पेट्रोल के इन्धनमात्र हो ? पदार्थ मात्र हो ? कि जीवन हो ? कि एक खेलौना हो जो मन परेको बेला खेलाइन्छ, तानिन्छ, बढाइन्छ ? हिजोको जस्तै आजको जस्तै । भोलि जस्तै ।

कि इन्धन चामल हो ? नुन, तेल वा बेसार हो ?

के इन्धन सामल होइन जो काठमाडौँका ती वर्गहरूको भान्सामा पाक्दै छ । जो आजलाई बाँच्दै छन् । त्यो बालक जो आमाले पकाउँदै गरेको ग्यास चुल्होमा हेरिरहेको छ एक नाङ्गो खुट्टा लिएर, टोपी नभएको खाली शिर बोकर, नाकमा बग्दै गरेको सिङ्गान लिएर अनि पातलो भद्दा ज्याकेट भिरेर, जो लाग्दैन उसलाई किनिएको हो । जो लाग्छ, दिइएको हो त्यो सम्भ्रान्तबाट ।

त्यो सम्भ्रान्तबाट जसलाई कुनै मूल्यवृद्धिको असर परेको छैन, पर्दैन पनि । उसको भाइ भान्साको छेउमा रहेको खाटमा ज्वरोले हनहनी छ । हु..हु..हु.. गर्दै रोइरहेको छ, च्याठिएको छ । आमा एक हातमा पन्यू लिएर उसलाई ममताले भरिएको अनुहार देखाएर गाली गर्दै छिन् । एक चिसो सिरेटोले उनको बुङ्गग परेको नकोरिएको कपाललाई उडाउन असफल भएर बच्चाको सिङ्गान उडाउन सफल हुन्छ ।

बच्चाको बाउ पल्लो कोठा बनाउँदै छ । साहूको कोठा बन्दै छ । तर उसको घर नबनाइन्जेलसम्मको कोठामा न झ्याल छ न ढोका छ, न छ पक्की पर्खाल । छ त केवल ढोका र झ्यालको नमूना । जो नाङ्गो छ ।

उसले बनाउँदै गरेको कोठाजस्तै छ उसले बाँचेको देश, उसको अभिभावक सरकार ।

उसको भान्सामा के पेट्रोल पुगेको छैन ? पेट्रोलले ल्याएको सामल पुगेको छैन ? के उसको भान्सामा मूल्यवृद्धि भोलि नआइपुग्ला जो आज सरकारले दिएको छ ? वर्षौँ भयो सरकारले दिइरहेको ।

एक साधारण मानिस, अति साधारण परिवार, मूल्यवृद्धि अनि सरकार । एक साधारण भोक, रोग, निम्न वर्ग, मूल्यवृद्धि अनि जीवन ?

के छ त यसमा समन्वय जो म देखिररहेको छु तर मेरो अभिभावक देख्दैन । सायद देख्छ तर बुझ्न सक्दैन । सायद बुझ्छ तर नियन्त्रण गर्न सक्दैन । ऊ नियन्त्रणमा लिन सक्दैन आफूले लिइआएको सुविधा । आफूले भोगिआएको अधिकार जो ती दीनदुःखीहरूको भान्सामा प्रत्यक्ष सरोकार राख्छ । यहाँ अरूको जीवनको मूल्य शून्य छ । एक मुठी गाँसको मूल्य शून्य छ, कमसेकम कसैले भोग्दैआएको टाटा नेक्सनभन्दा जो प्रगति गरेर बिएमडब्लू किन्ने प्रयासमा छ । उसलाई ठूलो चिन्ता छ – देश बनेन । उसलाई समाजको चिन्ता पनि छ – समाज गरिब भयो । उसले सधैँ भनिरह्यो अरूले के गर्नपर्छ । उसले कहिल्यै सिकेन ऊ आफूले के गर्नुपर्छ ?

डा. विनोद ढकाल (विधा)

तर भोको पेट र नाङ्गो शरीरको के छ ? साहारा को छ ? म को हुँ जो सधैँ लाचार छु ? म बोल्न सक्दिनँ । लेख्न सक्दिनँ । देख्न सक्दिनँ । सुन्न सक्दिनँ । हिजो निमुखो थिएँ जब जङ्गगलमा थिएँ, गाउँमा थिएँ । आज सहरमा छु तर पनि निुमखो छु । आज पढेको छु तर पनि निमुखो छु । मैले एक रूपियाँको महत्त्व बुझेको छैन । मेरो सुविधा सधैँ विरासतमात्र भइरह्यो । मेरो सम्पत्ति मलाई बाआमाले कमाइदिएका थिए । मेरो प्रकृतिले कमाइदिएको थियो । म बुझ्ने भएँ तर के फाइदा त्यो बुझाइको जो मेरो निमुखोपनालाई जिस्काइरहेको छ ? छोड्न मानिहेको छैन ? म सधैँ सहिष्णु, सधैँ कमजोर सधैँ लाचार ।

के म तपाईँ होइन जो यो लेख पढिरहनुभएको छ ? के मेरो अंश तपाईँमा छैन ? के तपाईँ त्यो नेपाली होइन देशको सिमानाको मुद्धा सुन्दा रगत उम्लन्छ ? के यो विषय त्यति कमजोर छ ? के यो चोट सिमानामा दुश्मनले दिएको चोटभन्दा फितलो छ ? यहाँ त आफ्नाले चोट दिइरहेका छन् । आफ्ना बिराना भइरहेका छन् । म को हुँ ? जो मेरो सरकारले, मेरो समाजले मलाई आफ्नो देखेन, सधैँ पराया सधैँ निमुखो देख्यो । एक सडकमा हिँडिरहेको बाच्छो जस्तै देख्यो जो आफ्नो आमाको दूध खाँदाखाँदै आधामा छुटाइएर सडकको चिसोमा जीवनसँग सङ्घर्ष गर्न छाडिएको छ । सानो उमेरमा उसले सडकको व्यवहारिकता उठाउनु पर्छ ।

बाच्छो बाटोमा जाँदा आमालाई हेरिरहेको थियो । आमा उसलाई उसको मालिकले पछि लुरुलुरु हिँडाइएको हेरिरहेकी थिई, एक निमुखो अनुहार लिएर, आँखा टिलपिल भरेर । उनलाई थाहा छ, उनले यस्ता छोरोहरू वर्षैपिच्छे हेरिहरेकी छिन् । उनको अर्को छोरो पनि यसरी नै धपाइएको थियो । लुरुलुरु बाटो लगाइएको थियो । उनले त्यो छोराको अनुहार त्यसपछि कहिल्यै हेर्न पाइनन् । उनलाई थाहा छ, यो छोराको अनुहार पनि अन्तिमपटक हेर्दै छिन् । सायद सोच्दै – कहिले फर्केला यो छोरो जो मेरो आँखाबाट विलीन भइसकेको छैन । कहिले फर्केर आउला सम्झना जो सानो छ । फालिएको स्वतन्त्रता लिएर जीवनको कठोरता भोग गर्न लुरुलुरु हिँड्दै छ कहिल्यै नदेखेको बाटो ।

सडकमा के छ ? सायद उसको घर ।

साँचै सडकमा को छ ? हामी जनता छैनौँ ?

म त्यो महान् मनुष्य हो जो बाच्छोप्रति माया सोच्छु तर आफ्नो पैसाको भोकमा अन्धो छ अनि डोर्याउँदै छ बाच्छोलाई उसको आमाबाट टाढा । बाच्छोकोे विश्वास उसको मालिकको पाइला पछ्याउँदै छ । उसको विकल्प छैन । ऊ बोल्न सक्दैन । ऊ सोच्न सक्दैन ।

तर के हामी त्यो बाच्छो हौँ त ? कि तपाईँ त्यो लाचार भोको मानिस हो जो आफ्नो र आफ्नाका लागि पापी बन्दै छ ।
सायद त्यो बाच्छो म हुँ । तपाईँ हो । के हामी जनता, त्यो बाच्छो होइनौँ ? त्यो मजदुर जो चिसो छिडीमा परिवार राखेर काडमाडौँको चिसोमा सरकार खोज्दै छ । जो सडकको पाटीमा राख्दै छ एक उज्ज्वल सपना अनि आफू बाच्दैछ एक भ्रममा ।

हामीलाई थाहा छ, हामी मारमा छौँ । त्यति गाह्रो पनि छैन हामीलाई राहत दिन । पेट्रोलको मूल्य घटाउने हो भने बजारको मूल्यवृद्धि स्वतः घट्छ ।

कि हामी समृद्ध छौँ ? जो पेट्रोल २५०, ३००, ४०० पुग्दा पनि गाडीमा हालेर गर्वका साथ हिँड्न सक्छ । जो स्वभाविकले इन्धनको मूल्यवृद्धिसँग जोडिएको अरू खाद्यवस्तुको मूल्यवृद्धिलाई सहज पचाउन सक्छ । हामीलाई एक रुपियाँको महत्त्व थाहा छैन । यहाँ एक रुपियाँको अनुहार हेर्न नपाएर भोकभोकै बाँचिरहेका धेरै छन् ।

होइन, त्यो अनुुहार आफूमा छ जस्तो लाग्छ भने आउनुस् । हामी उठ्न पर्छ अब । के म सधैँ निमुखो भएरमात्र बाँच्ने हो । के हामी सधैँ जसले जे गर्छ सहिरहने हो । के हामी सधैँ अरूको अधीनमा रहेको बाच्छो बनिरहने हो ?

होइन भने मेरो आवाज मेरो सञ्चारमा पुगोस्, मेरो देशको सदनमा पुगोस् । मेरो आवाज मेरो सरकारमा पुगोस् । इन्धन केवल वस्तुमात्र होइन । मेरो समाजले बाँचिरहेको जीवन पनि हो । कृपया मलाई बाँच्न दिनुहोस् ।