बिहान ८ बजे शनिबार,

सिरकमा गुटुमुटु परेर सोचिरहेको छु । बुढी बारम्बार गलफत्ताइरहेकी छ । सिरक मिलाऊ । चिटिक्क पार । ऊ हप्ता भरिका मैला लुगा बटुलेर वासिङ मेसिनतिर लागी ।

मलाई आज धेरै कुरा लेख्नु छ । धुलिखेल अस्पतालको २५ औं स्वर्ण जयन्ती (अहिलेत एक वर्ष हुन लागेछ) एक कार्यक्रमका साथ मनाइएको थियो । अस्पतालको एक विद्यार्थी भएर कर्मचारी हुँदासम्मको अनुभव मैले पनि साटेको थिएँ । मञ्चमा बोल्नलाई भनेर केही तयारी थियो । तर सोचेको आधा भनेर आफ्नो बाटो लागेको थिएँ ।

बुढी फेरि कोठाभित्र आएर ‘उठ न उठ बुढो । साह्रै ल्याङ ल्याङ गर्छौ यार, भन्दै फेरि बाहिर गई ।

म मेरा बाल्यकालका नेपाली गुरु घिमिरे सरलाई सम्झिरहेको छु । वक्तृत्वकला प्रतियोगिता थियो । म उहाँलाई सुनाएर प्रतियोगिताको तयारी गर्न उहाँको घर गएको थिएँ ।
के बोल्नेछु तीन चार पेज लेखेर लगेको थिएँ ।

‘यसरी लेखेर रट्टान लगाएर हुँदैन । यस विषयमा मनन गर । अनि स्वस्फूर्त गएर स्टेजमा बोल ,‘उहाँले भन्नुभयो ।

मैले लेखेको च्यात्न सकिनँ तर थप तयारी पनि गरिनँ । स्टेजमा गएर के बोले थाहा छैन । अस्ति पनि त्यस्तै भयो । के बोले थाहा छैन ।

२५ औँ स्वणै जयन्ती वर्षभरि मनाउने तयारी छ हाम्रो । अस्पतालले आफ्नो संस्थाको जीवनका अवयवहरु कहिले हिँड्दै, कहिले घिर्सदै, कहिले गर्जदै, कहिले अट्टहासका हाँसो लिएर एक मनोवृत्तिका साथ अघि बढ्दै छ । जस्तो परिस्थिति भए पनि आफ्नो एक वृत्तिलाई सधैँ कायम गरिराखेको छ । यसको जस सधैँ पिरामिडको शिरमा रहेको सर म्यामलाई जान्छ ।

डा. विनोद ढकाल

पिरामिड माथि फर्केको धेरै भयो । बहुसङ्ख्यक मानिसलाई सीमित मानिसहरू या भनौँ, उनीहरूका नेताहरूले नियन्त्रणमा राखेका हुन्छन्  । अनि बहुसङ्ख्यक नेताहरूको सोच सीमित नेताहरूको सोचले प्रतिबिम्बित गर्छ । अनि तिनीहरुको पनि सोच पिरामिडको टुप्पामा बसेकाले नियन्त्रण गर्छन् । अनि जन्मन्छन् पार्टीभित्र शेरबहादुर देउवा, केपी ओली अनि प्रचण्ड । अनि कसरी पुग्छ भुइँमान्छेको आवाज टुप्पासम्म । यहाँ त टुप्पाको मानिसको आवाजमात्र भुइँमान्छेसम्म ठेलिएको छ ।

हैन पिरामिड उल्टो हुनुपर्छ । माथिकालाई तलका भुइँ मान्छेले नियन्त्रण गर्न पर्छ ।

पिरामिड उल्टो भयो भने त्यो बेवास्ता एक ग्याङको जस्तो हुन्छ । ग्याङमा एक अघि लागे अरु सोच्दैनन् । नसोचेरै पछि लाग्छन् ।

अनि सही विचार के त ? सत्य के हो ?

सही विचार त सोच्नेको आधारमा नियन्त्रण हुन्छ । यहाँ सत्य नै छैन । जहाँ काम क्रोध लोभ मोह अहङ्कार हुन्छ, त्यहाँ सत्य भिन्न भिन्न हुन्छ । अनि वास्तवमा भिन्न भिन्न सत्य सत्य नै हुन्छन् । लाग्दैन सत्य तिन प्रकारको हुन्छ । दुइ भोग्नेको अनि अर्को वास्तविक सत्य । अनि काम क्रोध लोभ मोह अहङ्कार नभएको मान्छ नै हुँदैन । या भनौँ प्राणी नै हुँदैनन् । कतै पढेको छु यहाँ आत्माको पनि आयु हुन्छ (म गलत पनि हुन सक्छु ) । ८००, ९००, १००० त्यस्तै कति अनि आत्मा कतै ज्ञानी भएर त्यसको फल आएर अनि कहिले अज्ञानी भएर त्यसको दण्ड पाएर जान्छ कतै, लाग्छ मुक्तिको बाटो वैकुण्ठ । त्यो ध्रुवताराकोमा जहाँ हाम्रा वैज्ञानिकहरुले हिजो आज पत्ता लगाएका छन् जुन हाम्रा ऋषिमुनिहरुले हजारौँ वर्ष पहिले पत्ता लगाइसकेका थिए ।

यो संस्था मेरो साथी भएको पनि आज १४ वर्ष भइसकेको छ । यो कहिले मेरो अभिभावक भयो , कहिले भाइ भयो अनि कहिले पूर्व प्रेमिका जस्तो बिरानो ।

म जुन सपना लिएर धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय अस्पताल छिरेको थिएँ, आज फर्केर हेर्दा ती सपनाहरु सम्पूर्ण पुरा भएका छन् । अझ सोचेका सपनाभन्दा बढी पुरा भएका छन् । म आज डाक्टरको व्यक्तित्व लिएर उभिएको छु । एक शिक्षकको, अनि कनिकुथि लेख्ने साहित्यकारको पनि । त्यो धेरै हदसम्म मेरो संस्थाको उपज हो । यस संस्थाले मलाई सम्पूर्ण म दिएको छ ।

कहिलेकाहीँ सोच्छु यो संस्थालाई मैले के दिएको छु । सायद एक जागिर ।

मेरो कर्तव्य नगण्य छ ।

यहाँ मेरा केही गुनासोहरु छन् । तर ती गुनासोहरु भएकामा अझ दिएन भन्नेमात्र हो । मलाई अझ चाहिएको छ । धेरै मानिसको जागिरे मानसिकता हुन्छन् । म पनि त्यस्तै छु । मलाई समयमा तलब समयमा पदोन्नति, र समयमा कामको मूल्याङ्कन बहेक अरु चाहिएको छैन ।

अस्पताल आज २६ औँ वर्षमा प्रवेश गर्न लागेको छ ।

तर आज त म अर्कै कुरा सोचौँ भनेर लेख्न बसेको या भनौँ आजकाल त लेख्ने पनि ल्यापटपमा भइसकेको छ । त्यसकारण टाइप गर्न बसेको छु कलम ।

४० कटेपछि रमाउँला ।

नेपाली गायकले त गाइदिए तर उनीभन्दा पहिले यसै विषयलाई मनन गरेर लाइफ बिगिन्स याफ्टर फोर्टी भन्ने किताब … लेखिसकेको थियो (भलै फेरि लाइफ विगिन्स याफ्टर ६० भन्ने पनि सिद्धान्त छ आजकाल)।

त्यसकारण म भन्छु संसारमा भनिनु पर्ने लेखिनु पर्ने सोचिनु पर्ने छापिनु पर्ने अब निकै कम छ । अब त महान् विचारकले उही कुरालाई कसरी शब्दहरुलाई नवीनतम ढङ्गमा ढालेर विचार बुझाउन सक्छन् भन्ने मात्र हो । मैले आज लेखेको विचार पनि कसैले कतै लेखिसकेको छ, पक्कै छ । त्यो लेख विकसित भनिएका देशहरुमा छैनन् होला तर कतै अफ्रिकाको सानो सहरको सानो प्रेसले छापिसकेको छ । पक्कै छ । विचार या भनौँ इतिहास या फेसन या भनौँ संसार स्पाइरल ढङ्गमा बग्छ । जसरी फिजिक्समा बस्तुहरुबिच गरुत्वाकर्षणले एक अर्कालाइ घुमाउँछ । स्ट्रिङ थ्योरी भनेर ।

म भन्छु स्ट्रिङ थ्योरी साहित्यमा पनि लागु छ । जीव विज्ञानमा पनि लागु छ । जसरी एक सेतो कोसिका रगतमा जीवाणुको तर्फ हमला गर्न अघि बढ्छ अनि त्यहाँ माइटोकन्ड्रियाको प्रयोग हुन्छ । कोसिकाको खुट्टा निक्लन्छ । अनि बग्छ रगतबाट निक्लिएर जीवाणुतर्फ ।

खैर, यो लेख्न पनि बसेको होइन म आज । ‘४० कटेसी रमाउँला’ भन्ने सोच लेख्न मन थियो । तर प्रश्न आयो ४० पछि रमाउने उमेर कतिसम्म हो ?

उत्तर विज्ञानमा छ । रमाउने उमेर छोटो छ । जबसम्म मिडिल एज क्राइसिस आउन्न ?

यो मिडिल एज क्राइसिस कहिले आउँछ ?

महिलाहरुको महिनावारी रोकिने समयतिर । पुरुषको पनि उस्तै उमेरतिर ।

यो समय आउँछ अनेकन मानसिक समस्या लिएर । अनि यो समस्या नबुझ्ने बुढा (प्रायः नबुझ्ने बुढा नै हुन्छन् ) या बुढी भयो भने दाम्पत्य जीवनमा टकराव आउन थाल्छ । सामान्य अवस्थाको भन्दा भिन्न विचारहरु मनमा आउन थाल्छन् ।

कतिको पारिवारिक कलह सुरु भएको छ ।

यस्तै समस्या मेरो आमा उमेरका महिलाहरुमा देखिरहेको छु ।

भन्न त अर्कै खोजेको हो तर सम्झेको बेला लेखिहालूँ, उहाँहरु एक समयमा जन्मनु भएको छ जसले बुहारी भएर पेलान खानु भयो तर आफू सासू भएपछि बुहारीलाई (सो कल्ड) पेल्न सक्नु भएन । आज जमाना त्योबमोजिमको छैन । देख्छु सुन्छु प्रायः (सबै हैन है) ५० देखि ६० कटेका महिलाहरुको गुनासो । आफ्नो सासूले ऊ बेला दिएका दुखहरु । आफू सुत्केरी हुँदाका दुखहरु ।

अनि उहाँहरुका आजका स्वतन्त्र कर्पोरेट बुहारीहरु ।

क्रमश…