साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म भात पकाउँछु, चामल पकाउँदिनँ

संसारका प्रत्येक भाषाका आआफ्नै विशेषता हुन्छन् । कतिपय विशेषता अन्य भाषासँग समेत साझा हुन सक्तछन् भने कतिपय विशेषता नितान्त मौलिक हुन्छन् । प्रस्तुत लेखमा नेपाली भाषाका रमाइला विशेषताका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ ।

Chovar Blues Mobile Size

संसारका प्रत्येक भाषाका आआफ्नै विशेषता हुन्छन् । कतिपय विशेषता अन्य भाषासँग समेत साझा हुन सक्तछन् भने कतिपय विशेषता नितान्त मौलिक हुन्छन् । प्रस्तुत लेखमा नेपाली भाषाका रमाइला विशेषताका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ ।

कवीन्द्र लम्साल

१. चामल पकाउने कि भात पकाउने ?

व्यावहारिक रूपमा चामल पकाइन्छ तर भाषिक रूपमा हामी चामल नभई भात पकाउँछौँ । हामी भात पाक्यो ? भनेर सोध्छौँ तर चामल पाक्यो भन्दैनौँ । अतः म भात पकाउँछु – चामल पकाउँदिनँ ।

२. घाम ताप्‍ने कि शीतल ताप्‍ने ?

sagarmani mobile size

हामी घाम ताप्छौँ । घाम ताप्छौँ नै भन्छौँ । यसमा अन्यथा केही छैन ।

तर रोचक पक्ष : हामी शीतल पनि ताप्छौँ । यहाँ साह्रै गर्मी भयो – हिँड, शीतल ताप्‍न पिपलका रुखमुनि जाऔँ ।

३. पानी पिउने कि खाने ?

  • संस्कृतसँग सामञ्‍जस्य हुँदा पानी पिइन्छ तर अधिकतर नेपाली भाषीले पानी खान्छन् । पानी पिउने निकै कम छन् । खाने पानी संस्थान छ तर पिउने पानी संस्थान छैन।
  • हामी चुरोट पनि खान्छौँ र कलेजो जलाउँछौँ । चुरोट पिउनेलाई औँलामा गन्न सकिन्छ तर चुरोट खानेलाई गन्नै सकिँदैन ।

४. हामी के के खान्छौँ?

  • भ्रष्टाचार हो भन्ने थाहा हुँदा हुँदै पनि तिमी किन घुस खान्छौ ? घुस खानाले प्रतिष्ठा, गरिमा र नैतिकतामा अर्बुद (क्यान्सर) लाग्दछ जसको उपचार कतै छैन ।
  • सङ्‍घर्ष गर्दा गर्दै यदाकदा हरेस खाइन्छ तर निराश हुनु हुँदैन ।
  • हामी सास फेर्न हावा लिन्छौँ तर काममा यदाकदा हावा खान्छौँ (प्रयास असफल हुनु)।
  • तरकारीमा सधैँ आलु मिसाएर खान्छौँ तर परीक्षामा पनि आलु खान्छौँ (अनुत्तीर्ण हुनु)।

५. नेपालीमा विमान मात्र उड्दैन, मान्छेको होस पनि उड्छ । बगैँचामा मात्र फूल फुल्दैन, जवानीमा पनि बैँस फुल्छ।

६. तिमी बेकारमा लड्छौ । बरु चुनाव लड । म बिहानै उठ्छु र निर्वाचनमा पनि उठ्छु ।

७. नेपाली भाषामा टोकाइ/आक्रमण गराइका अनेका रूप छन्। हेरौँ :

  • भालु र बाँदरले चिथोर्छन् ।
  • बँदेलले दार्छ ।
  • बाघ र सिंहले ङ्‍याक्छन् ।
  • जुम्रा, उपियाँ र उडुसले टोक्छन् ।
  • बारुला रअरिङ्‍गालले चिल्छन् ।
  • कुनै कमिलाले टोक्छन्, कुनैले चिल्छन् ।
  • यथार्थमा लामखुट्टे कानमा आएर कराउँदैन, बरु टुनाउँछ ।
  • सर्पले डस्छ पनि ठुङ्छ पनि ।
  • कुकुरले टोक्छ ।
  • चरा र कुखुराले ठुङ्‍छन् ।
  • जुकाले टोक्छ र चुस्छ ।

प्रस्तुत कथनहरू नेपाली भाषाका रमाइला विशेषताअन्तर्गतका उदाहरण हुन् । यस्ता विशेषताले भाषालाई रोमाञ्चक र रसपूर्ण बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछन् ।

लेखक परिचय

गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा जन्मनु भएका कवीन्द्र लम्साल पेसाले निजामती कर्मचारी हुनुहुन्छ। अङ्ग्रेजी र अर्थशास्त्रबाट स्नातक उत्तीर्ण गर्नुभएका उहाँ नेपाली भाषाप्रेमी हुनुहुन्छ। अनौपचारिक रूपमा लामै समयदेखि नेपाली लेखन शुद्धीकरण अभियानमा संलग्न रहनु भएका उहाँ २०७७ सालदेखि औपचारिक रूपमा यस अभियानमा लाग्नु भएको हो ।

प्रतिक्रिया
Loading...