिम्मतको तातो स्पर्श थपक्क राखिदिनु भयो ।

‘एक्लो माहारथी’का महेश क्षितिज कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्थ्यो । मभन्दा अगाडि सुधा म्यामको पोलो आयो । सुधा म्याम पनि अलि अलि डराएको जस्तो देख्दै थिएँ । आफ्नै मनको भयसँग सिँगौरी खेल्दै थिएँ म । अनि सुधा म्यामले कसरी बोल्दै हुनुहुन्थ्यो भन्ने कुरा पनि सुन्न सकेकी थिइनँ । मुटुमाथि ढुङ्गा राखेर जो बसेकी थिएँ । सुधा म्यामलाई पुलुक्क हेरेँ । उहाँको बोली पनि कम्पित भएको झैँ लाग्दै थियो । हुन त मेरो मनमा डर पसेर होला मेरा आँखाले सर्वत्र डरै डरको साम्राज्य देख्दै थियो । सुधा म्यामको पालो समाप्त भएपछि कार्यक्रम सञ्चालक कवि महेश क्षितिज भन्दै हुनुहुन्छ – ‘वक्ताले आफ्नो कुरा चार मिनेटमा राखिसक्नु होला ।’

मेरो सात्तो गयो ।  राम ! राम !! राम ! २२० पृष्ठको पुस्तकमा सात खण्ड छन् । ती सात खण्डमा ३७ वटा निबन्धहरू छन् । अब चार मिनेटमा किताबलाई चिरफार गर्नु, यो कस्तो भुर्महत्ते ? ‘दिनभरिको शिकार कान्छो बाउको अनुहार’ भएको छ वक्तव्य दिने काम । पाठकीय प्रतिक्रिया त्यो पनि उम्दा तरिकाले प्रस्तुत गर्नु थियो आफूलाई ।

मेरो उत्साह जम्मै हराउँदै थियो । मृत्यु घोषणा गरेको कैदीलाई चौरासी व्यञ्जन खान दिनुजस्तै भएकाे थियो मेरो अवस्था । अब तीस पेजका कुरालाई तेह्रमा झार्नु पर्यो । पहिलो दिन गाडी सिक्न लागेको मान्छेलाई बाइरोडको घुम्तीमा सफलतापूर्वक गाडी घुमा भनेको झैँ लाग्दैछ, त्यो उद्घोषण । आत्मविश्वास पनि मरणासन्न हुँदैगयो । समयमा कार्यक्रम सक्नु पर्ने दबाब कवि महेश क्षितिजलाई छ, बराकठै ! कविको डरलाग्दो निर्देशन सुनेपछि ‘त्यसै त बुहारी भटमास खाएकी’ को अवस्थामा पुगेँ ।

त्रसित अवस्थामै थिएँ, मलाई मञ्चमा आमन्त्रित गरियो । इष्ट देवलाई स्मरण गर्दै म मञ्चमा उभिन पुगेँ । अचानक मेरा दृष्टि श्रोता बनेर बसेका ज्ञानका प्रशान्त सागरमा ठोक्किन पुग्छन् ।  भयातुर हुन पुगिहालेँ मेरा बा ! अनि थरथराउँदै सम्बोधन गर्दै गएँ  । मेरा आँखाहरूले नमन गर्न पुग्छन् सम्पूर्ण विद्वत् वर्गलाई ।

म देख्दैछु “उज्यालो अन्धकार” छरेर बसेकी कुमारी लामालाई । ‘हत्केलामा असार उमारेर’ बसेकी रजनी ढकाललाई । समालोचनाको बलियो कलम बोकेर मलाई नै हेरिरहेकी गीता त्रिपाठी म्यामले मेरो कानमै फुस्फुसाए जस्तो लाग्यो- “म एक्लो र उदास उस्तै ।“ अलि राहत मिल्यो ।

अझ अगाडि  देख्दैछु  ‘त्यो उज्यालो कर्णाली’ देख्ने विराट दृष्टि बोकेर बसिरहेका प्रतीक ढकाललाई। ‘अपरिचित अनुहार’ लिएर बसेका परिचित अनुहार महेश पौडेललाई । मेरो शान्तिको धुन धुलिट्याम भएका बेला ‘सन्तापको धुन बजाइरहेका’ अशोक थापालाई ।

अझ दृष्टिगोचर भयो, विश्वविद्यालयका आँखा भएर बसेका प्रा. डा.लक्ष्मण गौतमलाई । काँतर भएर अझ नियाल्दै थिएँ समालोचनाको क्षेत्रका बादशाहा भएर बसेका राजकुमार बानियाँलाई । म देख्दै थिएँ , बाह्रखरी देखाउँदै हाँसिरहेका राजेश खनाललाई ।

मेरा आँखा अझ कुना कुनामा पुग्छन् । भिन्न भिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरू र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू मलाई सुन्दै हुनुहुन्छ भन्ने भाव मनमा उठ्ने बित्तिकै, म हतासिन पुगेँ  । मेरा गोडाहरू लगलग काम्न थाले । म अनुभूत गर्दै थिएँ गोडामा आएको १९९० र २०७२ को महाभूकम्पको त्रासदीपूर्ण कम्पन । मेरो मुखमा तातो रगत सल्बलाएको महसुस गर्दै गएँ । मैले लेखेर लगेको बुँदालाई त्यहाँ प्रस्तुत गर्ने अवस्था देख्दिनँ, अनि झन् आत्तिएँ । म केही नहेरी बोल्दै गएँ । किताब पढेका आधारमा आफूलाई लागेका कुराहरू भन्दै गएँ ।

जीउमा त्यस्तो कम्पन त्योभन्दा अगाडि उठेको थाहै थिएन । म सोच्न पुगेँ पक्कै म काँपेको सम्पूर्ण अग्रजहरूले देख्दै हुनुहुन्छ । अनि म स्पष्टीकरण दिन थालेँ, “म एक गृहिणी हुँ । म पहिलोचोटि यस्तो सभामा बोल्दै छु । म काँपेकी छु । म डराएकी छु ।“

त्यही बेला सभाहलबाट आवाज आयो, “अनिता बहिनी ! एउटा खुट्टामा उभिनू । गोडा काम्दैनन् । ठीक छ । डराएको देखिएको छैन । निर्भीक भएर बोल्नु ।”

पुलुक्क हेरेँ आवाज आएतिर । त्यो भरोसा दिलाउने आवाज थियो पर्वतीय नियात्राकार प्रतीक ढकाल सरको । सरको निर्देशनमा एउटा गोडाले उभिएर आफ्नो भनाइ राख्दै गएँ । आत्तिए पनि भन्न खोजेको जम्मै कुरा तोरीको डालो खनाए जसरी ह्वारह्वारती अभिव्यक्त गर्नसकेँ । सभाहलमा सबैका अनुहार नियाल्ने क्षमता त थिएन । अनि कतै नहेरी प्रस्तुत हुँदै गएँ । व्यक्त र अव्यक्त कुराहरू जम्मै भनेँ ।

–‘ २० वर्ष घरभित्र रहेकी एक आम गृहिणी हुँ । समालोचक ज्ञानु अधिकारीको कृतिमा एक गृहिणीले समीक्षात्मक टिप्पणी गरेको नौलो माहौल हो यो । मलाई ज्ञानु म्यामले विश्वास गरेर यहाँ ल्याउनु भएको छ । आज म मेरै डरलाई जित्दै छु । म बल्ल बुझ्दै छु पुस्तकको महत्त्व । यो पुस्तक आज भन्दा २० वर्ष अगाडि पढ्न पाएकी भए आज अनिता कोइराला पनि कुनै कलेजमा पढाउँदै गर्थी होली । यसरी काम्दिन थिई । निबन्धहरूले मलाई निकै छोए । निबन्ध लेख्ने कला सिकेँ । यो पुस्तकमा अस्तित्वको कुरा आएको छ । आफूले आफूलाई चिन्ने अवसर छ । यहाँ चेतनाको कुरा छ । स्वाभिमान, आत्मसम्मान र आत्मविश्वासको कुरा छ । सुतेर बसेका आत्मालाई जगाउने प्रज्ञाका कुराहरू छन् । निबन्ध पनि उपन्यास जस्तो लाग्छ । शब्दहरू चित्रात्मक भएर आएका छन् ।‘

केहीबेर अगाडि मलाई होच्याउने मेरो मन पनि विस्मित भयो मेरो आवाज सुनेर । अगिसम्म मलाई भन्दै थियो मेरै मनले “साहित्य नपढेकी मान्छे मञ्चासीन भएर साहित्यको बारेमा के बोल्छेस् अनिता उपहासकी पात्र होलिस् । हेर त सभाहलतीर नेपाली विषयका मूर्धन्य दिग्गजहरूलाई। यस्ता घाघडान विद्वानहरूको अगाडि तँ के बोल्छेस् तेरो कति नै ज्ञान छ र ?” अहिले मेरो मन शान्त छ । गोडाबाट त्यो भुइँचालो कता गयो गयो । ज्ञानु म्यामलाई हृदयतः आभार भनिरहेको छ । मेरो भनाइ सक्किएपछि सबैले स्याबासी दिनुभयो । कार्यक्रम निकै भव्य रह्यो ।

समीक्षकहरूको अन्तरक्रिया निकै मननीय भयो । साथी सरसले पनि उस्तै दमदार अभिव्यक्ति दिनुभयो । समय मागेरै उहाँले आफ्नो भनाइ पूरा गरेको देखेर मलाई उहाँको आत्मविश्वासलाई सलाम गर्न मन लाग्यो । सुधा म्याम र साबित्रा म्यामको भनाइ पनि सान्दर्भिक लाग्यो । सम्पूर्ण कार्यक्रमलाई निकै आनन्द मानेर सुनेँ । साथीहरू सबैले अर्ग्यानिक भयो अनिताको वक्तव्य । बोली मिठो सुनियो भन्दा आह्लादित भएँ । सरस म्याम भन्दै हुनुहुन्थ्यो, ‘अनिता स्टाइल भयो’ ।

सबैले राम्रो भयो भनेर उत्साही बनाउँदा त्यो कम्पित हृदय पुलकित पनि भयो । अझ विश्वास र माया गरेर बोलाउनु भएकी ज्ञानु  म्यामले मायाको चिनो दिँदा प्रशान्ति भएर घर आएँ । अनि यो महत्त्वपूर्ण दिनलाई अक्षरमा बाँधेर राख्दै गएँ ।