कार्यालयबाट फर्किएपछि श्रीमान् कराउँछन्, “खै, एक कप चिया बनाऊ त ?”

खाजा अझसम्म तयार भएको छैन है भन्दै सोफामा बसेर मोबाइल चलाउन थाल्छन् ।

श्रीमतीले हतार-हतार चिया र खाजा ल्याइदिन्छिन् ।

तात्तातो चियाको चुस्की लिँदै गर्दा श्रीमान् अह्राउँछन्, “मेरो मोबाइलको चार्जर खोजेर चार्जमा राखिदेऊ । कुनै आज्ञाकारी बालकझैँ श्रीमतीले त्यसै गर्छिन् । त्यसपछि उनी आफ्नै घरायसी काममा व्यस्त हुन्छिन् ।

श्रीमान् भन्छन्, “ए टिभीको रिमोट कहाँ राख्यौ, एकछिन समाचार हेर्नुपर्‍यो ।”

श्रीमती  सानो बाबुलाई लिट्टो खुवाउँदै थिइन् । उनले  सुनिनन् वा सुनेर पनि नसुनेझैँ गरिन् । उताबाट फेरि श्रीमान् कराउँछन्, “टिभीको रिमोट कहाँ छ भनेको ?”

दिलीप अधिकारी

श्रीमती झर्को मान्दै भन्छिन्, “त्यहीँ कतै होला, आफैँ खोज्नुहोस् न, म यता व्यस्त छु ।”

श्रीमान् अरू चर्को स्वरमा कराउँछन्, “तिमीले काम चाहिँ के गर्‍यौ ? एउटा खाना पकाएर खुवाउने पनि काम हुन्छ ?”

श्रीमान्‌लाई लाग्छ घरव्यवहारको सम्पूर्ण भार आफूले मात्र बोकेको छु । घरभाडा, खानेकुरा, बालबालिकाको विद्यालय शुल्क, लुगाफाटो, बिजुली पानीको शुल्क, चाडपर्व-मनोरञ्जन खर्च सबै आफैँले बन्दोबस्त गर्नुपरेको छ ।

उसलाई झोक चल्छ, “घरमा दिउँसोभरि केही काम नगरी बस्ने श्रीमतीसँग मेरा लागि त्यति सानो काम गर्ने फुर्सद हुँदैन ।

हामी  धेरै नेपालीहरूको पारिवारिक संरचना यस्तै छ । महिलाहरू  घर धन्दाको काम सम्हाल्छन् । खासगरी भात- भान्साको सम्पूर्ण जिम्मेवारी उनीहरूको भागमा छाडिन्छ । अर्थात् उनीहरू गृहणी हुन्छन् । यता पुरुषहरू घरबाहिरको काम गर्छन् । पेसा व्यवसायबाट राम्रै आयआर्जन गर्छन् । परिवारकै सुख र सम्पन्नताका लागि उनीहरू दिनरात खटिन्छन् । यद्यापि उनीहरू के सोच्छन् भने, परिवारको सम्पूर्ण भार आफूले मात्र थामिएको छ, घरखर्च जुटाउने, घरव्यवहार धान्ने र आयआर्जनको काममा लाग्नु मात्र काम हो ।

जब कि घरभित्रका ती तमाम काम गर्नु आफैँमा सहज हुँदैन । परिवारको स्वादअनुसार सागसब्जी तयार गर्नु, खाना पकाउनु, बालबच्चालाई र परिवारलाई खुवाउनु, जुठो भाँडा सफा गर्नु, कुचो लगाउनु, लुगा धुनु, बालबच्चालाई विद्यालयका लागि तयार गर्नु, श्रीमान्‌को सरसामान तयार गर्दिनु । खासमा गृहिणीले यन्त्रझैँ यी सबै काम चुपचाप गरिरहेका हुन्छन् तर श्रीमान् भन्छन्, “आखिर तिमी दिनभर के गर्छौ ?”

अर्का थरी परिवार हुन्छन्, “श्रीमान् श्रीमती दुवै अफिसको काम गर्छन् वा कुनै जागिर छ, उनीहरू सँगै घर फर्कन्छन् तैपनि श्रीमतीलाई हतार-हतार भान्छामा गएर खाजा बनाउन र श्रीमान्‌लाई खुसी पार्नुपर्ने तर श्रीमान् भने मस्त सोफामा बसेर मोबाइल चलाउँदै अझै खाजा तयार भएन भन्न पनि पछि पर्दैनन् ।

त्यसमध्ये पनि कतिपय दम्पती दुवै पेसा व्यवसायमा आबद्ध हुन्छन् र उनीहरू घरभित्रको काम पनि मिलीजुली गर्छन् । आखिर जे भए पनि पारिवारिक तालमेल मिलाउनका लागि महिला र पुरुषले आआफ्नो जिम्मेवारी, कर्तव्य पूरा गर्छन् र उनीहरूको परिवारमा सधैँ शान्ति, एकअर्कामा सम्मानको भावना छ । सबैले चाहेको खुसी अनि सुखी परिवार पक्कै पनि यिनै थोरै परिवारमा होला ।

यसो भनिरहँदा यो लेखकको चाहना भने यी थोरै परिवारलाई आउँदा दिनमा यस्तै धेरै परिवार देख्नु पनि हो ।

महिला, पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । एक अर्काका परिपूरक हुन भनिन्छ, घर संसार चलाउन दुवैको समान महत्त्व रहन्छ तर हाम्रो समाजमा लैङ्गिक समाजीकरण हुँदा नै यो काम पुरुषले गर्ने, त्यो काम महिलाले गर्ने भनेर एक प्रकारको सिमाना छुट्‌याइएको छ । कतिपय परिवारको संस्कार नै महिलालाई घरभित्रको काममा लगाउने, पुरुषहरू आयआर्जन वा घरबाहिरको काम गर्ने गर्छन् । यसमा भेदभावको भावनाले भन्दा पनि न्यायोचित कार्य विभाजनको हिसाबले कामको बाँडफाँड गरिएको होला ।

अहिलेको युग, प्रविधिको युग, समाज परिवर्तनको युग भन्ने गरिन्छ । समाज परिवर्तनसँगै परिवार संरचना बदलिएको छ । रोजगारको प्रकृति बदलिएको छ । साधारण परिवारलाई पनि आफ्नो मासिक खर्च धान्न श्रीमान् श्रीमती दुवैले काम गर्नुपर्ने हुन्छ । यसकारण महिलाहरू पनि घरबाहिरको काममा जुटेका छन् । अर्कातर्फ पुरुषहरूले भने भात पकाउने, भान्साको काम गर्ने, लुगा धुने, बालबच्चा स्याहार्ने काममा त्यति अग्रसर भएको देखिँदैन ।

पछिल्लो समय महिलाको सामाजिक, आर्थिक, शैक्षिक हैसियत उकासिएको छ तर गृहणी आमा हुन् वा कुनै पेसा व्यवसायमा लागेकी महिला; घरायसी काम, बालबच्चाको व्यवस्थापन उनकै मात्र जिम्मेवारीजस्तो देखिन्छ । महिला पुरुष दुवै कामकाजी हुँदा पनि पुरुषजति फुर्सदिलो भएर हिँड्ने छुट महिलालाई छैन । चाडबाड र घरमा पाहुना आउँदा समेत महिलालाई भान्छाको काम एक्लै गर्नुपर्ने र आफूले खाने त कुरै छाडौँ उल्टै पकाएको मिठो भयो भएन, दोष त पाउँदिन भन्ने डर मानिरहनुपर्छ । घरबार र रोजगार धान्दा-धान्दा महिला स्वयं आफ्ना लागि भने समय दिन सक्दिनन् । दोहोरो कामको भारले महिलामा विभिन्न किसिमका मानसिक, शारीरिक स्वास्थ्य समस्या समेत देखा परेका छन् ।

मुलुकमा राजनीतिक व्यवस्था, चेतनाको स्तर र शासन बदलिएको छ । थोरै भए पनि महिलाले शासन चलाउन थालेका छन् । महिला पुरुषमा समानता आउन थालेको छ । श्रीमान्‌श्रीमतीबिच मायाँ, सद्भाव साथै सुमधुर सम्बन्ध पनि छ । यति हुँदाहुँदै पनि आफ्नी श्रीमतीले घरभित्रको नदेखिने सूक्ष्म कामलाई यन्त्रझैँ सरासर गरिरहँदा श्रीमान् भने त्यस्ता कामलाई कामको दर्जा नै नदिने र आफूले त्यो काम गर्नै नहुने सोच्छन् ।

कामविभाजनभन्दा पनि आफ्नो प्रतिकूल पर्दा यो काम त्यो काम, सानो ठूलो, तैँले मैले नभनी महिला पुरुष दुवै मिली अघि बढे मात्र परिवार सुखी र खुसी हुन्छ साथै राष्ट्र पनि समृद्ध बन्छ । त्यसैले आउनुहोस् आजैबाट छोरीलाई मात्र घरधन्दा र भान्साको काममा लगाउने मात्र नभई छोराहरूलाई पनि यस्ता काममा अग्रसर गराऔँ ।