
भारतीय नेपाली साहित्यमा सबैभन्दा बेसी लेखिने विधा हो कविता । त्यसैकारण यस विधालाई उर्वर मानिन्छ । यसै कविता विधामा लगभग साठी वर्षदेखि निरन्तर कविताको साधनामा रहने चर्चित कवि हुन् विचन्द्र प्रधान । उनी अहिले भारतेली नेपाली कविताको एउटा ‘ब्रान्ड’ बनी सकेका छन् । उनले कविता विधामा एउटा छुट्टै शैली निर्माण गरिसकेका छन् । उनकै शैली वा ब्रान्डलाई पछ्याएर कविता सिर्जना गर्ने कविहरू भारतीय नेपाली कवितामा थुप्रै जन्मिसकेका छन् । यस्ता प्रखर कवि विचन्द्रको जन्म १५ सेप्टेम्बर सन् १९४९ मा दार्जिलिङको तीनधारेमा भएको थियो ।
सन् १९६४ मा उनको पहिलो कविता “म हार्ने छैन” पश्चिम बङ्गाल पत्रिकामा प्रकाशित भएको थियो । सन् ६० को दशकदेखि अहिलेसम्म उनी निरन्तर काव्य सिर्जनामा लागिरहेका छन् । हालसम्म उनका बाह्रवटा कविता सङ्ग्रह, दुईवटा बङ्गलाबाट नेपालीमा अनूदित कविता सङ्ग्रह एउटा निबन्ध सङ्ग्रह र विभिन्न पत्र-पत्रिकाहरूमा लेख, कविताहरू प्रकाशित भएका देखिन्छन् । उनले दियालो, त्रिवेणी, भाइचन्द्र प्रधान स्मृति, स्रष्टा, अरूगि, अभि-जमान स्मृति पुरस्कारहरू पनि अगावै पाइसकेका छन् । उनी नेपाली, बङ्गला, अङ्ग्रेजी तीनै भाषामा कविता लेख्नसक्ने कवि हुन् भने नेपाली र बङ्गलामा धारा प्रवाह कविता गाउन सक्ने कवि पनि हुन् ।
कवि विचन्द्रको “बसगाडीमा यात्रा” कविता सङ्ग्रह सन् २००९ मा प्रकाशित भएको हो । यस कृतिमा जम्मा चालिसवटा कविताहरू छन् भने पच्चिसवटा कविता चाहिँ कवि स्वयम्ले रचना गरेका हुन् भने रहल पन्ध्रवटा कविताहरू विभिन्न कविहरूले रचना गरेका छन् । त्यस समय साहित्यिक समूहमा निकै चर्चा पाएको यस सङ्ग्रहका कविताहरूको प्रतिक्रिया पनि तेह्रजना कविहरूले कविता कै माध्यमबाट गरेका छन् ।
पुस्तकभित्रका सम्पूर्ण कविताहरू सुनचरी दैनिक समाचार पत्रिकामा प्रकाशित भइसकेका छन् । कविको कवितासँगै ती कविताहरूमाथि गरिएको प्रतिक्रियात्मक कविता पनि सँगै प्रकाशित हुनु भारतीय नेपाली काव्य साहित्यमा पहिलो घटना हुनुपर्छ । यसमा एकाध कविहरूले नकारात्मक प्रतिक्रियात्मक कविता कोरेका छन् । तर कविले ती नकारात्मक कवितालाई पनि आफ्नो सङ्ग्रहमा समावेश गरेर कवि हृदयको कोमलतालाई दर्साएका छन् ।
कवि, कविता अनि कविता लेखनमा आएका अनुजहरूलाई पनि असाध्य माया गर्ने अनौठो कवि हुन् विचन्द्र । संसारका धेरै कम कविहरू छन् जसले कवि जीवन बाँचेका छन्- ती मध्ये भाग्यमानी कवि जीवन बाच्ने एक कवि हुन् विचन्द्र प्रधान । त्यसैकारण प्रसिद्ध साहित्यकार तसलिमा नासरिनले उनलाई ‘विचन्द्र शिरदेखि पाउसम्मै कवि हुन्’ भनेकी छन् । उनलाई बाटोमा हिँड्दा, सुत्दा, खाँदा अर्थात् कुनै पनि क्षण कवितामय भएर बाँचेको देखिन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा, ईश्वर वल्लभजस्तै उनी पूर्णतः कवि जीवन बाँचेका छन् । कवितामय जीवन व्यतीत गर्नु एउटा चुनौतीपूर्ण कार्य हो । तर उनी त्यो कठिन कवितामय यात्रा हिँडेको लगभग ६० वर्ष हुन लाग्यो । उनी कविताको असहज, असामान्य एवम् कविताको प्रसवमय पीडाको जीवन निरन्तर बाँच्दै आएका छन् । तसर्थ उनी शिरदेखि पाउसम्म नै कवि हुन् । यही कठिन, असामान्य कवितामय जीवन भोगाइकै कारणले गर्दा उनले बसगाडी यात्रामा पनि कविता देखेका हुन्, कविता लेखेका हुन् । समान्यतः बसगाडी यात्रा कठिन एवम् कष्टपूर्ण हुन्छ तर त्यो कठिन यात्रालाई पनि उनको काव्यिक प्रतिभाले कवितामय बनाइ दिए ।
प्रेमतत्त्व, बसगाडीमा यात्रा कविता सङ्ग्रहको प्रमुख विशेषता वा प्रवृत्ति मान्न सकिन्छ । मानिसका नैसर्गिक विभिन्न तत्त्वहरूमा प्रेमलाई सर्वश्रेष्ठ मानिन्छ । प्रेम सर्वशक्तिमान् छ जसले शत्रुलाई मित्र अनि आगोलाई पनि पानी बनाउँछ । मान्छे र प्रेमको सम्बन्ध सृष्टिकालदेखि नै हो ।
प्रेम, संसार हेर्ने एउटा यस्तो दृष्टि हो जसले कल्पनालोकको यात्रा गर्ने उत्कट इच्छा राख्छ । प्रेम जीवन हो, प्रेम आशा हो, प्रेम सपना हो, प्रेम यात्रा हो, प्रेम लक्ष्य हो, प्रेम जन्म र मृत्युबिचको त्यो अनुभूति र प्राप्ति हो जसले कहिले रुवाउँछन्, कहिले हँसाउँछन्, कहिले मिलनको मिठो मुस्कान दिन्छ, कहिले बिछोडको तितो पीडा । तर प्रेम, प्रेम नै हो । प्रेमबिना न कला, न साहित्य, न सङ्गीत, न त जीवनको कुनै अर्थ छ । यस सङ्ग्रहमा प्रेम तत्त्व प्रमुख भाव भएर कवितामा बगेको छ । कवितामा कवि नर-नारीको शाश्वत प्रेमको खोजीमा देखिन्छ-
काश !
त्यो तन्नेरी अरू नभएर म हुँदो हो त!
त्यो तरुनी अरू कसैकी नभएर
मेरी प्रयेसी हुँदी हो त !
तर हजुर ! मेरो त
कतै केही जुरेन नि त यो जुनीमा । (पृ.१०)
यस कविता सङ्ग्रहका कविताहरूमा प्रेम नै मूल स्वर भए तापनि कवितामा वासनात्मकता प्रेमबाट सर्वदा मुक्त देखिन्छ । यसै सन्दर्भमा समालोचक घनश्याम नेपाल लेख्छन्- “विचन्द्र ‘बाबु’-लाई चोखो मायाका कवि भन्न सकिन्छ । उनका कविताले बोकेको माया मान्छेले मान्छेलाई गर्ने व्यावहारिक माया मात्र पनि होइन । एउटा निस्पृह र जाग्रत् चेतनायुक्त हृदयले जीवन र जगत्का साना-ठुला हरेक थोक र सम्बन्धहरूप्रति अनुभव गरेको रागात्मक प्रतिक्रिया र संवेदनाले उनका कवितामा मायाको आकार पाएको छ । उनका कविताको प्रेम जेनको समानुरूप प्रेम झैँ लाग्दछ ।” उनको कविता नर-नारीमा मात्र सीमित नभएर सम्पूर्ण जगत्सित नै प्रेम गरेको पाइन्छ । अतः उनका कविताहरूलाई परिवेश विमर्शको सिद्धान्तको आधारमा पनि अध्ययन गर्न सकिन्छ ।
पूर्वीय साहित्य सिद्धान्तअनुसार रसहरूमा शृङ्गार रसलाई सर्वश्रेष्ठ मानिन्छ । यस सङ्ग्रहमा परेका कविताहरूलाई श्रृङ्गार रसको आधारमा विवेचना गर्न सकिन्छ । यस कविता सङ्ग्रहमा बसगाडीभित्रको परिवेश र कविको हाउभाउ उद्दीप्त विभाव, कविको मनमा उत्पन्न व्रीडा, हर्ष, अमर्ष, विषाद आदि चाहिँ व्यभिचारी भाव हुन् ।
कविताभित्र रहेको नायक नायिका वा नर नारी आलम्बन विभाव, कविताभित्र रहेको प्रीतिको भाव स्थायी भाव हो भने अनुभावलाई चाहिँलाई कविताको व्यापार मान्न सकिन्छ । उपर्युक्त रस अवयवहरूको निष्पत्तिबाट उत्पन्न तत्त्वलाई पूर्वीय काव्य सिद्धान्तमा रस भनिएको छ । रससिद्धान्तको गहन दार्शनिक पृष्ठभूमि छ । काव्य नाट्यको मूलभूत प्रयोजन आनन्द हो र रससिद्धान्त त्यसै प्रयोजनलाई सिद्ध गर्नका लागि प्रवर्तकता भएको हो । दार्शनिकहरूले सत्य, शिव, सुन्दरलाई जीवनको उद्देश्य त मानेका छन् तर उनीहरूले यिनैलाई चरम लक्ष्य नमानी आनन्दोपलब्धिलाई चरम लक्ष्य मानेका छन् र सत्य-शिव-सुन्दरलाई आनन्दोपलब्धीको साधन ठानेका छन् ।
उनको कवितामा पनि सत्य, शिव, सुन्दरताले समेटिएर रस निष्पत्ति भएको पाउँछौँ । उनको कविताहरू रसास्वादन गर्नका निम्ति कुनै बौद्धिक कसरत गरिरहनु पर्दैन । कविताले झ्वाम्मै पाठकको हृदयलाई स्पर्श गरिहाल्छ । उनका कविताहरू पारदर्शी सिसा झैँ छन्-
हातमा हात राखेर
हाँस न तिमी बरु मुसुक्क ।
मेरो कुमनेर शिर राखेर
निदाऊ न तिमी बरु भुसुक्क ।
जिन्दगी त त्यो पो हो
जसले रुँदै हाँस्न सिक्यो ।
जिन्दगी त त्यो पो हो
जसले हाँस्दै रुन जान्यो । (पृ.१९-२०)
यहीँ सम्प्रेषणको विन्दुमा आएर उनका कविताहरूले अपार सफलता पाएको अनुभूति हुन्छ । कवितालाई मुद्दाको भारी बोकाएर खच्चरलाई झैँ चाबुक लगाउँदै उकालोमा हिँडाउने होइन कवि विचन्द्र । उनको दृष्टिमा कविता भनेको सुकोमल, रमणीय भाव हो । कुनै एकान्त स्थलमा प्रेमी र प्रेमिकाले साउती गरेझैँ वा कुनै मानिसहरूका भीडमा प्रेमी-प्रेमिकाले प्रीतिको भाका पोख्न इसारा गरे झैँ लाग्छ उनका कविताहरू ।
‘सशक्त भावहरूको सहज उच्छलन कविता हो’ भन्ने वर्डस्वर्थको भनाइ उनको कविताहरूमा चरितार्थ देखिन्छ । सुकोमल हुँदाहुँदै पनि हर्ष, अमर्ष, जिजीविषाहरू, जीवनका पीडाहरू पाइन्छन् उनको कवितामा । उनको काव्यिक सौन्दर्य नै यहीँ हो । अहिलेको कृत्रिम संसार एवम् कृत्रिम बौद्धिकताले नियन्त्रण गरेको समयमा यस प्रकारका कोमल, प्रेममय कविताको महत्त्वपूर्ण स्थान छ । समालोचक घनश्याम नेपालले उनलाई जातीय जागरणका कवि धरणीधरसँग तुलना गर्दै ‘जनकवि’को संज्ञा दिएका छन् । पछिल्लो समय जनमासनमा सबैभन्दा अधिक उनका कविताहरू रुचाइएकोले गर्दा नै उनलाई जनकवि भनिएको हो । उनी सदैव सरस, सहज र सरल कविताको अनुगामी हुन् ।
बसगाडीमा यात्रा सङ्ग्रहमा बसगाडी एउटा भौतिक वस्तु मात्र नभएर बसगाडी विम्ब वा प्रतीकको रूपमा कवितामा आएको छ । बसगाडीभित्रमा जीवन भोगाइको क्रममा आएका जिजीविषाहरू, पुरुष मानसिकता आदि यावत कुराहरू पनि आएका छन् । ‘बसगाडीमा यात्रा’ एउटा जीवन लीला हो । भोगाइ हो । हाम्रो दैनिकी हो । बसगाडी हाम्रो दुःख-सुख हो, हाम्रो घर पनि हो । कवि एक ठाउँ लेख्छन्-
आफू भूल बसगाडीमा चढेको
बल्ल पो मैले थाहा पाएँ लौ हेर !
वरिपरि मानौँ गोपिनीहरू
बीचमा एक्लो कृष्ण म भएँ क्यार !
यो वृन्दावन हो कि बसगाडी ?
भन न ए साथी !
कसले लुकाइदियो हँ
विवेकको मेरो बाँसुरी ? (पृ.११)
वृन्दावनमा कृष्णाले गरेको लीलालाई सरल, सरस भाषामा आधुनिकीकरण गरी कविता कोरेर कविले आफ्नो काव्यिक शक्तिलाई दर्साएका छन् । यो एउटा छोटो कवितामा कृष्णको अपार कृष्णलीलाको दर्शन लुकेको पाउँछौँ । यस कवितामा कवि स्वयम्ले आफैलाई कृष्णको रूपमा तिरोहित गरी पुरुष मानसिकतालाई पनि छद्म रूपमा प्रकट गरेका छन् ।
प्रेम कविता लेख्नु आफैमा एउटा चुनौतीपूर्ण एवम् जोखिम कार्य हो । प्रेम कविता सिर्जना गर्दा प्रखर सौन्दर्य अनुभूति अनि गाडा अद्वितीय पीडा अनुभूति गर्ने क्षमता कविमा हुनु आवश्यक छ । त्यो क्षमता बुद्धमा थियो, जिजस क्राइसमा थियो, कबीरमा थियो, गान्धीको अहिंसामा थियो । त्यही गाडा पीडालाई अनुभूति गरेर अनि त्यसमै कवि रमाएर त्यो पीडालाई सौन्दर्यात्मक कवितामा रूपान्तर गर्नु निकै कठिन कार्य हो । जीवनको सत्तरी वसन्त पार गरिसकेका विचन्द्रका कविताहरूमा अझ पनि तरुन्, शक्तिशाली सौन्दर्य चेतना पाउनु, सर्वानुभूत हुनु उनको कविताको वैशिष्ट्य रहेको छ ।
यसै सन्दर्भमा समालोचक कविता लामा लेख्छन्- “प्रेम प्रणयका कविता रचना गर्ने कविको मन त्यसैले सधैँ युवाको युवा नै रहन्छ । प्रेम कवितामा डुब्ने कविहरू कहिल्यै बुढा हुँदैनन् । हरसमय ताजा, हँसिलो, सकारात्मक, आशावादी अनि प्रेम गर्न भनेपछि मरिमेट्ने हुन्छन् । प्रेम कवितामा निहित यस हरियालीले उ सधैँ ‘एवरग्रिन कवि’-का रूपमा चिनिन्छन् ।” तसर्थ उनले प्रेम कवितालाई ‘हरित विधाको कविता’ भनेकी छन् ।
हिन्दीका वरिष्ठ समालोचक मैनेजर पाण्डेले भनेजस्तै साहित्यमा ‘मूल’ भनेका जनता हुन् ।[2] तर विचन्द्रको कविताको मूल भनेको प्रेमिल जनताहरू हुन् । जीवनमा गाँस बास र कपडा सँगसँगै प्रेम पनि मानिसलाई अतिआवश्यक तत्त्व हो भन्ने कुरा उनका प्रायः कविताहरूले हामीलाई इङ्गित गरिरहन्छ । उनका कविताको सार तत्त्व नै मानिसको नैसर्गिक प्रेम हो । उनको कविताले खोजेको प्रेम अश्लील प्रेम नभएर शाश्वत प्रेम हो ।
यस कविता सङ्ग्रहमा प्रेम, माया, पिरतीको कुरा मात्र नभएर जातीय चेतनाका कुराहरू, लोक-सांस्कृतिक पक्षका कुराहरू, आजको युवा पिँडीले भोग्नु परेका बेकारी समस्याहरू, आतङ्कवाद, विसंगत जीवन, राजनैतिक विचलनहरू पनि कवितामा आएका छन् । बसगाडीमा यात्रा सङ्ग्रहको एघारौँ कवितालाई उदारहणको रूपमा हेरौँ-
युवकले पैह्रेको छ
दौरा-सुरुवाल र पाल्पाली टोपी ।
युवतीले पैह्रेकी छ
कैँचीमारी फरिया र चौबन्दी चोली । (पृ.१३)
यस कवितामा कविले हामीबाट लोप हुँदै गएको हाम्रो जातीय पोसाकको महत्त्वलाई प्रकाश पार्ने कोसिस गर्दै नेपाली जातिमा युगानुसार जातीय चेतना नपलाएको देख्दा कवि चिन्तित बनेको देखिन्छ । जुन जातीय अस्मिताको चिन्ता हिजो धरणीधर, अगमसिंह गिरीमा थियो । समयको यति लामो अन्तरालमा पनि गोर्खे जातीमा जातीय जागरण नआउनुको चिन्ता यस कविता सङ्ग्रहको प्रायः कविताहरूमा देखिन्छन् । बसगाडीको माध्यमबाट नेपाली समाजको राजनैतिक, सामाजिक, आर्थिक, सामाजिक अवस्थाहरूलाई कविले आफ्नो कविताको क्यान्भास्मा काव्यिक रङ्गहरूको माध्यमले कोर्ने कोसिस गरेका छन् । जस्तै,
एक पिलन्धरे लोग्ने
झुत्रेझाम्रे पहिरनमा
बिमारी स्वास्नीलाई लिएर साथमा
उभेको छ यात्रीको भीडमा ।
भ्रमणमा आएका यात्री भने सुख-सयलसित
बसेका छन् आ-आफ्ना ठाउँमा । (पृ.१७)
यस कवितामा कविले सरल कविताको माध्यमबाट गोर्खे जातिको आर्थिक विपन्नता, लाचार स्थिति र हरेक कुरामा पछाडि परेको अवस्थालाई प्रकाश पारेका छन् ।
विचन्द्रका कविताहरू जनमुखी छन् । साधारण भाषामा जीवनको गहन कुरा भन्नु सक्नु नै उनको काव्यिक विशेषता हो । प्रा मणिकलालले लेखेका छन्- साहित्य लेख्नु नै जनताले पढोस् भन्ने उद्देश्यले हो भने जनताले बुझ्ने भाषामा साहित्य लेखिनु पर्दछ । तल्लो वर्गका जनताले बुझ्ने भाषामा उच्च विचार उच्च भाव गर्न सकिँदैन भन्ने भावना उच्च ओहोदाका केही व्यक्तिहरूको प्रतिनिधित्व गर्न साहित्यकारहरूको धारणा हो । साधारण सरल सरस भावमा जीवनको गम्भीर सूक्ष्म कुरा गर्नु सक्नु नै उनको काव्यिक क्षमता हो ।
आजभोलि प्रायः जसो कविहरू साधारण बोलचाल एवम् खिचडी भाषामा कविता कोर्ने, अश्लील भाषाको प्रयोग गर्ने एउटा भद्दा परम्परा बनेको छ । कविता जहिल्यै एउटा नौलो काव्यभाषाको खोजीमा हुन्छ अनि खोजी गर्नु पनि पर्दछ । कवि विचन्द्रका कविताहरूमा परिष्कृत परिमार्जित भाषाको प्रयोग अनि अभिव्यक्तिको स्पष्टता पाइन्छ ।
उनको काव्यभाषा चट्नी जस्तै चिटिक्क परेको छ । लोक-संस्कृतिसित सम्बन्धित शब्दहरू प्रयोग एवम् झर्रा शब्दहरू प्रयोगले उनका कविताहरूलाई अझ जनमुखी, जनप्रभावकारिता पारेको छ । समग्रमा यस कविता सङ्ग्रहमा प्रेम तत्त्व, शाश्वत प्रेमको खोजी, जातीय चेतना, जीवनका जिजीविषाहरू, मानिसले दैनिक जीवनमा भोगेका यावत कुराहरू आदि पाइन्छन् ।
सिक्किम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

