उपन्यासकार मीरा गोतामेको उपन्यास ‘निती’माथि अन्तरक्रिया सम्पन्न भएकाे छ । शनिबार राजधानीका आयोजना गरिएको एक कार्यक्रमका बिच साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएकाे हाे ।

साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरुले कृतिमाथि समीक्षा गर्नुभएकाे थियो । उपन्यासकार गोतामेको पहिलो कृति निती नारी विषयवस्तुमाथि लेखिएको छ।

कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले उपन्यासमा नेपाली महिलाले भोग्नु परेको सामाजिक विषयहरुलाई यथार्थपरक ढङ्गबाट उतारिएको बताउनु भयो । उहाँले उपन्यास मर्मस्पर्शी रहेकाे बताउँदै महिलामाथि हुने सामाजिक विभेदलाई अझ गहिरो गरी उठान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा साहित्यकार हिरण्यकुमारी पाठकले उपन्यासकार गोतामेले महिलाका विषयहरुलाई साहसिक रुपमा उठान गरेको बताउनुभयो । यस्तै, साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले उपन्यासमा नेपाली महिलाका दुखका कथा प्रस्तुत गरिएकाे भए तापनि पात्रहरुले जित हासिल गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै साहित्यकार युवराज नयाँघरेले उपन्यासकार गोतामेको लेखन शिल्पले आशा जगाएको जनाउनुभयो । यस्तै, अर्का साहित्यकार दामोदर पुडासैनी किशोरले उपन्यासकारले नेपाली समाजमा महिलाले भोग्नु परेका यर्थाथतालाई उजागर गरेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार बाबा बस्नेतले उपन्यासकार गोतामेको पहिलो उपन्यासबाटै शुभसङ्केत देखाएको जनाउनुभयो । यस्तै,  कवि तथा कथाकार मणि लोहनीले उपन्यासका पात्रहरु बीचको संवादले आफू झंकृत भएको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा समालोचक डा.शान्ति गिरीले उपन्यासले नेपाली महिलाले भोग्नु परेका पीडाको उत्खनन् गरेकाे बताउनुभयो भने साहित्यिक राधेश्याम लेकालीले पहिलो कृतिबाटै उपन्यासकार गोतामेले पाठकको मन जित्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा उपन्यासकार मीरा गोतामेले साहित्यिक लेखनले आफूलाई बोल्ड बनाएको बताउँदै एक वर्षभित्र एक उपन्यास र थुप्रै कथा लेखिसकेको बताउनुभयो  । आगामी कृतिहरुमा पहिलो कृतिका कमजोरी हटाउँदै अघि बढ्ने उहाँको भनाइ थियो।

कार्यक्रम कवि मुरारी सिग्देलले सञ्चालन गर्नुभएको थियो ।