खुकुरीको चोट त्यस ढुङ्गामा पर्नासाथ त्यहाँ अनौठो घटना घट्यो । त्यस ढुङ्गाको चोट लागेको ठाउँबाट अचानक रगत बग्न थाल्यो ।

===

पूर्वी पहाडको सुन्दर जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा पाइला टेक्ने बित्तिकै, बसपार्कको मध्यभागमा उभिएको बिरालोको विशाल स्तम्भले आगन्तुकहरूको ध्यानदृष्टि एकाएक आफूतिर तान्छ । पहिलो नजरमै असाधारण अनुभूति दिलाउने यो स्तम्भ केवल ढुङ्गामा कुँदिएको आकृति मात्र होइन, बरु म्याङ्लुङ बजारको आत्मा, पहिचान तथा इतिहासको दस्ताबेज हो ।

त्यही म्याङ्लुङ बजारको मुटुमा, शताब्दीऔँ पुरानो पिपलको विराट वृक्षसँग टाँसिएर एउटा भव्य मन्दिर अविचलित रूपमा उभिएको छ । समयका असङ्ख्य झोँक्कालाई सहँदै आएको त्यो वृक्षको काखमा श्रद्धा र आस्थाको ज्योति झल्काउँदै सिंहवाहिनी भगवतीका रूपमा पूजित देवी विराजमान छिन् । बर्सेनि लाखौँ भक्तजनहरू विश्वासको भारी बोकेर त्यहीँ आइपुग्छन्, तर यसको सबैभन्दा अद्भुत पक्ष देवीको स्वरूप कुनै परम्परागत मूर्तिमा मात्र सीमित छैन, बरु पिपलको अँगालोमै टाँसिएर बसेको साधारण ढुङ्गे आकृतिका रूपमा प्रतिष्ठित छ, जसले आस्था, विश्वास र रहस्यलाई एकैसाथ जीवन्त बनाएको छ ।

पहिलो पटक यहाँ आइपुग्ने जो–कोहीका लागि यो दृश्य केवल अनौठो मात्र होइन, गहिरो कौतूहलले भरिएको हुन्छ । बसपार्कको बिचमा बिरालोको मूर्ति किन ठड्याइएको ? बजारको केन्द्रमा अवस्थित सिंहवाहिनीको मन्दिर, त्यससँग टाँसिएको पिपलको वृक्ष र बिरालोको अद्भुत आकृति, यी सबैको उत्पत्ति कहाँ-कसरी भयो ? यिनीहरू एकअर्का बीचको अन्तरसम्बध के छ ? आखिर एउटा साधारण देखिने आकृतिले कसरी देवीको दिव्य स्वरूप धारण गर्‍यो ? र यी सबै प्रश्नसँग गाँसिएर उब्जिने अर्को रहस्य; यो ठाउँको नाम ‘म्याङ्लुङ’ कसरी रहन गयो ?

यी प्रश्नहरूको उत्तर खोज्न समयको धुलोले ढाकिएका सयौँ वर्ष पुराना कथाहरूका पाना पल्टाउनै पर्छ ।

त्यहाँका स्थानीय बुढापाका र अनुभवी बुज्रुगले कनीकुथी सुनाएका, इतिहासका जानकारहरूले त्यसलाई तथ्यसहित पुष्टि गरेका र आम सर्वसाधारणले आज पर्यन्त सम्म पनि पूर्ण रूपमा पत्याएका कथाको पन्तरो यसरी खुल्छ ।

आदिम कालमा ढाक्रेहरू मऊसीर ( मङ्सिर ) पुसको दाइँ सकिएपछि मुग्लानहुँदो ( मुग्लानतिर ) नुन खेप्न (ओसार्न) जाने गर्थे । अरू वर्षझैँ त्यस वर्ष पनि दाइँ सकिएपछि उनीहरू नुन खेप्न गए । नुन बोकी धेरै दिन लगाएर फर्किएका तीन जना ढाक्रेहरू एक साँझ तेह्रथुम आइपुगे ।

नागदहको ओढारमा भारीतारी बिसाएर उनीहरू खानपिन गर्न एउटा रूखमुनि बसे । खानाको चाँजो ( बन्दोबस्त ) गर्नुअघि केही बेर सुस्ताएर दुःख–सुखका गफ गरे । त्यसपछि चुलो बनाउने तरखर गर्न थाले । तीनै जना आ-आफ्नो दिशातिर गएर तीनवटा ढुङ्गा ल्याए र तीनमुखे चुलो बनाए ।

दुई जनाले गहिरो पनेरो ( पँधेरो ) बाट बाँसको ढुङ्ग्रोमा पानी ल्याए भने अर्कोले केराको झुरोमा चकमकले आगो बाल्यो । यसरी चुलो सल्काएर ढिँडो पकाउन पानी बसाले । तर पानी तात्न नपाउँदै, ती तीनमध्ये एउटा चुच्चो ढुङ्गा एक्कासि काँप्न थाल्यो । के भयो ! भनेर उनीहरू अचम्ममा परे, तर ढुङ्गा झन् झन् जोडले काँप्न थाल्यो ।

बिचरा ढाक्रेहरू ! भोक लागेर आलसतालस भएका थिए । यसरी चम्काको ढुङ्गो हल्लिएर ढिँडो पकाउन नपाउँदा तीमध्ये एकलाई धेरै झोँक चल्यो र आफ्नो डेढ धार्नी गह्रौँ फलामको खुकुरीले त्यस ढुङ्गामा बजायो( प्रहार गर्‍यो) । खुकुरीको चोट त्यस ढुङ्गामा पर्नासाथ त्यहाँ अनौठो घटना घट्यो । त्यस ढुङ्गाको चोट लागेको ठाउँबाट अचानक रगत बग्न थाल्यो । त्यो देखेर उनीहरूको सातोपुत्लो उड्यो र डरले हल्लाखल्ला मचाउन थाले ।

ढाक्रेहरूको हल्ला सुनेर वरपरका गाउँका मानिसहरू चनाखो भए । उनीहरू हातमा राँको लिएर के हो ? भनी बुझ्न त्यहाँ आइपुगे। गाउँलेहरू आउँदै गरेको देखेर ढाक्रेहरू अझ डराएर भागे।

गाउँलेहरू त्यस ठाउँमा पुग्दा ढाक्रेहरू भागिसकेका थिए । तर त्यहाँ एउटा मेयङलुङ (ढुङ्गाको बिरालो) ‘म्याउँ–म्याउँ’ गर्दै घुमिरहेको थियो । त्यो देखेर गाउँलेहरूले कोकोहोलो गर्दै भने, “लौ, हाम्री देवी प्रत्यक्ष भइछन् ! पक्कै पनि ढाक्रेहरूले उनलाई जगाएर भागे होलान् । जाओ, ती ढाक्रेहरूलाई खोज !”

गाउँलेहरूले खोजी गर्दा खुकुरी प्रहार गर्ने ढाक्रे अगि नै बेपत्ता भई सकेको थियो, तर बाँकी दुई जना ओढारमा घुस्रुक्क परि लुकेर बसेका भेटिए । गाउँलेहरूले रिसाउँदै उनीहरूलाई समाती सबै कुरा बक्न लगाए, र उनीहरूले पनि भएभरका सबै यथार्थ कुरा बताए ।

सबै कुरा सुनेपछि गाउँलेहरू झन् क्रोधित भए । त्यस दिन ती दुई जनालाई बाँधेर त्यसै बनमा लडाइदिए र भोलिपल्ट तमोर खोलामा लगेर बगाइदिए ।

यसरी नागदहमा देवी प्रकट भएको खबर फैलिनासाथ छ थुम, तेह्रथुम ( पुरानो प्रशासनअनुसार खास गरेर किराँत क्षेत्रमा तिरो व्यवस्थाका आधारमा विभिन्न एकाइमा विभाजित ससाना इलाका ) र आसपासका मानिसहरू त्यहाँ आउन थाले । तेह्रथुम र आसपासका राजाहरूसमेत घोडा चढेर मेयङलुङलाई हेर्न आए । केही दिनसम्म त्यहाँ भारी ( ठूलो ) मेला लाग्यो । केटाकेटीहरू मेयङलुङझैँ ‘म्याउँ–म्याउँ’ गर्दै रमाएर खेल्न थाले र सोही स्थानमा देवीको रूपमा मेयङलुङको पूजा हुन थाल्यो ।

….. एक रात एक्कासि त्यस गाउँका एक जना वृद्ध लिम्बुको सपनामा देवी (मेयङलुङ) प्रकट भइन् । देवीले भनिन्, “मलाई तमासा नबनाऊ, मलाई गाउँमा लगी एउटा थानमा स्थापना गर ।”

बिहान उठेर ती वृद्ध लिम्बुले गाउँलेहरूलाई सपनाको कुरा सुनाए । “हो त नि” भनेर वरिपरिका गाउँले सबैले सहमति जनाउँदै मेयङलुङलाई डोलीमा राखी गाजाबाजासहित जात्रा गर्दै नागदहको जङ्गलबाट गाउँमा ल्याए । गाउँको बीचमा रहेको पीपलको रूखमा चारैतिर घेरेर थान स्थापना गरे । डोली र त्यसको डाँडी पनि त्यहीँ रोपे ।

भोलिपल्ट बिहान गाउँका बुढापाकाहरू पीपलको रूखमा गई हेर्दा अचम्ममा परे । त्यहाँ मेयङलुङ (ढुङ्गाको बिरालो) जस्ताको तस्तै ढुङ्गाको मूर्ति बनेर पीपलको रूखमा टाँसिएको थियो । यो देखेर उनीहरू खुशी साथसाथै आश्चर्य हुँदै राजासमक्ष बिन्ती चढाए ।

तेह्रथुमे राजाले आफ्ना दुनियाँ( प्रजा) को यस्तो कुरा सुनी मुलुककै प्रख्यात जैसी (ज्योतिषी) लाई बोलाएर जोखना देखाए र यिनको नाम के राख्ने हो भनी सोधे । ज्योतिषीले जोखना हेरेर बिन्ती गरे, “महाराज ! यी देवी साक्षात् सिंहवाहिनी हुन् । किनकि यिनले आफूलाई प्रहार गर्ने ढाक्रेलाई सिंहमा सवार भई मारिसकेकी छन् । त्यसैले, यिनको नाम सिंहवाहिनी भगवती राख्नुपर्छ । र यिनी मेयङलुङका रूपमा नागदहमा प्रकट भएकी हुनाले यस वरपरको गाउँलाई यिनको सम्झनामा मेयङलुङ भनेर नाम राख्नुपर्छ ।”

जैसीको सुझाव मनासिब ठानी राजाले त्यही अनुसार हुकुम जारी गरे । त्यसै दिनदेखि देवीको नाम सिंहवाहिनी भगवती ( मेयङलुङ देवी ) र त्यस क्षेत्रको नाम मेयङलुङका रूपमा प्रख्यात भयो ।

लिम्बु भाषाको शब्द मेयङको अर्थ ‘बिरालो’ र लुङको अर्थ ’ढुङ्गा’ भन्ने हुन्छ । तर समय क्रमसँगै मेयङलुङ नाम अपभ्रंश भई म्याङ्लुङ भएको स्थानीय बुढापाकाहरूको भनाइ छ । पछि गएर यो ठाउँ म्याङ्लुङ गाविस हुँदै हाल म्याङ्लुङ नगरपालिकाको रूपमा रहिआएको छ ।