
उपस्थित सबैमा नमस्कार !
यो ओजपूर्ण कार्यक्रमका सभाध्यक्षज्यू, सम्मानित व्यक्तित्वहरु, विद्वान श्री युवराज खतिवडाज्यू, उपस्थित आदरणीय साहित्यकारज्यूहरु ! मलाई अनन्त प्रेम दिने मेरो परिवार र मित्रगण !
म केशवराज ज्ञवाली, अर्को भोरको फेरो समातेर तपाईंहरुसामु उभिन आइपुग्दा गौरवान्वित छु । तपाईहरु समक्ष उभिँदा मैले , यतिबेला , मलाई यहाँसम्म ल्याउने पाइलाहरुको डोब सम्झिरहेको छु।
साहित्य मेरो पूर्णकालीन अभ्यास होइन । मेरो हरेक साससँगै निरन्तर मैसँग हिँडिरहने प्रेम भने पक्कै हो । पेशागत सन्दर्भमा, म अमेरिकाको एउटा शहरको बाढी–क्षेत्र व्यवस्थापक तथा जलस्रोत ईञ्जिनियरका रुपमा कार्यरत छु । आफ्नो कार्यक्षेत्रमा व्यस्त रहिरहँदा होस् वा अन्य समयमा अञ्जान प्रेरणाले केही कविताका हरफहरु वा कथाका हरफहरुले मलाई पछ्याई रहन्छन । प्राय: मैले तिनीहरुलाई भनिरहनुपर्छ — एकछि पर्ख है । धेरैजसो साँझ सबैजना सुतेपछि वा भोलिपल्ट अरु उठ्नुअघि, म फेरि आह्वान गर्छु कविता वा आख्यानको कुनै पात्रलाई । ती पात्रहरु कहिले २४ घण्टासम्म पनि मलाई कुरी बस्छन् तर कहिलेकाँही मलाई असह्य कृपणताको भारी बोकाएर टाढा टाढा पुगिसकेका हुन्छन् ।
अर्को भोर, अवश्य मेरो प्रथम प्रकाशित पुस्तक हो तर मेरो लेखन यात्राको बीउ खोज्दै जाँदा म भेट्टाउँछु कक्षा ४ मा पढ्दा कुनै अव्यक्त प्रेरणाले निर्देशित एउटा बालक केशव ज्ञवाली, जसले लेखेको छ :
हवाइजहाजहरु उडिरहेछन्
मोटरहरु गुडिरहेछन्
किन दौडिरहन्छन् सबै कुरा यति छिटो
मलाई छोडेर ?
यतिबेला स्वर्गीय बुवा श्री युवराज ज्ञवाली र आमा नारायणी नेपाल मेरो स्मरणमा आउनुहुन्छ । म डराएको थिएँ । आमासँगै बसिरहनुभएका बुवाले सोध्नुहोला — “खुरुखुरु नपढेर यो किन गरेको ?” । तर तत्क्षणै बुवाले मेरो डर हटाइदिनुभएको थियो । धपक्क बलेको अनुहारमा लोभलाग्दो मुस्कान थपेर भन्नुभएथ्यो, — ‘लेख्नू, निरन्तर लेखिरहनुू । नबिर्स, लेख्नका लागि धेरै पढ्नुपर्छ ।” चार कक्षा पढ्ने फुच्चेलार्ई बुवाको अनुहारको खुशी देखेर लागेको खुशीको मात्रा अहिलेको केशवराज ज्ञवालीले सायदै शब्दमा वर्णन गर्न सक्छ । मेरो स्मृतिपटलमा यति चाहिँ याद छ — त्यसपछि मैले दिन दिनै लेख्नथालेँ । जे भेट्यो, त्यही पढ्न थालेँ ।
मन सन्तोक नभएका कति दिनहरु बितेका छन् जीवनमा । बुवाआमा आज मसँगै भइदिएको भए, आज अनुभूत गरिरहेको खुसीको उचाई कैयौँ गुणा अग्लो हुने थियो । बुवाआमाले छोडेर जानुभएको दशौं वर्ष भइसक्यो । तर पनि जब जब उहाँहरुको प्रेम र अभिभावकत्वको तृष्णाले द्रविभूत हुन्छु, दाजुभाउजूहरुले अङ्घालोभरिको माया वर्षाउनुहुन्छ र राहत हुन्छ । उहाँहरु अहिले पनि यहीँ साथमै हुनुहुन्छ र त आफूलाई ऊर्जाशील बनाउन सकेको छु ।
हो, म आफ्नै लागि लेख्नु र पढ्नुमा रमाइरहेँ । कुनै दिन अर्को भोर मा समेटिएका केही कथाहरुमा जीवनसाथी सुशीला भट्टराईका आँखा पुगे ।
“ल किन नछापेको ?” आश्चर्य देखियो उनको आँखामा ।
अमेरिकामै एक इञ्जिनयर साथी छन् कृष्ण कुसुम । उनी आफैं पनि लेखक हुन् । मेरा हरेक कथाहरु हरफ हरफ पढेर चित्तबुझ्दो गरी केलाउने र बजारमा जानुपर्छ भन्ने चेत खुलाउने अर्का एक व्यक्ति हुन् ।
प्रेरणा सधैं एउटै रुपमा आउँदोरहेनछ । बुवाको प्रेरणा अर्कै थियो । प्रिय सुशीला र कृष्ण मेरो लेखनमा नयाँ प्रेरणा बनेर उदाए ।
साथ दिन अघि सर्यो शिखा बुक्स । कृष्णले हातै समाएर पुर्याए मलाई त्यहाँसम्म ।
यहाँ सबै नाम नभनीकन, सबैलाई सम्झेको छु यतिखेर । तपाईंहरु जोडिँदै जानुभयो, म हिँड्ने कोसिस गरिरहेँ ।
मैं अकेला ही चला था जानिब—ए—मंजिल मगर
लोग साथ आते गए और कारवाँ बनता गया ।
मजरुह सुल्तानपुरीको यो सेरको साक्षी म आफैँ भएको छु यतिखेर ।
मलाई निरन्तर प्रेरणा दिने अनेक अनेक अग्रज, मेरो परिवार, साथीहरु, मिडिया तथा सञ्चारकर्मी मित्रहरु र निरन्तर मसँग जोडिइरहनुभएका अर्को भोर का पाठकज्यूहरु !
म प्रतिनिधि हुँ तपाईंहरूको । एउटा अनुहार । सबै तपाईंहरूको साझा हक छ यो पुरस्कारमा । यो ग्रहण गर्दाको क्षणको यो खुसी पनि मेरो एउटाको व्यक्तिगत पोल्टामा अटाउँदैन । मलाई लाग्छ, कृपणता र समृद्धिलाई बरोबर बाँडेपछि मात्रै सहजता र सन्तुष्टि मिल्छ मानव समाजमा । यही विश्वास गर्छु र तपाईं सबैलाई सम्झन्छु यो मञ्चबाट ।
उपस्थित सबै आदरणीय एवं प्रियजन,
लेख्नु मेरा लागि अत्यन्तै निजी र वैयक्तिक यात्रा हो ।
आफुलाई सरलीकृत गर्नु र पात्रसँगको सहानुभूतिभन्दा समानुभूतिमा पुग्ने कोसिस गर्नु, मेरो लेखनको प्रयास हो । कुनै यस्तै कोसिसमा भेटिएका थिए — पूर्ण मान्छे हुनबाट वञ्चित मार्कोस र बाजुराको खडक । मैले यिनैलाई सोधेथेँ यिनको कथा । तिनले मलाई आफ्नो कथा भनिदिए र बन्यो — तीन बराबर पाँच ।
नदी किनारमा एक जोडी चप्पल भेटिए । तिनैले भने लौरी बजैको कथा । अमेरिकामा भेटिएको थियो — आफ्नी आमाको अन्तिम संस्कारमा सामेल हुन नसकेको श्रवण । जब कुनै पात्र, घटना विशेषले मनलाई छुन्छ अनि केही नभनी नहुने स्थितिमा पुग्छु, लेख्न बस्छु । त्यो समयमा मलाई मेरो अथाह अज्ञान र अँध्यारोको परिचय हुन्छ । आफ्ना सबै अहंहरुलाई पन्छाउने कोसिस गर्छु र तिनै पात्रहरुसँग सोध्छु तिनका कथा । त्यति बेला मलाई लाग्छ, लेखक हुनु, अझ सार्वजनिक जीवनमै प्रवेश गर्ने गरी लेख्नु भनेको विशेषबाट सामान्यतर्फको यात्रा हो ।
यी मेरा व्यक्तिगत अनुभूति हुन् । अघि नै निवेदन गरें, म भाषा साहित्यमा औपचारिक तालिम लिएको मान्छे होइन । किञ्चित् मलाई पश्चाताप त हुन्छ तर मन बुझाउँछु सबैले दुरुस्तै एउटै बाटो हिँड्नुपर्छ भन्ने पनि त छैन ।
अग्रज तथा समकालीन लेखक मित्रहरु,
तपाईंहरु धेरैले अर्को भोर पढिदिनुभएको छ र मलाई हौस्याउनु भएको छ । तपाईंले यो कथाकृतिमा पाउनुभएका नयाँ कुराको श्रेय, मैले अहिलेसम्म पढी,गुनी आएका लेखकहरुमा जान्छ । सर आइज्याक न्युटनका शब्दमा भन्दछु – If i have seen any further , it is by standing on shoulders of giants.
म सबै giants हरुलाई अहिले सम्झिरहेको छु ।
हाम्रो प्राच्य परम्परामा लेखिएका वैदिक ऋचाहरु, पुराण, उपनिषद्, मुन्धुमका लाखौँ श्लोकहरुका रचयिता को हुन् भन्ने यकिन छैन । तिनीहरुले कालको ललाटमा, तत्तत् समयका युगीन चेतना र मानवहितका कथा गढेर गए । आजपर्यन्त हामी समृद्ध छौं किनकी ती शब्दहरुको सुवास हाम्रो जीवनमा छ । सर्जक भन्दा सिर्जनाको महत्ता स्थापित गरेको त्यो परम्पराको कान्छो कडी तपाईं हुनुहुन्छ र हामीहरु हौँ । मलाई यो कुराका हेक्का छ, आज म जहाँ उभिएको छु यो ठाउँमा हिजो कोही अरु थियो । भोलि अरु कोही हुनेछ । सर्जक आउँदै जाँदै गर्छन् तर सिर्जनको निरन्तरता चलिरहनेछ ।
त्यही परम्परालाई साक्षी राखेर यो पुरस्कार प्रक्रियामा सामेल हुनुभएका – नहुनुभएका, लामो वा छोटा सूचीमा पर्नुभएका सबैलाई म उहाँहरुको सिर्जनाकर्मको लागि बधाई र सुनौलो आगतका लागि शुभकामना दिन्छु । हामी सबैको सम्पूर्ण जीवन सिर्जनशील बनोस् !
खेमलाल—हरिकला प्रतिष्ठानका अध्यक्षज्यू,
हामीलाई थाहा छ, कुनैबेला हाम्रो देशको सिमानाको विशालता पश्चिम किल्ला काँगडा र पूर्वमा टिस्टा नदीसम्म थियो । मलाई लाग्दछ आजको नेपाल त्योभन्दा कैंयौँ गुणा विशाल छ । तपाईं आफैँ पनि देश–देशावर पुग्नुभएको छ । आज हामी नेपालीहरु संसारका दर्जनौ मुलुकमा छौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिँदा, हरेक नेपालीले आफुसंग एक टुक्रा नेपाल सँगै बोकेर लगेको हुन्छ । हाम्रो खानपान, चाडबाड र भाषा संसारभर फैलिँदै छ । त्यही संसारभरी फैलिएको नेपाल नै आजको विशाल नेपाल हो । यसपटक अर्को भोर माथिको तपाईंहरुको भरोसाले नेपाल भित्र बस्ने सर्जकमात्र हैन, संसारभरि फैलिएका विशाल नेपालका लाखौँ नेपालीहरुलाई, अझ विशेष भाषा र साहित्यका अनुरागीहरुलाई अभिप्रेरित गरेको छ । फेरि पनि यो मेरो व्यक्तिगत बुझाई हो । यही बुझाइको जगमा टेकेर, म यस प्रतिष्ठानलाई, यहाँको कामका निम्ति बधाई दिन्छु । हार्दिक धन्यवाद दिन्छु
आउने दिनहरुमा आफ्नो सिर्जनाकर्मको निरन्तरता दिइरहँदा तपाईंहरुले अर्को भोर माथि गर्नुभएको यो भरोसाको गरिमा जोगाउन प्रयत्नशील रहनेछु । यो पुरस्कारलाई मैले मै जस्तो हुने प्रेरणा र आफूमाथिको विश्वास जगाउने ऊर्जाको रुपमा लिएको छु ।
उपस्थित विद्वान् महानुभावहरु,
आजको पुस्ताको औंलाको टुप्पामा वास्तवमै संसार छ । गुगल गरिसक्दा संसारका महानतम रचनाहरु पृथ्वीको कुनै पनि कुनामा पढिन सक्छन् । प्रविधिको विकासले हामीभित्रै पनि र हाम्रो समाजबाहिर पनि हाम्रो अन्तरक्रियाका आवृत्तिहरुलाई बढाएको छ । यसको सुखद पक्ष हाम्रो ज्ञान र जानकारीको दयारा फराकिलो हुनु हो । विश्व साहित्यसंगै उभिएर पाठकको समय र ध्यान तान्ने प्रयास यसको टड्कारो चुनौती हो ।
लामो समयदेखि विदेशमा बसेर आफ्नै देशतर्फ फर्केर हेर्दा, नेपालभित्रै पनि नेपालीलगायत अन्य राष्ट्रभाषाहरुमा पठनपाठन कमजोर हुँदै गइरहेको हो कि जस्तो लाग्छ । बढ्दो सहरीकरण संगै खुल्दै गएका बहुसंख्यक पाठशाला, नेपाली र अन्य मातृभाषाबाट पर पर जान खोजेको आभाष हुन्छ । यो मेरो ज्ञानको सानो सीमा पनि हुन सक्ला । तर जति जति यस विषयमा म अध्ययन गर्छु, पाउँछु — अधिकांश विश्वका महानतम् साहित्यहरु मातृभाषामै लेखिएका छन् । टोल्स्तोय, चेखव र दोस्तोव्यस्कीले रसियनमा लेखे, टैगोरले बंगालीमा लेखे, मार्खेजले स्पेनिसमै लेखे र अहिलेका प्रसिद्ध पाउलो कोहेल्वो पनि पोर्चुगिजमै लेखिरहेका छन् । यसर्थ मलाई लाग्छ — भाषा बलियो नभई साहित्य बलियो हुँदैन रहेछ । यसैको अर्को पक्ष पठन संस्कृति पनि हो । कमजोर पठन संस्कृतिले जन्माउने लेखक पनि कमजोर नै हुन्छ । यसको स्वाभाविक चिन्ता, यो नव–लेखकमा पनि छ ।
अन्तमा,
मेरो यो सौभाग्य हो कि यो मञ्चमा उभिँदा, मसँगै आदरणीय साहित्यिकार माया ठकुरी हुनुहुन्छ । धेरै वर्ष पहिले पाल्पा, तानसेनको जनता माध्यमिक विद्यालयमा तपाईंले अक्षर सिकाएका सैयौँ केटाकेटीहरु मध्यको एउटा शिष्य म पनि हुँ । मैले तपाईसंग त्यतिबेला पनि सिकेको थिए र आज पनि निरन्तर साधनको महत्त्व सिकिरहेको छु। प्रिय म्याडम, तपाईंलाई धेरै धेरै बधाई छ ।
यो कार्यक्रममा पद्मश्री गौरवबाट सम्मानित हुनुहुने डा। सन्दक रुइतज्यू । नेपाल र नेपालीका लागि मात्रै नभएर संसारभरिको मानव कल्याणमा तपाईंको योगदान स्तुत्य छ । तपाईं हाम्रो लागि गौरव हुनुहुन्छ र सँगसँगै सम्पूर्ण मानवजातिको निधी पनि हुनुहुन्छ । तपाईंको उपस्थितिमा जीवनका केही घडीहरु यो मञ्चमा साट्न पाउनुको गौरव मैले जीवनभर संस्मरणमा बोकेर बस्नेछु । हार्दिक नमन तथा बधाई डा. साब ।
अर्को भोरलाई प्रदान गर्नुभएको सम्मानका लागि फेरि पनि मेरो समस्त परिवार, मेरा दिवंगत बुबाआमा, जसको अंशावतारको रुपमा यहाँ उभिएको छु, हामी सबैको तर्फबाट हार्दिक धन्यवाद।
दसैँ, झन्डै सकिइसक्यो ।
तपाईंहरु सम्पूर्णमा नसकिइसकेको दशैं र आसन्न तिहारको हार्दिक शुभकाना !
सबैको जीवन सन्तोष र सुखमय होस् !
फेरि कुनै अर्कै ठाउँमा, अर्कै प्रसंगमा अवश्य भेट हुनेछ ।
धन्यवाद । नमस्कार ।
(कथासङ्ग्रह ‘अर्को भोर’का लागि पद्मश्री पुस्तक पुरस्कार प्राप्त लेखक केशवराज ज्ञवालीबाट पुरस्कार वितरण समारोहमा व्यक्त मन्तव्यको सम्पादित अंश)

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

कतिपय पुरस्कारका निर्णायकहरू नै लेखकहरूका प्रतिस्पर्धी हुन्छन् – महेश पौड्याल
