
सुवास ढकाल

सुवास ढकाल
काठमाडौं त काठमाडौं जस्तै नै छ
छैनन् त यहाँको चिडियाघरका जनावरहरू आफूजस्ता
मानिस देख्नेबित्तिकै खानेकुराका लागि जाली नजिक आउँछन्
अनि सेल्फीका लागि पोज समेत दिन भ्याउँछन् ।
काठमाडौं त काठमाडौं जस्तै नै छ
छैनन् त मृगस्थ्यलिका मृग र पशुपतिका बाँदरहरु आफू जस्तै
मानिसको संगतले उनीहरू
यहाँका मानिस जस्तै कृत्रिम भैसकेका छन् ।
काठमाडौं त काठमाडौं जस्तै नै छ
छैनन् त यहाँका नदिनालाहरू आफूजस्तै
मान्छेको विष लागेर उनीहरू विषाक्त भएका छन् ।
काठमाडौं त काठमाडौं जस्तै नै छ
छैनन् त यहाँका मन्दिर र टुँडालहरू आफूजस्ता
उनीहरू पनि माटो छोडेर भासिएका छन् विदेशको मोहमा
काठमाडौं त काठमाडौं जस्तै नै छ
छैनन् त यहाँका मानिसहरू मानिस जस्ता
उनीहरूको दाँतमा दारा र हातमा नंग्रा पलाएको छ
मनमा अँध्यारो र मस्तिष्कमा कालो छ
हातमा छुरी र मुखमा आगो मात्र छ
काठमाडौं त काठमाडौं जस्तै नै छ
छैनन् त यहाँका मानिसहरू मानिस जस्ता
मेसिनमा परिणत भएर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 






