रु र रू मा झुक्किनुहुन्छ ? आउनुहोस् द्विविधा निवारण गरौँ ।

१. रु (ह्रस्व) र रू (दीर्घ) का सम्बन्धमा अधिकतर प्रयोगकर्ता द्विविधामा परेको देखिन्छ । कतिपयलाई त यी दुईबीच भेद छ भन्ने पनि थाहा नहुन सक्छ ।

२. रु र रू को प्रयोग हुने शब्दहरूलाई पहिचान गरी ध्यान दिएर प्रयोग गरेमा द्विविधा हट्तै जान्छ ।

क. रु को प्रयोग

– रु को प्रयोग नेपालीमा अव्यय जनाउने शब्द, पुंलिङ्गी शब्द र नपुंसकलिङ्गी शब्दमा प्रयोग भएको पाइन्छ ।

जस्तैः बरु, गुरु, सरुवा, तरुल, तरु (रुख) आदि ।

-नेपाली धातु वा क्रियापदमा रु प्रयोग गरिन्छ ।

जस्तैः रुनु, रुझ्नु, रुँदै, रुँग्नु आदि ।

-रुपैयाँ, रुघा, रुवा, रुई आदि ।

ख. रू को प्रयोग

रू को प्रयोग निम्नाङ्कित शब्दहरूमा गरिन्छ :

-नेपालीमा बहुवचन जनाउन प्रयोग गरिने “हरू”

-अन्य भन्ने अर्थमा प्रयोग हुने “अरू”

-संस्कृतको “रूप” र यसैबाट बन्ने शब्दमा = रूप, रूपसी, रूपक, रूपेण, रूपान्तर, रूपा, सरूप आदि ।

-स्त्रीलिङ्गी नाममा जस्तैः सरू, पारू, चारू आदि ।

-नेपाली क्रियापदमा जस्तैः = गरूँ, भरूँ, छरूँ, मरूँ आदि ।

दीर्घ रू हुने शब्दमात्रै ध्यान दिन सके बाँकीमा ह्रस्व प्रयोग गर्न गाह्रो हुँदैन ।

कवीन्द्र लम्साल

केही संयुक्त वर्णबारे जानकारी

१. द्य = द् + य (यसको उच्चारण ध्य होइन)

जस्तैः विद्या, विद्यमान, विद्यालय आदि ।

२. द्द = द् + द

जस्तैः उद्देश्य, रद्द, रद्दी आदि ।

३. द्ध = द् + ध (तल झुन्डिएको अक्षर पूर्ण हुन्छ)

जस्तैः बुद्ध, बुद्धि, सिद्धि, सिद्धान्त आदि ।

४. द्व = द् + व

जस्तैः द्वारा, द्वार, विद्वान्, द्वन्द्व आदि ।

५. क्ष = क् + ष (कक्ष)

६. ज्ञ = ज् + ञ (ज्ञान)

७. द्म = द् + म (पद्म)

८. क् + रि = क्रि (क्रिया, क्रियाकलाप आदि)

९. क् + ऋ = कृ (कृष्ण, कृषि आदि)

रि र ऋ फरक हुन् ।

१०. स्र = स् + र (स्रोत)

११. श्र = श् + र (श्रावण)

नेपाली भाषामा विवादरहित विषय

  • तत्सम शब्दका सन्दर्भमा

नेपाली भाषाको माउभाषा संस्कृतभाषा हो । नेपाली भाषामा साठीदेखि सत्तरी प्रतिशत शब्द तत्सम छन् । संस्कृतबाट रूप परिवर्तन नभई जस्ताको तस्तै नेपालीमा आएका शब्दलाई तत्सम भनिन्छ । संस्कृत व्याकरण पाणिनिको अष्टाध्यायीमा उल्लिखित व्याकरणसूत्रासार चल्ने भएकाले संस्कृतभाषामा कुनै विवाद हुँदैन । यस सन्दर्भमा तत्सम शब्दका हकमा नेपाली भाषाविद्हरूमा पनि कुनै मतभेद छैन अर्थात् तत्सम शब्दलाई नेपालीमा समेत संस्कृत व्याकरणकै नियमानुसार लेखिन्छ ।

उदाहरणका लागि : शिव, विष्णु, गणेश, हरि, पार्वती, लक्ष्मीजस्ता ईश्वर वा भगवान्‌का नाम जस्ताको तस्तै
लेखिन्छ । त्यसैगरी तत्समका रूपमा परीक्षा-परीक्षण-निरीक्षण-सुपरिवेक्षण-राष्ट्र-देश-आकाश-विद्यालय-कार्यालय-संसद्-न्यायालय-न्यायाधीश-अवहेलना-हर्ष-रोदन-प्रेम-अनुराग-देवता-सञ्चालन-परिचालन-विभेद-अपेक्षा-ज्ञान-ध्यान-विश्राम-ऋषि आदि तत्सम हुन् ।

तत्सम शब्दहरूको उचित पहिचानका लागि मूलतः शब्दमा प्रयोग भएका श-ष-ञ-ण-क्ष-ज्ञ जस्ता अक्षरलाई ख्याल गर्न सकिन्छ ।

  • क्रियापदका सम्बन्धमा

केही अपवादबाहेक नेपाली भाषामा क्रियापदसँग सम्बन्धित विषयमा विवाद देखिँदैन । नेपालीमा पनि क्रियापदलाई जस्तो उच्चारण गरिन्छ त्यस्तै लेखिन्छ ।

उदाहरणका लागि :

  • छन्, हुन्, हस्, होस्, गर्नुहोस्, लेख्नुहोस्, आओस्, जाओस्, गरोस्, गरून्, भनून्, देखून् जस्ता क्रियापद अन्त्यमा हलन्त (खुट्टा काटेर) लेखिन्छ ।
  • निम्न आदरार्थी क्रियापदमा पनि हलन्त लेखिन्छ । गर्, हिँड्, भन्, लेख् आदि । तँ गृहकार्य गर् । घर गइहाल् ।
  • मध्यम आदरार्थी क्रियापदमा हलन्त लेखिँदैन । अजन्त लेखिन्छ । गर, हिँड, भन, लेख आदि । तिमी गृहकार्य गर । तिमी घर गइहाल ।
  • उच्च आदरार्थी क्रियापदमा प्रयोग हुने प्रत्यय “नुहोस्” जोडिन्छ । तपाईँ गृहकार्य गर्नुहोस् । हजुर घर गइहाल्नुहोस् ।
  • मध्यम आदरार्थी क्रियापदका अन्तमा उकार आएमा दीर्घ लेखिन्छ । तिमी आऊ । घर जाऊ । लेख्न लगाऊ । काम छिटो सिध्याऊ ।

नेपाली भाषामा रहेका केही भ्रम

  1. स्त्रीलिङ्गी शब्दका अन्त्यमा दीर्घ लेखिन्छ ।

यो मान्यता आधा सत्य र आधा असत्य हो । नेपाली मूल शब्द, तद्भव वा आगन्तुक नेपाली शब्दका हकमा यो नियम लागू हुन्छ ।

उदाहरणका लागि : दिदी-बहिनी-माइजू-फुपू-राम्री-काली-सानी-प्यारी-साली आदि ।

तर तत्सम शब्दका हकमा यो नियम लागू नहुन सक्तछ । स्त्रीलिङ्गी भए तापनि निम्नाङ्कित शब्दहरू अन्तमा ह्रस्व नै हुन्छन् (निश्चित प्रत्यय लागेर बनेका हुनाले) ।

  • स्मृति
  • कृति
  • प्रकृति
  • सृष्टि
  • दृष्टि
  • शक्ति

“म स्त्री हुँ । त्यसैले मेरो नाम त स्मृती/कृती हुनुपर्छ” भन्ने भ्रम नपाल्नुहोला ।

अन्तमा दीर्घ हुने तत्सम स्त्रीलिङ्गी शब्दहरू : देवी-पार्वती-उर्वशी-परी-लक्ष्मी-नारी आदि ।

केही शब्द निर्माण प्रक्रिया

  • कवि+इन्द्र = कवीन्द्र (इ+इ = ई)
  • सु+दीक्षा = सुदीक्षा
  • सत्+इच्छा = सदिक्षा (सन्धि हुँदा त् द् मा परिणत)
  • वि+परि+इत = विपरीत (इ+इ = ई)
  • सत्+कर्म = सत्कर्म (वर्णको प्रथम र द्वितीय अक्षरमा त् परिणत नहुने)
  • सत्+विचार = सद्‍विचार
  • सत्+भाव = सद्‍भाव
  • सत्+मार्ग = सन्मार्ग
  • जगत्+ईश्वर = जगदीश्वर
  • ऋक्+वेद = ऋग्वेद
  • वाक्+ईश्वर = वागीश्वर
  • परि+ईक्षा = परीक्षा..परीक्षण
  • निर्+ईक्षण = निरीक्षण
  • नमस्+कार = नमस्कार
  • नमस्+ते = नमस्ते (ते भनेको संस्कृतमा “तिमीलाई” हो ।)

जानिराखौँ !

०भएकोले/गरेकोले आदि

भएकाले/गरेकाले (कारण : तिर्यक् कारक । एकवचन र बहुवचन सबैमा लागू हुने)

० गर्नको लागि/निम्ति

गर्नका लागि/निम्ति (लागि/निम्ति भन्दा अगाडि सधैँ का (आकार) प्रयोग गर्ने)

० सधन्यवाद सहित

सधन्यवाद वा धन्यवाद सहित (स ले सहितलाई नै जनाउँछ)

० यो कार्यालयको

यस कार्यालयको

जाँच्नका लागि : यो (कार्यालय) को = योको (मिल्दैन)

यस (कार्यालय) को = यसको (मिल्दछ) ।

आउनुहोस् केही सिकौँ र सिकाऔँ :

व्य कि ब्य भन्ने सम्बन्धमा

-धेरैजना यसमा झुक्किनुहुन्छ । यसलाई सम्झने सजिलो तरिका छ : नेपाली शब्दका रूपमा प्रयोग हुने तत्सम शब्दमा “ब्य” को प्रयोग भेटिँदैन । तसर्थ निर्धक्ककासाथ “व्य” को प्रयोग गर्न सकिन्छ ।

–दिव्य, व्यवहार, व्यस्त, व्यर्थ, व्यवसाय, व्यवधार, एकलव्य, व्यापार, व्यायाम आदि ।

तर

तत्सम (कुनैकुनै), नेपाली शब्द वा तद्भव शब्दका हकमा ब्य/ब्या प्रयोग गर्ने ।

जस्तैः ब्याउनु, ब्याज आदि ।

नझुक्किनुहोला !

अनविज्ञ

अनभिज्ञ

सर्भेक्षण

सर्वेक्षण

इकाइ

एकाइ

पुनर्स्थापना

पुनःस्थापना

धेरैले गल्ती गर्ने विषय !

बोल्नको लागि (अशुद्ध)

बोल्नका लागि (शुद्ध)

जानकारीका लागि,

“लागि/निम्ति” भन्दा अगाडि सधैँ आकार लगाउने ।

गर्नका लागि, मेरा लागि, तिम्रा लागि आदि ।

यो देशमा (अशुद्ध)

यस देशमा (शुद्ध)

शब्दमा विभक्ति लागेमा सोभन्दा अगाडि आउने “यो” चाहिँ “यस” मा परिणत हुन्छ ।

उदाहरणका लागि,

यो देश = यस देशमा, यस देशको, यस देशले आदि ।

पञ्चम वर्ण, शिरबिन्दु तथा चन्द्रबिन्दुको प्रयोग

==पञ्चम वर्ण/अनुनासिक स्वर(ङ, ञ, ण, न, म)==

तत्सम शब्दका अधिकारमा:

क-वर्ग(क, ख, ग, घ वर्ण) का अगाडि ‘ङ्’ प्रयोगको गर्ने।(उदाहरण: अङ्क, सङ्ख्या, गङ्गा, सङ्घर्ष)

च-वर्ग(च, छ, ज, झ वर्ण) का अगाडि ‘ञ्’ को प्रयोग गर्ने। (उदाहरण: कञ्चन, लाञ्छना, सञ्जाल, झञ्झन)

ट-वर्ग(ट, ठ, ड, ढ वर्ण) का अगाडि ‘ण्’ को प्रयोग गर्ने। (उदाहरण: घण्ट, कण्ठ, दण्ड, षण्ढ)

त-वर्ग (त, थ, द, ध वर्ण) का अगाडि ‘न्’ को प्रयोग गर्ने। (उदाहरण: सन्तोष, कन्था, कन्द, अन्ध)

प-वर्ग (प, फ, ब, भ वर्ण) का अगाडि ‘म्’ को प्रयोग गर्ने। (उदाहरण: कम्पन, गुम्फन, लम्ब, दम्भ)

  • तद्भव र आगन्तुक शब्दका अधिकारमा भने अनुनासिक स्वरहरूमध्ये केवल ङ, न र म वर्णको प्रयोग हुन्छ। ञ र ण वर्णको स्थानमा ‘न’ नै लेख्नुपर्दछ। उदाहरण: भन्ज्याङ, सिमेन्ट, झन्डा, अन्डा, सन्चो, भान्जो आदि।

तद्भव र आगन्तुक शब्दमा पञ्चम वर्णको नियम लाग्दैन। जुनै पनि अनुनासिक स्वर जुनसुकै वर्गका शब्दअगाडि लाग्न सक्दछन्। उदाहरण: घन्काइ, सम्झना,मिङ्मा आदि।

==शिरबिन्दु==

तत्सम शब्दमा ‘य’ देखि ‘ह’ वर्णका अगाडि ‘म्’ उच्चारण भएमा शिरबिन्दुको प्रयोग हुन्छ। उदाहरण: संयोग, संलग्न, संसार, वंश आदि। ‘ज्ञ’ को अगाडि भने ‘ङ’ को उच्चारणमा शिरबिन्दुको प्रयोग हुन्छ। उदाहरण: संज्ञा।

प्रायः ‘ङ’ को स्थानमा शिरबिन्दु लगाइएको पाइन्छ। जस्तै: अंक, संघर्ष आदि। तर यी शब्दहरू अशुद्ध हुन्।

==चन्द्रबिन्दु==

यदि शब्दको कुनै पनि अक्षरमा नाकको उच्चारण आएमा त्यहाँ चन्द्रबिन्दुको प्रयोग गर्ने। कतिपय ठाउँमा चन्द्रबिन्दुको स्थानमा शिरबिन्दु लगाइने गरेको पाइन्छ। जस्तै: चाहिं, छौं, भैंसी आदि। तर यस्ता शब्दहरू अशुद्ध हुन्।

ह्रस्व-दीर्घ कसरी जान्ने ?

तत्सम शब्दमा “ति/टि/धि/नि/मि” प्रत्यय लाग्दा ह्रस्व हुने

-स्मृति/नीति/ध्वनि/विधि/भूमि/सृष्टि/दृष्टि/स्फीति/स्थिति/गति/क्षति/रीति/प्रकृति/कृति आदि ।

नेपाली इच्छार्थक क्रियापदका अन्तमा दीर्घ हुने (साथै चन्द्रविन्दु पनि हुने)

  • लेखूँ/भनूँ/गरूँ/दिऊँ/लिऊँ/पाऊँ/जाऊँ आदि । जस्तैः म कविता लेखूँ । म देशलाई माया गरूँ । (म सर्वनामका हकमा)
  • लेखौँ/भनौँ/जाऔँ/खा‌औँ आदि बहुवचनमा प्रयोग हुने । हामी कविता लेखौँ । हामी देशलाई माया गरौँ ।

कसैलाई आदेश दिँदा अथवा आग्रह गर्दा क्रियापदका अन्तमा दीर्घ हुने

  • तिमीले भनेको मान्नू । मैले भनेको काम गर्नू । भ्रष्टाचार नगर्नू । मलाई कमल ल्याइदिनू । एकपटक सत्य कुरा भनिदिनू ।
  • तिमी घर जाऊ । तिमीले प्रशस्त पानी खाऊ (पिउने अर्थमा) । पढाइमा ध्यान लगाऊ ।
  • “ईन/ईण” प्रत्यय लागेका तत्सम शब्द दीर्घ हुने

–नवीन-शालीन-तत्कालीन-ग्रामीण-सर्वाङ्गीण आदि ।

  • स्मरणार्थ : जमिन आगन्तुक शब्द हो, जसमा ह्रस्व प्रयोग गरिन्छ ।
  • “ईक्षा/ईक्षण” प्रत्यय जोडिँदा दीर्घ हुने

–परीक्षा-समीक्षा-प्रतीक्षा-परीक्षण-निरीक्षण आदि ।

  • “र्ण/र्ति/र्व” भन्दा अगाडि आउने इकार वा उकार धेरैजसो दीर्घ हुने

-सम्पूर्ण/पूर्ण/पूर्व/जीर्ण/विदीर्ण/सङ्‍कीर्ण/मूर्ति/पूर्ति/ऊर्जा आदि ।

  • “शील” प्रत्यय लागेका शब्द

-लगनशील, उत्थानशील, ऊर्जाशील, कार्यशील, क्रियाशील आदि ।

(तपसिल आगन्तुक शब्द हो जसमा शील प्रत्यय लागेको होइन ।)

  • इक प्रत्यय लागेका शब्द ह्रस्व हुने

–सामाजिक, शारीरिक, आकस्मिक, जैविक, मानसिक, व्यावहारिक, व्यावसायिक आदि ।

#स्मरणार्थ अपवादका रूपमा = प्रतीक र निर्भीक ।

  • इत प्रत्यय लागेका शब्द ह्रस्व हुने

-शिक्षित, लक्षित, इच्छित, जीवित, पीडित आदि ।

तर विपरीत = वि+परि+इत (इ+इ = ई)

तत्सम शब्द कसरी चिन्ने ?

संस्कृतबाट नेपालीमा जस्ताको तस्तै आएका शब्दलाई तत्सम शब्द भनिन्छ । यस्ता शब्द पहिचान गर्ने केही आधारहरू देहायबमोजिम छन् :

१. अन्य वर्णका साथै तत्सम शब्दमा “श, ष, ज्ञ, ञ, ण, क्ष, ऋ” जस्ता अक्षरहरूको प्रयोग गरिएको देख्न सकिन्छ ।

उदाहरणका लागि :

शब्द-शुद्ध-शुद्धीकरण-शोध-शौचालय-संशोधन-दोष-शोषण-विशेषता-शैल-शेष-शिशिर-शृङ्खला-षोडशी-षष्ठी-दश-देश-राष्ट्र-ज्ञान-यज्ञ-सञ्चालन-प्रदेश-परदेश-सञ्चालन-सञ्जाल-सन्तोष-दण्ड-देवर्षि-ऋण आदि ।

२. “वि” प्रयोग भएका अधिकतर शब्द

विकास-विनाश-विरोध-विकार-विशेषता-विशेषण-विभिन्न-संविधान-विधान-विधि-विधाता-प्रविधि-प्रवीण-विद्या-विज्ञान आदि ।

३. ष्य/श्य प्रयोग भएका शब्द

उद्देश्य, दृश्य, भविष्य, सादृश्य आदि ।

४. “व्य” लागेका शब्द

व्यय, व्यवहार, व्यवधान, व्यक्त, व्यक्ति, व्यापार, व्यवस्था, व्यवस्थापन, व्यवस्थापिका, व्यवसाय आदि ।

शुद्धाशुद्ध शब्दहरू 

अशुद्ध रूप शुद्ध रूप अतिरिक्ति विवरण अशुद्ध रूप शुद्ध रूप अतिरिक्ति विवरण
संसद संसद् “सम्” उपसर्गमा “सद्” लाग्दा “संसद्” बन्दछ ।

-परिषद्/मन्त्रिपरिषद् (अवस्थानुसार सद् –षद् हुन सक्ने)

नागरिक्ता नागरिकता नागरिक+ता

(नागरिक् भएको भए नागरिक्ता हुन्थ्यो ।)

संसदिय संसदीय “ईय” प्रत्यय लागेका अधिकांश शब्द दीर्घ ई हुन्छन् ।

आत्मीय/नवीकरणीय/पूज्यनीय

/माननीय/सम्माननीय/क्षेत्रीय/वर्गीय/वातावरणीय/अद्वितीय/ गोपनीय/केन्द्रीय/स्थानीय आदि

अपवाद “राष्ट्रिय, निष्क्रिय, इन्द्रिय, सक्रिय आदि”

संचार, वंचित, संचालन, संचित सञ्‍चार च वर्ग (चछजझञ) भन्दा अगाडि आउने शिरविन्दु ञ् मा परिणत हुने

शुद्ध रूप : वञ्चित/सञ्चालन/सञ्चित आदि

सुनुवाई सुनुवाइ सुन्+वाइ सामाग्री सामग्री
समिती समिति सम्+इति विधुत् विद्युत् विद्युत्+ईय = विद्युतीय
मन्त्रिपरिषद मन्त्रिपरिषद् सम्वृद्धि समृद्धि सम्+ऋद्धि = समृद्धि
आत्मानिर्भर आत्मनिर्भर आत्मा एक्लै आउँदा “आत्मा” नै हुन्छ तर अन्य शब्दसँग जोडिँदा प्रायः “आत्म..” भएर आउँदछ । जस्तैः आत्मपुकार, आत्मनिर्णय, आत्मज्ञान, आत्मग्लानी, आत्मसन्तुष्टि आदि ।
सिद्दान्त सिद्धान्त स्वाधिनता स्वाधीनता स्व+अधीन+ता
अक्षुण अक्षुण्ण गोपनियता गोपनीयता ईय प्रत्यय
संचार, वंचित, संचालन, संचित सञ्‍चार.. च वर्ग (चछजझञ) भन्दा अगाडि आउने शिरविन्दु ञ् मा परिणत हुने

शुद्ध रूप  = वञ्‍चित, सञ्‍चालन, सञ्‍चत आदि

छैठौँ छैटौँ केन्द्रिकृत केन्द्रीकृत
द्धारा द्वारा द्+व = द्व अत्याधिक अत्यधिक अति+अधिक = अत्यधिक

इ+अ = य

इ+आ = या (इति+आदि = इत्यादि)

उद्धेश्य उद्देश्य द्+द = द्द बैधानिक वैधानिक विधान+इक
अध्यावधिक अद्यावधिक द्+य = द्य उल्लेखित उल्लिखित उत्+लिखित (लेखित नहुने)
बुद्द बुद्ध द्+ध = द्ध क्रियाशिल क्रियाशील “शील” प्रत्यय लागेका शब्द ।

लगनशील, प्रगतिशील, ऊर्जाशील, गतिशील, कार्यशील आदि

विध्या विद्या द्+य = द्य आधुनीकरण आधुनिकीकरण आधुनिक+करण
पृथकीकरण पृथक्‍करण पृथक्+करण

(मूल शब्द पृथक भएको भए पृथकीकरण हुन्थ्यो वा हुन सक्दथ्यो । तर शुद्ध शब्द पृथक् हो ।)

इकाइ /इकाई एकाइ हिन्दीमा “1” लाई “इक” समेत भनिने प्रचलनले “इक+आइ = इकाइ” हुन पुगेको हो तर नेपालीमा विशुद्ध “एक” हो र “एक+आइ = एकाइ” नै शुद्ध रूप
हुन्छ ।
भनाई भनाइ

(तिम्रो भनाइ उचित लाग्यो ।)

“आइ” प्रत्यय लागेका शब्दले भाववाचक संज्ञाको बोध गराउने  ।

लेखाइ/गराइ/सोधाइ/खुवाइ/चौथाइ/तिहाइ/एकाइ आदि ह्रस्व इकारान्त

तर स्त्रीलिङ्गी भूतकालिक क्रियापदको हकमा दीर्घ ईकारान्त हुन्छन् ।

गराई = गराउने काम गरी (कुनै स्त्रीले)

लेखाई = लेखाउने काम गरी ।

तिम्रो लेखाइ निकै राम्रो छ ।

दिदीले भाइलाई कविता लेखाई वा लेख्‍न लगाई ।

स्वभाविक स्वाभाविक स्वभाव+इक हुँदा प्रथम स्थानको “अ” गुणवृद्धि भई “आ” बन्दछ ।

व्यवहार+इक = व्यावहारिक

व्यवसाय+इक = व्यावसायिक

समाज+इक = सामाजिक आदि

शिक्षीत शिक्षित “इत” प्रत्यय ह्रस्व हुने ।

जीवित/प्रभावित/सञ्‍चित/पीडित/दीक्षित आदि

तर “विपरीत” = वि+परि+इत हुँदा “परि” मा भएको रि (र्+इ) र इत को इ = इ+इ = ई हुने भएकाले विपरीत दीर्घ हुन पुगेको ।

अतीत/प्रतीत/व्यतीत (जस्तैः अति+इत)

थप जानकारी

कवि+इन्द्र = कवीन्द्र

रवि+इन्द्र = रवीन्द्र

परि+ईक्षा = परीक्षा

प्रति+ईक्षा = प्रतीक्षा

सम्+ईक्षा = समीक्षा (म्+ई = मी) ।

न्यायधिश न्यायाधीश न्याय+अधीश = न्यायाधीश जगदिश जगदीश जगत्+ईश = जगदीश
उपध्यक्ष उपाध्यक्ष उप+अध्यक्ष = उपाध्यक्ष आव्हान आह्‍वान व्+ह = व्ह, ह्+व = ह्‍व/ह्व
सभापती सभापति मनोनित मनोनीत
मुल्यांकन मूल्याङ्‍कन वा मूल्याङ्कन प्रकृया प्रक्रिया/प्रक्रिया क्+ऋ = कृ

क्+रि = क्रि/क्रि

परिक्षण परीक्षण परि+ईक्षण = परीक्षण

निर्+ईक्षण = निरीक्षण

हरु हरू अरू/हरू/रूप आदि

बरु/गुरु आदि

सर्भेक्षण सर्वेक्षण अङ्ग्रेजीको सर्भे (Survey) को प्रभाव । सर्भेलाई नै सर्भेक्षण मानेर अशुद्ध लेख्न चलन
बसेको ।
प्रकाशित गरिएको प्रकाशन  गरिएको “प्रकाशित” शब्दले आफैँ “प्रकाशन गरिएको” भन्ने जनाउँदछ ।
त्यहि त्यही सामान्यतः अन्तिममा आउने “ही” दीर्घ नै हुन्छ ।

कोही/त्यहीँ/यहीँ/यही/सही/ सोही/दही/कारवाही/लापरवाही/तानाशाही

अपवाद “चाहिँ” । “चाहिँ” शब्द अव्यय (रूप नफेरिई सदा एकनास रहने शब्द) भएकाले ह्रस्व लेखिएको ।

समावेशिकरण समावेशीकरण अन्तिममा करण भएमा त्योभन्दा अगाडि आउने इकार दीर्घ (ईकार)      हुन्छ ।

नवीकरण, विकेन्द्रीकरण, प्रवाहीकरण, शुद्धीकरण, शून्यीकरण आदि ।

अपवाद : अधिकरण, प्राधिकरण, न्यायाधिकरण

दिंदै

(शिरविन्दु लागेको)

दिँदै

(चन्द्रविन्दु लागेको)

शिरविन्दु र चन्द्रविन्दुबीचको भेद

 

दिंदै = दिन्दै जस्तो हुन्छ ।

(शिरविन्दुले ठाउँ अनुसार न्, ङ्, म् को काम गर्दछ तर चन्द्रविन्दुको सट्टामा शिरविन्दु प्रयोग गर्नु वाञ्छनीय हुँदैन । अशुद्ध हुन्छ ।)

दिँदै = शुद्ध रूप ।

त्यसै गरी गरिँदै, लेखिँदै, सुनिँदै आदि ।

धैर्यता धैर्य वा धीरता धीर+य = धैर्य

धीर+ता = धीरता

(य र ता दुवै प्रत्यय हुन् । यी प्रत्यक्ष शब्दमा एकैपटक लाग्दैनन् ।)

सुचना सूचना सूचित, सूचीकृत
सौन्दर्यता सौन्दर्य वा सुन्दरता एवं रीतले….. त्रुटी त्रुटि अन्य शुद्ध रूप : सृष्टि, दृष्टि, सन्धि, प्रीति आदि
औचित्यता औचित्य उचित+य = औचित्य बर्ष वर्ष
सामीप्यता सामीप्य गोपनियता गोपनीयता ईय प्रत्यय
स्वीकार्यता स्वीकार्य जिम्मेदारी जिम्मेवारी
विहान बिहान मनोनित मनोनीत/मनोनयन गरेको