“मम्मी !”

घर छिर्नेबित्तिकै बिपुलले पुकार्ने शब्द यही हुन्छ – “मम्मी”।

ऊ सानो नै कहाँ छ र अब ?

विवाह भइसकेको छ । आफ्नी श्रीमतीसँग अमेरिकामै सेटल पनि भइसकेको छ । केवल तीन महिनाका लागि नेपाल आएको, तीन महिना तीन दिन जसरी बित्दैछ । जति समय छ ऊ आफ्ना आमाबाबासँग धेरैभन्दा धेरै समय बिताउन चाहन्छ । बाबाभन्दा पनि आमाको ज्यादै न्यास्रो लागेर ऊ नेपाल फर्केको हो श्रीमतीसँग, अरु नै बहाना बनाएर ।

“मम्मी, के गर्न लागिसकेको यहाँ ? म त हजुरलाई तल खोजिरा ।”

उसलाई आफ्नै आमासँग पनि के बोलौँ के बोलौँ भइरह्यो । मम्मी घाममा बाबाको हातखुट्टामा तेलमालिस गर्दै हुनुहुन्थ्यो । रातभरि हातगोडा करकर खाएर बाबा सुत्न सक्नुभएन रे ! त्यसैले आफ्नो कमजोर स्वास्थका बाबजुद बाबाको स्याहारसुसारमा व्यस्त हुनुभयो । बिपुललाई कस्तो नौलो लाग्यो ।

“हजुरलाई पनि त सन्चो थिएन नि मम्मी ! हजुरले रातभरि खोकेको मैले पनि सुनेको थिएँ । बरु मलाई भन्सेको भए पनि हुने नि । मचाँहि काम न काजसँग यताउता घुमेर आएँ । हजुरहरु मलाई केही भनिसिन्न । हजुरहरुसँग समय बिताउन त म नेपाल आएको नि ।”

मीरा गोतामे

बिपुलको कुराले मम्मीको मन हलुङ्गो भयो तर आँखामा उसले सहयोग गर्ला भन्ने विश्वासचाहिँ भएन । किन किन उनलाई कसैले आफूलाई साँच्चीकै माया गर्छ भन्ने कुरामा विश्वास लाग्नै छोडेको छ । जीवनको उत्तरार्धमा पुगिसक्दा पनि उनका दुःख कसैले बुझ्दैनन् । जागिरबाट अवकाश पाएको वर्षौँ भइसक्दा पनि आरामको अत्तोपत्तो छैन । उनीभन्दा तीन वर्षअघि जागिरबाट रिटायर्ड भएका हुन् उनका पति । त्यसपछि उनले आरामैआराम गर्ने अवसर पाए । उमेरले साठी त उनले पनि काटिन् तर कामको सङ्ख्याचाहिँ कहिल्यै घटेन ।

तेलमालिसपछि बाबा घाममै सुत्नुभयो एकछिन । बिपुललाई चाहिँ मम्मीको साह्रै माया लागेर आयो । थुप्रै दिन घरमा बिताएर आमाको भूमिका नजिकबाट नियालेकाले पनि होला । अमेरिका जानुअघि उसले मम्मीको महत्त्व बुझ्नै सकेको थिएन । उनका त्यागहरु सधैँ हलुका रुपमा लिएको थियो । विदेशी भूमिमा सघङ्र्ष गर्नुपरेपछि बल्ल आमाको माया र कामको महत्त्वबोध भएको थियो उसलाई । अहिले त पलपलको हिसाब राखेको छ उसले ।

“मम्मी, खै हजुरको खुट्टामा चाँहि म तेल लाइदिन्छु आज । हजुरचाहिँ सधैँ हाम्रो लागि खटिने, हजुरको खुट्टा पनि त करकर खाँदो हो ।”

मम्मीले “नाइँ” भन्न नभ्याउँदै बिपुलले तेलको कचौरा आफूतिर तानेर मम्मीको खुट्टामा दल्न थाल्यो । कसैले आफूप्रति माया दर्साएको पहिलोपटक थियो यो । उनका आँखा रसाए । बिपुलले नदेख्नेगरी आँसु पुछेर सामान्य हुने प्रयास गरिन् उनले । बिपुललाई पनि आमाको सेवा गर्दा अर्कै आनन्द आयो । कपालमा पनि तेल मालिस गर्दियो उसले धेरैबेर ।

दिनहरु धेरै छिटो गरी बित्दै थिए । बिपुलले मम्मीको हरेक कामको अवलोकन जारी राख्यो । सकेसम्म मद्दत गर्ने प्रण उसले पनि गरेको थियो । हरेक दिन झिसमिसेमै उठेर काम गर्ने मम्मीको रुटिन अझै चेन्ज भएको रहेनछ । बाबालाई मात्र बुढ्यौली लागेको थिएन, उहाँलाई पनि लागेको थियो तर उहाँले त “ऐय्या” पनि भन्न नपाउने । “सक्दिनँ” भन्न नपाउने । भोक पनि दुवै जनालाई लाग्थ्यो, तर फरक यो थियो कि बाबालाई भोक लाग्दा अघिल्तिर खानाको प्लेट आउँथ्यो, मम्मीले आफैँ भान्छामा पकाउन जानु पथ्र्यो । बाबालाई सन्चो नहुँदा मम्मीले नै अहोरात्र खटिनुपथ्र्यो । मम्मीले चाहिँ रातभरि खोक्दा पनि बाबालाई थाहासम्म हुँदैन थियो ।

उसलाई अचम्म लाग्दै गयो । बुढेसकालसम्म पनि काम गर्ने जोश उहाँमा कसरी आयो होला भनेर । ऊ एकछिन अतितमा हरायो । ऊ र बिपासा दिज्यु सानो हुँदा पनि मम्मीले घरको सारा जिम्मेवारी सम्हाल्नु हुन्थ्यो । बिहान–बेलुका खाना पकाउने, दिउँसो अफिस जाने उहाँको रुटिनै थियो । एकदिन शनिबारको छुट्टी त उहाँ झन् व्यस्त हुनुपथ्र्यो । बाबालाई शनिबारको दिन मिष्ठान्न भोजन चाहिन्थ्यो । खाना खाएर बाबा साथीहरुकोमा तास खेल्न जानुहुन्थ्यो । हप्ता दिनको फोहोर सफा गर्ने, छोराछोरीका स्कुलका कपडा धुने, नुवाइधुवाई गर्ने इत्यादि कामले उनको व्यस्तता अझै बढाउँथ्यो ।

बिदाका दिन चारै जना सँगै घुम्न गएको उसलाई सम्झना छैन । शनिबारको दिन बाबासँग बोल्न पनि डर लाग्थ्यो उसलाई । तासमा हारेको दिन प¥यो भने चुटाई पनि भेटिन्थ्यो । त्यसमाथि साँझ रक्सी खाएर आएकै हुने । उनीहरु शनिबार कहिल्यै नआओस् भनेर कल्पना गर्थे । सबै प्रतीक्षारत् रहने शनिबारको दिन उनीहरुका लागी भने पीडादायी बनेर गुज्रन्थ्यो ।

ऊ सात कक्षामा पढ्दा बाबा र मम्मीको ठूलो झगडा भएको उसलाई झल्झली याद आउँछ । कुनै केटीसँगको सम्बन्धको बारेमा थाहा पाएर उहाँहरुबीच तनाव भएको थियो । बाबाको अरु केटीहरुसँग हिमचिम भएका कुरामा खटपट भइरहन्थ्यो । सत्यतथ्य त उसलाई आजसम्म थाहा छैन, न त उसले सोध्न नै सकेको छ । उमेर छउञ्जेल मम्मीका आँखा ओभानो देख्नै गाह्रो हुन्थ्यो उनीहरुलाई ।

स–साना कुरामा पनि झगडा गर्ने, मम्मीसँग नबोल्ने गर्नुहुन्थ्यो बाबा । उनीमाथि कुटपिट त कत्ति हो कत्ति । उसकी मम्मीले जति पीडा त सायदै कसैले भोगेको छ होला जीवनमा । अरुले त लोग्नेले दिएको पीडा सहन बाध्य हुन्छन्, किनकि उनीहरु आर्थिक हिसाबले परनिर्भर हुन्छन् । तर उसकी मम्मीले त शिक्षित हुँदाहुँदै, आफ्नो खुट्टामा उभिँदा उभिँदै पनि बाबाको अत्याचार सहनु परेको थियो ।

आफ्नो अतितबाट वर्तमानको धरातलमा टेक्नासाथ उसका नजरले बाबालाई पछ्याए । उनी बाबा हुन्, उसका जन्मदाता । चाहिएको माया दिएकै हुन्, उसलाई पनि माया लाग्छ बाबाको । जवान हुँदा सायदै उहाँले सोच्नुभएको थियो, उहाँका दिन पनि ढल्नेछन् एकदिन । बुढो हुनुहुनेछ । बुढेसकालमा त्यही श्रीमतीले रात–दिन सेवा गर्नुपर्नेछ । यति सोचिदिनु भएको भए उहाँले आफू जवान हुँदा स्वास्नीलाई धरधरी रुवाउनु हुने थिएन होला । अचम्मको कुरा त यो छ कि उहाँ अहिले पनि मम्मीप्रति अनुग्रहित भएजस्तो देखिनुहुन्न । मानौँ उहाँको सेवा गर्नु मम्मीको कर्तव्य नै हो । आफूले सकेको कुरामा मद्दत गर्नु पनि आवश्यक नभएजस्तो गर्नुहुन्छ । गरिहाले पनि आफूलाई मन लागेको बेलामा मात्र । जवानीमा खुसी दिन नसके पनि बुढेसकालमा त साथीजस्तो हुनुपर्ने हो । तर अहँ ! उहाँमा पश्चात्तापको एक अंश पनि देखिन्न । पितृसत्तात्मक समाजमा हुर्किनुको असर यही होला सायद मृत्युशैय्यासम्म पनि नारीमाथि हैकम चलाउनु पर्ने सोच ।

त्यही समाजमा हुर्किएकोले ऊ आफैँमा पनि यसका थुप्रै असरहरु त छन् । कतै आफ्नी श्रीमतीलाई पनि चोट पर्ने हर्कत उसले गरेको त छैन ? उसले मनन् गर्यो । उसले पनि आफ्नो मुड चलेको बेलामा मात्र घरको काममा सघाउँछ । उसको मुड नचल्दा त उसकै श्रीमतीले सबै सम्हाल्नु पर्छ । यस्ता धेरै कुरामा उसले आफूलाई सुधार्नु पर्ने देख्यो । माया गर्छु भनेर मात्र कहाँ हुन्छ र ? व्यवहारमा पो देखाउनु प¥यो । उसले अन्जानमा नै श्रीमतीमाथि अत्याचार गरिरहेको रहेछ अमेरिकामा बसेर पनि । उसले मनमनै आफ्नो गल्ती स्वीका¥यो । जब ऊ आत्ममुल्याङ्कनमा व्यस्त थियो मम्मीले भान्छाबाटै सोध्नुभयो ।

“बिपुल ! के बनाइदिउँ तिमीलाई बेलुकाको खानामा ?”

मम्मीको पकवानभन्दा पनि मिठो त यो प्रश्न थियो । आफ्नो तमाम समस्याका बाबजुद परिवारकै लागि सोच्ने उसकी आमाको यो गुण अरु दिनभन्दा पनि विशेष लाग्यो । त्यसपछिका दिन उसले सधैँ भान्छामा मम्मीको सहयोग ग¥यो । खाना पकाइदिँदा मात्र पनि मम्मीको आधी काम हलुका हुनेरहेछ । जाडो महिना भएकाले सधैँ मम्मीबाबालाई तेल मालिस गर्ने काम पनि उसैले ग¥यो । आफू नेपाल रहेसम्म मम्मीलाई सहयोग गर्ने उसले भित्रभित्रै सङ्कल्प गरेको थियो ।

फेरि फर्केर अमेरिका गएपछि यो सम्भव हुनसक्ने थिएन । त्यहाँको व्यस्त जीवनमा त आफ्नै श्रीमतीलाई दिने समय हुँदैन ऊसँग । कति त लगातार मम्मीलाई सपनामा देखेर पनि उसले आमासँग भिडियो कल गर्ने समय निकाल्न नसकेका दिनहरु पनि छन् । बाबासँग भन्दा सानैदेखि उहाँसँग निकट भएकाले पनि ऊ धेरैजसो मम्मीकै सपना देख्थ्यो । मम्मीलाई अघिल्तिर देख्न मन लाग्थ्यो तर सम्भव हुँदैन थियो । आमा मिस भएको कुरा श्रीमतीलाई भन्न पनि अप्ठ्यारो । रिसाउने हो वा गिज्याउने हो कि भनेर सोच्नुपर्ने ।

भएको एउटै दिज्जु पनि विवाह गरेर गएपछि मम्मी–बाबा मात्रै घरमा बस्नुहुन्छ । उनीहरुकै भविष्य उज्ज्वल होस् भनेर रात–दिन मिहेनत गरेको कुरा मम्मीले भनिरहनुहुन्थ्यो । तर, जब उनीहरुका पखेँटा लागे उनीहरु त्यही गुँडमा बसिरहन कहाँ सके र ? उडेर आ–आफ्नो गन्तव्य छुट्टयाएर बाटो लागिहाले । अनि त घरमा मम्मी र बाबामात्र हुनुभयो । बाबा जागिरबाट निवृत्त हुनुभए पनि मम्मी कहिल्यै निवृत्त हुनुभएन । बिपुल सोच्दैछ ।

नारीहरुले त मृत्युपछि मात्रै अवकाश पाउने रहेछन् । मम्मी–बाबाबीच उमेरको खासै अन्तर छैन । विगतमा बाबाले दिएका हरेक दुःखका बाबजुद मम्मीले कुनै पूर्वाग्रह राख्नुभएन । आफ्नो उमेर ढल्केपछि पनि बाबाको कसरी स्याहारसुसार गर्न सक्नुभएको होला ? बाबाको ठाउँमा मम्मीले गल्ती गरेको भए त ठूलो सजाय पाउने पक्का थियो । महिलालाई त परिवारले मात्र होइन समाजले नै सजाय दिन अघि सर्छ ।

नेपाल फर्केदेखि नै बिपुलका मनमा यता कुराहरु खेल्न थालेका छन् । जति जति मम्मीप्रति सामिप्यता बढ्दैछ, उनीप्रति सम्मान पनि बढ्दैछ । उहाँले सबथोक सहेर नबस्नु भएको भए उसको र दिज्जुको जीवन यति सुखमय कहाँ हुन्थ्यो र ? परिवार पहिल्यै बिखण्डन भइसक्ने थियो । आफूहरुको लागि मम्मीको बलिदान सानो पटक्कै थिएन ।

उसको फर्कने दिन पनि आयो तर उसलाई पटक्कै आमालाई छोडेर जाने मन थिएन । सानो बालकले झैँ आमाको वरिपरि घुमिरह्यो ऊ ।

निकैबेरपछि उसले मम्मीसँग भन्यो, “मम्मी मलाई योपटक फर्कने मनै छैन । हजुरहरुलाई यस्तो हालतमा कसरी छोडेर जाऊँ ?”

“त्यसो नभन बाबु, तिम्री स्वास्नी उतै छ, तिमीले उसकै लागि पनि जानु पर्छ । लोग्नेस्वास्नी त सधैँ मिलेर सँगै बस्नुपर्छ । लामो समय छुट्टिएर बस्नु राम्रो होइन । यताको चिन्ता नलेऊ । आफ्नी बुढीलाई सधैँ माया गर्नु । स–सानो कुरामा अहं नराख्नु । सबै काममा सहयोग गर्नु । विशेषगरी बिरामी पर्दा हेरविचार गर्नु, त्यस्तोबेलामा काम भनेर अफिसतिर कुद्नुभन्दा बिदा लिएर घरै बस्नु । पैसाभन्दा पनि सम्बन्धमा विश्वास कमाउनु । पछिसम्म साथै रहने भनेको लोग्नेस्वास्नी नै हुन् । कहिल्यै नैतिक पतन हुने र उसको मन दुख्ने काम नगर्नु ।”

मम्मीका यी वाक्याशंहरु उनका आफ्नै मनबाट निस्किएका उद्गारहरु थिए । एउटी महिलाका रुपमा उनका अपेक्षाहरु शब्दका रुपमा प्रस्फुटन भएका थिए । आफ्नो समयमा पीडामै बाँचेकीले पनि होला, उहाँको सोच महान् लाग्यो । आफूलाई बिपुलका गला अवरुद्ध भए । रोक्न खोज्दाखोज्दै ऊ भक्कानियो । बाबाले दिएका चोटहरु उनको मनमा अझै शेष रहेछन् । कसरी मनमा गुम्स्याएर बाँच्न सक्नुभएको होला ? मम्मीलाई अङ्गालेर धेरैबेर रोयो ऊ ।

फूलमाला र टिकाले रङ्गिएर एयरपोर्ट जाँदै गर्दा उसको मन स्थिर थिएन । बाबाजतिकै निष्ठुरी त ऊ कहिल्यै हुन सक्दैन । विवाह गरेर भित्र्याएको श्रीमतीलाई दुःख दिने त ऊ सोच्न पनि सक्दैन । उनलाई सधैँ माया र साथ त दिने नै छ । बरू मम्मीलाई चाहिँ कसरी खुसी राख्ने भनेर ऊ सोचमग्न भयो । अब अमेरिका फर्कनासाथ मम्मी–बाबालाई उतै बोलाउन प्रोसेस गर्र्ने योजना बुन्यो उसले । मम्मी–बाबालाई मन लागुञ्जेल उतै राखेपछि ऊ पनि नेपाल फर्कनेछ सदाका लागि । बुढाबुढी भइसकेका मम्मीबाबालाई कदापि अलपत्र छोड्ने छैन । जवानीजति आँसु र सङ्घर्षमै बिताए पनि मम्मीले अवकाशपछिको जीवन परिवारसँग हाँसीखुसी बाँच्न पाउनै पर्छ । उसले सङ्कल्प गर्यो ।