विषयप्रवेश

कविता, गजल, कथा, समालोचना, भाषाविज्ञान आदि क्षेत्रमा कलम चलाउने साहित्यकार शङ्करप्रसाद गैरेको पछिल्लो समयमा साधनाको उर्वर क्षेत्र उपन्यास लेखन रहेको देखिन्छ । ‘उज्यालोतिर’ (२०७४) उपन्यास सिक्वेल लेखनको नमुनाका रूपमा रहेको पाइन्छ । ‘छापामार’ उपन्यासको पुनर्लेखनका साथै आफ्नो मौलिक कथालाई पनि उपयोग गरी मानवीय संवेदनाको गहिराइमा पुर्‍याउने काम पहिलो उपन्यासमै भएको पाइन्छ । उनको प्रस्तुत ‘कृष्ण’ (२०७८) उपन्यास महाभारतलगायत अन्य पुराणहरूको पुनर्लेखनका रूपमा आएको छ । शास्त्रको ज्ञानका साथमा लेखकीय कल्पनाशक्ति र बौद्धिकता यहाँ संयोजन भएको पाइन्छ । लेखककै आत्मस्वीकृतिलाई हेर्दा चार वर्ष लगाएर लेखिएको यो उपन्यासमा योजनाबद्ध रूपमा आख्यानलाई प्रस्तुत गरिएको पाइन्छ । कृष्णलाई मानवका रूपमा अवतरण गराई उनीसँग जोडिएका घटना र सन्दर्भहरूलाई विश्वसनीय बनाउने चेष्टा गरिए पनि कृष्णका क्रियाकलाप र उनको बहुआयामिक व्यक्तित्वको उद्घाटनका साथमा उनलाई मानव स्वरूपमा उपस्थित ईश्वरीय क्षमता र गुणले सम्पन्न व्यक्तिका रूपमा प्रकाश पारिएको छ । कृष्ण जन्मनुपूर्वको सन्दर्भलाई जोडी कृष्णको जीवनलीलाका समग्र पक्षलाई यहाँ उद्घाटन गराइएको छ । समग्र कथावस्तु र उद्देश्य कृष्णमा आधारित भएकाले उपन्यासको शीर्षक ‘कृष्ण’ राखिएको छ जुन सान्दर्भिक र औचित्यपूर्ण रहेको छ ।

कृष्ण कृतिभित्र विचरण गर्दा

प्रस्तुत उपन्यासमा महाभारतकालीन पौराणिक कथालाई समसामयिकता प्रदान गरिएको छ । महाभारत र अन्य पुराणहरूमा देवत्वकरण गरिएका कृष्णलाई हाम्रो समाजमा बाँचेको मानिसका रूपमा अवतरण गराइएको छ । कृष्ण जन्मनुपूर्व कंसले देखाएको निरङ्कुश चरित्र, कृष्णको जन्मसन्दर्भ, मथुराबाट गोकुलमा पुर्‍याउने तारतम्य, गोकुल, वृन्दावन र द्वारकामा कृष्णले गरेको सङ्घर्ष, उनले देखाएका विलक्षण क्षमता, कंस तथा जरासन्धसँगका पटक-पटकका युद्धसँगै खारिएको कृष्णको व्यक्तित्व, सान्दीपनि गुरुकुलमा पाएको शिक्षा, सुदामासँगको मित्रताका प्रकरणसँगै घटनाक्रमअगाडि बढेको पाइन्छ । कृष्णले बाल्यकालमा देखाएका अद्भुत क्रियाकलाप, राधासँगको हार्दिक प्रेम, रुक्मिणी, जाम्बवती र सत्यभामासँगका दाम्पत्य जीवनका झलकहरू स्वाभाविक रूपमा आएका छन् । भौतिक रूपमा टाढा रहेर पनि प्रेमको परीक्षामा कृष्णका पत्नीहरूभन्दा राधा खरो उत्रिनुले प्रेमको कसी त्यागमा आधारित रहेको सन्दर्भलाई यहाँ भल्काइएको छ ।

टङ्कप्रसाद पन्थ

पाण्डव र कौरव पक्षको द्वन्द्व र त्यसमा कृष्णले खेलेको समन्वयकारी भूमिका तथा कृष्णकै प्रयासमा उर्वराहीन खाण्डव प्रदेश पाण्डवलाई उपलब्ध गराउनु, मरुभूमिजस्तो खाण्डव समृद्ध इन्द्रप्रस्थ बनेपछि कौरवहरूमा ईर्ष्या जाग्नु, दुर्योधन र शकुनिका तजबिजमा कपटी पासा खेलाएर सम्पूर्ण कुरा दाउमा हारेका पाण्डवलाई राज्यविहीन बनाएर बाह्र वर्ष वनबास र एक वर्षको गुप्तवास सजाय तोक्नु, सर्त पूरा गरिसकेपछि पनि दुर्योधनले पाँच गाउँ त के हस्तिनापुरमा प्रवेशसम्म अनुमति छैन भन्नुले युद्ध अनिवार्य रहेको कृष्णको निष्कर्ष, पाण्डवद्वारा युद्धको घोषणा, युद्धको आचारसंहिता निर्माण गरी भीष्मपितामहले कौरवका पक्षबाट र कृष्णले पाण्डवका पक्षबाट हस्ताक्षर गर्नु, अर्जुनद्वारा आफ्नैलाई विनाश गर्ने युद्ध नलड्ने विचार राख्दा कृष्णले निष्काम कर्मयोगको दार्शनिक उपचारद्वारा अर्जुनमा ऊर्जा भर्नु, अठार दिनसम्म चलेको कुरुक्षेत्रको युद्धमा दुवै पक्षले ठूलो क्षति भोग्नु, दम्भ र अहङ्कारका कारण कौरव पक्षको विनाश हुनु, युद्ध जितेपछि युधिष्ठिर राजा बन्नु, वृद्धावस्थामा कृष्ण एउटा विशाल सिमलको रूखमा आड लिएर आफ्नो अतीत जीवनको स्मरण गर्नु, सबै कुरा नियतिनिर्दिष्ट रहेको बोध गरी बाँसुरी बजाउनु, राधा र ललिताको स्मरण हुनु, अघि भर्खरसम्मका स्मृतिहरू विलुप्त हुनु, पैतालामा भएको प्रहारको पीडासँगै कृष्णको जीवनलीला समाप्त भएसँगै उपन्यासको अन्त्य भएको छ । महाभारत कालीन आख्यानलाई पुनर्लेखन गरी वर्तमानका चेतनामा ढालेर प्रस्तुत गर्नु नै लेखकीय उद्देश्य रहेको अनुभव हुन्छ । केही प्रसङ्गहरूमा अलौकिकताको अनुभूति भए तापनि आम रूपमा पात्र, घटना, परिवेश चित्रण र आख्यानको तारतम्य मिलाउने कुरामा लेखक सफल रहेको पाइन्छ ।

प्रस्तुत उपन्यासमा जीवनका घातप्रतिघातपूर्ण सङ्घर्ष, मानवीय स्वभावका बहुआयामिक पाटाहरूलाई उजागर गर्नुका साथै अलौकिक र काल्पनिक ठानिएका पात्र र प्रवृत्तिलाई सामान्यीकरण गराई यथार्थको कलेवरद्वारा विश्वसनीय बनाउने प्रयास गरिएको छ । पौराणिक आख्यानको पुनर्लेखनका क्रममा उपन्यासकार गैरेको अध्ययन र कल्पनाशील सर्जक व्यक्तित्व पनि प्रबल रूपमा मुखरित भएर आएको देख्न सकिन्छ । प्रस्तुत उपन्यासले सङ्केत गरेका केही महत्त्वपूर्ण सन्दर्भहरूलाई यहाँ उल्लेख गरिएको छ –

कंस, सपना र उपद्रव

महाभारतकालीन कथाहरूमा दानवीय स्वरूप र प्रवृत्तिको अद्भुत चरित्रलाई सामान्य मानिसकै स्वरूपमा यहाँ चित्रण गरिएको छ । कंस यहाँ पनि खलनायक प्रवृत्ति बोकेको पात्रका रूपमा उपस्थित भएको छ । यस उपन्यासमा कंसले देखेको सपना र त्यसले सिर्जना गरेको मनोवैज्ञानिक भय नै कडीका रूपमा रहेको छ । देवकीको आठौँ सन्तानका हातबाट आफ्नो मृत्यु हुने भन्ने कुराले नै कंसलाई भयभीत तुल्याएको छ । त्यही डरका कारण उसले मृत्युलाई नै आफ्नो हातमा लिने सोच राख्दछ । सपनाको भयबाट त्रस्त कंसले आफ्नै बहिनीको हत्या गर्न उद्यत हुनु, वसुदेवले देवकीका कोखबाट जन्मेका आठ ओटै सन्तान कंसलाई सुम्पिने सर्तमा देवकीको ज्यानको भिक्षा माग्नु, दुवैलाई जेलको कडा बन्धनमा राखी जन्मिएका सन्तानको हत्या गर्नु, कृष्णको जन्मका पृष्ठभूमिमा आठौँ सन्तानलाई आफ्नै हातले मारेपछि केही ढुक्क बनेको कंसलाई पूतनाले बच्चा कुन समयमा जन्मेको हो भनी प्रश्न गर्दा सशङ्कित बनेको कंसले बहिनी पूतनाकै सल्लाहमा एक दुई दिनभित्र जन्मेका बच्चाहरूको हत्या गर्न लगाउनु, कृष्णलाई मार्नका लागि पटकपटक मानिस खटाउनु, राज्यमा मनोमानी गर्नु, पितालाई समेत नजरबन्दमा राखेर शासन आफ्नो हातमा लिनु जस्ता कुकृत्यको नाइके कंस प्रतिकूल चरित्रको पात्रका रूपमा उपस्थित भएको छ । उसको सत्तामोह र आफू सर्वशक्तिमान् रहेको दम्भले गर्दा आम नागरिकहरू प्रताडित बनेको सन्दर्भबाट वर्तमान राजनीतिका क्षेत्रमा रहेकाहरूको सत्तामोह र तिनीहरूकै स्वार्थको खिचातानीमा आम नागरिकहरू प्रताडित बन्न पुगेको वर्तमान यथार्थ पनि बिम्बका रूपमा आएको छ ।

राधाकृष्ण, प्रेम र त्याग

प्रस्तुत उपन्यासमा राधा र कृष्णको हार्दिक प्रेमलाई उद्घाटन गराइएको छ । राधाको कृष्णप्रतिको समर्पण, पहिलो भेटबाट नै विकास भएको आत्मीयता, यमुनाका किनारमा बसेर जल अनि चन्द्रमासँग दाँजिएका प्रेमिल उपमा, एउटाले चन्द्रमालाई हेरेर अनि अर्कोले आफैँभित्र हराएर प्रेम गर्ने सन्दर्भ, नन्दराय तथा वृषभानुका समझदारीमा सम्बन्ध स्थापनाका मार्गमा अगाडि बढेको पारिवारिक योजना, नारदको आगमनपछि मोडिन पुगेको घटना प्रकरण, कृष्ण र राधाको विवाह हुन नसक्ने ज्योतिषशास्त्रीय प्रकरणले निम्त्याएको निराशा, अकल्पनीय कुराले विह्वल भई बिरामी बनेकी राधा कृष्णकै समीपमा रहँदा निको हुनुको परिणाम, जीवनभर अविवाहित बनेर बस्ने राधाको निणर्य, तीन ओटी श्रीमती हुँदा पनि कृष्णले भौतिक रूपमा टाढा रहेकी राधालाई नै बढी प्रेम गर्नुको गुनासो, नारदद्वारा वास्तविक प्रेमको खोजी प्रकरण, कृष्णको बिरामी अवस्थालाई अवलोकन गरी उपचारको विधिलाई बताउनु, कृष्णलाई सबैभन्दा बढी प्रेम गर्ने व्यक्तिले आफ्नो गोडा धोएको पानी खुवाइदिएमा कृष्णलाई निको हुने कुरा नारदद्वारा अभिव्यक्त, तीनै जना श्रीमती त्यो काम गर्नका लागि तयार हुनु तर नारदले नर्कको पाप भोग्नका लागि तयार हुनुपर्ने कुरासमेत उल्लेख गर्नु, ईश्वरसमान रहेका पतिलाई खुट्टाको जल खुवाएर पाप कर्म नबोक्ने निणर्य गर्नु, कृष्णकै परामर्शमा राधालाई आमन्त्रण गर्नु, राधालाई पनि सोही बेहोरा बताउनु तर राधाले कृष्णलाई निको हुन्छ भने जन्मौँ जन्म नरकको पाप भोग्न तयार रहेको विचार व्यक्त गरी कृष्णलाई आफ्ना खुट्टाको जलपान गराउनु, तीन दिनमा कृष्णलाई निको हुनु, राधा प्रस्थान गर्नु, कृष्ण र रुक्मिणीहरू समक्ष नारदले आफ्नो जिज्ञासा पूर्ण भएको सन्दर्भ झल्काउनु, रुक्मिणीले जिज्ञासा राखेर यथार्थ जान्न चाहनु, तिमीहरूले भन्दा राधाले नै कृष्णलाई बढी प्रेम गर्ने कुरा पुष्टि भएको उल्लेख गर्नु जस्ता सन्दर्भले राधा र कृष्णको प्रेम लेनदेनमा सीमित नरही त्याग र परमार्थमा बाँचेको सन्दर्भबाट त्यागपूर्ण प्रेम नै सच्चा र आदर्श प्रेम रहेको निष्कर्ष निकालिएको छ । बजारमा बिक्ने सस्तो प्रेम नभई अध्यात्ममा बाँचेको हार्दिक प्रेमको आग्रह यहाँ पाइन्छ ।

कृष्ण, सुदामा र मित्रता

यस उपन्यासमा मित्रताको महिमालाई विशिष्ट स्थानमा राखिएको छ । सान्दीपनि गुरुकुलमा पढ्दा सुदामा, चक्रधरलगायतका साथीहरूसँग कृष्णको घनिष्ट मित्रता गाँसिएको पाइन्छ । कृष्ण र सुदामाको जस्तो मित्रता भन्ने कुरा समाजमा बिम्बका रूपमा जीवित रहेको पाइन्छ यद्यपि लेखकीय सुझ र मानसिकता पनि उत्तिकै जीवन्त बनेर आएको पाइन्छ । महानायकका रूपमा रहेका कृष्ण द्वारकाधीश भइसकेपछि आफ्ना साथीहरू कहाँ कस्तो अवस्थामा होलान् भन्ने जिज्ञासा जाग्दछ । उनले दूतहरूलाई पठाएर अवस्था बुझ्न लगाउँछन् । सबै मित्रहरू विभिन्न क्षेत्रसँग आबद्ध रहेको र राम्रै अवस्थामा रहेको तर नारायणका भक्त सुदामाको आर्थिक पारिवारिक अवस्था नाजुक रहेको खबरले कृष्णलाई चिन्तित बनाउँछ । उनी एक किसानको स्वरूपमा श्यामसुन्दर यादव बनेर सुदामाका घरमा वास बस्न पुग्दछन् । नैष्ठिक आचरणमा रहेका सुदामाका पाँच छोराछोरी र श्रीमती बसुन्धराको दयनीय अवस्था देखेर तपाईँका मित्र कृष्णले तपाईँको नाम लिइरहेको आफूले सुनेकाले एकपटक द्वारका जानका लागि आग्रह गर्दछन् । बसुन्धराले पनि कृष्णलाई भेट्न जानका लागि जोड दिन्छिन् । प्रतिकूल अवस्थालाई झेल्दै सुदामा मित्रलाई भेट्न द्वारिका जान्छन् । यता सुदामा हिँडेको अर्को दिन श्यामसुन्दर नामधारी कृष्ण आएर वृन्दापुरी गरिब बस्तीलाई कायापलट गर्ने प्रक्रिया सुरु गर्दछन् । गरिब सुदामाको अवस्था मात्र होइन गाउँकै मुहार फेरिन पुग्छ । द्वारकामा मित्रलाई विशिष्ट सम्मानका साथ राखेर छ महिनापछि श्रद्धापूर्वक बिदा गर्दछन् । नियतिनिर्दिष्ट अभिशाप भोगेका गरिब सुदामाका जीवनमा कृष्ण एक उदार, त्यागी र सहयोगी मित्रको पर्यायका रूपमा उपस्थित भएको पाइन्छ । कृष्ण र सुदामाको दृष्टान्तद्वारा मित्रताको महत्त्वलाई उच्चकोटिमा राखिएको पाइन्छ । वर्तमान समाजमा बाँचेकाहरूलाई मित्रताको अनुपम दृष्टान्त प्रस्तुत गरी सन्देश प्रवाहित गर्ने काम यहाँ गरिएको पाइन्छ ।

कृष्ण, देवत्वकरण र यथार्थ

पौराणिक आख्यानहरूले कृष्णलाई एक अलौकिक र मायावी पुरुषका रूपमा चित्रण गरेको देखिन्छ । कृष्णका बाल्यकालका सन्दर्भ, दही चोरेर खाने कार्य, कंसद्वारा मार्न भनी पठाइएका दैत्यरूपी पात्रहरू र तिनलाई प्रहार गरी कृष्णले देखाएको अलौकिक सामर्थ्य, प्रेम तथा गोपिनीहरूसँगका प्रसङ्गमा जोडिएको कृष्णको लीलामय मायावी अद्भुत कार्यलाई वणर्न गरी कृष्णलाई साक्षात् देवताका रूपमा वणर्न गरिएको पाइन्छ तर यस उपन्यासका केन्द्रीय नायक कृष्ण हाम्रै वरिपरि बाँचेको विशिष्ट गुण र क्षमताले युक्त मानवका रूपमा उपस्थित भएका छन् । विलक्षण क्षमता, मृदुव्यवहार, प्रत्युत्पन्नमति र कठोर साधना भएका कारण सामान्य मानिसका तुलनामा बल, बुद्धि, जुक्ति र कला यिनमा अक्षुण्ण रूपमा रहेको देखिन्छ । कंस अनि दुर्योधन प्रवृत्तिका विरुद्धमा खरो रूपमा उभिई मानवीय हित र कल्याणमा समर्पित विशिष्ट मानवका रूपमा कृष्णलाई प्रस्तुत गरिनुले यस उपन्यासमा उत्तरआधुनिक चिन्तनकेन्द्री विसंरचनावादी प्रवृत्ति सलबलाएको पाइन्छ । यहाँ कृष्णका बाल्यकालका क्रियाकलाप, राधा र सखीहरूसँगका संसर्ग, श्रीमतीहरूसँगका व्यवहार, सत्यका पक्षमा अडिग भई लागेका कारण यस उपन्यासमा पनि कृष्णप्रति पाठकको आस्था सघन रहन गएको पाइन्छ । यस उपन्यासका आद्योपान्त घटनासन्दर्भ र पात्रहरूका बोली-व्यवहार र कार्यव्यापारलाई हेर्दा अतिरञ्जनात्मक कल्पना, भावुकता, अलौकिक वणर्न र अपत्यारिला प्रसङ्ग नभई हाम्रै सेरोफेरो र समाजमा घटित हुने घटना, पात्र र प्रवृत्तिका पृष्ठभूमिबाट प्रस्तुत गरिएकाले पौराणिक आख्यानलाई यथार्थको कलेवर प्रदान गरी विश्वसनीयता तुल्याउने काम गरिएको छ । अझ भन्नुपर्दा विज्ञान र तर्कसम्मत आधारमा पात्र, घटना र प्रवृत्तिलाई प्रकाशमा ल्याइएको छ ।

दुर्योधन, दम्भ र अवसान

यस उपन्यासमा नायक कृष्णको जीवनसँग ठोकिएर आएका घटना र प्रकरणहरूलाई आख्यानात्मकता प्रदान गरिएको छ । उपन्यासको पूर्वार्द्ध खण्डमा कंसको अतिवाद र अन्यायलाई प्रकाश पारिएको छ । यस्तै उत्तरार्द्ध खण्डमा दुर्योधनको हठ, दम्भ र तुजुकका कारण कुरुक्षेत्रको महासङ्ग्राम मच्चिएको र हजारौँ निहत्था मानिसका साथै आफ्नो वंशकै अवसान हुन पुगेको सन्दर्भद्वारा राजनीतिक कूटिलता, छक्कापञ्जा प्रवृत्ति अहिलेको समयमा पनि उस्तै रहेको मर्म उपन्यासमा सबल बनेर आएको पाइन्छ । दुर्योधनकै दम्भका कारण निष्ठा र नैतिकतामा बसेका भीष्मपितामह पनि लज्जित बन्न पुगेका छन् । भाइका छोराहरूप्रति सहानुभूति भएर पनि महाराज धृतराष्ट्रसमेत निरीह बन्न पुगेका छन् । मासिक धर्ममा रहेकी द्रौपदीलाई सभामा निर्वस्त्र बनाउने दुष्प्रयास गर्नुले दुर्योधनको निकृष्टतालाई बुझ्न सकिन्छ । पाँच गाउँ त के पाँच बित्ता जमिन पनि पाण्डवहरूलाई नदिने उसको घोषणले युद्धलाई निम्त्याएको छ । कंस र दुर्योधन प्रवृत्ति अहिलेको राजनीति र व्यावहारिक जीवनमा साक्षात्कार गर्न सकिन्छ । वास्तवमा अरूलाई पनि अचाक्ली दुःख दिने र आफू पनि खरानी बन्ने मार्गलाई दुर्योधनले अङ्गीकार गरेको छ । त्यसैले आफ्ना भाइहरू, छोराहरू, आफन्तजन तथा सेनाको बीभत्स मृत्युको सामना गरी आफू पनि मारिन पुगेको अवस्थालाई यहाँ प्रस्तुत गरिएको छ । मानिसको अहङ्कारले आफ्नै चिता खन्न पुग्छ भन्ने यथार्थलाई यहाँ पुष्टि गरिएको छ ।

राजनीति, सत्तामोह र सामयिकता

यस उपन्यासको मूल कथावस्तु पुराणमै केन्द्रित रहेको छ । जालझेल, षड्यन्त्र र घातप्रतिघातको राजनीति महाभारत कालदेखि आजसम्म विद्यमान रहेको छ । पितालाई समेत नजरबन्दमा राखेर शासन हत्याउने कंसको चरित्र अनि हस्तिनापुरको शासनसत्ताको उत्तराधिकारी आफैँ बन्ने र पाण्डवहरूलाई थिचोमिचोमा पारेर अन्याय गर्ने दुर्योधनको चरित्र स्वार्थप्रेरित र सत्तामोहबाट अनुप्राणित रहेको पाइन्छ । यी दुवै प्रवृत्तिहरू जालझेलपूर्ण कुकृत्य र अतिवादी चिन्तनको परिणति रहेको पाइन्छ । तत्कालीन समयमा गरिएका हर्कत र निकम्मा कार्यहरू समसामयिक राजनीतिक परिप्रेक्षमा पनि उत्तिकै सबल बनेर आएको पाइन्छ । सत्तासुन्दरीप्रतिको तीव्र मोहका कारण आफ्नै पिता महाराज उग्रसेनलाई बन्दी बनाएर सत्ताको तालाचाबी कंस आफैँले लिनु अनि पिता धृतराष्ट्रलाई फड्के किनाराको साक्षीका रूपमा राखेर हस्तिनापुरको सर्वेसर्वा बनेको दुर्योधनमा अति सत्तामोहको राजनीतिले गर्दा समस्या चुलिन गएको पाइन्छ । महाभारतकालीन सत्ताराजनीति, दम्भ र षड्यन्त्रका वृत्तबाट लेखकले समसायिक नेपालको असाध्य राजनीतिक खेललाई पनि नियालिरहेको पाइन्छ । शासकमा दम्भ र अभिमान बढ्दै जाँदा राज्य कति कमजोर र निकम्मा बन्छ भन्ने कुरा वृन्दावनको राज्यनिर्माणमा शत्रु राज्य मथुराको आर्थिक सहयोग हुनुले पुष्टि गर्दछ । सत्ताप्राप्तिका लागि भएका खेलखण्ड अनि सांसद किनबेच, संसद् विघटन, पार्टी विखण्डन जस्ता क्रियाकलाप रहेको वर्तमानको फोहरी राजनीतिको प्रतिच्छाया पनि ठाउँ-ठाउँमा पाइनुले घटनासन्दर्भलाई समसामयिक तुल्याउनमा लेखक सफल रहेको पाइन्छ ।

नियति, निमित्त र तारतम्य

यस उपन्यासमा नियतिवादी चिन्तन पनि सलबलाउन पुगेको देखिन्छ । प्रमुख पात्र कृष्णलगायतका अन्य पात्रहरूलाई देवत्वकरण नगरी मानवीय प्रवृत्तिमा ढालेर विश्वसनीय तुल्याउने काम गरिएको पाइन्छ । जीवनका उतारचढाव, घतविघत, सुकीर्ति, विकृति, प्रेम, सद्भाव, मित्रता आदिको स्वाभाविक तारतम्य मिलाई नियतिनिर्दिष्ट रूपमा भोग्नुपर्ने जीवनको वास्तविकतालाई जोड दिइएको पाइन्छ । आख्यानको विकासक्रमसँगै प्रकट हुन आएका परिस्थितिजन्य सङ्कट वा अनुकूल अवस्थालाई अदृश्य रूपमा भएको तारतम्यका रूपमा सङ्केत गरिएको पाइन्छ । उपन्यासको अन्त्यमा व्याधाको वाणबाट घाइते बनेका कृष्णका अगाडि उभिएको व्याधाले क्षमा माग्दा कृष्णले ‘यो सबै पूर्वनिर्धारित तारतम्य थियो, तिमी त मात्र निमित्त थियौ’ भन्नु र कृष्णको जीवनलीला समाप्त हुनुको अवस्थालाई हेर्दा यहाँ नियतिवादी चेतना प्रस्तुत भएको पाइन्छ । मानिस स्वयं एक कारण हो र उसले गर्ने कार्यहरू निमित्त मात्र हुन् भन्ने आसय यहाँ प्रकट भएको पाइन्छ । कुरुक्षेत्रको युद्धमैदानमा आफ्ना सामुन्नेमा तैनाथ भएका आफन्तजनलाई देखी अर्जुले युद्ध नलड्ने विचार राखेपछि निष्काम कर्मयोगको प्रकाश पार्ने क्रममा कृष्णले ‘हामी निमित्त मात्र हौँ, हाम्रा कर्मको फल भोग्न हामी विवश छौँ, परिस्थितिले हामीलाई त्यस मोडमा पुर्‍याइछाड्छ जुन कुरा नियतिले निर्धारण गरेको छ’ भन्ने चिन्तनमा नियतिवादी विचारका साथमा परिस्थितिअनुकूल आउने तारतम्यलाई पनि यहाँ जोड दिइको पाइन्छ ।

निष्कर्ष

यस उपन्यासको आधारभूमि महाभारतकालीन कथा रहेको छ । बृहत् आयाममा संरचित यस कृतिको पठनका क्रममा पाठकले कतै पनि बोझको अनुभूति गर्दैन । पाठकलाई व्यग्र बनाएर तानिरहन सक्नु उपन्यासकारको लेखकीय कला, घटना र कार्यको तालमेल मिलाउन सक्ने क्षमता मान्नुपर्दछ । उपन्यासको पठनका क्रममा विभिन्न सन्दर्भ र मोडहरूसँगै कथावस्तुको विकास र सम्भावित परिणामको कौतुहलताले पाठकलाई तानिरहने पक्ष महत्त्वपूर्ण रहेको पाइन्छ । खासखास घटनासन्दर्भ र अवस्थाविशेषले पाठकको संवेदनालाई शीर्षावस्थामा पुर्‍याएको अनुभव हुन्छ । कृष्णको सङ्घर्षशील जीवन, बाल्यकालदेखिकै अद्भुत क्षमता, प्रेम अनि मित्रताका अतुलनीय व्यवहार, सत्य पक्षप्रतिको कृष्णको बफादारिता, सुझबुझपूर्ण व्यक्तित्व, तार्किक क्षमता आदि कुराले कृष्णको धीरोदात्त गुण र प्रतिभालाई झल्काएको पाइन्छ । कृष्णलाई अतिविशिष्ट क्षमताका मानवका रूपमा यहाँ प्रस्तुत गरिएको छ । कतै-कतै अतिमानवीय वा अलौकिक खालका सन्दर्भहरू पनि कृष्णमा देखा पर्नुले पुराण र दैवीय क्षमताको प्रभावबाट लेखक पूर्ण रूपमा मुक्त हुन भने सकेको पाइँदैन ।

यस उपन्यासमा मानवीय मनको सूक्ष्म विश्लेषण गर्ने काम गरिएको पाइन्छ । व्यक्तिभित्रका एषणा, कुण्ठा, मोह, सन्देह, पश्चात्ताप, मानसिक द्वन्द्व आदि कुराको सजीव प्रस्तुति पनि स्वाभाविक रूपमा हुन पुगेको पाइन्छ । उपन्यासको धेरै ठाउँमा प्रवृत्तिगत द्वन्द्वलाई व्यवस्थित रूपमा संयोजन गरिएको पाइन्छ । हुन त महाभारत कथाको अन्तर्य नै द्वन्द्वको कडी हो । परस्परको बाह्य द्वन्द्वका साथै व्यक्तिभित्रको आन्तरिक द्वन्द्वलाई पनि मसिनो गरी प्रस्तुत गरिएको छ । सत्य र असत्य प्रवृत्तिलाई झल्काई सत्यप्रतिको लेखकीय प्रतिबद्धता यहाँ पाउन सकिन्छ । पौराणिक कथालाई भत्काए तापनि प्रवृत्ति र परिणतितर्फ भने आख्यानकै आदर्शपक्षलाई पछ्याइएको पाइन्छ । सिङ्गो महाभारतकालीन आख्यानका केन्द्रमा रहेका कृष्णलाई नायकका रूपमा छनोट गरी उनकै पृष्ठभूमिबाट महाआख्यानको पुनरवलोकन र पुनर्लेखन गर्ने काम गरी पौराणिक आख्यानलाई उत्तरआधुनिक आँखाबाट नियाल्नु लेखक गैरेको कला र आख्यान शिल्प मान्नुपर्दछ । यस कृतिले नेपाली आख्यानका क्षेत्रमा अवश्य पनि गहिरो प्रभाव पार्नेछ । पाठकका मनमा मात्र नभई मूल्याङ्कनका कसीमा पनि कृति अब्बल साबित हुनेछ । यस महत् कर्मका लागि उपन्यासकार शङ्करप्रसाद गैरेलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।