साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कथा- हरियो चुरा

Chovar Blues Mobile Size

फेरि अर्को वर्षको श्रावण आइसकेछ । मेरी बुढी उन्नतिलाई साउनले छपक्कै छोपेको छ । उसैका हरिया पहेंला पहिरनले नै साउन महिना आएको थाहा दिन्छ मलाई । सदाको वर्षझैं यो वर्ष पनि व्रतको तयारी गर्दैछे ऊ । मैले जति व्रत बस्नु पर्दैन भने पनि नमान्ने स्वभाव उसको । मुखले पर्दैन भने पनि उसले आफ्ना लागी व्रत बसेको सुन्दा असीम आनन्द चाँहि आउँदो रहेछ ।
म आफूले यसरी उपवास बस्नु प¥यो भने त “कसरी सकुँला र ?” जस्तो भाव मनमा आइहाल्दो रहेछ । खाली पेट त म दुई घण्टा पनि बस्न सक्दिन । कसरी सक्दा हुन् आईमाईहरु यसरी भोकभोकै काम गर्न ? मलाई आश्चर्य लाग्छ ।
साजसज्जा गरेर बिहान अफिस जाँदा ऊ धपक्कै बलेकी थिई । गोरा नाडीभरी हरियो चुरा साहै्र सुहाएको थियो उसलाई । विवाहको दश बर्षसम्म पनि उसको सौन्दर्य जस्ताको तस्तै पो रहेछ । मैलै याद गर्न छोड्दैमा उसको सुन्दरतामा कमी त किन आउँथ्यो ? म त हेरेको हे¥यै भएछु । उसको सुन्दरतालाई अझै केहिबेर नियाल्न मन लाग्यो । के बहाना खोजौंझैं भयो ।
करिब करिब उसलाई अफिससम्म छोड्ने परम्परा बिर्सिसकेको थिएँ । आज झल्याँस्स स्मरण भयो । “म छोडिदिन्छु आज तिमीलाइ तिम्रो अफिस” भनेको मात्र थिएँ, ऊ त कति छिट्टो तयार भईदिई । अझै चमक थपियो उसको मुहारमा । खुसीको स्तर नै चुलियो उसको । स–सानो कुरामा पनि खुसी हुने उसको बानी छ भन्ने नै बिर्सिएको रहेछु । आत्मग्लानिको बोध भयो आज ।
उसलाई अफिस छोडेर फर्कंदै गर्दा अतितका मीठा स्मृतिहरु आँखा अगाडि आए । पे्रममा छँदा सबका आँखा छलेर घुम्न गएका याद ताजा भए । पे्रमसम्बन्धलाई विवाहको नाम दिएपछि आफ्नो कर्तव्य नै भुलिंदो रहेछ क्यारे !
विवाह अघि कत्ति आशक्त थिएँ म उप्रति । उसले नाईं भनेपनि जबर्जस्ती कपडा, गहना किनिदिने अनि लगाउन बाध्य पार्ने पुरुष मै थिएँ । भेट्नलाई ढिपी गर्ने अनि उपहारको वर्षा गराउने पात्र पनि म नै थिएँ । उसको स्वाभिमानी स्वभावले म कायल भएको थिएँ । अहिले वर्षौं भएछ उसलाई उपहार नदिएको । उपहारको त के कुरा, के चाहिन्छ भनेरसम्म सोधेको छैन । कताकता पश्चात्ताप पनि भईरहेको छ ।
अफिसकी सेक्रेटरी जेसिका भने बातबातमा दंग्याउँछे । आधुनिकताको खोल ओढेकीले पनि होला, व्रत बसेको चाँहि मलाई याद छैन । कुरै कुरामा फुस्ल्याएर केहि न केहि कुराको माग गरिरहन्छे । उसका मागहरु घट्ने नामै लिंदैनन् । कामभन्दा दोब्बर नखरा गर्ने उसको बानीले वाक्क बनाउँछ कहिलेकाँहि ।
श्रीमान विदेशमा भएकाले जसरी पनि काम चाहियो भनेकीले आफ्नो अफिसमै काम दिएँ । अहिले उसका नानाथरीका बहानाले “निल्नु न ओकल्नु” बनाएको छ ।

मिरा गोतामे

उन्नतिजस्ती साधारण नारीलाई श्रीमतीको रुपमा पाएको म, जेसिकाका नखरामा लठ्ठ नपर्ने कुरै भएन । सन्तोषी स्वभावकी उन्नतिको महत्व स्वाट्टै घटेछ क्यारे, जेसिकाका मागहरु पो प्राथमिकतामा पर्न थालेछन् । सहयोगी हाकिमको छवि बनाउन पो लागी परेछु ।
एक्ली आईमाई भनेर जेसिकालाई पिकअप र ड्रप गर्दागर्दै उन्नति बसको धक्का खाँदै अफिस जान बाध्य भएको कुरा पनि बिर्सिसकेछु । सधैं कारको अगाडिको सीटमा बस्दाबस्दै जेसिकाले ममाथि उसकै लोग्नेलाई जत्तिकै हैकम चलाउन थालेकी याद नभएको पनि होइन ।
कहिले फ्ल्याटको भाडा तिर्न नसकेको व्यथा त कहिले आमाबाउ बिरामी भएको कथा । सधैं अभावका कुरा सुनाएर गोजी रित्याउने उसको बानी बिस्तारै बुझ्न थालेको थिएँ । नाटक गर्न सिपालु उसका हाउभाउहरु पनि हेक्का हुँदै थियो ।
हुन त जेसिकाले मेरो अफिसमा काम गर्न थालेको केहि वर्ष मात्र भएको छ तर, अफिसका सबै डिटेल उसैलाई राम्ररी थाहा छ । बिजनेस डिलिङमा ऊ पोख्त छे । त्यसैले जागीरबाट निकालि हाल्न पनि दश पटक सोच्नै पर्ने बाध्यता ।
नचाहँदा नचाहँदै उसको जालमा फस्न थालेको महसूस पनि नभएको होईन । अहिलेसम्म केहि नबिगे्रकोले उबाट जसरी भएपनि दुरी राख्न कोसिस पनि गरेकै हुँ । तैपनि ऊ केहि न केहि प्रपन्च गरिरहन्छे । कहिलकाँहि आफैं निर्लज्ज भएर “ सर, साह्रै भोक लाग्यो, कुनै क्याफेमा जाउँ न भन्छे ।”
अचम्म लागेपनि कुनैबेला टार्न नसकेर क्याफेमा गएका पनि छौं हामी । क्याफेमा कफी पिउँदै गर्दा “शनिवार कँहि घुम्न जाउँ न सर ।” भनेर निस्फिक्रि प्रस्ताव पनि राखीदिन्छे । त्यत्तिखेर चाँहि उसलाई “तैंले के सोचेकी छेस् मलाई ?” भनेर चिच्याएर सोध्न मन लाग्छ । आफै सतर्क हुनु पर्नेमा परिवार भएको मानिससँग यस्तो प्रस्ताव राख्न सक्ने शरमहीन नारी त मैले आजसम्म देखेको थिईन ।
मेरी उन्नति त बिल्कुल फरक छे । साजसज्जाका कुरा होस् या अरु कुनै उपहार । आफ्नो सम्पूर्ण खर्च आफैं धान्छे ऊ । धेरै आकांक्षी नभएकैले होला आफ्नो तर्फबाट पनि कुनै प्रयास नै भएन उसलाई खुशी राख्न । मेरो सबै धनसम्पत्ति उसकै हो भन्ने मानसिकताले पनि होला ।
उन्नति को महत्वबोध बढी नै हुन हुन थालेको छ किनभने जेसिका र उन्नतिको व्यवहारमा आकाशपातालको फरक छ । एउटी माग गरेरै नथाक्ने अर्की माग गर्नै नजान्ने । रुपमा, शालीनतामा, सभ्यतामा उन्नतिको दाँजोमा उभ्भिनै सक्दिन जेसिका । तैपनि किन किन जेसिकाका मागहरु पु¥याउन अघि सरेकै हुन्छु म ।
आफ्नो गल्ती महसूुस हुन थालेपनि कुनै कदम चालीहाल्न सकिरहेको छैन । जमुनाबाट जेसिका बनेका यस्ता केटीहरु आफ्नो स्वार्थको लागी जे पनि गर्न सक्छन् । नगरेका गल्तीका लागी पनि सजाय दिलाउन सक्छन् । आफ्नो बदनामीको डर सायद सबैभन्दा ठूलो डर हो जीवनको ।
कुनै ठोस कारणको पर्खाईमा छु जेसिकालाई आफ्नो अफिस र जीन्दगीबाट निकाल्न । नत्र वनमाराले सिंगै वन खाएजस्तै जेसिकाले पुरै जीवन बरबाद पार्न के बेर ?
मोबाईलको घण्टी बज्यो । उन्नतिको रहेछ । “आज मलाई लिन आउनु हुन्छ कि हुन्न ?” उसको प्रश्न थियो । बिहान ड्रप गर्दिएकोले सायद उसले फर्कने बेलामा पनि पिकअपको आशा गरेकी होली । माया लागेर आयो । त्यसैले अफिसबाट हतारमा निस्कँदै थिएँ, बाहिर जेसिकाको आवाज सुनिहालें ।
आफ्नो सबै काम छोडेर मेरै अफिसमा मेरै म्यानेजरको क्याबिनमा मस्तले गफिंदै रहिछे ऊ । “एउटा साधन नभएर अफिस आउन जानै गाह्रो भयो, मलाई स्कुटर किन्न मद्दत गर्नुहुन्छ ?” म्यानेजरसँग उसले गरेको यो प्रश्न सुन्ने बित्तिकै मलाई रिगंटा नै चल्यो ।
म छक्क परें । आफ्नी श्रीमतीसँग लुकाएर मैले उसका हरेक मागहरु पुरा गरिदिएको छु, तर पनि उसलाई पुगेकै रहेनछ । मैले सोचेको थिएँ, मलाई बोस ठानेर उसले आफ्ना अप्ठ्याराहरु मलाई मात्र बताएकी थिई ।
सधैं सबैसँग मद्दतको भीख माग्ने त उसको कुलत नै रहेछ । आफ्ना चाहनाहरु पुरा गर्न ऊ जो सुकैसँग जे गर्न पनि तयार पो रहिछे । स्कुटर किन्न भनेर मैले उसलाई पहिले नै केहि रकम दिईसकेको थिएँ । ऊ आफै पनि जागीरे हो, विदेशमा भएको श्रीमानले पनि त पैसा पठाउँदो हो । तर पनि आत्मसम्मान नभएकी यो कस्ती आइमाई ? जोसँग पनि बिना हिच्किचाहट हात फैलाउन सक्ने यो कस्तो स्वभाव ?
अर्को दिन अफिसको सुरक्षा गार्डसँग भलाकुसारी गरीरहेकी देखें मैले । गार्ड भन्दै थियो, “अहिले त छैन, अर्को महिना सोचौंला है ।” मलाई अड्कल भइहाल्यो उसले गार्डसँग पनि पैसा मागीरहेकी थिई । त्यहि दिन अफिसको नयाँ अकाउन्टेन्टसँग खाजा खान जाने प्रस्ताव गर्दै गरेको पनि सुनें ।
कोहि मानिस साह्रै बेसरम हुुँदा रहेछन् । पैसा भनेपछि सबथोक बिर्सने । अब त जेसिकाको नाम पनि सुन्न मन नलाग्ने हुन थाल्यो ।
अर्को सोमबार पनि ऊ प्यान्ट टिर्सटमै अफिस आई । मेरी बुढी भने हरियो चुरा अनि हरियै कुर्ता लगाएर अफिस गएकी थिई । साहै्र सुहाएकोले आँखामा उसकै रुपको छवि बसेको थियो । आज जेसिका पटक्कै राम्री लागिन कुनै कोणबाट पनि । ऊ बिना काम मेरो अगाडि आएर उभ्भिई । उसलाई सोधें “तिमी चाँहि सोमबारको उपवास बस्दिनौ ?”
उसले लाडिएर जवाफ दिई, “ बस्थें नि ! तर खै त हजुरले मलाई हरियो चुरा किनि दिनुभएको ?”
उसको प्रश्नले मलाई झनक्क आफैंसित रिस उठ्यो कस्तो प्रश्न सोधेछु भनेर । एउटा साधारण प्रश्नको बदला उसले फेरि मेरो सामु हात फैलाई । कस्तो अचम्म ! मैले किनिदिएको चुरा लगाएर उसको लोग्नेको लागी व्रत बस्ने रे !
मैले जवाफ दिएँ । जवाफ के भन्नु ? प्रश्नको खात लगाइदिएँ, “मैले आजसम्म आफ्नी स्वास्नीलाई त केहि उपहार किन्दिएको छैन भने तिमी को हौ र मैले चुरा किन्दिनु पर्ने ? कसरी त्यस्तो अपेक्षा गर्न सक्यौ ? अनि मैले दिएको चुरा लगाएर तिमी कसको लागी व्रत बस्छौ ? मेरो लागी या तिम्रो बुढाको ?”
जेसिका अवाक भई । अफिसका सबै स्टाफसँग पैसा मागेको आफ्नै आँखाले देखेर पनि होला म त आवेशमा आएछु । फेरि भन्न थालें ।
“जाउ म्यानेजरसँग चुरा माग्न, जसरी स्कुटर मागेकी थियौ । दिएन भने गार्डसँग मागे पनि हुन्छ । चुरा किन्ने पैसा त उसले पनि दिन सक्छ । अकाउन्टेन्ट पनि त छ नि । उसले त पक्कै दिन्छ होला ।”
सधैं उसका नानाथरी नखराका अगाडि लाचार भएर जे माग्यो त्यहि पु¥याइदिने मलाई एक्कासी कहाँबाट साहस आएछ । मैले उसका सब करतुत थाहा पाएकाले ऊ चाँहि रातोनिलो हुँदै मेरो क्याबिनबाट निस्किई ।
बल्ल आज आफूले एउटा गतिलो काम गरेंझैं लागेको छ मलाई । जेसिकाको जालमा झण्डै झण्डै परिसकेर निस्केको आभाषले नै मनलाई आनन्दित बनाएको छ । बेलैमा उसलाई नचिनेको भए जे पनि हुन सक्थ्यो । बिना हिच्किचाहट घुम्न जाने अफर गर्न सक्ने, जोसँग पनि पैसा माग्न सक्ने केटीको चरित्रमा कसरी विश्वास गर्नु ?
आफूले कुनैबेला असाध्यै मन पराएर बिहे गरेको श्रीमतीलाई पनि बेवास्ता गर्दै आएको थिएँ म । जेसिकाले जे भने पनि लुरुलुरु गर्ने भइसकेको थिएँ । उसले नाइँ भन्नै नसक्ने अवस्थामा पु¥याइसकेकी थिई । कताकता उन्नतिको सौन्दर्य र मायालाई पनि भुलिसकेको थिएँ । आज हरियो चुराले सबै यथास्थानमा ल्याइदिएको छ । परीजस्ती श्रीमतीलाई बिर्सेर सबैको घर बिगार्ने जेसिकाजस्तीको जालमा पर्नबाट धन्न म जोगिएँ ।
साँच्चै ! मेरी उन्नतिले गरेको धर्मकर्मको फल त होईन यो ? अब जेसिकालाई होईन, मेरी प्यारी श्रीमतीलाई हरियो चुरा उपहार लगिदिन्छु । साधारण काँचको चुरा मात्र होईन, चुरासँगै लगाउने सुनको बाला पनि किनिदिन्छु । मेरी उन्नति यस्तै महँगा उपहारको लायक छे । सँधै उसको अफिससम्म आफै पिक एण्ड ड्रप पनि गरिदिन्छु । म उसलाई खुसी राख्न हरसम्भव प्रयास गर्नेछु ।

शिक्षाः समाजशास्त्रमा स्नातकोत्तर

 

प्रतिक्रिया
Loading...