‘नयाँ भूटानको छायाँ चित्र’ डाक्टर गोविन्दराज भट्टराईद्वारा लिखित यात्रा निबन्ध संग्रह हो । यस पुस्तकलाई ओरिएण्टल पब्लिकेसन हाउस प्रा.ली काठमाडौँले बजारमा ल्याएको छ । ३ सय १३ पेज रहेको यस पुस्तकमा ४० ओटा विभिन्न शीर्षकका यात्रानिबन्ध समावेश छन् ।

यस पुस्तकलाई एक डेढ महिना अघि नै पढेर सकेकी हुँ किताब सम्बन्धी केही लेख्ने हुटहुटी मनमा हुँदाहुँदै पनि समय निकाल्न सकिनँ ।

गोविन्दराज दाइलाई मैले चिनेको करीब सात वर्ष भयो होला, तर उहाँको उपन्यास ‘मुग्लान’ भने धेरै पहिले नै पढिसकेकी हुँ । उहाँका कृतिहरू अनगिन्ती छन् । तीमध्ये मैले ‘सुकरातका पाइला’, ‘मेरो दोस्रो बेलायत यात्रा, ‘कोरोना डायरी, संस्मरण ‘सम्झनाको सागरमा केही दिन’ लगायत उहाँको भूमिका रहेका थुप्रै पुस्तकहरू पढेकी छु । उहाँको प्रशंसा जति गरे पनि कम नै हुन्छ । साहित्य क्षेत्रमा उहाँको योगदान विशाल छ । यति मात्र भनौँ—उहाँ हाम्रा निमित्त एक असल अभिभावक र मार्गदर्शक हुनुहुन्छ ।

भट्टराई र उहाँको धर्मपत्नी डाक्टर अञ्जना वस्ती सन् २०२२ मा भूटानी–नेपाली डायास्पोराका दुई ठूला साहित्यिक संस्था ‘नेपाली साहित्य परिषद् भूटान र ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेशन (विश्व भूटानी साहित्यिक संगठन)’ अर्थात् जिबिएलो अमेरिकाको निम्तोमा सरिक हुन पुग्नुभएको थियो । त्यही साहित्यिक यात्रा हामीले उहाँको पुस्तकमा पढ्न पाउँछौं ।

यात्रामा यथार्थ वस्तुहरूको बयान गरिन्छ । उदाहरणको रूपमा आउने प्रसंग बाहेक काल्पनिक कुरो हुँदैनन् । ‘नयाँ भूटानको छायाँ चित्र’मा लेखकले हिजो नेपालका पथरी, बेलडाँगी आदि क्षेत्रमा अत्यन्त कष्टकर जीवनयापन गर्न बाध्य भएका नेपालीभाषी भूटानीहरू तेस्रो मुलुक अमेरिका पुनर्वास भएपछि त्यहाँ अपनाएको जीवनशैली र उनीहरूले नेपालप्रति गरिरहेको योगदानलाई सजीव ढङ्गले प्रस्तुत गर्नुभएको छ ।

संघर्ष आफ्नै ठाउँमा छ । अमेरिका पुगेर काम गरिखान पाउनु ठूलो कुरा हो । विश्वको जुनसुकै ठाउँमा पुगे पनि काम नगरी खान पाइँदैन । नेपाल मात्र एक यस्तो देश हो जहाँ काम नगरी पनि खान पाइन्छ तर काम गर्छु भन्दा काम र उचित दाम पाइँदैन । राजनीति खेलले ग्रस्त देश, नेताहरूले फुटबल बनाएको देश रोजगारी सिर्जना गर्नै नसक्ने सरकार, देशको जनशक्ति बेचेर खाने सरकार । अरू के के मात्र भन्नु खोइ ?

तर हामी विदेशमा बस्नेहरूलाई देशको धेरै माया हुन्छ । हामीसित गाडी, बङ्गला, कामदाम सबै भैकन पनि देशको झुपडी घर प्यारो लाग्छ, माटो प्यारो लाग्छ । हामीलाई अरूको माटोमा आफ्नो माटोको अभाव खड्किरहन्छ ।

बाहिरी सम्पन्नता उच्च भए पनि भित्री अभाव गहिरो लाग्छ । बाँचुन्जेल नपुरिने ति खाल्डोलाई अब त्यहीं जन्मने नानीहरूले बिर्सनु स्वाभाविक छ तर अघिल्लो पुस्ताले भुल्न सक्दैनौं । यो सब मानवमा हुने गुण नै हो कि !

त्यस्तै अहिले अमेरिका बसोबास गरिरहेका भूटानी नेपालीहरूसित पनि गाडी बङ्गला सबै छन् । तर, पनि किताब पढ्दा कताकता लाग्छ उनीहरू ती सुखसयल माझ पनि आफ्नो माटोको सुगन्ध खोजिरहन्छन् । उनीहरूले रातारात छाडेर हिंडेका ती घर आँगन, घुरेन, गल्ली, पँधेरो बस्तुभाउ आदिलाई बिर्सन सकेका छैनन् ।

सुविधा सम्पन्न भए पनि विदेश भनेको विदेश नै हो भन्ने कुरोलाई बिर्सेका छैनन् । आफ्नै आमा ठानेर वर्षौं स्याहारसुसार गर्दै बसिरहेको देश, शासकहरूले अनाहकमा रित्तो लखेटेको गुनासो अझै छ । देशमा छुटेको स्वाभिमानको अभाव खड्किन्छ । माटो र त्यहाँ उब्जेका साग र सिस्नो सम्झेर अमेरिकाको मीठो खाना पनि खल्लो लाग्छ । शायद ! मान्छेमा भएको यहीं भावनात्मक गुणले गर्दा धर्म, संस्कार संस्कृति र भाषा बाँचेका होलान् संसारमा । त्यसैले त भूटानी नेपालीहरू आफ्नो देश र माटोलाई साहित्य मार्फत सम्झिन्छन्, कला मार्फत सम्झिन्छन् । आफ्नो भाषा जीवित रहोस् भनी साहित्यिक संस्थाहरू स्थापना गरी विश्वभरिका स्रष्टा सर्जकहरूलाई सरिक गराउँछन् ।

यात्रा संस्मरण भनेको एउटा साहित्यिक विधा हो जसमा लेखकले आफ्नो यात्राका अनुभव, भावना, अवलोकन, र चिन्तनलाई कलात्मक र सजिलो शैलीमा प्रस्तुत गरेको हुन्छ । यसमा यात्राको विवरण, स्थानीय संस्कृति, प्रकृति, त्यहाँ बसोबास गर्ने मानिसहरूको जीवनशैली, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका विषयहरू मुख्य रूपमा समावेश हुन्छन् । यात्रा संस्मरणले पाठकलाई मनोरञ्जन गराउनुका साथै नयाँ ज्ञानको अनुभूति दिलाउँछ ।

त्यस्तै यस यात्रा संस्मरणमा भट्टराईज्यूले अमेरिका यात्राको मनमोहक वर्णन गर्नुभएको छ । पुस्तक उत्कृष्ट छ । त्यहाँका विभिन्न क्षेत्रका प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र आफ्ना व्यक्तिगत अनुभवहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँका भाषा सरल र प्रभावशाली भएकोले पढ्न एकदम मज्जा आउँछ । साहित्यिक कार्यक्रमका निमित्त त्यहाँ पुग्नु भएको भए पनि अमेरिका महादेशका विभिन्न भूगोल र त्यहाँका रहनसहन, हावापानीसित हामी पाठकलाई साक्षात्कार गराउन भ्याउनु भएको छ । लेखकसित जोश र जाँगर भए रातमा पनि निद लाग्दैन रे त्यस्तै उहाँ पनि कति रात निदाउनु भएको छैन निदाए पनि चाँडो उठेर शब्दको कोसेली किताबको पानाभरि पोको पार्न भुल्नु भएको छैन । अञ्जना भाउजूलाई डिस्टर्व होला भनी घरी घरी बार्दलीतिरै निस्केर डायरी लेख्नुभएको छ । अमेरिका पुगेर हामीलाई मीठो कोसेली ल्याइदिनु भएको छ ।

मैले यो किताब मार्फत अमेरिकाको सिमाना, छिमेकी देश र त्यहाँ भित्र कस्ता कस्ता हावापानी र रहनसहन छ जान्ने मौका पाएँ । दाइले वर्णन गर्नु भएका केही चर्चित ठाउँहरू घुम्ने रहर पनि जागेको छ । हेरौं भविष्यमा कतिको साथ मिल्छ समयको ।

हामीले बिर्सन नहुने एउटा महत्त्वपूर्ण कुरा के हो भने, नेपालले आफ्ना मान्न नसकेका ती नेपालीभाषी भूटानीहरूले उहिलेदेखि अहिलेसम्म नेपाली भाषामाथि कति ठूलो योगदान दिइरहेका छन् भन्ने तथ्य त्यहाँ आयोजना हुने ठूलाठूला साहित्यिक र सांस्कृतिक कार्यक्रमहरूले स्पष्ट रूपमा झल्काउँछन् । कला क्षेत्रमा पनि उनीहरूको उपस्थिति उत्तिकै सशक्त रूपमा देखिन्छ । त्यहाँ बसोबास गर्ने नेपालीभाषी भूटानीहरूले आफ्नो भाषा र संस्कृतिप्रति देखाएको माया र प्रतिबद्धता शायद हामी नेपालमै बस्ने नागरिकहरूले पनि त्यति गहिरो रूपमा देखाउन सकेका छैनौँ ।

किनकि यसै पुस्तकमार्फत पनि थाहा हुन्छ—भूटानी नेपालीहरूले विगत एक दशकभित्र एक सयभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित गरिसकेका रहेछन् । त्यसै गरी, उनीहरूले सञ्चालन गरेका वेबसाइटहरूमा पनि यस्ता थुप्रै साहित्यिक तथा सांस्कृतिक सामग्रीहरू हेर्न र पढ्न पाइन्छन् ।

“भूटानी नेपालीले नेपाली भाषामा सिर्जना गरेर आफ्नो अस्तित्व र पहिचानको निरन्तरता दिने प्रयत्न गर्दैछन् । उनीहरूले नेपालीमा (वा कुनै भाषामा) गर्ने गरेका सिर्जना उनीहरूका लागि मात्र होइनन् । ती ता नेपालका, भारतका विश्वका नेपाली जातिका निमित्त बनिएका सम्पदा हुन् यो एक ग्लोबल प्रयत्न हो ।“ भनेर लेखक स्वयंमले आफ्नो भनाइमा राख्नुभएको छ।

हामी जहाँ न्यानो महसूस गर्छौं । त्यहीं रहिरहन मन पराउँछौं । भूटानी नेपालीहरूको पनि पुर्खौली ठाउँ नेपाल भएकैले अनेक दुःख भोग गर्दै नेपालसम्म आइपुगेर लामो समयसम्म पुर्खाको काखमा न्यानोगरी बसेर अन्यदेश पुनरवासित भए ।

के गर्नु पुर्खाहरू जन्मेको देशले सोचे जस्तो न्यानोपन दिन सकेन । पुर्खाहरू चिस्सिसके, बाँकीले चिनेनन् । धेरैको भविष्य यस्तै देख्छु म त । युरोप अमेरिका जहाँ जहाँ नेपाली पुगेका छन् तिनका सन्तान देश फिर्दा पुर्खाहरू चिसो भैसकेका हुन्छन् । पुर्खौली थकथालो अरूकै भैसकेको हुन्छ, माटो बोल्न सक्दैन त्यहाँकाले चिन्दैनन् । त्यसैले सतर्कतासाथ आफ्नो देश र माटोसित न्यानो सम्बन्ध राखिरहन जरूरी पो देख्छु म त ।

यो पुस्तक पढिसकेर थाहा भो तेस्रो मुलुकले उनीहरूलाई शिक्षा, स्वास्थ्य र बसोबासका निम्ति पर्याप्त सेवासुविधा दिलाएको रहेछ । यतिको आलिसान सुविधा त उनीहरू आफ्नै देश भूटानमा रहँदा पनि भोग गरेनन् होला । तर, हामीलाई ती सुख सयलभन्दा आफ्नो माटो र देशको माया बढी हुन्छ । भन्ने कुरो त महाकवि लक्ष्मी प्रसाद देवकोटाले कविता मार्फत भनिसक्नु भएको छ – साग र सिस्नु खाएकै वेस आनन्दी मनले !

हामी आफ्नो मुलुकमा जति सुरक्षित र आफ्नोपन महसूस गर्छौं त्यो विदेशमा गर्दैनौं । म आफैलाई पनि हेर्छु विदेश बसेको यतिका वर्ष बित्यो । अझै राम्रो चीज केही भेटे नेपाल लैजान्छु भन्दै किन्ने गर्छु । जबकि नेपाल म केही दिन या महिना मात्र बिताउन पाउँछु । किन किन मनले भन्छ, “नेपाल नै मेरो देश हो म फिर्नु पर्छ ।“

घर छाडेर हिंड्न अत्यन्तै मुश्किल हुन्छ विशेषगर छोरी मान्छेलाई त झन् गाह्रो हुन्छ । विभिन्न चाँजोपाँजो मिलाएर हिंड्नु पर्ने हुन्छ । उमेर अनुसारका खानपिन औषधीमुलो आदि इत्यादिका तयारीमा लाग्नु अनि हतार तिनलाई बोकेर बाटो लाग्नु चानचुने कुरो होइन । तर गोबिन्द दाइ र अञ्जना भाउजू बडो जोश जाँगरका साथ नेपालका विभिन्न शहर लगायत भारतका सिक्किम, आसामसम्मका साहित्यिक सम्मेलनतिर सामेल भैरहनु हुन्छ । उहाँहरूलाई देखेर पनि हामीले धेरै कुरो सिक्नु पर्छ जस्तो लाग्छ ।

पुस्तकको पहिलो शीर्षक ‘जे एन दाहालको घरमा बास बस्न पुगियो’मा लेखक अमेरिका पुगेपछिका केही रातहरू लामो यात्राका थकान र समय अन्तरका कारण निदाउन नसकेको गुनासो गर्नुहुन्छ । स्वाभाविक हो यो सबैलाई लागू हुन्छ । हामी जुन ठाउँ या देशको हावापानीमा बस्छौं हाम्रो शरीरले त्यहींको हावापानीमा आफूलाई अनुकूल बनाउँछ । सोझै भन्दा आदत बस्छ र आदत बदल्न समय लाग्छ ।

भूटानी नेपालीहरूको अतिथिसत्कार बिर्सिनसक्नु रहेछ, भन्ने कुरो लेखकले बयान गर्नुभएको छ । नेपालमा लोप भैसकेका झर्के थाल, बटुकाहरूको प्रयोगले भुटानी नेपालीहरूमा नेपाली संस्कारको माया हृदयमा गहिरोगरी जमेर बसेको रहेछ भन्ने बुझिन्छ ।

मलाई पनि उहिल्यैको गाउँ सम्झना आयो, जहाँ अंश बाँड्दा झर्के थाल, लोटा, तामाको गाग्री, बटुको आदि पनि छुट्याइन्थ्यो । लिम्बु संस्कारमा छोरीलाई साइमुन्द्री छिनाउँदा  यिनै सामग्रीहरू उसको भाग भनेर दिइन्थ्यो । मेरी आमासँग पनि माइतबाट पाएको त्यस्तै थाल र बटुको छन् । माइत जाँदा उहाँ बेला–बेला भन्नुहुन्छ— “यो तेरो भाग हो, लैजा  ।” तर म भन्छु, “मेरो साइमुन्द्री अझै छिनाएको छैन, पछि लैजान्छु ।”

लिम्बु समुदायमा छोरीचेलीको साइमुन्द्री छिट्टै छिनाइदिँदा चेलीको आयु छोटो हुन्छ भन्ने जनविश्वास छ, त्यसैले प्रायः बाँचुन्जेल नछिनाउने चलन छ । कतिपयले छोरीले सन्तान पाएर घरजम नबस्दासम्म साइमुन्द्री नदिने पनि भन्छन् । यसको कारण लिम्बु संस्कारमा चेलीलाई बढी स्वतन्त्रता दिइनु हो—घर वा गाउँ मन नपरे जारी गरी जान सक्ने अधिकार भएकाले, उसले अन्ततः कहाँ बस्छे भन्ने निश्चित नहुँदासम्म साइमुन्द्री नछिनाउने भनाइ प्रचलित छ ।

लिम्बु संस्कारमा साइमुन्द्री अत्यन्त महत्वपूर्ण रीत हो । यदि साइमुन्द्री नछिनाई छोरीचेलीको मृत्यु भएमा, जाने घरले माइती पक्षसँग रीत–दस्तुर पूरा गरी बरखी गर्न अनुमति माग्नुपर्छ । अन्यथा, मृत्यु संस्कार र बरखी सम्पूर्ण रूपमा माइती पक्षले नै गर्नुपर्छ । यसरी किताब पढ्दै जाँदा कतै आमा सम्झें भने कतै साइमुन्द्रीको कुरा पनि ।

त्यही निबन्धमा लेखकले लेख्नुहुन्छ, “प्रणामी मातापिताका सात्त्विक पुत्र जे.एन आज बुहारी नभएको दिन त्यो चुलामा चल्दा चरी नाचेजस्ता फुर्तिला थिए ।  हलुका उस्त । एकछिनमै भाँडा मस्काउने, पखाल्ने, वर्तन सजाउने कति रमाइला र सुबानिका पुरुष ।“ लेखकले विदेशमा बसोबास गर्ने पुरुषहरूले निभाइरहेका, जसलाई महिलाहरूको मात्र काम भनी हाम्रो समाजले छुट्याइदिएका चुलाचौका र घरका काममा उनीहरू बराबर सरिक भएका प्रसङ्गलाई प्रशंसा सहित प्रस्तुत गर्नु भएको छ ।

यी हरफहरूले अब जमाना फेरियो । घरको काम होस् या बाहिरको, सबैले सिक्नुपर्छ र गर्नुपर्छ भन्ने एउटा सन्देश दिएको छ । अचेल हरेक महिला शिक्षित छन् उनीहरू आफ्नो लोग्ने बराबर बाहिर काम गरेर धन आर्जन गर्न सक्ने हैसियत राख्छन् । बाहिर काम गरेपछि थाक्छन्, गल्छन् त्यो बेला आफ्नो श्रीमान र छोराछोरीले घरको काममा पनि बराबर सहयोग गरोस् भन्ने आशा राख्छन् । घरको काम सबैले सिक्नु जरूरी पनि छ ।

नेपाली जहाँ–जहाँ पुगेका छन्, त्यहीँ–त्यहीँ हाम्रो संस्कार पनि पुगेको छ । भुटानी नेपालीहरूले पनि नेपाली संस्कार र संस्कृति बोकेर हिँडेका रहेछन् भन्ने कुरा यो पुस्तक पढेपछि झन् स्पष्ट भयो । संस्कार बोकेर हिँड्नु भनेको पुर्खाहरूको आशीर्वाद बोकेर हिँड्नु हो, किनकि उनीहरू शरणार्थी भएर बसेका ठाउँहरूको माटो आफ्नै पुर्खौली थियो । तर दुर्भाग्य, उनीहरूले चिसिइसकेका पुर्खाहरूको आशीर्वादबाहेक त्यहाँ खासै न्यानोपन पाएनन् । तैपनि, आजपर्यन्त उनीहरूले नेपाली भाषा र संस्कार जोगाएर हिँडिरहेका छन् । पुर्खाप्रति यसभन्दा ठूलो सम्मान अरू के हुन सक्छ र ? धन्य छ, भुटानी नेपालीज एसोसिएसन अफ अमेरिकालाई ।

आफ्ना सन्तानले नेपाली भाषा भुल्लान् कि भन्ने चिन्ता पनि उनीहरूमा उत्तिकै रहेछ । यो चिन्ता त नेपाल छाडेर सपरिवार विदेश पुगेका सबैको साझा समस्या हो । म हङकङ र बेलायतमा बसेर सञ्चालन गरिएका नेपाली भाषा कक्षाहरू सम्झन्छु—विदेश पुगेका नेपालीहरूलाई आफ्नो भाषा र माटोप्रति असीम माया हुन्छ । कामकाजका क्रममा विभिन्न भाषा बोल्नुपरे पनि, हामी नेपाली भएकाले हाम्रो मातृभाषा नै हाम्रो मूल, पहिचान र अस्तित्व हो भन्ने अनुभूति हुन्छ । त्यसैले मैले आफ्ना छोराहरूलाई घरभित्र नेपाली भाषा बोल्ने वातावरण, भन्नु पर्दा एउटा नियम नै बनाइदिएँ । त्यसको परिणामस्वरूप मेरा दुवै छोराले राम्रो र स्पष्ट नेपाली बोल्छन्, यद्यपि पढ्न र लेख्नमा अलिकति कठिनाइ छ । अब आउने नातानातिनीहरूले त नेपाली त्यति पनि बोल्न नसक्लान् कि भन्ने चिन्ताले भने कहिलेकाहीँ मन कता–कता सताइरहन्छ ।

उहिले हामीजस्तै वैदेशिक रोजगारी र बसाइँसराइ गरी भूटान पुगेका नेपालीहरूको कथाव्यथा यस पुस्तकमा पढ्न पाइन्छ । पर्सि युरोप, अमेरिका र हङकङ पुगेका नेपालीहरूको पनि यस्तै ‘आइजन, आइजन…’ कथाव्यथा हाम्रा सन्ततिले लेख्नुपर्ने समय आउन सक्छ । तर त्यसका लागि पनि भाषा बाँच्नु अत्यन्तै आवश्यक छ ।

यात्रा आफैँ घुमेर, देखेर, स्पर्श गरेर यथार्थ प्रस्तुत गर्ने विधा भएकाले म यसलाई महँगो विधा भन्ने गर्छु । यो घरमै बसेर कल्पना गरेर लेखिने विधा होइन । जो घुम्छ, डुल्छ, केही देख्छ वा महसुस गर्छ, उसैले लेख्छ । यस पुस्तकमा पनि भट्टराई दाइले आफूले देखेको र भोगेको यथार्थलाई इमानदार रूपमा लेख्नुभएको छ । मैले सबै शीर्षकको बयान गरेकी छैनँ, बरु पुस्तक पढ्नुस्—धेरै कुरा आफैँ थाहा पाउनुहुनेछ ।

मन परेको अंश: “जाँदा–जाँदै हामी एउटा ठूलो पुलको किनारमा पुग्यौँ । त्यसको ठीक तल सफा देखिने नदी उर्लिरहेको थियो । जलराशि उफ्रँदै, छचल्किँदै, छेउतिर डरलाग्दा छाँगा, माथिबाट आकाश चुम्दै खसिरहेका—अत्यन्त अग्ला सेता दूधका धाराहरू छङ्गछङ्ग झर्दै । छेउछाउ पुग्नै नसकिने । मानौँ, सोहोरिएका ठूला–ठूला नदीहरू माथिबाट हाम्फालेका हुन् । एकै मुस्लो होइन, नदीको लामो चौडाइभरि फैलिएको छाँगो, धेरै तल ठोक्किँदा उठेको सेतो धुवाँले आधा खोला ढाकेको थियो ।

हामी उभिएको तिर अमेरिकाको न्युयोर्क राज्यको बफेलो सहर, त्यसैमा नाचिरहेको नायग्रा । अनि पारीपट्टि क्यानाडाका गगनचुम्बी इमारत, स्मारक र सहर । सारा उज्यालोको झिलिमिली—राता, निला, पहेँला, ठूला–ठूला डोम लाइट र फ्लड लाइट । नदीपारिको सहरको भव्यता साँच्चै अद्भुत । पुलमाथि चढ्दा मानिसहरूको भीड—क्यामरा तेर्स्याउने, पोज दिने, छाँगाको, नदीको, आफ्नै तस्बिर खिचेर रमाउने कति हो कति ।

त्यस छाँगामाथि नदीपारिबाट आउने फ्लड लाइटले कहिले हरियो, कहिले रातो, कहिले पहेँलो, कहिले निलो रङ पोत्थ्यो—छिनछिनमा बदलिने त्यो दृश्य साँच्चै आश्चर्यजनक । आकाशतिर पनि ती अनेक रङ फैलिँदै उज्यालो पठाइरहेका देखिन्थे ।“

मलाई जस्तै तपाईंहरूलाई पनि ‘नायग्रा नदी’ हेर्ने र यो अद्भुत दृश्यबारे जान्ने मन होला भनी पुस्तकको पृष्ठ २०६ बाट यो अंश जस्ताको तस्तै साभार गरेकी हुँ । धेरै सुनेको, धेरै लेख–रचना पढेको विश्वकै सुन्दर नायग्रा नदी आफ्नै आँखाले हेर्ने रहर त मेरो पनि छ । त्यो दिन कहिले जुर्छ, थाहा छैन । यद्यपि आज इन्टरनेटको जमानामा बसेर संसार हेर्न सकिन्छ, तर सशरीर पुगेर स्पर्श गर्नुको मजा भने बेग्लै हुन्छ । लेखक भट्टराईको नजरमार्फत नायग्रा नदीलाई स्पर्श गर्न पाउँदा खुशी लाग्यो । लेख लामो हुने डरले अरू शीर्षक समेटिन, तर नायग्रा नदी मलाई विशेष मन पर्ने भएकाले यो अंश राखेकी हुँ ।

गोविन्द दाइ अझै लेख्नुहुन्छ—
“अति रमणीय दृश्य हेर्‍यौँ । त्यो प्रकृतिको खेल, मानिसले रचेको प्रकृतिको खेल, त्यसको ब्यूटिफिकेसन । हेर्दा–हेर्दै ड्याम्म गरेको सुन्यौँ—तर्साउने तोपजस्तै आवाज । खोलापारि क्यानाडाको डिलबाट हरिया, पहेँला, राता, निला, नौरङ्गी उज्यालाका मुस्ला आकाशतिर उडे । धेरै माथि पुगेर ती मिसिए, छरिए, सारा जगत् झलल पार्दै । एक छिनपछि फेरि ड्याम्म! अनि फेरि अर्कै आकार र रङका उज्याला…” (पृष्ठ २०६)

यहाँबाट के बुझिन्छ भने संसारले पर्यटक तान्न आफ्नो देशको अर्थतन्त्र धान्न अनेक उपाय अपनाउँछ । नायग्रा फल्स प्राकृतिकभन्दा पनि कृत्रिम सजावटले अझ आकर्षक बनाइएको देखिन्छ । हामी भने प्राकृतिक रूपमा धनी भएर पनि गलत नीति, नियम र नेतृत्वका कारण गरीब छौँ । सरकारी लगानीको अभाव छ, भ्रष्टाचार हाबी छ, नेताहरूको सोच त्यतातिर पुग्दैन । हाम्रो देशका प्राकृतिक सम्पदा हाम्रै निम्ति ‘लङ्काको सुन’ बनेका छन् । जे छ, जति छ—हाम्रा प्राकृतिक सम्पदा आफैँमा रमाइरहेका छन् । Natural is always best…

लेखनीमार्फत हामीलाई पनि सँगसँगै घुमाइदिनुभएकोमा हार्दिक धन्यवाद तथा एक भूगोल बधाई । दाइको यो अमूल्य कृति पढेर केही लेख्ने दुस्साहस गरेकीमा क्षमा चाहन्छु । साइनोअनुसार सबैमा भुइँ सेवा–ढोग चढाउँदै बिदा माग्छु ।