मीरा गोतामे
“पवन त मर्यो रे नि !” फोन उठाउनासाथ बहिनीले सुनाइहाली “हेलो” पनि राम्ररी भन्न नपाउँदै । माइतीघरको खबर सुनाउने माध्यम बनेकी छे मेरी बहिनी आजभोलि ।
कस्तो नमिठो चस्का पस्यो यो वाक्य कानमा पर्नेबित्तिकै । लगातार टेलिफोनको घण्टी बजेपछि हतार हतारमा फोन उठाएकी थिएँ । सुनेपछि मेरा भने वाक्य नै फुटेनन् । त्यसपछि बहिनीले एकोहोरो के-के बोलिरही तर मेरा कानले केही सुन्नै छाडे । कता-कता नराम्रो महसुस भयो । मन न हो, विगतको मैदानमा चर्न पुगिहाल्यो । रिसिभर हातमै बोकेर म त अतीतमा हराएछु ।
केही समयअगाडि भेट हुँदा उसको मानसिक सन्तुलन ठिक थिएन । सुन्न त सबैको मुखबाट सुनेकी थिएँ उसको अवस्थाका बारेमा तर आफैँले देख्दा चाहिँ फरक अनुभूति हुँदो रहेछ । उसका दाह्री बढेर जङ्गल भएको थियो । नमाझेर काई परेर पहेँलिएका दाँतहरू देख्दा वाकवाकी लागेको थियो । जिङ्ग्रिङ्ग परेको कपालमा ऊ अनौठो देखिएको थियो । मैला च्यात्तिएका कपडा लगाएको उसका सबै अङ्गहरू कटकटी मैलाले पत्र-पत्र छुट्टिएका टट्कारै देखिन्थ्यो । कहिले सुरको कुरा गर्ने कहिले बेसुरको गर्ने गर्दो रहेछ ।
पवित्राले “उसलाई चिनिस् दाइ, ऊ अनुपमा” भनेर मलाई देखाउँदा चिनेझैँ गरेर ङिच्च हाँसेको थियो ऊ । अलिकता मसक्क मस्केको पनि थियो चिनेर हो वा त्यसै हो । म त आश्चर्यमा परेँ । उसै त सबैले उसको हालतको जिम्मेवार मलाई ठहर्याएको हल्ला पहिल्यै सुनिसकेको थिएँ, त्यसैले त्यहाँ एकछिन पनि बसिरहनु उचित लागेन र त्यहाँबाट हिँडिदिएँ । हुन त मान्छेहरू “मर्नुभन्दा बहुलाउनु निको” भन्छन् तर मलाई उक्त भनाइ सही लागेको थिएन त्यो दिन । मृत्युभन्दा मुस्किल रहेछ बहुलाउनु ।
आज एक्कासि ऊ मरेको खबरले कस्तो-कस्तो लागेको छ । हातखुट्टा थरर कामेझैँ भयो । मुटु जोड-जोडले हल्लिएको आभास भएको छ । आफैँ दोषी भएको भान परेको छ । यसअघि पवनका बारेमा हजारौँ कुरा सुन्दा, उसलाई प्रत्यक्ष भेट्दा पनि सामान्य महसुस गर्ने मलाई आज पवन मरेको वाक्यले गहिरो चोट पुग्यो । मनभरि समवेदनाका ध्वनिहरू तरङ्गित भइरहेका छन् ।
पवनलाई त्यसरी एक्कासि बाटामा भेटेको दिन कता-कता पवन र उसको परिवारप्रति टिठ लागेको थियो । एक जना बहुलाउँदा पूरै परिवारमाथि सङ्कट आउने रहेछ । न त बहुलाएको व्यक्तिलाई कुरेर बस्न सम्भव छ, न त बेवास्ता नै गर्न सकिन्छ । त्यस्तै भएको थियो पवनको परिवारमा पनि । बाआमा बुढाबुढी भइसकेपनि उसका लागि सधैँ खटिनुपर्थ्यो । आफूले आराम गर्ने बेलामा पनि उसकै सुर्ता लिएर बस्नुपर्ने । छोराले डाक्टर बनेर बिरामीको सेवा गर्ने सपना पालिरहेका आमाबुबालाई छोराकै दिनरात उपचार गराउनुपर्दा कति औडाहा हुँदो हो ! सोचेरै मेरो त आङ जिरिङ्ग भयो ।
पवनकै कारण पवित्राले पनि समयमै घरजम गर्न सकिन । एक त उसको रेखदेख गर्ने जिम्मा उसैमाथि आइलाग्यो, आमाबुबा बुढाबुढी भइसकेका थिए । अर्को, परिवारमा मानसिक सन्तुलन बिग्रिएका सदस्य हुँदा कुटुम्ब नै नपाइने रहेछन् । कुरा चलेर केटी मनपराइसकेपछि पनि उसको दाइको मानसिक अवस्थाका बारेमा थाहा पाएपछि “बौलाहाको घरमा के नाता जोड्नु ?” भनेर पछि हट्दा रहेछन् । यो सुनेर मन नै खल्लो भएको थियो । ऊ त स्कुल पढ्दादेखि नै विवाहको सपना देख्ने गर्थी पढाइबाट छुटकारा पाउनको लागी । बल्ल पोहोरमात्र एकचोटि घरबार बिग्रिसकेका पुरुषसित उसको विवाह भएको थियो ।
पवन मभन्दा पढाइमा दुई ब्याच सिनियर थियो । कक्षाको पहिलो विद्यार्थी थियो । देख्नमा आकर्षक नभए पनि मेधावी विद्यार्थी भएकाले पूरै स्कुलमा उसलाई सबैले चिन्थे । उसकी बहिनी पवित्रा र म चाहिँ एउटै कक्षाका विद्यार्थी । मेरो ठुलो दाइले एसएलसी पास गरिसक्नुभएको थियो । सानी बहिनी, म, पवित्रा र पवन चारै जना सँगसँगै स्कुल जान्थ्यौँ । सँगसँगै फर्कन्थ्यौँ । स्कुलबाट मेरो घर नजिक पर्थ्यो । स्कुल जाँदा उनीहरूले नै हामीलाई बोलाउँथे । पवित्रा र म आफ्नै कुरामा मग्न हुन्थ्यौँ । होमवर्कका कुरा गर्थ्यौँ, टिचरहरूका कुरा गर्थ्यौँ, टिफिनका कुरा गर्थ्यौँ । पवन ध्यानपूर्वक सुनिरहन्थ्यो । पवित्राले उसलाई नामले नै बोलाउँथी, त्यसैले मैले पनि कहिल्यै उसलाई दाइ सम्बोधन गरिनँ । हाम्रो क्लासका भने सबैले उसलाई दाइ नै सम्बोधन गर्थे ।
उसकी बहिनी पवित्राचाहिँ पढ्नमा पटक्कै मन नलगाउने । यताउताका गफ गर्न भने सिपालु थिई ऊ । रमाइलो स्वभावकी भएकीले जिस्किरहने र हसाइरहने गर्थी । जतिखेर पनि “एसएलसी दिएपछि त विवाह गर्छु, अगाडि पढ्न सक्दिनँ” भन्थी । हामी नौ कक्षा पढ्दा पवन एसएलसी दिएर फुर्सदमा बसेका थिए । एकदिन स्कुल जाँदै गर्दा कुरै कुरामा पवित्राले भनी, “पवनले तिमीलाई साह्रै मन पराउँछ है । जतिखेर पनि तिम्रै कुरामात्र गरिरहन्छ । उसका हरेक चिजमा तिम्रै नामको पहिलो अक्षर लेखिएको हुन्छ ।”
सधैँ ठट्टा गर्ने उसको बानी थाहा पाएकाले मैले यसलाई पनि ठट्टा नै मानेँ । आफूले कहिल्यै पवनलाई त्यस्तो नजरले हेरेको भए पो मक्ख पर्नु ! यो कुराले मलाई केही फरक पनि परेन । पवनले एसएलसीमा डिस्टिङसनसहित सर्वोत्कृष्ट अङ्क ल्याएर पास गर्यो । स्कुलमा उसलाई बोलाएर फूलमाला र अबिरले सम्मान गरियो । उसले आफ्नो मन्तव्य राख्दा बारम्बार नजर मैतिर दौडाइरहेको थियो । यसलाई पनि मैले सामान्य नै लिएँ । राम्रो नतिजा आएपछि साइन्स पढ्न थालेको थियो । पछि डाक्टर पढ्न एमबिबिएसमा भर्ना भयो रे भन्ने मात्र थाहा छ । आफ्नै पढाइको प्रेसरले थिच्न थालेपछि मैले झनै केही वास्ता गर्नै छाडेँ । पवित्राले पनि एकैचोटिमा एसएलसी पास गर्न सकिनँ । त्यसपछि हाम्रो धार नै अलग्गियो । प्लस टु पढ्न भनेर म फुपूकोमा बस्न थालेँ । कहिले आफ्नो घर कहिले फुपूकोमा आवतजावतको क्रम चलिरह्यो ।
ब्याचलर पढ्दै गर्दा कलेजमा गौरवसँग भेट भयो । पढाइका केही सिनियर उनले मलाई औधी मन पराएका रहेछन् । सुरुमा नाइँ भने पनि बिस्तारै उनी मन पर्दै गए । हाम्रो मन मिल्यो, विचार मिल्यो, छुट्टिन नसक्ने भयौँ । भाग्यशाली नै रहेछौँ हामी, हाम्रो प्रेमले छिटै विवाहको रूप लियो । दाइको विवाह भइसकेको थियो । आमाबुवा मेरै विवाहका लागि उचित वर खोज्दै हुनुहुँदो रहेछ । गौरवको विवाहको प्रस्ताव घरबाट सजिलै स्वीकार भयो । हामी विवाह बन्धनमा बाँधियौँ । फुपूका छोराछोरी नभएकाले उहाँकै घरबाट विवाह गर्ने निधो भयो । यति छिटो विवाह हुन्छ भनेर मैले सोचेकै थिइनँ । लेखेको पाइन्छ भनेझैँ मेरो भाग्यमा गौरव नै लेखिएको रहेछ हामी साह्रै खुसी भयौँ । चाहेकै कुरा जो भएको थियो ।
पवनको घरमा भने यो कुराले तनाव निम्त्याएछ । घरबाटै विवाह भएको भए त सबैलाई थाहा भइहाल्थ्यो । केही न केही समाधान पनि निस्कन्थ्यो होला । अपर्झट फुपूको घरबाट विवाह हुँदा कसैलाई खबर पनि गरिएन । अकस्मात् मेरो विवाहको कुरा सुनेर पवनले असामान्य व्यवहार देखाउन थालेछ । सबैसँग रिस मात्र गर्ने, खाना नखाने, घरबाट दिनभरि बेपत्ता हुन थालेछ । चटक्कै पढ्न छाडेछ । उसले आमाबुबालाई मलाई मन पराउने कुरा पहिल्यै भनेको पनि रहेछ । पवित्रालाई झन् अगाडिदेखि नै थाहा थियो ।
“तेरो पढाई सक् । डाक्टर बन् अनि जोसँग भन्छस् त्यहीसँग तेरो बिहे गरिदिउँला । त्यो जाबो अनुपमा को नै हो र ? तँ डाक्टर बनिस् भने उनीहरू नै हामीलाई छोरी दिन आउँछन् । हामीले मागिरहनु पनि पर्दैन बुझिस् ?” उनीहरू बडो शानले पवनलाई यही भन्दा रहेछन् सधैँ ।
यसरी आफ्नो छोरालाई संसारकै सबैभन्दा क्षमतावान् देख्ने उसका आमाबाबुले कहाँ सोचेका थिए र समय उनीहरूले सोचेकै गतिमा चल्दैन भनेर ? त्यसमाथि पवनको प्रेम त खालि एकोहोरो थियो । त्यो पनि अव्यक्त । त्यसरी गन्तव्यहीन प्रेमको यात्रा गर्नु भनेर त मैले कहाँ भनेकी थिएँ ? हिम्मत गरेर प्रस्ताव गरेको भए पनि कुनै हालतमा स्विकार्ने थिइन तर पवनलाई सन्तोष भने अवश्य मिल्ने थियो । पहिल्यै नबताएको भनेर दुःख मनाउ गर्नुपर्ने अवस्था आउने नै थिएन । कसैलाई मन पराएको कुरा व्यक्तै गर्न नसक्नु त जीवनकै ठुलो भूल हो जो पवनबाट भइसकेको थियो ।
आफ्नो कुनै गल्तीविना नै म पवनको परिवारका लागि अपराधी भइदिएँ । मैले गर्दा उनीहरूको छोराको त्यो हालत भयो भनेर सबैसँग गुनासो गर्दा रहेछन् । यी सब कुरा चाहिँ मेरी आमा, भाउजू र बहिनीले सुन्न बाध्य हुँदा रहेछन् । बिस्तारै पवनको हालत बिग्रँदै गएको रहेछ । आफैँ डाक्टर पढ्दै गरेको मान्छे दिनरात बिरामी भएर डाक्टरकोमा धाउनुपरेको थियो । औषधि उपचारले पनि ठिक नहुने मनोरोगले उसलाई गाँजेको रहेछ ।
प्रेमविवाहपछि मेरो जीवनका खुसीहरू दोब्बरतेब्बर हुँदै थिए । विवाहको वर्षदिनमै एउटी पुतलीजस्ती छोरीकी आमा भएँ । गौरवले पनि पढाइमा राम्रो गर्दै गए । मैले स्नातकभन्दा अगाडि पढ्न नपाए पनि उनको प्रगतिमै खुसी थिएँ । उनले स्नातकोत्तर पनि गरिहाले । राम्रो प्रोजेक्टमा जागिर पाए । तीन वर्षपछि फेरि अर्की छोरी पनि जन्मिई । हाम्रो खुसीको संसार थियो । गौरव पहिलेदेखि नै साह्रै फरासिला थिए । प्रेमको अभिव्यक्ति गरिरहन्थे । कहिल्यै नरिसाउने उनको स्वभावले नै म उनीप्रति आकर्षित भएको थिएँ । रिसाइरहने अनि आफ्नो रिस अरूमाथि पोख्ने स्वभावका मानिस मलाई कहिल्यै मन परेनन् । आफ्नै दाजुले पनि विनाकारण भाउजूलाई दुःख दिएको देख्दा दाइलाई सम्झाउँथेँ । श्रीमतीसँग राम्रोसँग बोल्नुपर्छ भनेर भाउजूकै पक्ष लिन्थेँ ।
जत्ति नै पढाकु भए पनि पवनका केही स्वभावहरू अचम्मका लाग्थे मलाई । ऊ साह्रै अन्तर्मुखी थियो । खुलेर केही नबोल्ने, रमाइलो गर्नै नजान्ने व्यक्ति थियो । कुनै कुरामा रिस उठ्यो भने आँखै नदेख्ने उसको बानी पनि मलाई थाहा थियो । मेरो क्लासको एउटा साथीले मेरो ब्याग चलाएको सानो निहुँमा साथीसँग हात हालाहाल गरेको दृश्य आज पनि आँखाअगाडि आउँछन् । पवित्राले भन्थी “रिसको झोकमा घरका भाँडाकुँडा होस् कि अरू सामान, फुटाइहाल्ने गर्छ मेरो दाइ । घरका केही सामान सकुशल छैनन्, टुटेफुटेका छन् ।” यो सुनेर पनि होला ऊ मलाई कहिल्यै मन परेन । सामानहरूको जतन गर्ने बानी भएकाले पनि त्यस्ता व्यक्तिहरू मलाई उति मन पर्दैनन् ।
उसको मानसिक अवस्थाको कुरा सुनेर म कता-कता डराएकी थिएँ । सबैले यसको कारण मलाई नै ठहर्याएकाले पनि मेरो जीवनमा केही न केही असर पर्दै थियो । यस्ता कुरा गौरवले सुने भने कस्तो प्रतिक्रिया गर्लान् ? यहि प्रश्न दोहोरिन्थे । म चिन्तित थिएँ । आखिर पुरुषप्रधान समाजमा हुर्किएका एक पुरुष नै थिए गौरव पनि । लोग्नेमान्छेले जति ठुला कुरा गरे पनि प्रश्न उठाउन परेपछि उनीहरूका औँला आइमाई मान्छेतिरै ठडिन्छन् । घटनाका मुख्य आरोपी नारीलाई नै बनाइन्छन् किनकि उनीहरूले सोच्ने समयमा पुरुष नै भएर सोच्छन् । महिलाका दृष्टिकोणबाट समाज र घटनालाई हेर्न असमर्थ हुन्छन् । आफ्नै बुबाले अनि दाइले जुन कुरामा पनि आमा र भाउजूकै गल्ती देखाउनुहुन्थ्यो । आफ्नो केही गल्ती नभएझैँ पानीमाथिको ओभानो बन्नुहुन्थ्यो उहाँहरू ।
तसर्थ यो कुराले मलाई पनि भतभती पोलेको थियो । गाली त परको कुरा, कहिल्यै रिसले ठुलो स्वरसम्म नगरेका आफ्ना पतिले यो कुरा सुनेर के ठान्ने हुन् भनेर भित्रभित्रै उकुसमुकुसिएकी थिएँ म पनि । बुबा र दाइका व्यवहार सम्झेर पनि असामञ्जस्यमा परेँ । यो कुरा बताऊँ कि नबताऊँ ? बताएँ भने कतै मैले पनि पवनलाई मन पराएको भनेर पो सोच्ने हुन् कि ? अरूबाटै सुने भने मैले जानी-जानी कुरा लुकाएँ भनेर सोच्ने हुन् कि ? सुनेपछि उनको स्वभाव बदलिने पो हो कि ? मप्रतिको मायाँमा कमी पो आउने हो कि ? यी प्रश्नहरूले मलाई गिज्जाइरहे । निरुत्तर म विनागल्तीको सजाय भोगिरहन बाध्य भएँ । आफ्नो सुखद दाम्पत्य जीवनमा पनि कताकता काँडा रोपिएको आभास भइरह्यो । एउटा खल्लोपनको आभास भइरह्यो । द्विविधामै बिताएँ धेरै वर्षहरू ।
विवाहपश्चात् पनि पहिले कसम खाएअनुसार नै व्यवहार गर्थे गौरवले । अप्ठ्यारोमा कहिले पनि साथ छाडेनन् । दुई नानीहरू जन्मिँदा प्रसवपीडा मलाई भएको थियो तर उनलाई बढी दुखेको थियो रे ! सधैँ मेरा इच्छाहरूका बारेमा सोधिरहन्थे । मैले नजानु भनेका ठाउँमा इच्छा भए पनि गएनन् । नखानु भनेका चिजहरू कहिल्यै खाएनन् । विशेष उपलक्ष्यहरूमा सम्झेर उपहार दिएकै हुन्छन् । हरेक शनिवार मलाई र छोरीहरूलाई नै समय दिन्छन् । छोरीहरू मलाईभन्दा बाबालाई नै पछ्याउँछन् । सन्चो नभएर अँध्यारो मुहार भयो भने पनि थाहा पाइहाल्छन् । मैले गाह्रो भयो पनि भन्नु पर्दैन । मेरै लागि उनले कति त्याग गरेका छन् । यस्ता पुरुष श्रीमान्का रूपमा पाएर भाग्यशाली महसुस हुँदाहुँदै पनि कताकता नमज्जा त लाग्थ्यो पवनको अवस्था सम्झिँदा । म खुसी छु तर यही कारणले पवनको परिवार मलाई घृणा गर्छ । मैलै गर्दा उनीहरूको परिवार बिग्रेको सोच उसको परिवारले पालेका छन् । नारीको जीवन साह्रै मुस्किल रहेछ भन्ने आभास पलपल दिलाइरहन्छ ।
आज एक्कासि पवनको मृत्युको खबरले नराम्रो महसुस गराइरहेको छ । हुन त उसले मुक्ति पाएको छ यो सांसारिक दुःख र मोहबाट । आफ्नै शरीर र मनले दिएको पीडाबाट । आफूलाई सम्हाल्न नसक्नु उसको कमजोरी थियो । मानिसले जति आफ्नो बल, बुद्धि, ज्ञान, धनका कुरामा गर्व गरे पनि केही नहुने रहेछ । सम्हालिनु बढी महत्त्वपूर्ण रहेछ सुखमा होस् कि दुःखमा । नत्र त उही पवनको जस्तो हालत हुने रहेछ । हुन त ऊसँग प्रेम गरेर धोका दिएकी थिइनँ मैले न त उसलाई मन नै पराएको थिएँ । त्यसैले मेरो विवाहलाई त्यति ठुलो कारण बनाउन जरुरी थिएन । आफूलाई सम्हालेको भए उसले एकसेएक केटी पाउनेमा कुनै शङ्का थिएन । जीवन एक व्यक्ति वा एक चिजमा मात्र कहाँ अडिएको हुन्छ र ? सम्हालिनैपर्थ्यो उसले आफ्नो आमाबाबु, बहिनी र आफ्नै भविष्यका लागि । ससानो कुरामा डगमगाउने मान्छेले पढाइमा जत्ति अब्बल नतिजा ल्याए पनि जिन्दगीको परीक्षामा हार्ने रहेछन् । बरु कलेजका परीक्षामा फेल भएर केही हुँदैन जीवनको परीक्षामा उतीर्ण हुनुपर्छ । पढाइमा अरूलाई पछि पारे पनि पवनले कति सजिलै हारिदियो जीवनको परीक्षा ।
पवनको मृत्यु भयो र ऊसँगै मरे मेरा डरहरू पनि । गौरवले थाहा पाउँछन् कि भन्ने डर । अब गौरवले थाहा पाए पनि केही फरक पर्ने छैन मलाई किनकि पवनको भौतिक शरीर यो जगत्मा छैन । अब बताइएका कुराहरू सबै एकादेशका कथा हुनेछन् । उनले नै पनि विश्वास नगर्न सक्छन् । बढाइचढाइ गरिएको भनेर आशङ्का पनि गर्न सक्छन् । अब गौरवले थाहा पाउनु ठुलो कुरा रहेन तर एकबारको जीवन जिउन जान्नु चाहिँ एकदम ठुलो कुरा रहेछ । जीवनको कुनै कालखण्डमा पवनसँग मिसिएका थोरै यादहरू भने जीवितै रहनेछन्, ऊ मरेर गए पनि । उसको परिवारका लागि बाँचुन्जेल दोषी करार भइरहनेछु म, ऊ मरेर गए पनि ।
(समाजशास्त्रमा स्नातकोत्तर गोतामेको नीति उपन्यास प्रकाशित छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।