कवि सिजन श्रेष्ठमाथि केही लेखिरहेको छु । चिनेको दशक नाघ्यो । ‘गरिमा’ लगायतका राष्ट्रिय पत्रपत्रिकामा कविता पढेको डेढ दशक नाघ्यो । कवितामा उनले एउटा प्रष्ट बाटो वरण गरेको बुझिन्छ— सार्विक कुरा लेख्ने, रुमानी बाटो हिँड्ने । ‘कन्टेम्पोरेरी’ हुने लहडमा राजनीतिलाई नकोट्याउने । हल्ला नगर्ने । चुपचाप कविताको बाटो हिँड्ने ।

उनको पहिलो कवितासङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ त्यसै वरणको दस्तावेज हो । यो कोमलपथ उनको वरण हो । यस वरणमा उनलाई प्रश्न गर्नुपर्ने ठाउँ छैन । ५२ थान कवितासहित उभिएको ‘हावामा अल्झिएको स्वर’ पुराना कविको नयाँ पुस्तक हो । सम्भव छ, यसमा उनले प्रेमवश कवितालेखनका शुरुवाती दिनका कविता पनि राखेका छन् । त्यसैले, यिनै कवितामा परिपक्व र वयस्क कवि सिजनलाई खोजिहाल्नुपर्छ भन्ने कुरा पनि होइन । यिनमा उनको काव्यिक रुझान खोज्नुपर्छ — कथ्यमा, शैलीमा र चिन्तनमा । एकाध प्रश्न पनि सोध्नुपर्छ । ती प्रश्नले उनलाई अझ तिक्खर बनाउन सक्छ ।

कतिपय दावीको जाँच पनि गर्नुपर्छ । गातामा भनिएको छ, कवि श्रेष्ठको भाषा ‘जादुयी’ र ‘चित्ताकर्षक’ छ । उनलाई साहित्यमा ‘नयाँ–नयाँ कुरामा जोखिम उठाउन रुचाउने’ कवि मानिएको छ । भनिएको छ, कवितामा उनी ‘नवीन चिन्तन’ गर्छन् । यी दावी र विशेषण अलि भारी पो भए कि ? डर नि, कताकता ! हल्का । 

कविताको विवेचनातिर लागौँ कि ?

क. चिन्तनपर्व

अनिश्चिता छ सर्वत्र । तर पनि प्रेम शाश्वत रहला भन्ने आशा छ । 

बालापन छ । बालापनका कल्पना छन् । तिनको याद अझै छ । क्षमता सीमित भयो भने मान्छे कल्पनाशीलताको सहारा लिन्छ भन्ने चिन्तन छ । उदाहरणमा, मामाघर जाने भौतिक बाटो गाह्रो छ । त्यसैले कवि–वालक कल्पनाको तिलस्मी बाटो निर्माण गर्छ — कविता ‘उड्ने खोलो’ मा जस्तो ।  

नोस्टाल्जिया छ । विगतका कुराका विरासत सिजनका कविताका प्राणदाता हुन् । सम्झना— बालापनको, हुजुरबाको, आमाको, गाउँको, छुटेको प्रेमको । 

किशोरकालीन प्रेम पनि सिजनका कविताको एउटा अविछिन्न भावसूत्र हो । ‘तिम्रो नाम’ यसको एउटा नमुना हो । कतै नयाँ वर्षलाई पनि उनी प्रेयसी सम्झन्छन् । प्रेमका सम्बन्धमा कविको अर्को पनि विश्वास छ— पहिलो प्रेम कुनै कारण छुट्यो भने, त्यसपछिका सबै प्रेममा प्रथम प्रेमको छाया हुन्छ नै हुन्छ । नत्र, ‘अपरिचिता’ पढेर हेरौँ । ‘नभएजस्तै भएकाहरू’ शीर्षकको कवितामा एउटा गाउँको चित्रण छ, जसमा सबै सबै कुरा छ तर ‘तिमी’ भनिएकी प्रेमिकाको अनुपस्थितिमा उक्त गाउँमा ‘सबै भएर पनि ÷नभएजस्तो’ लाग्छ  । यो प्रेमको महत्तालाई अभिव्यक्त गर्ने एक उन्नत तरिका हो । 

अर्थराजनीतिक विषय छुन्नँ भन्दाभन्दै पनि कतिपय कवितामा यथार्थको सुन्दर तवरले हस्तक्षेप गरेको पाइन्छ । उदाहरणका लागि ‘नीलो आयतन’ शीर्षकको कवितामा साग बेच्ने एउटी गाउँले आमाको सानो छोराको कुरा छ । आमा साग बेचर दिनहुँ उसलाई बेलुन किनिदिन्छिन् । आकाशमा उड्ने ती बेलुनमा ऊ ‘सागहरूको हरियो देश हाँसिरहेको’ देख्छ । भनौँ, आर्थिक यथार्थले कल्पना वा चेतनालाई कसरी प्रभावित पार्छ, यस कविताले देखाउँछ । 

पुस्तान्तरणसँग चिन्तन र चिन्ताको अन्तर पनि हुन्छ । यो शाश्वत कुरा हो । फुल्दाफुल्दै जरामा फुलिसकेको फूललाई आफ्नै चिन्ता छ छैन, फूलविहीन हाँगालाई चिन्ता छ । हिँड्दाहिँड्दै पातालमा पुगिसकेको जूनलाई आफ्नै चिन्ता छ छैन, जूनविहीन आकाशलाई चिन्ता छ । सुन्दर ! यस कविताले ज्योफ्री हिलको कविता ‘दा गार्जियन’ को पनि स्मरण गराउँछ ।

मौनता कवि सिजनको अर्को प्रिय विषय हो । मौनतामै संवाद सम्भव छ, यो उनको आस्था हो । एउटा कुरा खड्किन्छ — ‘मौन संवाद’ शीर्षकको कविताको शुरुमा मौनतालाई ‘ऐँजेरु’ किन माने र त्यसैलाई अन्त्यमा ‘प्रिय’ किन भने ? 

प्लेस अटेचमेन्ट, अर्थात् स्थानमोह कवि सिजनको अति प्रिय विषय हो । सङ्ग्रहमा कतिपय स्थान छन्, विशेषतः गाउँ छन्, जसप्रतिको उनको प्रेम अगाध छ । त्यहाँको प्रकृतिसँग उनको प्रेम गहिरो छ । ध्वजे डाँडा, डाँडाबजार, चप्लेवा गाउँ आदिले स्थानमोहसँगै स्थानीय रङ (लोकल कलर) पनि थपेका छन् । डाँडाबजार त यस्तो प्रिय ठाउँ, जहाँ शत्रुले पनि जिताएर गएथे कविलाई ।  

गहिरो अनुराग भयो भने मिथकका पात्र पनि व्यक्तिको दैनन्दिन कल्पना वा विश्वासका अंश बन्न पुग्छन् । दार्शनिक कार्ल गुस्ताभ युङको चिन्तनको निकट लाग्छ यो कथन । उनको कविता ‘पुनखुँ मैंचा’ यस दृष्टिले एक उच्चस्तरीय काव्यिक अविष्कार हो, तर्क हो । 

मान्छेको हृदय जति नै दृढ, कठोर र स्थिर भए पनि प्रेममा परेपछि त्यस हृदयमा भूकम्प आउँछ । यो उच्च काव्यिक (र जैविक) सत्य कवि श्रेष्ठको कविता ‘तरङ्गमा प्रेम’ को निचोड हो । वाह !

जब विश्वास मर्छ, ईश्वर पनि मर्छ । ईश्वरको अस्तित्व टिक्ने भनेकै विश्वासमा हो, आस्थामा हो । यो निकै निर्भीक तर सत्य विचार हो । ‘पानीमा कोरेका रेखाहरू’ शीर्षकको कवितामा यस तर्कको अन्तरध्वनि पाइन्छ । 

मर्दै गरेका मान्छेसँग पनि रहल रहर हुन्छन्, आकांक्षा हुन्छन् । ‘जिन्दगी देश’ यसको प्रत्याभूति हो । 

धेरै अमूर्त चिन्तनभन्दा माथि कविताका लागि आमाको दुध खान नपाएर भोकाएको एक सानो बालकको यथार्थ बढी स्पर्शी छ । श्रेष्ठको कविता ‘पखेटा नपलाएको कविता’ हेर्न सक्छौँ । 

सङ्ग्रहमा केही सूक्ष्म आकारका कविता छन् । ‘केही छोटा कविताहरू’ शीर्षकभित्र पाँच साना आकारका तर बृहत् अर्थका कविता समेटिएका छन् । सङ्ग्रहमा ‘शोकाकुल फूलहरू’, ‘जिजीविषा’ ‘तारिकको फेदमुनि’, ‘मृत्यु’, ‘वसन्तपुर’ र ‘मित्रता’ जस्ता कविता पनि सूक्ष्म आकारका छन् । लामा कविताको तुलनामा कवि श्रेष्ठ आफ्ना छोटा कवितामा ध्वनि र तर्कको ऐक्य र संरचनाको सुगठनलाई व्यवस्थित गर्न बढी सफल देखिएका छन् । उदाहरणका लागि हेरौँ यो कविता—‘रक्सी पिउँदै गरेको मृत्यु ÷ मेरो सामुन्ने उभियो ÷ र, मलाई जिउने कला ÷ सिकाएर गयो ।’ यसमा ‘वाह !’ भन्नुबाहेक आलोचना गर्ने ठाउँ कहाँ छ ? एक शब्द पनि फजुल छैन । शब्दको मितव्ययिता, कलाको उच्चता, कथ्यको सार्थकता र भावको घनत्व…अनेक कोणबाट हेर्दा पनि यो र यस्ता सूक्ष्म कविता बढी बलिया छन् । 

ख. शैलीपर्व

१. सूक्तिमयता । व्याख्या नगरौँ, उदाहरण हेरौँ । 

पानीको थोपा रहेछ सम्झना ÷ खसेर जान्छ कि कतै ÷ हृदयको अन्जुलीबाट । (‘ म रोएँ भने तिमी खस्छ्यौ ’)

शायद प्रेम आफैँमा एक गणित हो कि ? जहिल्यै मिले मिलेजस्तो हुने ÷ तर कहिल्यै नमिल्ने । (‘म रोएँ भने तिमी खस्छ्यौ’)

जो कागजको डल्लोमा चर्का–चर्का हल्लाहरू पोको पार्छन् ÷ हल्लाहरूको त्यही डल्लोले झटारो हानेर ÷ एकअर्कालाई तर्साउने समय पर्खन्छन् । (‘सडक— विस्थापनको तयारीमा’)

हजारौँ जुनी पार गरेपछि पनि ÷ डुबेर डुब्दैन इन्द्रेणी ÷ कहिल्यै ÷ खोलाको पानीमा (‘इन्द्रेणी अनुहारको सङ्गीत’)

२. शब्दको शैलीगत पुनरावृत्ति— ‘भिन्न छौँ, बिल्कुल भिन्न ।’ ‘नरम एकदम नरम ।’ ‘अङ्गाल्दै उसैको मनलाई अङ्गाल्दै’ । ‘किन शान्त छु, एकदमै शान्त ।’ ‘सिरेटो एकदमै कसिलो सिरेटो ।’ ‘एकदम’ वा ‘एकदमै’ शब्दको अतिप्रयोग भनेर छ्यास्स आलोचना गर्दिन पनि मिल्ने । 

३. शब्द–सङ्गीतको काव्यात्मक खेला

छुट्टिएका छौँ

आफैँ आफू हुनुबाट

अलग्गिएका छौँ

एकदमै…

अलग्गिएका छौँ—

आफैँ आफू नहुनबाट (‘पानीमा प्रेम’)

एकान्तलाई समेत एक्लै छाडेर

एकदिन तर जानुभो हजुरबा

आफ्नै गालाका गल्लीहरूमा

जीवनका अन्तिम प्रकाशहरू

छर्दै–टिप्दै, टिप्दै–छर्दै

र, फेरि बटुल्दै–बटुल्दै…(‘जादुगर गल्लीबाट’)

जाँदैछु बाँकी जे जे छन् ती पनि छाडेर

यतिसम्म कि

कलमको निबजस्तो अरूमै अडिने

यो जिन्दगी देश

उही शहरको अँध्यारो कुनामा

छाडेर जाँदैछु । (‘जिन्दगी देश’)

४. विरोधाभासी विम्बको मोहक गठजोड । 

जस्तै— शीतले लेखेको नाम, हावाको रङ, पानीमा मात्रै देखिने पानीका अनुहार, काँचको झरी, आँधीका आँसुहरू, हावाका एक हुल युवती झोँक्काहरू आदि ।  

५. कथ्यमा विपर्यास तथा विरोधाभासहरूको सुन्दर प्रयोग

आगोका फूलहरूको 

सुरक्षा गर्न

हतारै हतारमा हिँडेका

दर्जनौँ काँडाहरू

गन्तव्यमा पुगेका मात्र के थिए

आगोको रापले जलेर

खरानी भएदेखि

आजसम्म

सोचमग्न टोलाइरहेका छन्

शोकाकुल फूलहरू…। (‘शोकाकुल फूलहरू’)

भीडले एकदिन सुटुक्क भन्यो मलाई—

तिमी नै भएनौ भने

म कसरी बाँच्न सक्छु र यो पृथ्वीमा ?

कृपया ! तिमी अहिले नै नगइदेऊ मेरो साथी !

मेरो हल्ला गर्ने रहर

अझै पूरा भएको छैन । (‘जिजीविषा’)

ईश्वरले मेट्दा पनि मेटिएनन्

कसैगरी

मैले पानीमा कोरेका रेखाहरू (‘पानीमा कोरेका रेखाहरू’)

म छुन खोजिरहेछु—

सिरुको औँठी,

उनिउँको बुलाकी,

अमरलताको चस्मा

र परालको सिक्रीमा सजिएर

टा…ढाको स्कुलबाट

घर फर्किंदै गरिरहेका

नानीहरूका उत्साहहीन अनुहारको आकाश (‘झरी परेको साँझ’)

तिमी भन्छौ भने 

ओ ! ज्वालामुखी

आगोको बोतलमा पगालेर

आज म आफ्नै जिन्दगीको जाँड पिइदिनेछु । (‘मुटु नभएको मानिस’)

यस्ता अनेकौँ अभिव्यक्ति छन् । सबैको उल्लेख गर्न कसरी सम्भव होस् ?

ग. प्रश्नपर्व

प्रश्न अनेक छन् । यी ‘पुराना’ कविलाई यत्ति त सोध्नै पर्छ । 

कवितामा कथ्यले एउटा वातावरण बनाउँछ, ध्वनि बनाउँछ । त्यस ध्वनिमा प्रवृष्टि पाएको पाठक त्यसमै कविलाई खोज्छ । त्यो ध्वनि अन्तरैपिच्छे फेरियो भने पाठकले भन्छ— कविता बुझिँदैन । ध्वनिको तीव्र परिवर्तन कवि सिजनको एउटा मूल समस्या हो । यसमा ध्यान दिँदा राम्रो हुन्छ । 

सटिकताको कमी पनि खड्किन्छ । उदाहरणका लागि, ‘उड्ने खोला’ लिऔँ । बालकको मामाघर जाने कल्पनाको कविता छ । त्यसैमा, भगीरथले प्रार्थना गरेको कुरो आउँछ । सम्पूर्ण मानव जातिको आँसु पुछ्ने कुरा आउँछ । आँसुका झरना समेट्ने महादेवको जटा ‘बारी’ मा उमार्ने कल्पनाको कुरा आउँछ । एउटा बालकको मनमा यस्ता गह्रौँ चिन्तनको भारी ? ‘जादुगर गल्लीबाट’ शीर्षकको अर्को कवितामा कवि बाल्यकालमा पुग्छन् । हजुरबाको ‘काख’ मा फक्रेको आफू ‘परीहरूको मायावी अँगालोमा’ पुगेको कल्पना गर्छन् र ‘म्वाइ खाँदा परीहरूको ओठमा ढकमक्क फुलेका गुँरासहरू’ आफ्ना दुइटै गालाभरिभरि सरिसकेको’ सुनाउँछन् । काखमा खेल्ने शिशु र यो रुमानी तन्नेरी र शृङ्गारिक व्याख्या — कति सटीक, यो सोध्नु छ ।  

दुई पात्रका संवादभित्र उनी संवादको भाषा लेख्दैनन्, कविको विम्बात्मक भाषा पो लेख्छन् । उदाहारणका लागि, ‘उसले अर्को बिहान पनि देख्यो— हावाको रङ भन्दै थियो— बाबा ! हावा त रातो पो हुँदो रहेछ ÷ नपत्याए क्षितिजमा हेर्नुस् त ÷ सूर्यको लालिमा अँगाल्दै ÷ कस्तरी रातै मुस्कुराइरहेको छ हावा ÷ उम्मादको तरङ्गमा ?’ यो समस्या धेरैवटा कवितामा छ । संवादले बोलीचालीको सरल भाषा माग्छ । 

मेरो सपाट अनुभव र बुझाइ भन्छ— घुम्ती भन्नु बाटोकै अंश हो, बाटैमा घुम्ती आउने हो । ‘धेरै भयो घुम्तीहरूले पर्खिरहेछन् ÷ अब त बाटाहरूले पनि हिँड्नुपर्छ’ भनेको कुरो बुझिनँ । काव्यिक वा आलङ्कारिक अभिव्यक्ति हो कि भनेर पनि हेरेँ । कसै गरे पनि घुम्तीलाई बाटोबाट पृथक् छुट्याउनै सकिनँ । अविधामा बानी परेको मेरो दिमाग भन्छ— बाटो नै घुमाउरो भएपछि घुम्ती हुने हो । कुरो ‘बाटोका पैतालाहरू’ शीर्षकको कविताको हो । यसमा ‘अब त बाटाहरूले पनि हिँड्नुपर्छ’ भनिरहँदा ‘अब त…’ भनेको पनि बुझिनँ । किन, अब त ? किन अब चाहिँ ? पहिले चाहिँ नि ? 

ध्वजे डाँडो किन ‘मरुभूमिको सफरमा’ निस्कियो, बुझिएन । डाँडो स्थिरताकै प्रतीक बन्दा बढी सटिक लाग्छ । डाँडावासी मरुभूमितिर गए भन्ने सङ्केत हो भने पनि यो रूपक सटीक छैन । 

कतिपय उपमा अलङ्कार, शायद अनुभवको कमीले होला, बुझिनँ । उदाहरण— ‘युवतीको वक्षस्थलझैँ एकोहोरो हल्लिरहेको छ डाँडाबजार ।’ सोचिरहेको छु । ‘कङ्कालले बनेको हुस्सु’ पनि मेरो हातमा नरिवल नै भएको छ । कस्सम । 

कवि कहिलेकाहीँ विम्बहरूको व्याख्या वा विश्लेषण आफैँ गरिदिन्छन् र पाठकलाई बेरोजगार बनाइदिन्छन् । ‘पहिले पहिले सुपारीजस्तै थियो हाम्रो सम्बन्ध’ — यति भनेपछि पुग्थ्यो । ‘एकदम कडा’ भनेर व्याख्या थपेपछि म बेरोजगार भइगएँ । दिमाग लगाउनै परेन । कवि श्रेष्ठ यदाकदा ओभरराइटिङ गर्छन् । सडकका दुई किनार छु्ट्याउनुको निरर्थकता सङ्केत गरेपछि पुग्ने ठाउँमा आफैँ भन्छन्, ‘दुवै छेउ सँगै भएनन् भने त ÷ सडकै रहँदैन भोलिदेखि÷ सडकै रहेन भने कहाँ टेकेर हिँड्लान् ÷ भोलिका हाम्रा सन्तति ?’ यो व्याख्या अनावश्यक त छ नै, अविधात्मक र सपाट पनि छ । 

‘एक्लै हिँडिरहेर पनि…’ शीर्षकको कवितामा ध्वनिको विग्रह छ । ‘भीडमा पनि किन एक्लै र एक्लै दौडिरहेको म ?’ भन्ने पंक्तिपछि आउने सबै हरफहरूको ध्वनि, त्यसअघिको अंशसँग मिल्दैन । पछिल्लो अंशमै पनि कथ्यको ऐक्य छैन । 

प्रकृतिप्रेमी कवि सिजन, यदाकदा मानवकेन्द्री बनिदिन्छन् । ‘सुनकेशरी कविता’ शीर्षकको कवितामा प्रेम गर्न फेरि मान्छे नै भएर अवतरित हुनुपर्ने तर्कले कवितालाई अप्राकृतिक बनाएको छ । मानवेत्तर जगतमा पनि प्रेम हुन्छ, प्रेमको अभिव्यक्ति हुन्छ । अर्को कविता ‘क्षितिज’ हेरौँ । त्यसमा भनिएको छ, मान्छेले छोएपछि क्षितिज मान्छेको मनजस्तै कमलो कपासमा रूपान्तरित भयो । मान्छेको स्पर्शलाई मिथकरण गर्ने यो चेष्टा पनि मानवकेन्द्री हो । 

‘आँधीका आँसु’ शीर्षकको कवितामा कवि आँधीको क्रूरता तोड्न उसका आँसु खोजिरहेको सुनाउँछन् । आँधीका आँसु भेट्टाएर उसको क्रूरता कसरी तोडिन्छ, त्यो बुझिएन । म त बिना आँसुको आँधीको पनि कल्पना गर्न सक्छु । 

सङ्ग्रहभित्र ‘पहेँलो नक्सा’ शीर्षकको एउटा कविता छ । यसको सन्देश छ— देशलाई सदाकाल एकतर्फ प्रेम गर्न नसक्ने हुनाले कवि देश छोडेर जाँदैछ । कारण, मुटुमा कोरिएको देशको नक्सा धमिलो भइसकेको छ । यस कविताको सन्देश कस्तो जाला ? 

‘मित्रता’ शीर्षकको कवितामा मृत्यु कविलाई भन्छ, उनको मृत्युमा उनका सबै आफन्तजनहरू खुसियाली माइरहेका हुनेछन् । तर, यस कथनको सन्देश गलत जान सक्छ । ‘सबै’ आफन्तजन हाम्रो मृत्युमा खुशी हुन्छन् भन्ने तर्कमा लाहाछाप लाउन सकिँदैन । सरी । 

‘काँक्रेविहार’ शीर्षकको कवितामा विहारको उद्भवको कथा छ । त्यसको वर्णन छ, वि. संं. १८९० मा आएको भूकम्पले त्यसको आद्यस्वरूपलाई भत्काइदिएको ‘समाचार’ छ । त्यो फेरि उठ्ने छ भन्ने आशा पनि छ । तर कवितामा कवित्व छैन । 

‘चप्लेवा’ शीर्षकको कवितामा एउटा दुर्गम गाउँको चित्रण छ तर उक्त गाउँलाई एउटा हरफमा ‘निर्जन गाउँ’ भनिएको छ । निर्जन भएर कसरी गाउँ हुन्छ, यो बुझिँदैन । फेरि एक ठाउँ ‘वृद्ध गाउँ’ भनिएको छ र अलि तल अर्को हरफमा ‘सुकिलो युवती गाउँ’ भनिएको छ । एउटै गाउँ, कतै वृद्ध, कतै युवती । असावधानी थोरै भएको हो कि नियोजित हो ? शैली पो हो कि ? 

प्रश्नपर्वमा उठाउनुपर्ने प्रश्न अझै छन् तर अब रोकियौँ क्यार । सङ्ग्रहको शक्तिलाई उपसंहारमा फेरि पनि सम्झनु पनि त छ । 

कवि श्रेष्ठको काव्यिक चिन्तनको केन्द्रमा जीवन छ र जीवनसँगै गाँसिएर आउने प्रेम, प्रकृति, ईश्वर, मिलन, विछोड, सम्झना, अतीत मोह, सपना, गाउँको मायाजस्ता मृदु विषय आउँछन् । अभिव्यक्तिमा उनी ज्यादै कोमल छन् र एकाध प्रसङ्गमा बाहेक उनी लक्षणा र व्यञ्जनामै बोल्छन् । समाचार, होहल्ला र वैचारिक वादविवादमा भन्दा उनलाई सार्विक सत्यहरूसँग बढी सरोकार छ । उनी मन, वचन र जीवनका कवि हुन् । माथि औँल्याइएका कतिपय कुरालाई उनले मनन गर्न पनि सक्छन् (नगर्न पनि सक्छन्) । कुनै पनि शर्तमा उनको आगामी सङ्ग्रह अझ उन्नत हुनु आवश्यक छ । कारण, उनी हामी धेरैका विश्वासका पात्र हुन्, भरोसा हुन् । 

शुभकामना, कवि !