मैले बोल्ने सन्दर्भ २५ उत्कृष्ट नेपाली कथाको अङ्ग्रेजी अनुवाद सेलेक्टेड नेपाली स्टोरिजको छ । यहाँहरूलाई विधितै छ, खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विगतका दिनमा पनि छानिएका नेपाली कविता र निबन्धका सङ्ग्रह तथा केही उपन्यासको अङ्ग्रेजी अनुवाद प्रकाशित गरिसकेको छ । विगतका केही वर्षमा, सायद केही प्राविधिक कारणले, यस्ता अनुवाद कार्य केही स्थगित भएका देखिएको भए पनि यस वर्षबाट प्रतिष्ठानले पुनः अनुवादको लय समातेको छ, र आज केही समयको अन्तरालपछि हामीमाझ पुनः नयाँ अनुवाद सँगालो, मानक २५ नेपाली कथाको अङ्ग्रेजी रूपान्तरणको रूपमा देखा परेको छ । मजस्ता अनुवादक, अन्तर्राष्ट्रिय साहित्यका अध्येता र अध्यापक, तथा अन्य साहित्यजस्तै नेपाली साहित्य पनि अन्तर्राष्ट्रिय मञ्चमा देखियोस् र सम्मानित होस् भनेर चिताउने एउटा साहित्य पारखीका लागि यो अत्यन्त ठूलो खुसीको विषय हो । त्यसमा पनि, अनुवादको क्षेत्रमा सङ्घर्ष गरिरहेको, युवा पुस्तको मजस्तो एउटा सामान्य अनुवादकमाथि यति ठूलो विश्वास गरेर जसरी यो कार्य सुम्पनु भयो, त्यो मेरा लागि अपार हर्ष र गौरवको विषय हो ।

अनुवादको सन्दर्भमा केही कुरा भन्नु मनासिप ठानेको छु । अनुवादकै सिद्धान्त, सीप र प्रविधिमा दीक्षित अनुवादहरूको सङ्ख्या नेपालमा धेरै नै कम छ । साथै, पश्चिममा, पश्चिमाहरूसँगै उठबस गरेर, उनीहरूको दैनन्दिन, मनक, वा बोलचालको भाषामा आफूलाई अभ्यस्थ गराएर आएका अनुवादक पनि नेपालमा कम छन् । जति छन्, साहित्य पढेका, एक भन्दा बढी भाषाका अलिअलि ज्ञान भएका, र यस कार्यमा रुचि भएकाहरूले नै अनुवादको काम गर्दै आएका छन् । म पनि त्यस्तै अनुवादकमा पर्छु । त्यसैले, अनुवादमा हाम्रो सीमा के हो भने,  हामी नेटिभले जस्तो अङ्ग्रेजी भाषा बोल्न र लेख्न जान्दैनौँ अथवा सक्दैनौँ । हाम्रो भाषा किताबी हो, र धेरै जसो परिस्थितिमा हामी बेलायतीहरूको अङ्ग्रेजीबाट प्रभावित छौँ । यस्तो स्थितिमा, हाम्रा सीमा र कमजोरीसहित नै अगाडि बढ्नुको विकल्प पनि छैन ।

जहाँसम्म नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारको प्रश्न छ, त्यसमा तीन प्रकारका मानिसहरूको अहम भूमिका म देख्दछु । प्रथमतः यसमा अनुवादकहरूको भूमिका छ । दोस्रो, नेपाली साहित्यको साख र सामथ्र्यका बारेमा सैद्धान्तिक तर्क गरेर हाम्रो साहित्यको गरिमा, विश्वमञ्चमा स्थापित गर्न सक्ने सिद्धान्तकार, अध्येता र समालोचकहरूको भूमिका छ । कारण के भने, नेपाल एउटा छुट्टै साहित्यिक अस्तित्व हो भनेर स्वीकार्ने भन्दा पनि छिमेकका ठूला भूगोलहरूको फुटनोट हो र सबकल्चर हो भन्ने भ्रमक चलन बढी छ । यस्तोमा, हामी आफ्नै सभ्यताको जगमा उभिएका छुट्टै साहित्यिक अस्तित्व भएका मानिस हौँ भन्ने कुरा, प्रथमतः स्थापित गर्नु पनि जरुरी छ, हामीलाई हाम्रा छिमेका सापेक्षतामा होइन कि, हाम्रै जगमा हेर्नुपर्छ भन्ने मान्यता विकास गर्नु जरुरी यो । यो कुरा सिद्धान्तकार र समालोचकहरूले गर्न सक्छन् । र तेस्रो, यसरी अनुवाद प्रायोजन गराइदिने, पुस्तक छपाइदिने र छापिएका पुस्तकहरूलाई विश्वभरि छरिदिने सहृदय व्यक्ति र संस्थाको खाँचो छ । यी बाहेक, ढलेको सिन्को नभाँच्ने तर सामाजिक सञ्जालमा पसेर विष वमन गरिरहनेहरूको कुरालाई किनारमा बढारेर अगाडि बढ्नुको विकल्प छैन भन्ने निचोडमा पुगेको छु र सोही अपिल मेरा समवयी र अनुजहरूमा पनि गर्दछु ।

आफूले विश्वविद्यालयमा पढ्दा र पढाउँदा विश्वका उत्कृष्ट भनिएका कथासँग संसर्ग गर्दै म आएको छु । आफैँ पनि कथा लेख्ने, र अनुवाद पनि गर्ने हुँदा, कथा लेख्नु र कथा हुनुको प्रसव र प्रविधि पनि धेरथोर थाहा छ । यसरी हेर्दा, विश्वका उत्कृष्ट भनिएका कथाको सापेक्षतामा नेपाली कथा कुनै दृष्टिले कमजोर छैन । यिनमा थप के छ भने, हाम्रा कथाले नसुनिएका कुरालाई आवाज दिएका छन् र हाम्रो स्थानीय यथार्थलाई सतहमा ल्याएका छन् । यी कथा पढ्दा कथासँगसँगै नेपाली इतिहास, समाज र राजनीतिले पनि सँगै यात्रा गरिरहेको आभास हुन्छ । यिनको रूपविन्यासको अन्तर्यमा नेपाली गीत, ग्रामीण चिन्तन, लोक संस्कृति र विश्वदृष्टिले प्रवेश पाएको छ । यिनले सङ्केत गरेको आधुनिकता, यथार्थ, अस्तित्ववाद वा मनोविज्ञान, समाज, राजनीति र द्वन्द्व हाम्रै प्रकारका छन् । त्यसैले, यी कथाको अध्ययनले नेपाली भावभूमिकै सन्दर्भको अध्ययनपद्धति र सिद्धान्तको माग गर्दछ । यिनले हाम्रो आफ्नै वैकल्पित सिद्धान्तको माग गर्दछ । यिनले नेपालकै शैलीको वैकल्पित आधुनिकता वा उत्तरआधुनिकताको माग गर्दछ ।

यी कथालाई अनुवाद गरिरहँदा मलाई धेरैपल्ट नेपाली इतिहास पुनः पल्टाउनुपर्ने बाध्यता भयो । धेरैपल्ट भूगोल पल्टाउन पगेँ । शास्त्र पल्टाउन पुगेँ । गीतसङ्गीतमा पुगेँ । लोकवार्तामा पुगेँ, र दर्शनतिर पनि पुगेँ । अनि मलाई नेपाली कथा परम्पराले बोकेको भव्यताको बोध भयो । यो भव्यता हामीेले विश्वको अगाडि देखाउने चिज हो । यसलाई देखिने गरी हामीले विश्वमञ्चमा पु¥याउन सक्यौँ भने नेपाली साहित्यको लागि त्यो एउटा गौरव गर्न लायक विषय हुने छ ।
मलाई यस्तो गहन जिम्मेवारीका लागि योग्न ठानिदिनुहुने श्रद्धेय जीवा लामिछानेज्यू र सम्पादकद्वय कृष्ण धरावासी र गोविन्द गिरी प्रेरणाज्यूमा हार्दिक आभार व्यक्त गर्दछु । अनुवादमा कमी कमजोरी यथेष्ठ होलान् । अनुवाद आफैँमा यस्तो कुरा हो, जो सर्वप्रिय हुनै सक्दैन । मभएको भए यो गर्थेँ भन्ने गञ्जायस सबैमा रहन्छ । र अर्को कुरा, एउटा ब्याडबाट बिरुवा उखेलेर अर्को खेतमा लाँदा अलिकति जरा चुँडिने, थोरै माटो उक्किने, अलि अलि ओइलाउे वा दुईचार पात झर्ने हुन्छ । त्यसैले, सात समुद्रले छुट्याएको नेपाली र अङ्ग्रेजी सांस्कृतिक परिवेशका बीचको अनुवाद कार्यमा थेरथोर घाटानाफा र विचलनलाई नकार्न सकिँदैन, न्यूनीकरण गर्न सकिन्छ । मेरो विवेकले भ्याएसम्म कथामाथि अनुवादका नाममा अन्याय नहोस् भन्ने भरपूर कोसिस गरेको छ । तरै पनि छुटेका जेजति विचलन र त्रुटि छन्, ती मेरो अज्ञानताका प्रमाणपत्र हुन् । म सविनय क्षमा याचना गर्दछु ।

तिनलाई सच्याउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्दछु । काम नहुनुभन्दा काम हुँदै जानु बेस हो । काम गर्नेहरूबाट गल्ती हुन्छन् । गल्तीबाट पाठ नसिक्नु अभिमान हो । पाठ सिक्दै जानु विनम्रता हो । मैले विनम्रताको पक्षमा उभिने निर्णय गरेको छु । अब यस पुस्तकको भविष्ययात्रा यहाँहरूको हातमा छ । यसलाई एउटा सामूहिक र सामाजिक सम्पत्ति मानिदिनु होला । धन्यवाद ।