भर्खरै एउटा टिभी अन्तर्र्वार्तामा प्रस्तोताले सोध्नुभयो— नेपाली साहित्यले नोबेल कहिले जित्ला ?
जवाफ थिएन मसँग । हुने कुरो पनि भएन । कसरी होस् र? ‘तुलो बिछो मकर धन, राजाका हिरामोती भुसखातमा छन्’ भनेर आर्जे हेरेजस्तो कुरो भएन यो ।
गोलमटोल पारेरै भए पनि जवाफ त मिलाएरै दिएँ यस्तै यस्तै, तर प्रश्न मनमा खेलिरह्यो ।
खेलेको – प्रश्नको उत्तर खोज्न होइन । उत्तरै छैन सायद यस प्रश्नको । प्रश्नले भविष्यवाणी माग्छ । भविष्य त के,
वर्तमानवाणी नै पनि नभएको यस बेला, यस प्रश्नको उत्तर हुने कुरै भएन ।
तर प्रश्न मनमा गड्यो । चिन्तन गरेँ । अनेक कुरा आए मनमा । यो मनको के भर हुन्छ, बहकिने मात्रै डर हुन्छ…।
बहकियो त ।
भर्खरै फेसबुकमा एउटा स्टाटसले चर्चा पायो । आफ्नो पहिलो पुस्तक निकालेका एक जना किशोरले आफ्नो लेखकीय सपना साझा गरेका थिए— कुनै दिन, मदन पुरस्कारको सूचीमा मेरो किताब परेको हेर्ने रहर छ ।
अर्का एक जना समवयी मित्रले फोनमा भने— अब म लेख्नै छोड्दिन्छु ।
किन?
हैन, काम छैन । म छोड्दिन्छु ।
नछोड्नू न हौ ।
छोड्दिन्छु । पुग्यो । अब छोडेँ ।
कारणचाहिँ के रहेछ भन्दा— पुरस्कार फुत्केछ ।
एक जना मित्रको पुस्तक आयो । कसो कसो हुनुपर्ने जति चर्चा भएन । अरू ‘केही’ पनि भएन । एक दिनको जमघटमा कानमै आएर भन्नुभयो, ‘कुनै पुरस्कार मिलाइदिनुस् न ।’
मानौँ, यहाँ मिलाइदिँदा मिल्छ पुरस्कार ।
र मानौँ, लेखनको अन्तिम पडाउ नै पुरस्कार हो ।
तर, मिलाउँदा पनि मिल्छन् रे नि त कतिपय पुरस्कार र सम्मान ।
फेसबकतिर देख्छु — फलानो अन्ताराष्ट्रिय अवार्ड फलानो कविलाई ।
यसो देशी जमिनतिर हेर्छु । नामोनिशान । योगदान हेर्छु । नामोनिशान ।
देशी मिडियाको प्रतिक्रिया हेर्छु । मुर्दाशान्ति । देशको साहित्यिक व्योमलाई हेर्छु । सुनसान ।
यस्ता ‘अवार्ड विजेता’ चैँ बढी अङ्ग्रेजी लेख्नेहरू देखिँदा रहेछन् ।
अलि-अलि अङ्ग्रेजी आफैँ पनि लेख्छु । त्रुटि हजार । नाम आइहाल्छ कि भन्ने त्रास नि, कुनै दिन । हैट ।
अलि अर्का थरी देख्छु — भारत जान्छन्, उता पुरस्कृत । अनि उताकालाई यता बोलाउँछन् । अनि यता सम्मानित । लेनदेन ।
एउटा बिरादरी चैँ कस्तो छ भने, फेसबुकमा लेख्छ— मेरो फलानो कविता फलानो पत्रिकामा ‘स्वीकृत’ भयो ।
छापिएकै भए एउटा कुरा । अथवा, त्यो पत्रिका भव्य नै भए पनि मान्नु । अथवा कुनै चर्चित जर्नल भए पनि मान्नु । यो ‘भ्रमजाल बिरादरी’ ले पनि अचम्मै गर्छ ।
मैले नोबेलको प्रश्न बिर्सेको छैनँ तर यी गफगाफ जरुरी छन् ।
यी गफगाफले लेखनको गन्तव्य के रहेछ धेरैको — त्यो बताउँछ ।
गन्तव्य नै करेसाबारीको डिल छ । नोबेलको कुरा के गर्नु?
तर कुरा त गर्नु नै पर्छ । कुरै नगरे त कहाँबाट आउला नोबेल?
कुराले नोबेल आउने हो र?
अचेल अनेक अनेक राष्ट्रिय–अन्ताराष्ट्रिय साहित्यिक संस्था खुलेका छन् । धेरैको उद्देश्य चाहिँ— नेपाली साहित्यको अन्ताराष्ट्रियकरण भनेको सुनिन्छ । घोषणापत्रहरूमा एक वा दुई नम्बरमै पो पर्छ त यो बुँदा । सुखद । बाउन्न तलाको घरको नक्सा छ । यसो जग हेर्छु । करिब करिब भुसकै छ भन्दा पनि हुन्छ । भुस थप्ने काम म आफैँले पनि गरेको हुनाले ढुक्क छु ।
अनि कि, ‘भुस’ भन्न मिल्छ?
मिल्न त मिल्दैन । तर फुत्कियो ।
तर भुस पनि नराम्रै मात्रै त हुँदैन नि । माथि उखानमा भनियो नि— राजाका हिरामोती भुसखातमा छन् । अनि कसरी नराम्रो मात्रै भयो त?
भुसखातमा हिरोमोती त छन्, तर कति भित्र छन्, गाँठी कुरा यो हो ।
यसो हाम्रो आधुनिकताको इतिहासतिर हेरेँ । कुरो ‘नोबेल’ मा जोडिएको हुनाले स्वतः आधुनिकताको प्रश्न तानिएको हो । मेरा प्रबुद्ध पाठकलाई यसको कारण थाहा भइहाल्छ भन्नेमा विश्वस्त छु ।
हामीले राणाका विरुद्ध प्रत्यक्ष वा परोक्ष आवाज उठाउन थालेपछि स्वराजको भाव हाम्रो दिमागका आएको बुझिनुपर्छ । भनौँ, कसैको दासत्वबाट मुक्तिको भाव । यस भावलाई कलासाहित्यले बोक्न र गुञ्जित गर्न थालेपछि करिब-करिब आधुनिकतावादको सुरुवात भएको भन्दा हुन्छ र यो कुरा करिब-करिब वि.सं १९९० को दशकतिर देखियो भन्दा हुन्छ । अनुसन्धान वा सोधहरूले त गन्जागोल गरेका छन् आधुनिकताको मितिका सन्दर्भमा । केहीले ‘आधुनिक’ लाई भावसँग होइन रूपसँग मात्रै जोडे र भने, पहिलो गद्य कविता छापिएपछि नेपाली कविता आधुनिक भयो । यसमा दुई कुरा छ । पहिलो, कविता मात्रै एक्लै आधुनिकताको मापक हुने कुरा चैँ नेपालमा मात्रै भयो, अन्यत्र कतै पनि भएन ।
दोस्रो, आधुनिकता भाव हो, रूप होइन र भाव, जुन रूपमा आए पनि हुन्छ । गद्य कवितालाई आधुनिकताको कसी मान्दिएपछि त्योभन्दा हजारौँ गुणा आधुनिक मनःस्थिति बोकेको छन्द कविता आयो भने पनि त्यो नेपथ्यमा पऱ्यो, पऱ्यो । पारियो । यही कारण हुनुपर्छ, कसैले ‘आधुनिक नेपाली कविता’ को सङ्कलन निकाल्यो भने छन्द वा पद्य कवितालाई छुटाइरहेको हुन्छ । आधुनिक नै मान्दैन, रूपका कारणले । यो हास्यास्पद कुरा हो । हुनुपर्छ ।
कुरा बटारियो । नोबेलको कुरा खोइ? कहाँबाट आयो कविताको कुरा?
कुरो १९९० को दशकको गरिरहेका थियौँ । अलिकति बरालियौँ । यति त पाइन्छ । पाँच अनुच्छेदको महाविद्यालयीय निबन्ध होइन नि त यो । यो जात नखुलेको लेख हो । वर्णशङ्कर ।
यो १९९० को दशक भनेको सन् १९३० र १९४० लाई छुने दशक रहेछ । नेपालमा आधुनिकताको प्रस्थानबिन्दु कहिले र कहाँ हो, ठम्याउन गाह्रो होला, तर दासत्वबाट मुक्ति तथा परम्पराको क्रमभङ्गतालाई आधुनिकताको द्योतक मान्ने हो भने हामी नेपाली धेरै-धेरै अफ्रिकी, एसियाली र केरिबियाली देशहरूभन्दा पनि अगाडि ‘आधुनिक’ भएका हौँ । भारतकै कुरा गर्दा पनि, सन् १९४७ मा भारत अङ्ग्रेजको शासनबाट मुक्त भएपछि मात्रै आजको स्वरूपमा आधुनिक भारतको जन्म भएको मान्छन् धेरै विद्वान्हरू । यही तर्क थियो सल्मान रुसदीको ‘द मिडनाइट चिल्ड्रेन’ मा । हुन त भारतको इतिहासलाई पाँच हजार वर्षअगाडिदेखि नै ‘आधुनिक’ भन्ने कडा राष्ट्रवादीहरू यस तर्कको विरोध गर्छन्, तर यस तर्कमा दम नभएको भने होइन ।
विरोधाभास भयो कुरामा? भयो ।
स्वराजको कुरा त प्लासीको युद्धमै उठेको होइन?
कुरा एकीकृत देशको गरेको । छरिएका ‘राज्य’ को होइन । आवश्यक परे, यसमा अझै तर्क गरौँला ।
त्यहीँको भारतभन्दा पनि अघि हामीकहाँ देखिने प्रकृतिको अधुनिकता थियो । अधुनिकतावादतिर अहिले नलागौँ । वादतिर लाग्यो कि घरै टुट्छ भन्छन् ।
अफ्रिकातिर पनि । केरिबियामा पनि । अन्यत्र पनि ।
अनि कि, हामीभन्दा पछि ‘आधुनिक’ भएका मुलुकका लेखकले नोबेल पुरस्कार पाए । सूची यहाँ नराखे पनि हुन्छ ।
हुन त नोबेल पाउनु नै साहित्यको गन्तव्य हो भन्ने होइन ।
त्यो नपाए कतै पुगिएन भन्ने पनि होइन ।
नोबेल पाउने लेखकभन्दा अब्बल अरू हुँदैनन् भन्ने पनि होइन ।
कहिलेकाहीँ राम्रालाई छोडेर अलि कम राम्रालाई दिने गरेको छ नोबेल भन्दा पनि फरक पर्दैन । बुकर पनि । ओस्कर पनि, चलचित्रतिर ।
एकचोटि त झोक चलेर लेखेको थिएँ — ‘पोभर्टी पोर्न’ । यानि, हाम्रा मुलुकलाई जति गरिब र कुरूप बनाएर प्रस्तुत गऱ्यो, उति ओस्कर र बुकर । जति समृद्ध, बलियो, ज्ञानसम्पन्न र उन्नत देखायो, उति कम सम्भावना । यो पनि एक प्रकारको राजनीति । भनौँ— यताको गरिबी र अवनति एउटा अन्त्यहीन र समयातीत यथार्थ हो भन्दिँदासम्म दिल खुस । ‘स्लम डग मिलियोनर’ । ‘गड अफ स्मल थिङ्ग्स’ । ‘इन्हेरिटेन्स अफ लोस’ । कति कति । भो, सूचीतिर नलागौँ ।
तर्क नि ।
नोबेलमा अलि फरक देखिएको छ रुझान ।
टेगोरको पूर्व र वेदान्त हेर्दा ।
सोयिङ्कका मिथक र जात्रा हेर्दा ।
मार्खेज र पाजका अद्भुत, तिलस्मी चटक हेर्दा ।
केन्जाबुरो ओएको भित्री जापान हेर्दा ।
एलेन पेटनका गोरा आँखाले भेट्टाएको अफ्रिका हेर्दा ।
युरोपेली वा अमेरिकी नोबेल लरेट र यी क्षेत्रभन्दा बाहिरका नोबेल लरेटको लेखनको सुराकी गर्दा एउटा कुरा प्रस्ट थाहा हुन्छ । सो के भने, युरोपेली वा अमेरिकी लेखकहरूसँग कुनै राष्ट्रिय वा क्षेत्रीय चरित्रको कुरा गर्ने बोझ देखिँदैन । उनीहरू निजी अनुभव र दृष्टिमा आधारित विविधतायुक्त तर उम्दा सिर्जनाकै जगमा पनि नोबेल जित्छन् । अथवा, आफूले बाँचेको समयको कुरूपता अगाडि आफ्नै निजी जीवनबोध वा दर्शन बोकेर पनि नोबेल जित्छन् । बर्नार्ड साको समस्त साहित्यको योग कुनै क्षेत्रको दर्शन होइन । कुनै भूगोलको चरित्र होइन । त्यो उनको हो । उनको मात्रै हो । यिट्स र इलियटका कविता समयमाथि उनीहरूका निजी प्रतिक्रियाको सङ्ग्रह हो । तिनमा देश वा युरोपीय चरित्र खोज्नु चराका फुटेका फुलका टुक्रा भेट्नु हो । पिरान्डेलोका नाटक नि? उनैले चाहिँ बुझून् । अरूले जे त गरून् ।
हर्मन हेस्सेलाई अपवाद मान्छु ।
तर फेरि, युरोप वा अमेरिकाबाहिर नि? कुनै निजी दृष्टि, समयमाथिको निजी प्रतिक्रिया अथव वैयक्तिक भावसहितको सिर्जनाको सुन्दरताको जगमा कसैले नोबेल पाएको देखिँदैन । तिनमा भौगोलिक वा ‘कन्टिनेन्टल’ केही खोजिएको देखिएको छ । टेगोरमा — वेदान्तको जग रे । सोयिङ्कामा — कन्टिनेन्टल मिथ रे । सेफेरिसमा — ग्रिसेली संस्कृतिका कुरा रे । योसेफ एग्नोनमा — यहुदीको जीवन रे । कावाबाटामा — जापानी मस्तिष्कको तत्त्वज्ञान रे । नेरुदामा — एक महादेशको नियति र सपना रे । नगुइब महफौजमा – अरबी आख्यानको नमुना रे ।
कति लामो सूची हौ? झ्याउ लाग्ने डर ।
एक लाइनमा भन्दा— युरोप वा अमेरिकामा ‘कन्टिनेन्टल टेम्परामेन्ट’ भन्ने कुनै नयाँ कुरा नै छैन । त्यहाँ अब निजी कुरा मात्रै छ । लेखकका अगाडि पनि भन्न बाँकी साझा कथा कम, आफ्नो कथा बढी छ । त्यहाँ आफ्नै कथामा नवीनता खोज्छन् । आफ्नै कुरामा दम खोज्छन् ।
यसको एउटा कारण के होला भने, होमरको पालादेखि लेखिँदा-लेखिँदा र बाहिर बेच्दा-बेच्दा युरोपमा अब लेख्न र बेच्न बाँकी कुनै भव्य क्षेत्रीय वा महादेशीय दर्शन वा संस्कृति छैन । कि व्यापार छ, कि निजी कथा छ । त्यसैमा खोज्ने हो युरोप र अमेरिकालाई अबका दिनमा । अमेरिकातिर त, इतिहासै फगत केही शताब्दीको छ । त्यसअघिको इतिहास कसो-कसो मेटाइयो, मेटियो । जे बँच्यो, टुँडिखेलजस्तो बनेर बच्यो — जसले पनि नाच्न मिल्ने । जसले पनि हेर्न वा देख्न मिल्ने ।
त्यसमा कुन नयाँ अध्ययन थप्नु र ज्ञानोदय गराउनु?
तर हाम्रा तिर ‘आफ्ना’ वा ‘निजी’ कुराको बजार छैन । चासै छैन । निजी वा आफ्ना कुरा गरेर आफूतिर विश्वलाई तान्न एउटा लेखकमा सायद एउटा असाधारण उचाइ, वैश्विक रेन्ज र बौद्धिक विलक्षणता चाहिन्छ । त्यसलाई आकर्षक बनाउन सायद देशसँग पनि त्यस्तै, तद्रूप उचाइ चाहिन्छ, जो हामीसँग छैन । व्यक्तिमा जति नै उच्चता किन नहोस्, उसको देशसँग त्यसैअनुरूपको उचाइ छैन भने, त्यस व्यक्तिका कुरा सुनिने सम्भावना अलि कम नै हुन्छ । त्यस्तो स्थितिमा, यहाँ एक व्यक्ति विशेषको निजी कुराले कसैलाई अकर्षित गर्न सक्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन ।
त्यसैले…
बल्ल ‘त्यसैले’ भन्ने आयो — पर्खिँदा पर्खिँदा । माथिको झ्याउलाग्दो कुरा सकिएला कि भन्ने आश पलायो ।
त्यसैले…
त्यसैले, यता, यानि पश्चिमबाहिर, हाम्रा अगाडि तीन विकल्प छन् ।
विकल्प एक – पुरस्कारकै लागि लेख्ने । पाए गुड । नपाए डिप्रेसन । पलायन । ‘भो, अबदेखि किताब लेख्दिनँ ।’
लेख्नुस् नि प्लिज ।
लेख्दिनँ ।
विकल्प दुई – पुरस्कारसुरस्कार मारो गोली । आत्मसन्तुष्टिका लागि लेख्ने, अथवा आफ्नो समयसँग आफ्ना भावना, सोच र दर्शन साट्न लेख्ने । केही भन्न लेख्ने र त्यसको सिप र ज्ञान प्राप्त गर्न साधना गर्ने । कसैले केही गरोस् वा नगरोस्, बाल मतलब । (केही गरिदिन्छु, लेख्नुस् न प्लिज भनेर लेख्न लाएको हो र कसैले?) लेखनको प्राप्ति लेखन आफैँ । साहित्य साध्य पनि साधन पनि । अपरिग्रह ।
यस विकल्पले लेखकलाई वास्तविक लेखकीय उचाइतिर लान्छ । सर्त यत्ति हो, उसको लेखन चैँ कला र दर्शनको कसीमा उन्नत होस् । ग्राह्य होस् । भव्य होस् ।
हुँदैन र पो ! लेख्यो कि भव्य भइगयो भन्ने बिमार छ र पो ! कसैले छिरिक्क आलोचना गऱ्यो कि ‘दुर्वासा–अवतार’ चढ्छ र पो ! खेदेका खेद्यै छन् एक जना नयाँ उपन्यासकारले फेसबुकमा । सिधै होइन कि, बाङ्गो । घुँयेत्रो चलाइरहन्छन् ।
र तेस्रो विकल्प पनि छ । नोबेल वा बुकर हेर्ने हो भने चाहिँ, मलाई लाग्छ एक प्रकारको रणनीति चाहिन्छ । मानौँ वा नमानौँ, यी कुराको निर्णायक मानसिकता युरोपेली मानसिकता नै हो । बुकर ओस्करको ‘पोभर्टी पोर्न’ को कुरा त भनिहालेँ माथि नै । त्यतातिर नलागौँ । तर नोबेलले बेला-बेला गैरपश्चिमा भूगोलप्रति पनि मैत्रीभाव देखाएको छ र जब-जब त्यस्तो भाव देखाएको छ, त्यस भावलाई आकर्षित गरेको साहित्य निजी भाव वा अनुभवको फेहरिस्त नभएर साहित्यकारले प्रतिनिधित्व गरेको क्षेत्र, संस्कृति, देश वा महादेशको कुनै ‘साझा’ पक्ष, सरोकार वा पहिचानमा उभिएको साहित्य नै भएको देखिन्छ । एक वाक्यमा भन्दा, युरोप वा अमेरिकामा व्यक्तिमाथि चासो छ । पश्चिमबाहिर भूगोलमाथि चासो छ ।
यो कुरा मनन गर्नु हो कसैले र जीवनभर यसैमा उभिएर लेख्नु हो भने, मलाई लाग्छ, नोबेलको बाटो पनि खुल्छ तर यसका लागि आफ्नो सम्पूर्ण लेखनलाई जोड्ने एउटा स्पष्ट ‘क्षेत्रीय’, ‘महादेशीय’ वा ‘सांस्कृतिक’ साझा कडी चाहिन्छ । त्यस्तो साहित्यको भव्य अनुवाद र सबैतिर पुग्ने गरी बजार व्यवस्थापन त छँदैछ ।
नेपालमा, नेपाली लेखनमा केही समस्या छन्, जसले नोबेलजस्तो प्रश्नलाई सुदूरको सपना बनाइदिन्छ ।
— हाम्रा भव्य लेखकहरू १८ ओटा किताबमा १८ ओटा कुरा गर्छन्, १८ तरिकाले । देवकोटा पनि यस्तै हुन् । यो गर्न पाइन्छ । विविधता हो । पुनरावृत्ति दोषबाट मुक्ति पाउने उपाय हो तर यसको सीमा के भने, यस्ता लेखकका साहित्यको योगले खासै कुनै कुरा स्थापित गर्दैन । कुनै एक कुरा स्थापित गर्दैन । छरिन्छ । सलादको बलजस्तो ।
— एउटै कुरा लेख्ने हाम्रा भव्य लेखक १८ किताबमा एउटै कुरा लेख्छन् । भगवान् भव्य छन् । सर्वहारा जागौँ, सामन्तलाई मारौँ । सरकार मुर्दावाद । जिन्दगी के र आखिर? प्रकृतिको भव्यता हेरेर अवाक् भएँ… । त्यस कुराका विविध पक्ष लेख्दैनन् । त्यसका विविध मोड लेख्दैनन् । त्यसबाट विविध सूक्ति र दर्शन दिँदैनन् । आफ्नो किटानी जाहेरी लेख्छन् ।
— कति लेखक छन्, १८ ओटा किताब लेख्दा पनि कुनै तर्क स्थापित नभएका । कुनै लेखमा अगाडि भनेको थिएँ— ३६ ओटा किताब टाइप गराउने चटारो रहेछ एक ठाउँ । किन भनेर सोधेको, अब केही दिनमा लेखिकाको जन्मदिन अरे । पहिले ६४ ओटा छापिएका रे । अबको जन्मदिनमा ३६ ओटा विमोचन भयो भने १०० पुग्छ रे । लेखनदासहरू व्यस्त देखिए । लेखक — मस्त, भनौँ न ।
— मजस्ता धेरै लेखक चैँ के लेख्छौँ लेख्छौँ । न कसैको दिल छुन्छ, न दिमाग । अध्ययन कम । सिर्जना कम, थोत्रै कुराको व्यवस्थापन बढी । कागजको नाश । फगत लेखक हुने रहर । तैपनि…लेखौँ न । लेख्दै छौँ त ।
यी तमामा समस्याबाट मुक्त कुनै लेखक कहिले आउला? उसका साहित्यको भव्य अनुवाद कहिले होला? विश्वव्यापी वितरण नि? अध्ययन?
अनि कि, एक जना लेखकको एउटा किताब अनुवाद गराएर नोबेल कमिटीमा पठाएको अरे भन्ने पनि सुनियो । त्यसरी त हुँदैन कि?
कसरी चैँ हुन्छ त?
थाहा भए गजबै हुन्थ्यो ।
थाहा नहुनुको आनन्द बेग्लै छ । मलाई त्यो आनन्द मन पर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।