रुपमान तामाङ गाउँबाट उच्च शिक्षा अध्ययनको उद्देश्य लिएर काठमाडौं आएको थियो । आउन त आयो, तर खर्चको उचित जोहो हुन सकेको थिएन । उनको सम्पर्कसूत्र गाउँबाट धेरै अघि काठमाडौं हिँडेको एक शिक्षक अभिभावकसँग भेट भयो । उनले एक राजनैतिक पार्टी कार्यालयमा सम्पर्क गराइदिए । पार्टीलाई पनि एक जना होल टाइमर चाहिएको बेला पार्टी कार्यालयमैं रहने गरी रुपमानलाई पार्टी कार्यालयको सहायकका रुपमा काम मिल्यो । उसलाई माक्र्सवादी शिक्षासहित पार्टीमा काम दिइएको थियो । सजिलोका लागि उसलाई बोलाउने नाम थियो, रुपजी । रुपजी भन्दा भन्दा अझै सजिलो लागि रुजी भएको थियो ।

नाम पनि वस्तिारै यसरी खिइन्छ । त्यो समय हो या व्यवस्थापन । जे होस्, रुजी भनोस् या रुपमान, पार्टी कार्यालयको महत्वपूर्ण मानिस हुँदै गयो । पार्टी मिटिङ् हुनुअघि कोठा बनाइदिनु, सुकुलदेखि सोफासम्म मिलाइदिनु, बढार्नु, चिया खाजा तयार पार्नु, फाइल बनाइदिनु, किनमेल गर्नु, फोटोकपी गर्नु, मिटिङ सकिसकेपछि मिटिङमा आउनेहरुले गरेका फोहोर सफा गर्नु, जूठो भाँडा माझ्नु, फेरि बढार्नु, विहान बेलुकी त्यतै एउटा कुनामा सुत्नु रुपको दिनचर्या मात्र होइन जीवन भइसकेको थियो ।

कुनै औपचारिक शिक्षामा जोडिन नपाएको हुनाले पढ्ने बाध्यता थिएन । त्यसैले पार्टी कार्यालयमैं भएको पुस्तक र कागज जस्तैः माकर््सवाद, लेनिवाद लगायतका दर्शन, पार्टी दस्ताबेज, घोषणा पत्र, सबै पढ्न थाल्यो । नेताहरुले पनि त्यही कुरालाई आधार बनाएर छलफल गर्ने रहेछन् । पुस्तक र छलफल सुनेरै उसले आफ्नो धारणा बनाउन थाल्यो । ऊ बैठकमा आएका, विद्वान र नेताहरुको मत, तर्क सुन्छ र ठीक बेठीक पहिल्याउँछ । जे गरेर भए पनि पार्टी कार्यालयलाई आफ्नो काँधमा बोक्नु, अरु कसैले गर्न मन नपराएको काम गर्नु आफ्नो पार्टी वा विचारधाराप्रतिको समर्पण ठान्छ । बस रुपले पाउने भनेको दुई छाक खाना र पार्टी कार्यालयको बास मात्र हो । न तलब, न सुविधा, न औषधी उपचार । रुपलाल त्यही पनि निःस्वार्थ देश, विचार र पार्टीको सेवा गर्ने अवसरको रुपमा लिन्छ । बेला बेला ऊ सोच्छ, यो सर्वहारा वर्गको हितमा मैले योगदान गर्न पाउनु ठूलो अवसर हो ।

स्नेह सायमि

चारकोठे पार्टी कार्यालय । एक कोठामा बैठक, अर्को कोठामा भान्सा र रुपको सुत्ने ठाउँ । एक कोठा पुस्तक र कागजको डुंगुर र प्लेकार्डको चाङ । अर्को कोठा, कुनै नेता आउँदा सुत्ने वा सानोतिनो बैठक गर्ने कोठा । रुपलालले त्यो कोठामा पाँच वर्ष बिताउँदा कार्यालय सम्हाल्ने निःशुल्क सेवकको रुपमा आफूलाई स्थापित त गर्यो गर्यो, सँगसँगै उसले लेखपढ पनि गर्यो । यति धेरै पुस्तक पढ्यो र नेताहरुको तर्क सुन्यो कि उनीहरुको तर्कमा तर्क गर्न सक्ने नै भयो । उसको स्वःअध्ययन र मेहनतले आफ्नो बौद्धिक क्षमता पनि बढायो ।
एसएलसी पास गरेर उच्च अध्ययन गर्न काठमाडौं आएको रुपामानले औपचारिक शिक्षा भने पढ्न पाएन । अर्थात् कलेज पढ्ने धोकोलाई उसले भित्रै राख्यो । कलेज नपढ्नुका थुप्रै कारणहरु थिए । एक त कलेजमा तिर्ने पैसा नहुनु, बास र गाँसको व्यवस्था सुनिश्चित नहुनु ।

पार्टीका अधिकांश नेताहरुले औपचारिक शिक्षा केही पनि होइन भनेर बेला बखत भन्नु । औपचारिक शिक्षाप्रति नै अविश्वास हुँदै जानु । पार्टी कार्यालयमा सबैजसो मानिसहरुले उसको कामको प्रशंसा गर्नु । यी विभिन्न परिस्थितिले उसले उच्च शिक्षा हाँसिल गर्न सकेन ।
जे भए पनि रुपमानले पार्टी कार्यालयमा एक पहिचान बनायो । तर त्यो पहिचान थियो, पार्टी कार्यालयको सरसफाई गर्ने पहिचान । पियन, मेहतर, कलब्वाई, भान्से, गार्ड सबै भूमिकामा निपूर्ण पहिचान । बेला बखत पार्टी कार्यालयमा जिल्लातिरका नेता बास बस्न आउँछन् । ती नेतालाई बास र गाँसको व्यवस्था गर्दा उनीहरुसँग हिमचिम हुनु स्वाभाविक थियो । बोलीले मीठो बोले पनि रुपमान भनेको पार्टीको सहायक नै हो भन्ने धारणा बनेको छ ।

एक दिन एक नेता त्यहाँ बास बस्न आए । शनिवारको दिन थियो । काम थिएन । ती नेतासँग दिनभरजस्तो व्यक्तिगत, राजनैतिक कुरा भयो । रुपमानले मन खोलेर पार्टीले अख्तियार गरेको वैचारिक धार, त्यसका लागि गरिरहेको भौतिक तयारी, नेता कार्यकर्ताको सबल र कमजोरीहरु, घोषणापत्रमा गर्नु पर्ने सुधार, पार्टीमा मौलाइरहेको विविध प्रवृत्ति आदिका बारेमा आफ्नो धारणा राखिदियो ।

दर्शन, विचार, पद्धति, भौतिक तयारी, समसामयिक राजनीतिका विषयमा यति धेरै ज्ञान र सीप देखेपछि ती नेता अति प्रभावित भए र भने, “रुपजी, तपाईंको रुपको यो परिचय त कहिल्यै पाइएन । हामीले त मात्र एक सेवक र सहायक पो बनाएका रहेछौं । अब तपाईँले पार्टी मुखपत्रको सम्पादक हुनुपर्छ ।”

रुपमानले सोध्यो, “म सम्पादक भएँ भने मैले गरिआएको अरु काम कसले गर्ला नि ?”

तिनले भने, “त्यसको पनि विकल्प खोज्नुपर्छ । तर मुखपत्रको सम्पादक हुने प्रस्ताव मैँ राख्छु ।”

करिब एक महिनापछि पार्टी बैठकमा मुखपत्रको नयाँ सम्पादक छनौट गर्ने कुरा चल्यो । ती नेताले रुपमानको प्रस्ताव गरे ।
रुपमानलाई सोधियो, “के तपाईँ गर्न सक्नु हुन्छ ?”

रुपमानले सकारात्मक जानकारी गरायो । तर त्यहाँ पढाइको कुरा चल्यो । रुपमान त एसएलसी मात्र पास, उनले गर्न सक्लान् ?
यतिखेर औपचारिक शिक्षा नभएकै कारण रुपमानको क्षमतामा शंका उब्जाइयो । जो नेताहरु औपचारिक शिक्षा केही पनि होइन भन्थे उनीहरु नै अहिले औपचारिक शिक्षाको आवश्यकताका बारेमा कुरा उठाउन थोलेको देखेर उ छक्क पर्यो ।

मनमनै भन्यो, “जसले औपचारिक शिक्षाको विरोध गथ्र्यो, ऐन मौकामा उनलाई पनि त्यही चाहिने रहेछ ।”

रुपमानले त्यो दिन पार्टीको काम छोड्यो र कलेज पढ्ने निर्णय गर्यो ।