सस्तो, छिटो र राम्रो ।
प्रश्न यी तीन हुनै सक्दैनन् भन्ने होइन । प्रश्न के यी तीन एकै स्थानमा एकै समय उभिन सक्छन् भन्ने हो ?
सायद इतिहासले ‘अब के’ भन्ने प्रस्नको उत्तर यो प्रस्नमा खोजिरहेको छ । सायद एकपछि अर्को अझ भएको भन्दा बढी चाहने लोभको असर हो । या कतै पूँजीवादको उपज हो –अझ धेरै चाहिने । या पुस्तौँ पुस्ताबाट संकलन भइरहेको ज्ञानको सञ्चितिको असर परेको हो ।
यहाँ कोही आज भएको उपलब्धिलाई बिसाएर, सुस्केरा हालेर बसेका छैनन् । समयमको परिधिमा कोही अडिन चाहेका छैनन् । प्रगति पहाड हो जसको सामुन्ने उभिँदा आफू सानो लाग्छ । किरो लाग्छ । तर यो मान्छेले के पाउँछ अनि ऊ भन्ने छ, “भो चाहिन्न अब ।”
सस्तो कि ? राम्रो कि ? अलि छिटो कि ?
यो प्रश्न गर्नु राम्रो हो नत्र भने यहाँ धेरै छन् जो चाहन्छन् अरुले गरिदिऊन् । अनि जब फल बाँड्ने पालो आउँछ, भाग आफूले धेरै पाऊँ ।
छिटोको परिभाषा के ?
-असारमा रोपेको बालीले कात्तिकमा दिएको धान छिटो । आज रोपेको वीर्यले नौ महिनामा दिएको बालक छिटो ।
यहाँ कहाँ छ सस्तो ?
-सस्तो किसानको रगत र पसिनासँग दाँजिएको छ ।
-राम्रो प्रकृतिको अपार स्नेहले सिञ्चित बनेको छ ।
अनि कहिले हतार गर्छिन् प्रकृति ?
-आफ्नो परिबन्धमा त चलिरहेकी नै छिन् ।
सस्तो भन्छ, “उम्रनु छ ।”
राम्रो भन्छ, “हुर्कनु छ । फुल्नु छ । फल दिनु छ ।”
छिटो भन्छ, “आफ्नो समय लिनु छ ।” जसरी चल्दैन समय कुनै बिरामीको ओछ्यानबाट छिटोछिटो । अनि रुक्दैन समय कुनै प्रेमीको आलिङ्कनमा अल्झेको प्रेमिकाको पछ्यौरीमा ।
छिटो जन्मेको बच्चा राम्रो हुन्छ । पालुवा सधैँ राम्रो नै हुन्छ भन्ने हुन्छ । ऊसँग अघि करौडौँको जीवन हाँसेको हुन्छ । तर उसको प्राण सस्तोले बुनेको छ ।
राम्रो झुलेको धान सस्तो माटोमा फ्यालिन सक्छ तर त्यसको मूल्य अथाह प्रेमले पनि तिर्न सकिने हुँदैन ।
राम्रोको विकल्प सस्तो हुन सक्छ तर ऊसँग छिटो आउन सक्दैन । जसरी सेल्समा राखिएका हुन्छन् सिजन गएका ब्राण्डेड कपडाहरु । या सक्दैन आउन, सस्तो जो आफू बेचिएर पनि महङ्गो तिरिएको हुन्छ ।
महङ्गो के ?
यहाँ कुनै कुरा महङ्गो छैन या भनौँ कुनै कुरा सस्तो छैन । अन्तमा त तिर्ने एकै छिन। सधैँ तिरिरहेकी नै छिन् । या भनौँ तिरिरहेका नै छौँ ।
के हामी प्रकृति हैनौँ र ?
कति सस्तो छ सबै कुरा जो आफ्नो प्राणले तिरे पुग्छ ।
यहाँ करौडौंको डलरले पाउँछ एक अङ्गालोभरिको सास, भौतिक विलासले खेलाइरहेको एक जिउँदो लास । जो लिनु त छ महङ्गोमा अनि बुझाउनु छ सस्तो । या भनौँ लिनु छ सस्तो अनि तिर्नु छ महङ्गो ।
यहाँ कसले तिर्ने हो ? कसले लिने हो ?
तिर्ने पनि उही, लिने पनि उही ।
मेरा कणहरुले कुनै इतिहासमा कसैका शरीरमा प्रवेश गरेर कुनै समय कसैका लागि सुखदुख तिरेका थिए । आज मेरा कण बनेर अर्को जीवन तिरिरहेका छन् । म यहाँ कोबाट लिएर यहाँ नै फलिरहेको छु । म स्थिर छु यो अनन्तदेखिको अस्थिरताको कुनै निकै सानो कुनामा ।
आफैँ प्रकृति भए पछि के महङ्गो के सस्तो ।
यहाँ राम्रो के ?
के हो नराम्रो र म भनौँ राम्रो के । यहाँ मापनको दुई किनारामा बसेर पनि एक सानो मसिनो निकै मसिनो धर्साको दूरी छ । या मानौँ एक अर्कामाथि खातमा बसेका छन् ।
को राम्रो को नराम्रो ? या के राम्रो के नराम्रो ?
फोहोरको डुङ्गुर किराको लागि नराम्रो ? या सफा पानीमा बाँचेको माछो राम्रो ?
प्रश्न सिधा छ ।
कि त समाउनु पर्छ त्यो समय जुन बेला भर्खर उम्रन लागेको हुन्छ पालुवा । यहाँ सुनौलो बिहानीलाई मार्न चाहन्छ को ?
अब अन्ततिर आफ्नो विषयमा प्रवेश गरौँ – अस्पताल । जहाँ आजको पुँजीवादले पूराका पूरा घेरोमा पारेको अधिराज्य छ । विशेषतः हाम्रो देशमा । अनि यहाँ हामी खोज्छौँ सबै । हुन त हरेक व्यवस्थामा माथिका तीन दाजुभाइ मिलेर बस्न सक्दैनन् । पुँजीवादमा त झनै हुने कुरै भएन ।
यहाँ गरिबका लागि भनेर वीर अस्पताल लगायतका सरकारी अस्पतालले मोर्चा समालेका छन् । सस्ता छन् तर छिटो र राम्रोमा केही सम्झौता गर्न पर्छ । स्वाभाविकले सस्तो ठाउँमा धेरै मानिस जान चाहन्छन् । भिड हुन्छ । भिड भए ढिलो हुने नै भयो । अनि भिडमा गुणस्तर खस्कने भयो । सरकारी अस्पतालहरुमा राम्राका पनि उत्कृष्ट डाक्टरहरु सरकारले छानेर लिएको हुन्छ । गुणस्तर नहुने भन्ने कुरा हुँदैन तर यहाँ कमसेकम छिटोको मामलामा सम्झौता गर्नु पर्ने हुन्छ ।
यस्ता अस्पतालहरु आजकाल प्रायःजसो विमाको व्यवस्था भएका अस्पतालहरु पर्दछन् । यहाँ ३००० को विमा गरेर मानिस (बिरामी भन्न चाहिन) एक लाख बराबरको स्वास्थ्यको सुविधा लिन आएका हुन्छन् । सरकारले नै विमालाई ‘तिन हजारमा एक लाख‘ भनेर प्रचार गरेको छ । अनि बिरामी भएका नभएका सबै एक लाखको सुविधा लिन आइरहेका हुन्छन् ।
बिरामी नभएकाको भिडले गर्दा मारमा साँच्चै बिरामी परेका पर्ने गर्छन् । अनि ढिला भयो, छिटो भएन । डाक्टर मोबाइल चलाएर बसेका छन् । हामीलाई हेर्दैनन् ।
‘हामी बिमाको बिरामी भनेर हेप्नी ।’ यस्ता जस्ता धेरै गुनासोहरु सुनिने गर्छन् ।
सस्ता अस्पतालमा बिरामी कुरुवाले भोग्न परेको सास्ती हामी सबैले कुनै न कुनै प्रकारले भोगेकै, देखेकै छौँ । कतिसम्म हुन्छ भने बिरामी कुरुवाहरु नै अस्पताल बसेको अन्तसम्म बिरामी पर्ने गर्छन् ।
अर्को मोर्चा महङ्गा अस्पतालजस्तै मेडिसिटी, ग्राण्डी लगायकले समालेका छन् । यहाँ अस्पतालमा हुलिदिन मात्र पर्छ बिरामीका कुरुवाले पैसाको जोहो गर्नतिर लागे मात्र पुग्छ । भलै यस्ता अस्पतालले डाक्टरहरुलाई सताएकै हुन् बिरामीले सुविधा पाएकै छन् । उनीहरुको उद्देश्य नै मानिसहरुलाई सुविधा दिएर अर्थ आर्जन गर्ने हो । यस्ता अस्पतालहरुमा गुणस्तर पनि छ, छिटो पनि छ तर यहाँ पैसामा सम्झौता गर्न पर्ने हुन्छ ।
हुन त यस्ता अस्पताल पनि छन् जो महङ्गा छन् तर महङ्गो अनुसारको सेवा दिइरहेका छैनन् । कुनै जमानामा नाम कमाएका थिए । अहिले आफ्नो नाम मात्र बेचेर खाइरहेका छन् । सस्तो अस्पताल र सस्तो सिनेमा हल अनि महङ्गा अस्पताल र मल्टिप्लेक्स उस्तै उस्तै हुन् यो मामलामा ।
अर्का अस्पतालहरु छन् जो छिटो सेवा दिने गर्छन् । यहाँ बिरामी धेरै हुँदैनन् । यस्ता अस्पतालहरुको गुणस्तरमा प्रश्न गर्न सकिन्छ । गुणस्तरको सेवा पाउन पनि सकिन्छ । यस्तोमा पैसा सस्तो भयो भने मेरो कुरा के त ? यस्तो अस्पताल र संस्थाबाट सेवा पाउनु भएको छ भने तपाईँलाई शुभकामना ।
अब लागौँ सरकारी कार्यालयतर्फ । यहाँ के ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।