बजारमा हरेक हप्ता नेपाली साहित्यका किताब निस्किरहेका छन् । सबैतिर मुख देखाउनका लागि मात्र उपस्थित भएर दुई-चार थान फोटो खिच्ने रहर पनि छैन । आफूले चलाउने बहसका लागि छानिएका कृति नपढी सहभागी हुनुको औचित्य नै छैन । पढ्नु अपरिहार्य छ ।

पढ्छु भनेर किनेका र हातमा थमाइएका किताबको भने चाङ हरेक कोठाका टेबुल, दराजबाट आफूलाई टुलुटुलु हेरेर गिज्याइरहेका छन् । पढ्दापढ्दै अचकल्टो रहेका पनि त्यत्तिकै थुप्रो लागेका छन् । साहित्यिक कार्यक्रममा सहभागी हुँदा कुनै लेखकलाई देख्दा झस्किन्छु र दुई हात जोडी, मैले तपाईंको कृति अझै पढेको छैन भनेर माफी मागेको अवस्था प्रशस्त छन् ।

यो कस्तो किसिमको बाध्यता हो ? स्वतन्त्र हुँदाहुँदै पनि किन यस्तो खाले ग्लानिले भरिन्छु म ? पठनमा रुचि राख्ने एउटा सर्वसाधारण पाठक मात्र हुँ भन्दै गर्दा कहिलेकाहीं लाग्छ एउटा अदृश्य भारले थिच्दै गएको छ ।

लेखकहरूले गरून् पनि के ? बजारमा वर्चस्व स्थापित केही मात्र छन्, जसको कृति प्रकाशकहरूले आँखा चिम्लेर छाप्न सक्दछन् । नाम चलेका प्रकाशन गृहले आफ्नो पाण्डुलिपि पढ्ने समेत चेष्टा नगरेको गुनासो नयाँ लेखकहरूको छ । यस्तोमा बल्लतल्ल कहिले आफ्नै खर्चमा किताब निकाल्ने पहल गरेको अवस्थामा त्यस कृतिको चर्चा होस्, धेरै भन्दा धेरै पाठक माझ पुगाउन सकूँ भन्ने चाहना हुनु स्वाभाविक कुरा हो । पाठकहरू रणभुल्लमा पर्नेगरी कथा, कविता, नियात्रा, संस्मरण, निबन्ध आदि इत्यादि आख्यान, गैरआख्यान बग्रेल्ती निस्केका छन् । हामीमा पठन संस्कृतिको ह्रास आएको छ भनौं भने यत्तिका कृतिहरूको के भइरहेको छ ?

यदि मानवीय समवेदना नहुँदो हो, अरूको समय, स्पेस, इच्छा, च्वाइसको ख्याल नगर्ने हुँदो हुँ त मलाई यति धेरै सोच्ने दरकार नै हुँदैन थियो । आफ्नै विद्यार्थीलाई त उनीहरूको रुचि अनुसारका किताब सुझाव गर्ने म, आफै भने एउटा भुमरीमा फसेको जस्तो महसूस हुन थालेको छ यदाकदा ।

यस्तैमा साइन्स या fantasy फिक्शनमा उति साह्रो रुचि नभएको मलाई BookHill बाट प्रकाशित AI प्रविधि माथि फरक ढङ्गले डा. श्रीधर खनालद्वारा लिखित ‘सावर्णि’ माथि विमोचनमा बोल्ने प्रस्ताव आयो । अन्य वक्ता

प्रा. डा. अभि सुवेदी र डा. रवीन्द्र समीर भनेपछि झन् वहाँहरू जस्तो दिग्गज अग्रजले बोलेको ठाउँमा मेरो भन्नु के नै रहन्छ भन्ने लाग्यो ।

कल्पना र प्रयोगमा आधारित साइन्स फिक्शन हो, तपाईंलाई मन पर्छ भन्ने भूपेन्द्र खड्काको आग्रहलाई नाइँ भन्न मन लागेन र शुरू गरें । समय थोरै र विषय गहन भएकोले प्रथमतः म यो उपन्यास बुझ्छु कि बुझ्दिन भन्ने लाग्यो । तापनि लेखक बालरोग विशेषज्ञ पनि भएकाले निश्चय नै यसमा वैज्ञानिक प्रविधिले ल्याएको फड्कोसँग बाल मनोविज्ञान जोडिएका कुरा निश्चय नै हुनेछ भनी आशावादी हुँदै पढ्न थालें । जति पढ्दै गएँ मलाई लाग्यो कहिलेकाहीं आफ्नो कम्फर्ट जोनबाट निस्कन पर्दछ, तब मात्र आफूमा सीमित ज्ञानको दायरा अझै विस्तृत हुँदै जान्छ ।

हामी एउटा डरलाग्दो वर्तमानमा बाँचिरहेका छौं । लाग्छ मानिसहरू रोबोट झैं भएका छन्, रोबोट झैं अन्यबाट अपेक्षा राख्दछन् । प्रयोगका लागि उपयुक्त सम्झेर एकअर्काको सम्पर्कमा छौं । भागदौड, प्रतिस्पर्धामा गन्तव्यहीन छौं । इमोशनल इन्टिलिजेन्स हराउँदै गएको अवस्था छ । कम्प्युटरको आविष्कार साथै आर्टिफिशियल इन्टिलिजेन्सले ल्याएको तरङ्गबाट हामी कोही अछुतो छैनौं । मस्तिष्कको प्रयोगले ज्ञान, सिप, आविष्कार र अनेक रणनीति सिक्दै आदिम देखि डिजिटल युगमा प्रवेश गरी सर्वश्रेष्ठ कहलिएका प्राणी, हामी व्यवस्थापन गर्न असक्षम हुँदै गएका छौं । कुनै पनि कुराको सदुपयोग र दुरुपयोग बीच फरक हुने चेत हराएको अवस्था छ ।

टेक्नोलोजीले ल्याएको परिवर्तनले मान्छेको जीवन सहज हुनुपर्ने हो । आखिर जति पनि वैज्ञानिक आविष्कार भएका छन् ती मानिसकै बुद्धिका उपज हुन् । वर्तमानमा हामी जुन सुखसुविधा सामान्य जीवनमा भोग गरिरहेका छौं त्यसको कल्पना समेत पनि आजभन्दा चालीस वर्ष अघि गर्न सकिन्न थियो । उपभोग र सुविधाका लागि प्रयोग हुने उपकरणले हामीलाई खर्लप्प निलेको अवस्था छ । यसले हामीलाई निष्क्रिय र अल्छी मात्र नभई परनिर्भर हुन सिकाइरहेको छ ।

‘सावर्णि’ पढ्दै गर्दा म आफ्नो बाल्यकालमा बेलाबेला हराउन पुगें । त्यो बेला घरमै डायल फोन भएता पनि देशभित्र मात्र कुराकानी गर्न सीमित थियो । एउटा शहरबाट अर्को शहरमा फोन गर्नुपर्दा बढी पैसा लाग्थ्यो । विदेशमा फोन गर्नुपर्दा भने त्रिपुरेश्वरमा रहेको दूरसञ्चार कार्यालयमा बुथ भित्रबाट कल गरेको सम्झना छ । किन हो कुन्नि टाढा रहेको आफन्तसँग कुरा गर्दा सबैजना स्वाभाविक भन्दा अलि ठूलो स्वरले बोल्थे । सम्झिंदा हाँसो लाग्छ ।

अहिले हात हातमा फोन छ, र त्यसका प्रयोजन पनि अनेक छन् । हरेक कुराको जवाफ गुगलमा हुने भएकोले एक क्लिकमा तपाईंको खोजको जवाफ आउँछ । तपाईंहरूको अनुभव कस्तो छ कुन्नि अक्सर गुगल म्यापको प्रयोग गर्दा घरबाट निस्कँदा दश मिनट देखाएको बाटो पछ्याउँदा अब पुग्न लागे भन्ने सोच्दै गर्दा गन्तव्य बीस मिनट पर देखाएपछि मेरो दिमाग रन्किन्छ ।

ई-बैंकिङको सुविधा र फोन पे एप्सले गर्दा खल्तीमा पैसा नहुँदा पनि चलेको छ, तर काँधमा बच्चा बोकेर एक छाक टार्न पैसा मागिरहेको आमालाई सुका पैसा छैन भन्दा, उनको मनस्थिति कस्तो हुँदो हो ? बच्चा, युवा, प्रौढ सबै डिजिटल युगले ल्याएको परिवर्तन भित्र चुर्लुम्म डुबेका छन् । मोबाइल फोनमा हेरेर रील स्क्रोल गर्दै मुसुमुसु हाँस्ने हामीलाई अगाडि बसेको व्यक्तिको भावनाको अर्थ छैन, कदर छैन ।

‘सावर्णि’ भित्र प्रवेश गर्नुअघि मेरा अझै अरू कुरा बाँकी नै छन् । आर्टिफिशियल इन्टिलिजेन्सले ल्याएको Chat GPT बारे मलाई पहिलो पटक मेरो अत्ति इन्टेलिजेन्ट विद्यार्थी बिश्रुतले सुनायो । हुन पनि शिक्षण पेशामा धेरै वर्ष बिताएको म जस्ताले युवा पुस्ताका आफ्ना विद्यार्थीबाट धेरै कुराको सहयोग लिएकी छु, सिकेकी छु । अहिलेको युवा पुस्ता टेक्नो स्याभि भएको कुरालाई नकार्न सकिन्न ।

जब Chat GPT बारे थाहा पाएँ, कौतूहल हुनु स्वाभाविक नै भयो ।

‘हो र, कसरी ?’ भनेर सोधें ।

उसले भन्यो, ‘अब त निबन्ध लेख्न केही दुःख गर्नै पर्दैन । आफूले लेख्न खोजेको कुरा टाइप गर्ने बित्तिकै यो एपले सबै लेखिदिन्छ ।’

आफूले research based academic essay कसरी लेख्ने भन्ने कुरा सिकाएको ठिटो मलाई सिकाउँदै थियो । यो कुरा भोलिपल्ट कलेजमा सुनाउँदा हामी शिक्षकहरूको होस उडेको थियो । लौ न plagiarism tool भए तापनि अब कसरी कुनै विद्यार्थीले आफै लेखेको हो कि यसको प्रयोग गरेको पत्ता लगाउने एउटा च्यालेन्जको रूपमा खडा भएको प्रश्न थियो ।

हुन पनि त्यस पछिका वर्षहरूमा विद्यार्थीका लेखनमा आएको परिवर्तनले उनीहरूलाई त राहत भयो नै हामीलाई पनि बारम्बार ड्राफ्ट चेक गरिरहन परेन । Chat GPT मा आफ्नो नाम टाइप गरेर गमक्क परेका लेखकहरूले आफ्नो सामाजिक सञ्जालका भित्तामा आफ्नो तारिफको स्क्रीनशट टाँस्दै गर्दा, भविष्यमा लेखककै रूपमा स्वीकार्न अथेन्टिक हुने चुनौतीको सामना त गर्नुपर्ने हैन कतै ?

iPhone१६ बजारमा आउँदै गर्दा iPhone १४ बोक्नेलाई हीनताबोध हुन थालेको छ । आफ्ना केटाकेटीहरूलाई असाइनमेन्ट गर्न अनिवार्य ल्याप्टप किन्न जाँदा अभिभावकहरू gaming laptop किन्न बाध्य भएका छन् । हुँदाहुँदा कान बटारिएका, केरमेट गरिएका, पहेंलो भएका पुराना र नयाँ किताबको सुगन्ध हराउने म जस्तालाई शुद्ध भ्रमण गर्दा किन्डल भन्ने जिनिसको आवश्यकता टड्कारो रूपमा महसूस भएको छ ।

आर्टिफिशियल इन्टिलिजेन्सको प्रयोगबाट बनाइएका कृत्रिम चित्रको सामाजिक सञ्जालमा अरू त अरू बुद्धिजीवी, शिक्षित कहलिएकाहरूको जमातले प्रयोग गर्दा के सोच्ने गरेका छन् ? यसले सेल्फ इमेज sabotage गर्ने भन्दा अरू केही भएको म चाहिं देख्दिन । हुँदाहुँदा दिवङ्गत व्यक्तिहरूले हिंडे बोलेको समेत डीप आर्टिफिशियल इन्टिलिजेन्स एप मार्फत सम्भव भएको छ ।

हाम्रो चेतनाको धरातल नै डगमगाएको छ । हाम्रो अस्तित्व हराउँदै गइरहेको छ । आफ्नो सुविधाको लागि बनेका यन्त्रलाई हामी आफ्नो सम्पूर्ण डाटा सुम्पिरहेका छौं । लोकेशन ट्रेसको दुरुपयोग हुनसक्छ । इमेजको जथाभाबी दुरुपयोगले अकल्पनीय घटना निम्ताउन सक्ने अवस्था आएको छ । अहिले नै यस्तो छ भने, सोच्नुहोस् अबको हजार वर्ष पछिको पृथ्वीको अवस्था कस्तो रहला । अबको दुनियाँ कस्तो होला ? हाम्रा भावी सन्ततिको अवस्था कस्तो होला ? यिनीहरू कसको नियन्त्रणमा परिचालित होलान् ?

डा. श्रीधर खनालको स्वैरकाल्पनिक शैलीमा लेखिएको उपन्यास ‘सावर्णि’ ले आगतको अवस्था कस्तो होला भन्ने सोच्न बाध्य गराउँदछ । लेखक स्वयं भन्छन्, “धेरै वैज्ञानिक खोज, अध्ययन र अनुसन्धानको जगमा तयार गरेको यो उपन्यास हाम्रो भावी दर्पण पनि हो, सिङ्गो पृथ्वीकै भविष्यको चिन्ता पनि हो ।”

एउटा सिङ्गो युग बितेपछि आँखा खोलेका सावर्णि आफूलाई नितान्त एक्लो पाउँछन् । यो सपना हो कि विपना, उनी आफ्नै पृथ्वीमा छन् कि अन्य कुनै ग्रहमा, उनी को हुन्, उनको अस्तित्व के हो निर्क्योल गर्न गाह्रो भएका सावर्णिका खुट्टा कुनै साङ्लोमा बाँधिएको प्रतीत हुन्छ । हजारौं वर्ष निष्क्रिय भएका उनका इन्द्रिय पुनः जागृत भए पश्चात् सावर्णिको कृत्रिम रोबोटिक युगको आरम्भ हुन्छ जहाँका नियमका सर्वाधिकार उनी आफैमा सीमित हुन्छ ।

थुप्रै चुनौतीहरूका सामना गर्दै सावर्णि पुनः खोज र अनुसन्धानमा जुट्छन् । अन्त्यतः कृत्रिम भ्रूण हुर्काउन सफल हुन्छन् र यहींबाट शुरू हुन्छ उनको युग जहाँ यान्त्रिक मानिसको जन्म हुन्छ । यिनीहरू सबैको आफ्नै पर्सनल असिस्टेन्ट हुन्छन् जसको सहारा विना यिनको अस्तित्व हुँदैन । देरिक, देरिका, वासु र अन्यको जन्म हुन्छ ।

लाखौं वर्षअघि पृथ्वीमा मानवको कुनै अस्तित्व थिएन । तत्पश्चात् संयोगले जन्मेका आफ्ना पुर्खा अन्य जीवभन्दा विकसित मस्तिष्क लिएर स्वतन्त्र रहेको भए तापनि शिकारी, कृषि, औद्योगिक र वैज्ञानिक युग हुँदै डिजिटल युगमा पुग्दा सावर्णिको एक छत्र अधिकार भएको थाहा हुन्छ ।

देरिका र वासु नगर प्रमुख सावर्णिको आज्ञा बिना अनेक उपाय लगाई किसनलाई जन्म दिन्छन् । किसन अन्य बालकहरू भन्दा फरक छन् । उनी कुनै रोबोटद्वारा परिचालित नभएकाले स्वतन्त्र छन् र उनको आयु पनि आफ्ना पुर्खा झैं औसत ७०/८० वर्षको छ । आफ्नो यान्त्रिक राज्यका कसैले पनि दुःख, शोक, रोग, विभिन्न किसिमका द्वन्द्व , मृत्यु वरण गर्न नपर्ने मनसाय राख्ने सावर्णिले किसनका लागि भने मृत्युको समय पनि तोकेका छन् । किसनको स्वतन्त्रता, सृजनशीलता, कुटिल चाल र अहङ्कारले उनी एउटा भीषण युद्धका कारक पनि हुने भविष्यवाणी हुन्छ ।

सावर्णिको राज्यमा अन्य रोबोटिक नियन्त्रणमा रहेका तीन बालकको जब मृत्यु हुन्छ नगरवासीका लागि शोक विस्फोटक मिसाइल सरह हुन्छ । यसले सावर्णि शिर झुक्छ । एक पछि अर्को दण्डनीय अपराधको कारक हुन्छन् किसन र एक दिन मङ्गल ग्रहका प्राणीले युद्धको घोषणा गर्दछन् । के सावर्णिलाई किसनको सहयोगको आवश्यकता पर्दछ ? के किसनको तोकिएको झैं अन्त्य हुन्छ ? सावर्णिको जीत हुन्छ कि हार ?

भौतिक शास्त्रका नवीनतम खोज, अनुसन्धान, विशेष गरी स्टेफन हकिङ्सका वैज्ञानिक अनुसन्धान, दार्शनिक युवाल नोआ हरारीका किताब, पूर्वीय दर्शन, वेद, महाभारत, मानव जीव-विज्ञानलाई सन्दर्भ सामग्री बनाई लेखिएको डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’ नेपाली साहित्यमा फरक किसिमका आख्यान खोजिरहेका पाठकका लागि निश्चय नै प्रयोगशील र नौलो लाग्ने छ । भाषा, शिल्प र कल्पनाको मीठो सम्मिश्रण छ ।

‘सावर्णि’ उपन्यासले हाम्रो भविष्य कतातिर उन्मुख छ प्रश्न चिह्न खडा गरेको छ ।