केही वर्ष पहिले नेपालका एक प्रकाशकले मलाई भने, ‘सर अमेरिकाबाट आउँदा राम्रो ह्विस्की लिएर आउनुहोस् है ब्रान्डेड, भ्याट फ्रीमा । भोलि तपाईँको पुस्तक हामीले छाप्यौँ यदि भने पत्रकारहरू बोलाएर खुवाउनुपर्छ, अनि आउँछ नि सबैतिर तपाईँको पुस्तकको समीक्षा र पुस्तकबारे राम्रा कुरा । ”

मैले “हुन्छ” त भने तर रक्सी किनिनँ । किनकि मलाई त्यस्तो प्रकाशकबाट पुस्तक छपाउनु नै थिएन । मलाई थाहा थियो त्यो गर्नु अनुचित हो । त्यो इमानदार लेखकको नीतिभित्र पर्दैन । बरु लेखकले पुस्तक प्रकाशन भएपछि आफ्नोतर्फबाट जतिसक्छ त्यति विज्ञापन गरोस् । त्यहाँमाथि एक वर्षदेखि अमेरिकी कलेजमा व्यावसायिक लेखनका विभिन्न विषयहरूमध्ये कानुन र सञ्चार विषय पढाउँदै आएको म रक्सी खुवाई-खुवाई मेरो पुस्तकमाथि समीक्षा लेखाउनुभनेको आफ्नै धज्जी उडाउनु जस्तो महसुस भयो । फेरि मैले भर्खरै पढिसक्तै मात्रै थिए दुईओटा पुस्तक । एउटा लियोनार्ड डुबफ र सेरा टगम्यानको ‘दि ल फर राईटर’ अर्थात् लेखकका लागि कानुन र केनेथ नर्विकको ‘दि लिगल फर राइटरस, आर्टिस्ट एन्ड अदर क्रिएटिभ पिपुल’ अर्थात् लेखक, कलाकार र अरू सिर्जनशील व्यक्तिका लागि कानुन । ती दुवै पुस्तकले लेखक र प्रकाशकले खेल्नुपर्ने कानुनी भूमिकाका बारेमा बताउँछन् । साथसाथै अरू प्रतिलिपि अधिकार र तिनीहरूको उल्लङ्घन हुँदा पुग्न जाने क्षति,  हुन जाने सजाय र अरू अदालती कारबाही र वैकल्पिक उपचार । हाम्रा कति प्रकाशकलाई त्यसका बारेमा ज्ञान होला, मैले मनमनै गमेँ र चित खाएँ ।

बाहिरतिरका खास गरी अमेरिकाको सन्दर्भमा परम्परागत प्रकाशन गृहका बारेमा भन्ने हो भने कुरा बेग्लै हुन्छ । परम्परागत प्रकाशन गृह अर्थात् “ट्राडिसनल पब्लिकेसन हाउस” भन्नाले त्यस्ता प्रकाशन गृह हुन् जसले कुनै लेखकले लेखको पुस्तक मन पराएको खण्डमा आफ्नै लगानीमा, लेखकलाई समेत केही रकम दिएर ‘पेपरब्याक’ तथा ‘हार्ड्ब्याक’मा निश्चित प्रति प्रकाशित गर्छन् र संसारका विभिन्न बजारसम्म पुऱ्याउँछन् । ठुला प्रकाशन गृहहरूजस्तो ‘हार्पर कोलिङ्स’, ‘पेङ्गुइन’ वा शैक्षिक प्रकाशन गृहजस्तो ‘रुट्लेज’ आदिको त अन्ताराष्ट्रिय स्तरमा नै विभिन्न ब्रान्चहरू हुन्छन् र निश्चित प्रति त्यो ठाउँका लागि त्यहीँ छापिन्छ । जस्तो उदाहरणका लागि जब मेरो पुस्तक ‘सेक्स, जेन्डर एन्ड डिसेबिलिटि इन नेपाल’ भन्ने पुस्तक रुट्लेजले छाप्यो, त्यो लन्डनमा छापियो र सँगसँगै अमेरिकाबाट पनि । त्यति वेला त्यसको मूल्य ६० अमेरिकी डलर झन्डै ६ हजार नेपाली रुपियाँ पर्न आयो । यति महँगो पुस्तक नेपालमा उपलब्ध गराए पनि पाठकले किन्न सक्ने सामर्थ्य खासै राख्न सक्ने कुरो भएन तर पछि नेपालको ‘एजुकेसनल बुक हाउस’ सँग कुरा भएपछि त्यसले इन्डियामा अवस्थित रुट्लेजको डिस्ट्रिब्युटरसँग कुरा गरेर त्यस पुस्तकलाई इन्डियामै प्रकाशन गरेर पछि नेपालमा उपलब्ध गरायो र त्यो पुस्तक अझै पनि एजुकेसन बुक हाउसमा छ अर्थात् दराज अनलाइनमा पनि किन्न पाइन्छ, १ हजार रुपियाँमा । विभिन्न ठाउँबाट प्रकाशित तथा वितरण गर्दाका अरू प्रतिलिपि अधिकारहरूको छुट्टै कुरा त छँदै छ जुन मैले सुरुमा उल्लेख गरेका पुस्तकमा पनि पाइन्छ ।

डा. तुलसी आचार्य

मैले भन्न खोजेको यहाँ के हो भने अन्ताराष्ट्रिय प्रकाशन गृहसँग काम गर्दाको मज्जा छुट्टै हुन्छ । तपाईँको पुस्तक उनीहरूले यदि मन पराए भने तपाईँलाई दिएको एउटा सीमाभित्र त्यो पुस्तक छापिसक्छ । एउटा कुरा चैँ के हो भने तपाईँको त्यस्ता परम्परागत प्रकाशन हाउससँग ‘डाइरेक्ट’ पहुँच भन्ने हुन्न ता कि तपाईँलाई ड्युटी फ्रीमा ‘एउटा ह्विस्की लिएर आनुहोस् है’ भन्न सकून् । ‘लिटेररी एजेन्ट’ को माध्यमबाट जानुपर्छ । त्योभन्दा पहिला तपाईँले एउटा प्रोपोजल वा ‘कोइरी’ लेटर सहित केही स्याम्पल पठाउन पर्छ । त्यसमा पनि पहिला को सही व्यक्ति हो तपाईँको विधाको/क्षेत्रको त्यो पत्ता लगाउनुपर्छ । खास गरी ‘राइटर्स मार्केट’ भन्ने पुस्तक जुन हरेक वर्ष प्रकाशन हुन्छ, त्यहाँ तपाईँको विधालाई प्रतिनिधित्व गर्न सक्ने ‘एजेन्ट’ भेटाउन सकिन्छ, कि प्रकाशक गृहकै वेबसाइटमा पनि भेट्न सकिन्छ । त्यसरी अप्रोच गर्ने क्रममा उनीहरूले तपाईँको पुस्तक मन पराए भने उनीहरू छाप्न तयार हुन्छन् र एउटा ‘डेड्लाइन’ दिन्छन् । कतिदेखि कति समयभित्रमा के गर्ने आदि इत्यादि । त्यो डेड्लाइन दिएको ६ देखि ८ महिनाभित्रमा पुस्तक बजारमा आइपुग्छ । न त्यहाँ लेखकलाई कहिले पुस्तक आउला भन्ने तनाव, न प्रकाशकलाई सोधिराख्नुपर्ने अवस्था ।

सुरुवातमै हुन्छ प्रतिलिपि अधिकारदेखि लिएर आएको रोयल्टी के हुने र त्यसलाई कुन खातामा हाल्ने ‘कनट्र्याक्ट’ । आफ्नो तर्फबाट जति विज्ञापन गरे पनि भो, पुस्तक बाहिर आएपछि । त्यहाँ प्रकाशकले रक्सी खुवाई-खुवाई पत्रकारलाई लेख्दे भन्ने कष्ट गर्नै परेन, न त कति प्रति छापियो वा के भयो भन्ने अलमलमा नै पर्नुपर्ने हुन्छ । ‘कनट्र्याक्ट’ पेपर नै झन्डै १५ पेज जति लामो हुन्छ मानौँ कि तपाईँलाई लाग्छ ठुलै घडेरी किन्दै छु काठमाडौँमा । यता नेपालमा भने एक वा दुई पेजको ‘कनट्र्याक्ट गऱ्यो, सकियो ।

पुस्तक प्रकाशन विषयमा स्नातकोत्तर गरिसकेका र अमेरिकामै रहेर एजुकेसनल पब्लिसिङमा कन्टेन्ट मेनेजर र कमर्सियल तथा ट्र्याडिसनल पब्लिसिङमा प्रोजेक्ट मेनेजर भएर काम गरेका रामचन्द्र केसी भन्छन्, “अमेरिकामा पब्लिसिङ हाउसहरू इमानदार र व्यावसायिक त छन् नै त्यहाँमाथि उनीहरू लेखकलाई सँगसँगै लिएर जान्छन् पुस्तकको प्रोमोटका लागि, बुक्साइनका हरेक कार्यक्रममा र त्यसमा लगानी प्रकाशकले नै गर्छ । हरेक डिजिटल प्रविधिको प्रयोगसँगै पुस्तकको प्रोमोट गरिन्छ । “

राम्रा लेखक जन्माउन प्रकाशकको धेरै ठुलो हात रहन्छ । प्रकाशक पैसामा बिक्न थाल्यो भने उसले पाठकलाई पस्कने पुस्तक केवल ‘जङ्क’ मात्र हुन्छ । त्यही भएर प्रकाशकसम्म आइपुगेका पुस्तकलाई पुस्तकको विषयवस्तु, भाषा र प्रस्तुतिका आधारमा पुस्तक कति पठनीय र ‘इन्गेजिङ’ छ त्यो हेरिनुपर्छ । त्यसका लागि प्रकाशकको कम्तीमा ३ जना राम्रा पाठकहरूलाई तलब नै दिएर राख्न सक्ने ल्याकत हुनुपर्छ । सकिन्छ भने एउटा इमानदार समालोचक पनि । उनीहरूलाई लेखकको नाम हटाएर पाण्डुलिपि पढ्न दिइनुपर्छ । ताकि उनीहरू पूर्वाग्राही हुन नसकून्, पाण्डुलिपि पढिसकेपछि समीक्षात्मक टिप्पणी पस्किँदा तर त्यस्तो खाले अभ्यास नेपालको सन्दर्भमा अझै पनि ‘अ फार क्राई फ्रम रियालिटी’ छ अर्थात् वास्तविकताभन्दा धेरै टाढा ।

केही प्रकाशकहरूले भने आफूलाई ‘प्रोफेसनल’ व्यावसायिक बनाउँदै लागेका छन् तर अझै पनि उनीहरू एक किसिमको पूर्वाग्रहबाट उम्किन सकेका छैनन् । कि उनीहरू पैसामा बिकेका छन् । यदि कसैले राम्रो पैसा हात लगाइदिन्छ र आफ्नो पुस्तक प्रकाशित गर्न चाहन्छ भने, त्यो प्रकाशक पुस्तक छपाउन तयार हुन्छ । कि कुनै नाम चलेको व्यक्ति छ र त्यो व्यक्तिको पुस्तक छापिनेबित्तिकै धेरै कपी बजारमा जानेवाला छ । त्यसो हो भने पनि प्रकाशक पुस्तक छाप्न तयार हुन्छ, उल्टै त्यस्ता सेलिब्रेटी लेखकलाई ‘एड्भान्स’मा पैसा दिएर । यस्ता अभ्यासका कारण धेरै राम्रा लेखकहरू उनीहरूको आर्थिक तथा सामाजिक पहुँच नहुनका कारण, सधैँ परिधिमै रहिरहन्छन् । त्यस्ता लेखकहरूलाई बाहिर ल्याउन नेपाली प्रकाशक हाउसहरूले अझै सकेजस्तो मलाई लाग्दैन । किन पनि धेरै नेपाली प्रकाशकहरू इमानदार छैनन् । कुनै प्रकाशकले एक हप्तामा ७ ओटा नै किताब निकालिदिने, कुनैले भनेको समयभित्रमा अनेक कारण देखाएर प्रकाशन नगर्ने वा प्रकाशन गर्न ढिलो गर्ने, कुनैले लेखकसँगको ‘कनट्र्यक्ट’मा एउटा कुरा गर्ने अनि प्रकाशन गर्दा अर्कै कुरा गर्ने, पुस्तक कति प्रति छापियो, कति बाहिर गयो, कति बिक्री भयो त्यसको इमानदार हिसाबकिताब नहुने, लेखकसँगको ‘कनट्राक्ट’ बेगरै आश्वासनको भरमा पुस्तक छापिदिने, प्रतिलिपि अधिकार माग्ने तर ‘कनट्र्याक्ट’ नगर्ने, दिन्छु भनेको पैसा समयमा नदिने, लेखकलाई झुलाउने आदि इत्यादि । यी अहिलेका केही नेपाली प्रकाशकहरूमा देखिएका समस्याहरू हुन् । यस्तो अभ्यासले न प्रकाशकहरूको इमानदारी देखिन्छ, न राम्रा लेखकहरूप्रति सम्मान नै मिल्छ । सेलिब्रेटी लेखकमात्र ताकेर वा पैसामा बिकेर वा लेखकहरूलाई असमान व्यवहार गरेर कुनै पनि प्रकाशन हाउस एउटा राम्रो उचाइमा पुग्न सक्तैन । न उसले पाठकलाई राम्रो खुराक नै पस्किन सक्छ ।

यही प्रसङ्गमा फेरि रामचन्द्र केसी भन्छन्, “ नेपालको सन्दर्भमा भन्ने हो भने धेरै प्रकाशकले पैसावाला लेखक अगाडि लगाएको देखिन्छ तर नयाँ र राम्रो लेखकलाई खासै प्रोमोट गरेको देखिँदैन । अमेरिकामा भने अभ्यास ‘इनक्लुसिब’ छ । मान्छे सेलिब्रेटीभन्दा पनि राम्रो कन्टेन र शैली पाए छाप्छन् । आजभोलि अमेरिकातिर एक्सिमेरिमेन्ट बढी छ, पब्लिसिङ डिजिटल प्ल्याट्फर्म, टेक्नोलोजीको प्रयोग, इडिटोरियल विधि र मार्केटिङमा उनीहरू धेरै अगाडि छन् ।”

यस्तै यस्तै अवस्थाबाट धेरै प्रकाशन हाउसहरू गुज्रिएका छन् । अर्कातिर केही प्रकाशन हाउसको व्यवहार पनि टिठलाग्दो छ । एउटा प्रकाशन हाउसलाई इङ्कित गर्दै एक लेखकले चिया गफमा भने, “प्रकाशन भएको दुई वर्ष भइसक्यो, अहिलेसम्म मैले सुको पाएको छैन । कति भयो रोयल्टी यसो पाउन भन्यो भने ‘खोइ सर पैसो छैन भन्छ खोइ के गर्ने ?” फेरि कतिपय प्रकाशन हाउस भने रिस, ईर्श्या र डाहका कारण पनि खोलिएका रहेछन् । एक जना लेखक तथा प्रकाशकले मन जितेर मलाई कफी गफमा भने, “तुलसीजी मैले मेरो पुस्तक छपाउन धेरै ठाउँतिर गएँ तर सबै ठुलो पल्टिने, गुलामी गर्नुपर्ने त्यही भएर अन्ततः मैले आफ्नै प्रकाशन गृह खोलेँ, त्यहाँ पनि मिलेन साथीहरूसँग र अहिले छुट्टिएर एकलौटी खोलेको छु ?” मलाई मनमनै हाँसो पनि उठ्यो र रिस पनि । मैले कफी सकाउँदै भनेँ, “राम्रो गर्नुभो, भोलि मैले लेखेका पुस्तक तपाईँलाई मन पऱ्यो भने चैँ छाप्नू है, म पनि गुलामी नगर्ने ‘नेचर’ कै मान्छे परेँ” र हाँस्दै आफ्नो बाटो लागेँ ।

लेखक अमेरिकामा अङ्ग्रेजीका प्राध्यापक हुन् । उनको नेपाली उपन्यास “मोचन” चर्चामा छ ।