इतिहासका केही यस्ता घटना हुन्छन्, तिनले आगामी समाजलाइ बाटो देखाउँछन् । यस्तै एउटा घटना मध्येको हो, द लास्ट ड्युल ।

फ्रान्सेली इतिहासमा घटेको यो घटनाले अहिले पनि उत्तिकै महत्त्व राख्छ । यतिबेला त अझ बढी सान्दर्भिक बन्न पुगेको छ । खासगरी मीटू आन्दोलनको सन्दर्भमा । सान्दर्भिकताकै कारण हलिउडका चर्चित फिल्म निर्देशक रिड्ली स्कटले यो फिल्म बनाउने घोषणा गरेका थिए ।

त्यसो त यो फिल्म २०१५ मा नै बन्नु पर्ने थियो तर केही कारणले फिल्म निर्माण अघि बढ्न सकेन । इरिक जगरद्वारा लिखित ‘द लास्ट ड्युलः अ ट्रयु स्टोरी अफ ट्रायल बाइ कम्ब्याट इन मेडिएभल फ्रान्स’ शीर्षकको पुस्तकमा आधारित यो फिल्म बजारमा रिलिज हुनेबित्तिकै फ्लप घोषित गरियो । र, फिल्म फ्लप हुनुमा नयाँ पुस्ताले फिल्मको महत्त्व नबुझेको भन्दै निर्देशक स्टकले दर्शकलाइ तथानाम पनि गरे । नयाँ पुस्ता मोबाइलमै बढी अल्झिएका कारण यो फिल्म फ्लप भएको उनको भनाइ थियो ।

हुन पनि १०० मिलियन बजेटको यो फिल्म, त्यसमाथि म्याट डेमन, बेन एफ्लेक, एडम ड्राइभरजस्ता चल्तीका र राम्रो प्रशंसक समूह कमाएका अनि बेलायती अभिनेत्री जोडी कोमर अभिनित यो फिल्मले एक चौथाइ पैसा पनि बजारबाट उठाउन सकेन ।

निर्माणका हिसाबले यो एउटा मध्यमस्तरको फिल्म छ । कतैकतै झ्याउलाग्दो पनि देखिन्छ । तर फिल्मको अन्त्य भने फिल्मले गति पक्डन्छ र इतिहासमाथि पनि न्याय गर्न सफल हुन्छ ।

के हो, लास्ट ड्युल ?
कुनै कुराको आरोप लाग्यो भने ओरापीले आरोपकर्तासँग भिड्नुपर्छ । यो भिडाइ घातक पनि हुनसक्छ अर्थात हतियारसहितको लडाइँ पनि हुनसक्छ । कसैले हतियारबिना नै पनि लड्न सक्छन् । तर जसले यो लडाइँ हार्छ, अपराधी ठहर्छ । खासगरी कुनै घटना घट्यो, त्यो घटनामा कुनै पनि साक्षी फेला परेनन् भने ड्युलमार्फत निर्णय गरिन्छ ।

यस पछाडिको सिद्धान्त के हो भने, यदि कोही अपराधी छ भने तिनलाइ इश्वरले सहयोग गर्दैनन् र ऊ नैतिक रूपमा पतित भएकाले यस्तो लडाइँमा ऊ असफल हुन्छ ।

तर कहिलेकाहीँ यस्तो ड्युलमा निर्दोष मान्छे मारिने र अपराधी बच्ने सम्भावना पनि हुन्छ ।

फिल्मको सान्दर्भिकता
कुनै पनि कार्यथलोमा महिलामाथि हुने यौन हिंसा सामान्य मानिन्थ्यो । धेरैले चुप लागेर, सहेर बस्थे । तर हलिउडका चर्चित फिल्म निर्माता हार्भे वाइन्स्टिनमाथि केही अभिनेत्रीहरूले सामूहिक रूपमा यौन हिंसा, बलात्कार तथा अनेकन् सास्ती दिएको कुरा न्युयोर्क टाइम्स र द न्युयोर्कर पत्रिकाले खुलासा गरे ।

यस खुलासालाइ अभियन्ताहरूले मीटू नामकरण गरे । यो काण्डले यति सशक्त स्वरूप लियो कि हार्भेले मुद्दा मात्र हारेनन्, अर्बपति फिल्म व्यापारी कंगाल घोषित भए, क्षतिपूर्ति तिर्दातिर्दा । अहिले उनी सय वर्षभन्दा बढी समय जेलमा बिताउनु पर्ने आदेशका साथ अपराधी घोषित भएका छन् ।

ठीक यही सन्दर्भमा यो फिल्म रिलिज भएको छ, जुन ढिलै निर्माण भए पनि मुद्दाका कारण यसलाइ सशक्त फिल्म मानिनु पर्छ ।

इतिहासमा के भएको थियो ?
फ्रान्सेली राजाले पत्याएका युद्ध सरदार (नाइट) जँ डि कारोग्सकी पत्नी मार्गरिटले लोग्नेको साथी ज्याक्स लि ग्रिसमाथि बलात्कारको आरोप लगाउँछिन् । त्यो बेला दरबारी बैठकका लागि जँ डि कारोग्स पेरिस पुगेका हुन्छन् । सासू पनि काम विशेषले बाहिर गएकी हुन्छिन् । घरका नोकरचाकर पनि खेतीको याम भएकाले बिदा मागेका हुन्छन् । घरमा कोही नभएको मौका छोपी एउटा सहयोगीका साथ ज्याक्स मार्गरिटको घर छिर्छ । सहयोगीलाइ घर पठाएर ऊ चाहिँ साथीकी श्रीमतीसँग गफिन चाहन्छ तर मार्गरिटले आफू घरमा एक्लै भएकीले विनम्रतापूर्वक घरबाट जान आग्रह गर्छिन् ।

ज्याक्सले एक्लै भएको देखी त्यहीँ आक्रमण गर्छ र बलात्कार गर्छ ।

जब पेरिसबाट जँ डि कारोग्स फर्कन्छ, पत्नीको आरोप सुनेर सुरूमा पत्याउँदैन किनभने दुवै जना एकदमै मिल्ने साथी हुन्छन् । कैयन् युद्धमा सँगै लडेभिडेका र एकअर्काको ज्यान जोगाएका पनि हुन्छन् । त्यति मिल्ने साथीले मार्गरिटमाथि झम्टने दुस्साहस कसरी गर्ला भन्ने उनले सोच्न सकेका थिएनन् । उनले आफ्नी पत्नीमाथि कारण विशेषले गलत आरोप लगाएको हो कि भन्ने शङ्का पनि गर्छ ।

तर अवसरवादी ज्याक्सको चरित्र र स्त्रीमोह थाहा नपाएको भने होइन । यसपछि ऊ श्रीमतीको पीडालाइ साथ दिँदै मुद्दालाइ पेरिसको दरबारसम्म पुर्याउने वचन दिन्छ ।

घटना संसद्सम्म पुग्छ । अनेकन् बहस हुन्छन् । प्रत्येक बहसमा मार्गरिटले आफू कसरी, कहाँ, कुन हिसाबले बलात्कृत हुनुपर्यो भनी बयान दिनुपर्ने हुन्छ । जसका कारण पटक पटक लोग्ने जँ डि कारोग्स पनि लज्जित हुनुपर्छ ।

अन्तमा संसद् पनि निर्णयमा पुग्न सक्दैन । कुनै प्रत्यक्षदर्शी नभएका कारण यस घटनालाइ लडाइँबाटै अन्त्य गरिनुपर्ने निर्णय सुनाइन्छ । र, एउटा घातक लडाइँ बलात्कार आरोपी र पीडित व्यक्तिका तर्फबाट लडिन्छ । घटनामा अन्ततः पीडक भनिएका ज्याक्सको मृत्यु हुन्छ । लडाइँका क्रममा चक्कु प्रहारबाट ज्याकको मृत्यु हुन्छ ।

नियमअनुसार ज्याकको बदमासी पुष्टि भएको भन्दै नाङ्गै उसको मृत शरीरलाइ शहर घुमाइन्छ ।

तर यो घटनापछि भने यस्ता आरोप, जुन पुष्टि हुन गाह्रो हुन्छ, त्यसमा ड्युल नगर्नू नगराउनू भनी दरबारबाट आदेश हुन्छ । त्यसैले यो लडाइँलाइ अन्तिम लडाइँ भनिएको हो । तर फ्रान्सेली इतिहासमा यसपछि पनि एउटा घटना यस्तै भएको थियो, जसमा दरबारिया दुइ दाजुभाइबीच अर्काकी स्वास्नी ताकेको आरोपमा यस्तै ड्युल भएको थियो । यो दरबारियाबीचको लडाइँ भए पनि सर्वसाधारण जनतामाझ अर्थात् दरबारबाहिरको अन्तिम लडाइँ भएकाले लास्ट ड्युल भनिएको हो ।

कस्तो छ फिल्म ?

विषयवस्तुका कारण यो फिल्म एक पटक हेर्न लायक छ । खासगरी कथालाइ रोचक बनाउन पीडित पत्नी, उसको पति र पीडक साथी तीन जनाको कोणबाट यो फिल्मको कथा भनिएको छ । पीडित महिलाको कोणबाट फिल्मको कथा अघि बढाउँदा घरमा लोग्ने नभएको, बिहेको प्रसङ्ग भएको, घरको घोडाले घोडी खोज्दा नराम्रोसँग पिटाइ खाएको जस्ता प्रसङ्ग र पतिसँग उनको यौन सम्बन्ध त्यति सुखद् नभएको देखाइएको छ । यस्ता प्रसङ्गले यो घटना निम्तनुमा ती महिलाको यौनिक विचारले पनि भूमिका खेलेको हो कि भन्ने दर्शकलाइ भान गराउँछ ।

जमिन्दार ज्याक सहयोगी भए पनि स्त्री लम्पट थियो र अवसरहरू गुमाउन चाहँदैनथ्यो भन्ने कुरा अनेकन् दृश्यबाट पुष्टि गर्न खोजिएको छ । साथै, उसलाइ हौस्याउने अर्को साथी जसको भूमिका बेन एफ्लेकले गरेका छन्, उनका कारण पनि यो घटना घट्न पुगेको देखिन्छ । उनले वास्तविकता जानी जानी पनि घटना लुकाउन, साथीलाइ बचाउन खेलेको भूमिकाले मानवीय चरित्र उजागर गरेको छ ।

यो अन्तिम लडायँमा जँ डि करोग्स नराम्रोसँग घाइते भए पनि पत्नीलाइ अन्त्यसम्म साथ दिन्छ । खासगरी संसद्ले राम्रो निकास नदिएका कारण उसले पत्नीका खातिर आफ्नो ज्यान जोखिममा मोलेर ड्युल लड्न हाँक दिन्छ । यसमा आर्थिक रूपमा ज्यादै समस्या बेहोरिरहेको जँका लागि केही सम्भावना पनि थियो । एक त उसले ज्याकले गरेको अपराधको सजाय दिन्छ, अर्को चाहिँ क्षतिपूर्तिस्वरूप ज्याकको सम्पत्ति उसले पाउँछ । ड्युल हार्दा पनि उसलाइ घाटा हुने थिएन किनभने मरेपछि डुमै राजा हुने अवस्था हुन्थ्यो । उसले ड्युल हार्दा ज्याक्सको हातबाट ज्यान गुमाउनु पर्नेथियो भने उसकी श्रीमती मार्गरिटलाइ गलत आरोप लगाएको भन्दै झुण्ड्याइन्थ्यो । दुवैले केही समयको फरकमा यो संसार छाड्ने थिए ।

तर अन्ततः घटना सुखद् मोडमा गएर सकिन्छ । घाइते भए पनि जँ डि करोग्सले ड्युल जित्छन् । यस घटनाको केही वर्षपछि जँ एउटा क्रूसेड यात्राका क्रममा मारिन्छन् । मारिएका पतिको शोकमा मार्गरिटले जीवनभर अर्को मानिससँग बिहे गर्दिनन् ।

सत्यको पक्षमा लाग्न, त्यसका लागि जीवनभर लड्न र अरूलाइ पनि कसरी त्यसका लागि मनाउने भन्ने विषयमा सन्देश दिन फिल्म सफल छ । त्यसो त फिल्मले सन्देश दिनुपर्छ भन्ने छैन तर फिल्म हेरिसकेपछि दर्शकले जे मनन गर्न पाउँछन्, त्यसलाइ सन्देश नै हो भन्दा पनि फरक पर्दैन ।