कुनै समय दामोदर पाँडेको नेतृत्वको नेपाली सेनाले विजय प्राप्त गरेको सिक्किममा नेपाली समुदायको बसोबासको इतिहास लामो छ । तिब्बती मूलका सिक्किमे राजाले लामो समयसम्म शासन गरेको सिक्किमा नेपाली साहित्यको प्रवेश निक्कै पछि मात्रै भएको हो । असाममा बङ्गला र असमिया भाषामा म्याट्रिकसम्म दीक्षित अनि दार्जीलिङ हुँदै सिक्किमको नाम्ची अनि राजधानी गान्तोक पुरेर शिक्षण पेशा अपनाएका २४ वर्षीया तुलसीबहादुर छेत्रीको सिक्किम प्रवेशपछि मात्रै नेपाली साहित्यले मुर्तरुप लियो, त्यो बिरानो मुलुकमा।
सानैमा धरणीधर कोइरालाको नैवेद्य र भानुभक्तको रामायण पढेर नेपाल साहित्यप्रति आकर्षित भएका तुलसीबहादुर छेत्री सिक्किम प्रवेश गर्नुअघि नै साहित्यिक लेखनमा अभ्यस्त भइसकेको थिए । सन् १९४३ मा काशीबहादुर श्रेष्ठद्वारा सम्पादित उदयमा म सक्छु कविता प्रकाशित गरेर साहित्यमा प्रवेश गरेका छेत्री गान्तोकसम्म आइपुग्दा साहित्यको निम्ति केही गर्नुपर्छ यो बिरानो मुलुकमा भनेर हुटहुटी चलिसकेको थियो उनीभित्र । त्यसैले तीन जना मन मिल्ने साथीहरुसँग मिलेर ११ अप्रिल, सन् १९४७ मा स्थापना गरे अपतन साहित्य परिषद् ।
अगमसिंह तामाङ, पदमबहादुर सुब्बा, तुलसीबहादुर छेत्री र नीमा बाङदी तार्गेन लाप्चे मिलेर बनेको अपतन समूहले आफ्ना गतिविधिहरु गोप्यरुपमा राखेर साहित्य सिर्जना गरिरहे । उनीहरुले लेखेको कविताहरु हस्तलिखित पत्रिका अमूल्य रत्न र फुलबारीमा अपतनको नाममा छापिइरहे । ९ अक्टोबर १९४७ मा मात्रै एउटा औपचारिक सभामार्फत् अपतन साहित्य परिषद्को उद्देश्य र कार्यक्रम सार्वजनिक गरे । अनि फेरि जोडिए रश्मिप्रसाद आले, काशीराज प्रधान, शिवनाथ मिश्र, रामदत्तलाल ठाकुर, चन्द्रदास राई, हरिप्रसाद प्रधान आदि । अनेपाली भाषी शिवनाथ मिश्रसँग मिलेर सन् १९५१ मा इन्द्रकील पुष्पाञ्जली कवितासंग्रह प्रकाशित गरे जसमा अधिकांश कविताहरु तुलसीबाहदुर छेत्रीको थियो ।
सिक्किमको बसाईमा तुलसीबाहदुर छेत्रीले अध्यापनको साथै अध्ययन र साहित्य सिर्जनामा समानरुपले लगनशीलता देखाए, जसले गर्दा उनले स्नातकको पढाइ पनि निजीरुपमा नै पूरा गरे । तुलसीबाहदुर छेत्रीको नियतिमा एक ठाँउमा बसेर जागिर लेखेको थिएन । फलस्वरुप सन् १९५३ मा दार्जीलिङ सरकारी महाविद्यालयमा नेपाली प्राध्यापकको रुपमा नियुक्ति लिएर दार्जीलिङ बसाई सरे । तर सिक्किममा तुलसीबाहदुर छेत्रीको बहिर्गमनसँगै अपतन साहित्य परिषद्ले असामायिक अवसान भोग्न पर्यो । तर दार्जीलिङ आउनुअघि नै सन् १९५२ मा बापू बन्दना खण्डकाव्य प्रकाशित गरिसकेका थिए छेत्रीले । यो खण्डकाव्यमा पाँचवटा ठूला-साना महात्मा गान्धीको निधनमा लेखिएका कविताहरु छन् ।
जुन समयम तुलसीबहादुर छेत्रीको दार्जीलिङ आगमन भयो त्योबेला सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सुधपा) को वर्चस्व थियो । आख्यानमा शिवकुमार राई, इन्द्र सुन्दास, इन्द्रबहादुर राईहरुले उपस्थिति जनाइरहेका थिए भने कवितामा कवि वीरेन्द्र, कवि ध्रुव, अगमसिंह गिरी, ओकिउयमा ग्वाइनहरुले नयाँ मोड ल्याउन प्रयत्न गरिरेका थिए । समालोचनामा रामकृष्ण शर्मा र ईश्वर बारालको (त्यस बखत बरालज्यू पनि त्यही महाविद्यालयमा अध्यायपनरत थिए) प्रखरताले निक्कै त्रसित थिए साहित्यकारहरु । नाटक बामे सार्दै थिए धनवीर मुखिया, भरत कुमार गहतराज, हर्षधोज लामा, हीरा कुमार सिंह, भैया सिंहको सक्रियता । यस्तो उर्वरा माहोलमा तुलसीबहादुर छेत्रीभित्र सुषुप्तरुपमा रहेको साहित्यिक ज्वारभाटा नफुट्ने कुरै थिएन ।
तुलसीबहादुर छेत्रीको नेपाली साहित्यमा योगदानको मूल्याङ्कन गर्दा चार क्षेत्रमा गर्न सकिन्छ । कविता लेखनमा तुलसीबहादुर छेत्री ७० वर्षसम्म अनवरतरुपमा लागिरहे भने चारवटा जति नाटक लेखेर पुर्णविराम लिए । हिन्दी, बङ्गला, अंग्रेजीमा समानरुपमा दखल भएकोले अनुवाद साहित्यमा पनि कलम चल्यो तुलसीबहादुर छेत्रीको ।
समाज सुधार, जातीय भावनाले निकै प्रभाव परेकोले त्योतिर उन्मुख गराउन नाटक एउटा उपयुक्त माध्यम ठानेर नाटकतिर कलम चाले तुलसीबहादुर छेत्रीले । अनि जन्म भयो कमल । यो नाटक सन् १९५३ मा निजी रुपमा नै प्रकाशित गरे । अपतनका सहकर्मी अगमसिंह तामाङको ९ वटा गीत रहेको यो नाटकले शिक्षा प्रसारमा जोड दिएका थियो । सन् १९५५ मा अर्को एकाङ्की विजय प्रकाशित गरे जसको रचना सन् १९५२ मा नै गरेका थियो । त्यसपछि जमाना बदलियो (सन् १९५७) र न चिन्नु न जान्नु एकाङ्की (सन् १९६०) लेखेर नाट्य लेखनबाट सन्यास लिएको देखिन्छ ।
तुलसीबहादुर छेत्रीको सबैभन्दा सबल पक्ष भनेकै कविता लेखन हो । उनको कविता लेखनबारेमा नेपाली पद्यसङ्ग्रहको भूमिकामा पं. बद्रीनाथ भट्टराई लेख्छन्, “प्रवासी भएर पनि छात्र-अवस्थादेखि नै कविजीले लेख्न शुरु गर्नुभएको हो । प्रायः छन्दको बन्धनमा नबाँधिए तापनि उहाँ लय छाड्नुहुन्न । उहाँको शैली सरल र स्वच्छ छ । प्रकृतिको चित्रण पनि उहाँ सरस ढङ्गसँग गर्नुहुन्छ ।”
पारसमणि प्रधानद्वारा सम्पादित भारतीको चैत्र २००६ मा छापिएको साहित्यिक होली कवितामा नेपाली साहित्यमा योगदान दिने व्यक्ति र पत्रिकाहरुको गुणगान पाउछौँ । यो कविता नेपाली पद्यसङ्ग्रहमा पनि संग्रहित छ ।
खैलौं सबले हर्ष मनाई यो साहित्यिक होली ।
‘भानुभक्त’ ले आरम्भ गरे राम नाम रस घोली ।।
‘रघुनाथ’ जी सुन्दर काण्ड ली अघि नै थिए तयारी,
‘वसन्त’ कविका छली कृष्णजी हात लिई पिचकारी,
नेपाली जग उषा कालको स्वर्णिम रंग पसारी,
अलि मुसकाई हर्षित मनले खेले पहिलो होली
त्यो साहित्यिक होली ।।
“मोतिराम” ले भानुजीवनी मधुर गीत सुनाई
“शम्भु प्रसाद” रंग बिरंगी ढाँचा बहुत दिखाई,
खेल्दाे होली नूतन बोली ‘लेख, उठे घचडाई,
शुद्ध शव्दको अबीर चलाउँ भन्दै खोले होली
लौ मच्चियो होली ।।
‘बालकृष्ण’ जी नाटय भङ्गिले नवीन रङ्ग मिलाए,
“लक्ष्मी” कविता ललित भावले उच्चादर्श दिखाए,
‘धरणी’ दौडे ‘सिद्धि’ लुके औ महानन्द मुसकाए
‘गौतम’ छलिए ‘नेपाली’ जी बोले शब्द: छिचोली
‘आऔ खेलें होली’ ।
‘सूर्य’ उदाए ‘रुप’ बडे औ पारसमणि को गाडी,
धेरै यात्रु ली ‘राम’ औ ‘भाइ’ झटपट चढे पछाडी,
कथा पक्का ‘हृदय’ जाँचनु ‘ईश्वर’ बढे अगाडी,
लुकी छिपिकन रङ्ग उडाउनु धेरै अाए टोली
खेल्न भनी यो होली ।।
लाल, गुलाबी, हरियो, नीलो, कैलो, बदामी, पीत
उडे रङ्ग सब दङ्ग ‘शारदा’ ‘उदय’ अनौठो रीत,
‘साहित्य स्रोत’, ‘गोर्खा’, ‘हिमाद्रि’, ‘युगवाणी’, को प्रीत,
‘शिक्षा’ ‘भारती’ अनि ‘साथी’ सबका भिजे चोली
कसले रोक्ने होली ? ।।
यो साहित्यिक होली ।।
सरल व्यक्तित्वका धनी तुलसीबहादुर छेत्रीका कविताहरु सरल र सरस हुन्छ। आयामिक आन्दोलन र गद्य कविताको स्वरुपमा आमुल परिवर्तन आए पनि उनले आफ्नो शैलीलाई कायमै राखे । र वैचारिक र बौद्धिक उचाईलाई बिस्तारै फराकिलो पर्दै पनि आए । शुरु शुरुका कविताहरुमा सामाजिक, नैतिक, उपदेशात्मक, राष्ट्रप्रेम, व्यक्तिप्रेम निहित छ भने कालान्तरमा तुलसीबहादुर छेत्रीको कवितामा गद्यात्मक शैली, वैचारिक परिपक्कता, राष्ट्रिय भावना, चेतनशीलता, समसमायिकताले निकै ठूलो स्थान पाएको छ ।
तुलसीबहादुर छेत्रीको कविकारितामाथि टिप्पणी गर्दै कवि एंव समालोचक मोहन ठकुरी लेख्छन्,”वार्णिक र मात्रिक छन्द प्रयोगमा निपुण मानिएको तुलसी ‘अपतन’ बापू-वन्दना (खण्डकाव्य-१९५४), संकल्प( सन् १९५४), के होला( सन् १९५९), नहेर आज मलाई ( सन् १९७६) र बुद्धिबङँरो( सन् १९९३) प्रकाशित छन् । प्राकृतिक सौन्दर्यको वर्णन र सामाजिक चेतनाको कुरा पाइन्छ उनका कवितामा । उनका अघिल्ला कविताहरुमा शास्त्रीयताको निर्वाह भएको देखिए पनि पछि हाइकु शैलीमा बाँधिएका ‘मिनी’ कविताहरुसमेत उनले लेखेका छन् ।”
कविता जीवन उपयोगी हुन पर्छ भन्ने मान्यता राख्ने तुलसीबहादुर छेत्री नेपाली साहित्यमा छन्द कवितालाई निरन्तरता दिइरहे । यसैगरि सँकू शीर्षकको कवितामा आदर्शवादी विचार व्यक्त गरेका छन्ः
गर्न सकूँ निज देश, समाज र बान्धवको उपकार।
हर्न सकूँ सब दीन-दुःखीको क्लेश तापको भार।।
त्याग्न सकूँ यो द्वेष, कलह औ निन्दाको संसार।
फ्याँक्न सकूँ मनबीच रहेको अर्काको उपकार।।
पढ्न सकूँ यो सत्य अहिंसा गान्धी-गीता-सार।
गढ्न सकूँ सब शान्ति प्रेमको नयाँ एक संसार।।
टिक्न सकूँ निज सत्य वचनमा खप्तै दुःख हजार ।
सिक्न सकूँ जगमा निशिदिन नै उत्तम गुणको सार।।
गोड्न सकूँ जगहितको बिरुवा मानवता सुविचार।
छोड्न सकूँ यस जगत्मा केही अनुपम नव उपहार।।
तुलसीबहादुर छेत्रीको जीवनमा सबैभन्दा सुखद् क्षण निकै ढिलो गरेर आयो। ६९ वर्षको उमेरमा उनीभन्दा धेरै कनिष्ट साहित्यकारहरुले पाइसकेपछि ‘कर्ण-कुन्ती’ खण्डकाव्यको निम्ति सन् १९८९ मा भारतीय साहित्य अकादमी पुरस्कार दिइयो । समकालीन र अनुज पुस्ताबाट समानरुपले सम्मान पाउने तुलसीबहादुर छेत्रीले जीवनको उत्तरार्धमा पाएको यो पुरस्कार उनको दीर्धकालीन साहित्य सेवाको कदर पनि थियो । ‘कर्ण-कुन्ती’को समीक्षा गर्दै प्राध्यापक ललीता राईले रवीन्द्रनाथ ठाकुरको ‘कर्ण कुन्ती संवाद’को प्रभावशालीताबाट बाँच्न नसकेको विचार प्रस्तुत गरेकी छिन् । उनी , “‘कर्ण-कुन्ती’को कथागत मार्मिकताले मानवीय मूल्यबोध र जीवनप्रतिको दृष्टिकोणलाई एउटा दिशानिर्देश गर्छ। ममतामयी मातृ-ह्रदयद्वारा अनुप्राणित कर्तव्य पालनको महानतमा मात्र एउटा नारीको जीवन साफल्य निश्चित छ भन्ने दृढ सन्देश प्रस्तुत खण्डकाव्यको विषयवस्तुगत एउटा सत्यता हो एकातिर भने अर्कोतिर संवेदनशील हुनुभन्दा कर्तव्यपरायण र कर्मठ हुनुमा जीवन बाँच्नुको महत्तालाई सर्वोपरि ठान्ने कर्णको चारित्रिक विशेषताले जीवनप्रति सकारात्मक दृष्टिकोण प्रदान गर्छ, जीवन दर्शनलाई फाँटिलो बनाएर मानवीय गुणको श्रीवृद्धिमा सहयोग पुरर्याउँछ ।”
तुलसीबहादुर छेत्रीले मिथकीय विषयवस्तुलाई प्रभावशाली, सम्प्रेषणीय बनाएर आफ्नो सृजनशीलतालाई ‘कर्ण-कुन्ती’ को माध्यमबाट प्रकाशमा ल्याएको विचार व्यक्त गर्छिन् प्राध्यपक राई।
सोझै बंगलाबाट नेपालीमा कविता अनुवाद गर्नमा खप्पिस थिए तुलसीबहादुर छेत्री । यसैले विश्वकवि रवीन्द्रनाथ ठाकुरको शतवार्षिकीमा उनको कविताहरु नेपालीमा अनुवाद गर्ने अभिभारा दिइयो तुलसीबहादुर छेत्रीलाई । फलस्वरुप सन् १९६५ मा रवीन्द्र रचनावली प्रकाशित भयो, जसमा कविगुरु ठाकुरको ४८ वटा कविताहरु समावेश थिए । ती कविताहरु मूल बंगाली छन्दलाई हुबहु नेपालीमा अनुवाद गरेर आफ्नो अनुवादकीय क्षमताको प्रर्दशन गरेका थिए छेत्रीले । यसैगरि साहित्य अकादमी दिल्लीको अग्रसरतामा कविगुरु ठाकुरको ४५ वटा कवितालाई नेपालीमा अनुवाद गरेर संचीयता नामक कविता-संग्रहमा सङ्कलित गरे जो सन् १९६५ प्रकाशित भयो ।
तुलसीबहादुर छेत्रीको दार्जीलिङ बसाई निकै उर्वर र उर्जाशील साबित भयो । सन् १९५३ देखि १९७६ सम्म दार्जीलिङ सरकारी महाविद्यालयमा पहिले प्राध्यपक, पछि नेपाली विषय प्रमुख भएर अध्यापन गरे उनले । सो समयमा उनी साहित्य क्षेत्रमा निकै सक्रिय रहे । सन् १९६७ देखि सन् १०७९ सम्म नेपाली साहित्य सम्मेलनको अध्यक्ष भएर काम गरे । मई १४ सन् १९५९ मा नेपाली साहित्य सम्मेलनको कार्यकारिणी सभाको बैठकले धरणीधर कोइरालाको सभापतित्वमा ‘दियालो’ पत्रिका प्रकाशन उपसमिति गठन गरे, जसको उपसभापति भए तुलसीबहादुर छेत्री, सचिव लालदेवसा राई । ‘दियालो’ को हाँगो १ देखि २१ सम्मको सम्पादक मण्डलीमा रहेर सम्पादनको काम गरे अनि हाँगो ७७ र ७८ को सम्पादक रहे । दियालोको प्रथम अंकमा तुलसीबहादुर छेत्रीको मातृभाषा कविता छापिएको थियो भने तेस्रो अंकमा न चिन्नु न जान्नु एकांकी छापिएको थियो । सन् १९७६ मा सम्मेलन कथा संग्रह तुलसीबहादुर छेत्री, जगत छेत्री र लक्खीदेवि सुन्दासको संयुक्त सम्पादकत्वमा प्रकाशित भयो । समाचार पत्रिक हिमाली आभाको सन् १९८० मा केही समय सम्पादन गरे । त्यसको अलवा नेपाली अकादमी पत्रिका पनि सम्पादन गरे ।
सन् १९२० मा आसाममा जन्मिएका तुलसीबहादुर छेत्रीले सानै उमेरमा पितृवियोग सहनु पर्यो । आमाको माया र परिश्रमले म्याट्रिकसम्म पढे, त्यसपछि आफ्नै खुट्टामा उभिएर जागिर र पढाइ सँगसँगै लगे । यसै कारणले होला तुलसीबहादुर छेत्रीको कविता करूण रसले भरिएको हुन्छ । उनले कलेजै नगई निजीरुपमा अध्ययन गरेर स्नातकोत्तर गरे विभिन्न चरणमा । स्कूलमा नेपाली नपढे पनि नेपाली भाषा र साहित्यको अध्यापनमा अब्बल साबित भए उनी ।
तुलसीबहादुर छेत्रीले पढाएको विद्यार्थीहरु साहित्य क्षेत्रमा निकै अगाडि बढी सकेका छन् । ४४ वर्षको लामो शिक्षण पेशामा तुलसीबहादुर छेत्रीले धेरै उतारचडाव भोगे । तर सधैँ स्थितप्रज्ञ पुरुष झैँ अटल रहे । उनको सेवा निवृत्तपछि छोरासँग काठमाडौँमा बस्दा मैले उनको छोरोको सानो गौचरनस्थित घरमा भेट्ने र भलाकुसारी गर्ने अवसर पाएको थिएँ । त्यसभन्दा अघि उत्तर बंगला विश्वविद्यालयमा भेट भएको थियो । उनले निकै सहयोग गरेका थिए । सानैदेखि उनको कविता पढेर हुर्किएको म उनीसँग साक्षात्कार हुने अवसर पाएकोमा आफैँलाई धन्य ठान्दछु ।
तुलसीबहादुर छेत्री उत्तर बंगला विश्वविद्यालयमा सन् १९७७ देखि नेपाली भाषाको अध्यापन गरेर सन् १९८५ मा नेपाली विभागको अध्यक्ष भए, र सेवा निवृत्त भए । नेपाली शिक्षा परिषद्ले वि.स. २०५७-मा उनलाई भानु पुरस्कारले विभुषित गरियो ।
तुलसीबहादुर छेत्री नेपाली भाषामा विद्यावारिधि गर्ने पहिलो भारतीय नेपाली थिए र उनको शोध प्रबन्धले त्रिभुवन विश्वविद्यालयबाट दिइने सैनध्वज नन्दकुमारी पुरस्कार वि.स. २०४९ मा पाएको थियो ।
केही वर्षअघि उनको निधन काठमाडौँमा भएको जानकारी पाए पनि कुन साल हो यकिन हुन सकेन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।