लौ आज ‘संसारको सेरोफेरो’ शयर गरियो ! तदारूप मन्द आनन्द भोग गरियो । लेखक डा. चन्द्र गिरीको यात्रा आफ्नो जन्मस्थल खोटाङको चिमचिमा गाउँबाट शुरू हुँदै विश्वका १ सय २६ देशमा विस्तारित भइसकेको छ, र यात्रा अझै जारी छ । यति भन्दै गर्दा एक स्वाभाविक कौतुहलता उठिहाल्छ : हैन, उनलाई कसरी यति धेरै ठाउँहरू भ्रमण गर्न अनुकूल जुर्यो ?
यसको गुह्य रहेछ – उनको उच्च शिक्षाको सिलसिला, विश्वव्यापी पेशागत स्थलगत भ्रमणको आवश्यकता र अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनहरूमा सहभागिता । त्यस अतिरिक्त, लेखकको अन्तर्मनको यात्रामोह पनि स्पष्ट झल्किन्छ । थप रूपमा, आफ्नो अनुभवलाई रोचक रूपमा लिपिबद्ध गर्नु लेखकको ‘संसारको सेरोफेरो’ समर्पण त हो नै, तर मूलतः उनको जाँगरको उपज हो ।
डा. चन्द्र गिरीले थाइल्यान्डबाट पिएचडी प्राप्त गरेपछि रिमोट सेन्सिङमा केही महत्त्वपूर्ण सीप र अनुभव त्यही हासिल गरी प्रगति पथमा चले । आज, उनी इपिए युएसए को अनुसन्धान तथा विकास विभाग अन्तर्गतको ‘स्पेसियल र रिमोट सेन्सिङ’ शाखाको प्रमुख छन् । म्याङ्ग्रोभ अध्ययन क्षेत्रमा उनको अद्वितीय योगदान छ जसले गर्दा उनलाई फादर अफ म्याङ्ग्रोभ म्यापिङ र मोनिटरिङ (एमएमएम) भनिन्छ । यो चानचुने कमाल होइन । सारांशमा भन्नुपर्दा जहाँसम्म एमएमएम को कुरा छ ‘द बाक स्टप वित हिम् ।’
यो विषयमा उनका धेरै लेख र पुस्तक प्रकाशित छन् । एक लेखले त क्लासिक रूप लिएको पनि छ । जसले गर्दा यस विषय अँगाल्ने हर कोही उनलाई सेमिनार, सम्मेलनहरूमा सेलिब्रिटीको रूपमा घेर्न आउँछन् अर्थात् समीप्यमा आउँछन् । जहाँ जहाँ सभा सम्मेलन हुन्छन्, त्यहाँ स्थानीय नै धेरै हुन्छन् । यसरी उनको ‘यात्रीमन’लाई स्थानीय घुलमिलले थप ऊर्जा मिलेको देखिन्छ । चरैवेति चरैवेति !
म्याङ्ग्रोभ भनेको समुद्र किनारका बोटबिरुवाहरू हुन् जसले तटीय क्षेत्रको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छन् र ‘ब्लू कार्बन’को रूपमा ठूलो मात्रामा कार्बन सञ्चित गरी हरितगृह प्रभाव सन्तुलनमा सहयोग गर्छन् । यस्तो समस्या विश्वव्यापी भएकाले म्याङ्ग्रोभको अनुगमन समग्र रूपमा नै आवश्यक हुन्छ । फलस्वरूप, गिरीको अनुसन्धान र कामले उहाँलाई विश्वभर पुर्याउँछ । नत्र, आम नेपालीलाई यतिका देशहरूको भ्रमण गर्न समय र रहर भए पनि स्रोत र साधनले तगारो हाल्ने एउटा यथार्थ नै हो ।
शायद जीवा लामिछानेजीले यस्ता भ्रमण गरेर यात्रा संस्मरण प्रस्तुत गरेका छन् । आफ्नै देशभित्र नियात्राकार प्रतीक ढकालजीले बृहत् यात्रा गरेका छन् र त्यहाँ पनि एउटा आवश्यकता नै पर्छ । नेपाल जस्तो मुलुकमा जन्मेका थोरै व्यक्तिहरूमध्ये यस्तो पुस्तक तयार गर्ने शायद गिरीजी दोस्रो व्यक्ति नै हुन् ।
लेखकले बाल्यकालमा हजुरबासँग दिक्तेल बजार पुगेको र अर्को पटक हलेसी महादेवको तीर्थ यात्रा गएको बालस्मृति उल्लेख गरेका छन् । पछि, जब लेखक तराई झरे, ‘झ्वाट्ट’ देखेका ती फराकिला समथर फाँटको विशालताले उनलाई अत्यन्त रोमाञ्चित बनायो । जीवन साँच्चै एउटा यात्रा नै हो । यात्रा मनोरम त हुन्छ नै, अप्रत्याशित उत्साह, सन्तुष्टि, तरङ्गहरू र नयाँ अनुभव र आशाहरूले भरिपूर्ण हुन्छ । लेखकले एक पटक आफ्नी आमासँग सोधेछन्, “यदि तपाईंसँग प्रशस्त पैसा हुन्थ्यो भने, तपाईं के गर्नुहुन्थ्यो? ” उहाँले उत्तर दिनुभयो कि “म संसार घुम्न जान्थें ।”
तसर्थ, गिरीजीको पेशागत भ्रमणमा होस् या व्यक्तिगत यात्रामा, बचेको खचेको समय निकालेर उनको स्थानीय ठाउँहरू घुम्न चाहने तृष्णा कदाचित उहाँको आमाबाट सरेको जुनून होस् ।
यात्रा-तृष्णाको सन्दर्भमा सन् १९९८ सालमा एलविआइवि शहरमा मसँगै एउटै योजनामा सल्लाहकारको रूपमा गएका साथी माइक लार्किनको सम्झना आउँछ । हामी त्यहाँ भेटेका मात्रै हौं । उनी क्यालिफोर्नियाबाट आएका थिए म नर्थ केरोलाइनबाट गएको थिएँ । दुई हप्ताको यात्राका लागि पाँच जोर जुत्ता लिएर आएका रहेछन् । ती मध्ये हरेकको प्रयोगको व्याख्या गर्दै अन्तिम जोडी देखाउँदै भने, “यो जुत्ता शहर बिउँझिनु अघि बिहानको भोरमा शहरसँग आत्मसात् गर्न हिंड्ने जुत्ता हो ।”
म पनि अर्को बिहान उठेर सँगै गएँ । यात्राको यो पाटो मेरो मनमा रहिरह्यो र मैले त्यसलाई अपनाउने गरेको पनि छु र साँच्चै यो अमूल्य अनुभव रहेछ । यसको अतिरिक्त, कुनै शहर लामो समयसम्म काम विशेषले जाँदा शहर त केही बुझिएला तर शहर बाहिरको जनजीवन र प्रकृति नहेरी त्यस ठाउँको अनुपमा महसूस गर्न नसकिने मेरो अनुभव रहेको छ । यात्रा भनेको मानिसहरूको जीवन, संस्कृति, र सम्बन्धलाई बुझ्ने अवसर पनि हो । यस दृष्टिकोणले हेर्दा, लेखकले आफ्नो लोकप्रियताका कारण स्थानीय सम्पर्कको अनुकूल र अद्वितीय अवसर पाएको देखिन्छ ।
यात्राको क्रममा अद्भुत ठाउँहरूमा पुगिन्छ । जमैकामा, लेखकलाई १०० मिटर ड्यासमा ९.५८ सेकेन्डको कीर्तिमान राख्ने उसेन बोल्टलाई सम्झने मौका मिल्छ । त्यस्तै, प्रति बोतल ५० लाख रुपियाँ पर्ने रमको सामना गर्न मिल्छ । ब्राजिल भ्रमण गर्दा भने पेलेको विरासतलाई अनुभूत गर्छन् । भन्छन्, “ब्राजिलमा फूटबल नै सबै चिज हो ।” हो पनि, म पनि चकित परेको थिएँ । हरेक वर्ष यहाँ, नर्थ क्यारोलिनामा, विभिन्न देशका बासिन्दाहरूले तीन दिनसम्म चल्ने ‘सांस्कृतिक फेस्टिवल’ आयोजना गर्छन्, जहाँ सबैले आफ्नो कला र संस्कृति झल्काउन झाँकी निकाल्छन् । त्यो फेस्टिवलको एक भागमा स्टेजमा हरेक समुदायले नृत्य प्रस्तुत गर्नुपर्ने पनि हुन्छ । हाम्रा भाइबहिनीहरूले ‘चोली राम्रो पाल्पाली ढाकाको…’ नृत्य प्रस्तुत गरेका थिए ।
त्यसैगरी, ब्राजिलियन समुदायले स्टेजमा ‘फूटबल डान्स’ प्रस्तुत गरेका थिए – वाह, रे वाह ! विश्वविख्यात पेलेले ३० वर्षमै फूटबल खेलबाट निवृत्ति लिएको खबरले मेरो व्यक्तिगत फूटबल सम्बन्धी स्वैरकल्पनामा केही आघात पुर्याएको थियो – तर त्यो अर्को प्रसङ्ग हो ।
लेखकले सान फ्रान्सिस्कोको रोबोट ट्याक्सी र कफी विक्रेता, उगान्डाका गुरिल्ला, कुख्यात समुद्री डाकाहरूको इतिहास बोकेको बहामासका १३ लाख पर्ने होटेल कोठा र न्यूयोर्कमा १५ लाखको सुटको पनि चर्चा गर्छन् । अब मान्नै पर्छ, शायद त्यस्ता विलासीहरू पनि छन् जो १३ लाख प्रति रातको कोठामा बस्न सक्छन्, प्रति बोतल ५० लाखको रम पिउँछन् र १५ लाखको सुट लगाउँछन् । नेपालमा पनि आजकल जुत्ता, घडीहरू, सुटहरू आदि धेरै लाख रुपियाँमा किनिन्छन् भन्ने सुनिन्छ, जसले यहाँ परिकल्पना जस्तो देखिने कुरा यथार्थभन्दा पर छैन । लेखकले अचम्मित हुँदै प्रस्तुति गरेका यी अनुभूतिहरू शायद नेपालमा त्यति अचम्म मान्न नपर्ने अवस्था पनि आएको छ । साँच्चै भनौं त यस्तो अचम्म मान्न नपर्ने अवस्था नै अचम्म मान्न पर्ने भएको छ । त्यसैले, चाहे भौतिक वस्तु होस्, परम्परा होस् वा मानिसहरू, यी अनुभवहरूले यात्रा गर्न भिन्न दृष्टिकोण प्रदान गर्दछ ।
उत्तर अमेरिकाको टुप्पो र दक्षिण अमेरिकाको पुच्छर जोड्ने तीस हजार किमी. संसारकै लामो राजमार्गमा कोलम्बिया र पानामाको बीचमा १०० कि.मी. जति विषम प्रकृतिले गर्दा बन्न नसकेको सडक खण्ड छ, त्यसलाई ‘डारियन ग्याप’ भनिन्छ । लेखक कामको सिलसिलामा त्यहाँ पुगेछन् । हाम्रो उ बेलाको चार कोसे झाडी पनि खतरनाक र भयङ्कर मानिन्थ्यो । ‘एक मोहोरले चार कोशे झाडी पार गर्न सकिन्छ’ भन्थे बूढापाकाहरू । त्यो चार कोसे मात्र थियो भने यो १०० कि.मी. लामो अर्थात् ३०-३५ कोश, र डाका र लुटेराहरूको बिगबिगी भएकाले – बाफ रे बाफ । तल्लो बाटोका आप्रवासीहरूले तय गर्नु पर्ने यात्रा । ‘बाध्यताको यात्रा’ – यात्राको अर्को रूप ! लेखकले त्यो ग्याप यात्रा शुरू गर्न लागेका १० जना नेपाली दाजुभाइलाई भेट्छन् ! मनोभाव कस्तो भयो होला ?
लेखकले माल्दिभ्स फेरि जान पाइने हो कि होइन भन्ने कुरा रोचक तरिकाबाट टुंग्याएका छन् । माल्दिभ्स लोप हुन्छ कि आफैं लोप भइन्छ भन्ने नै मनसाय होला ? नेपाल र भारतका धेरै स्थानहरूको वर्णन छन् । बर्मा र थाइल्यान्डमा रहेका नेपालीहरूको ‘राष्ट्रविहीन’ बिचल्लीको बारेमा केही अभिव्यक्ति छन् । लेखकले टिप्पणी गरेका छन्: कोस्टारिका आफ्नो उदाउँदो इको-पर्यटन उद्योगका साथै सैन्य विहीन देशका रूपमा चिनिन्छ, जहाँ सैन्य खर्च शिक्षा र संस्कृतिमा लगाइन्छ । पनामा कनालले अटलान्टिक र प्रशान्त महासागरहरू बीचको समुद्री मार्गलाई क्रान्तिकारी बनाएको छ । युरोप, इन्डोनेसिया, बङ्गलादेश, श्रीलङ्का, सिनेगल आदि इत्यादिको पनि बयानहरू छन् ।
युरोप जाँदा आफैं यात्रा संयोजन गर्दा महँगीको चाप परेको पनि वर्णन गरेका छन् । मेरो आफ्नै अनुभवमा कतिपय ठाउँहरूमा स्थानीय सम्पर्क र साथीभाइहरूको आतिथ्य र सहयोगमा यात्रा गर्न सजिलो हुन्छ भने कतिपय ठाउँमा ‘गाइडेड टुर’ राम्रो हुन्छ । गाइडेड टुरहरूको पनि महत्त्व छ – सुलभ पनि हुन्छन् । अलास्का घुम्दा, भारी मूल्य तिरेर अलास्का क्रुज जानु ठीक छ कि छैन भनी आफैं प्रश्न गर्छन् र मेरो विचारमा बिलकुल ठीक छ भन्छन् ! म गएको छैन, त्यसैले म ‘खै’ भन्छु ! यद्यपि त्यो मेरो आफ्नै समग्र सोच विपरीत पनि हो । जीवन त्यस्तै हो, अरूलाई सल्लाह दिन सजिलो हुन्छ तर आफैं पालन गर्न पूर्वाग्रहले थिच्छ ।
अफ्रिकाको नकुरु तालका फ्लेमिङ्गोहरू, सारेंगेटी र मासाई माराका लाखौंको संख्याका वन्यजन्तुहरूको गुटुटु लस्कर , मेक्सिकोका मोनार्क पुतलीहरू जस्ता प्राकृतिक आश्चर्यहरू वास्तवमा वर्णन गर्न कठिन हुन्छ, मानौं ती वर्णनातीत हुन् । यस्तो प्रकृतिको अद्भुत बनावटलाई शब्दहरूले मात्र वर्णन गर्न सकिँदैन, यद्यपि लेखकले आफ्नो सर्वोत्तम प्रयास गरेका छन् । यी आश्चर्यजनक दृश्यहरूलाई केवल पढेर वा तस्वीरहरूमा हेरेर सन्तुष्ट हुनेहरू आफैंमा अन्याय गरिरहेका छन् भन्ने मलाई पनि लाग्दछ । यस सन्दर्भमा म लेखकसँग सहमत छु कि यसलाई पूर्ण रूपमा अनुभव गर्न एकपटक आफैंले हेर्नै पर्छ ।
यदि कसैले मसँग सोध्यो – “नियाग्रा फल्स, कोलोसियमका बास्केटबल खेलहरू, स्टेडियममा अमेरिकन फूटबल खेलहरू, वा रेस ट्र्याकमा कार रेसिङ किन हेर्ने ?” र कसैले न्यूनीकरण वा कम आँक्न खोज्छ भने, म उहाँहरूलाई स्पष्ट पार्न, सम्झाउन वा बुझाउन कोशिश गर्दिनँ । म नम्रतापूर्वक उहाँहरूलाई एउटै अनुरोध गर्छु – “एक पटक, मात्र एक पटक गएर आफैं हेर्नुहोस् ।”
वास्तवमा बास्केटबललाई छोडेर मैले आफैंले पनि ती अन्य फूटबल गेम र कार रेसिङहरू एकपटक भन्दा बढी हेरेको छैन । धेरै वर्ष पहिले
कलेजको समयमा, मैले अल्ला रक्खाको र रविशंकरको तबला/सितार बादन हेर्ने मौका पाएको थिएँ । म १९ वर्षको आधुनिक लहडीलाई, वास्तवमा तत समयमा त्यस्तो क्लासिकल शो हेर्न जान मनै मानेको थिएन । तर गए । नगएको भए, मैले जिन्दगीको एउटा अपूर्व अनुभव गुमाउने रहेछु भन्ने लाग्यो । मानिसहरूलाई आकर्षित गर्ने कारणहरू छन् र न त्यति प्रख्यात छन् । हेर्न नजाने धेरै मानिसमा पूर्वाग्रह हुन्छ, तर यो अनुभवको रोमाञ्च आफैंले नहेरेसम्म थाहा पाउन सकिन्न । यस्ता प्राकृतिक र सांस्कृतिक आश्चर्यहरूले यात्रा गर्न उत्साहित गर्छन्, र यसलाई प्रत्यक्ष रूपमा अनुभव गर्नुको कुनै विकल्प छैन ।
यात्रा र जीवनको कुरा गर्दा, म प्राय: ‘राहगीर’ को जीवनलाई चरमसीमासम्म सम्झन्छु र त्यस्तै बेला रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध कविता ‘जोदि तोर डाक शुने केउ ना आसे तोबे एकला चलो रे’ को पनि सम्झना आउँछ । यसरी नै, बच्चनको प्रसिद्ध चार पंक्तिहरू पनि सम्झना आउँछ:
“मदिरालय जाने को घर से चलता है पीनेवला,
‘किस पथ से जाऊँ ?’ असमंजस में है वह भोलाभाला,
अलग-अलग पथ बतलाते सब, पर मैं यह बतलाता हूँ –
‘राह पकड़ तू एक चला चल, पा जाएगा मधुशाला ।’”
यससँगै, शैलेन्द्रको “कल खेल में हम हो ना हो, गर्दिश में तारें रहेंगे सदा…” भन्ने पंक्ति पनि जीवनको यात्रा र यसको चक्रलाई निरन्तरता दिने दर्शनलाई चित्रित गर्ने अभिव्यक्ति लाग्छ ।
सम्पूर्ण रूपमा, यी कविताहरू जीवनको यात्राको महत्त्व र आत्मनिर्भरताको सन्देश दिन्छन् । रवीन्द्रनाथ ठाकुरको ‘एकला चलो रे’ ले व्यक्तिलाई आफैंमा दृढ रहन र आफ्नो मार्गमा अकेले बढ्न उत्साहित गर्दछ । बच्चनको मुक्तकले जीवनको यात्रामा स्पष्टता र उद्देश्यका साथ अघि बढ्न प्रेरित गर्दछ । र अन्तमा, ‘गर्दिश में तारें रहेंगे सदा’ ले जीवनको अनिश्चितताहरू र बदलाबको बीचमा पनि निरन्तरता र स्थायित्वको भावना दिन्छ ।
यी कविताहरूले जीवनको यात्रामा सहनशीलता, आत्मनिर्भरता र निरन्तरता भन्ने महत्त्वपूर्ण सन्देशहरू प्रदान गर्छन्, जुन हरेक व्यक्तिलाई प्रोत्साहित गर्दछ ।
सारांशमा, ‘संसारको सेरोफेरो’ साहित्यिक मनहरूका लागि एउटा हल्का पठनीय पुस्तक हो । जे जसो होस्, यो पुस्तक कुनै अन्य व्यक्तिले सहजै सम्प्रेषण गर्न नसक्ने कुरा हो । यो यात्रावृत्तान्तको शक्तिशाली व्यक्तिगत दस्ताबेज पनि हो । लेखकलाई व्यक्तिगत रूपमा चिनेका कारण र समाजमा उहाँको स्थापित मर्यादाका कारण पुस्तकमा भनिएको कुरा मलाई विश्वासयोग्य लाग्छ र म उहाँसँगै यात्रा गरिरहेको छु भन्ने अनुभव पनि हुन्छ । यसमा धेरै ज्ञानवर्धक र सूचनामूलक जानकारी पनि समावेश छन् । निस्सन्देह, तत् तत् देशमा यात्रा गर्न चाहने यात्रीहरूलाई यो पुस्तक अमूल्य साबित हुनेछ ।

जब मैले यो पुस्तकको शीर्षक देखेँ, यसले मलाई विश्वभरका देशहरूको वर्णन गर्दै एक फन्को घुमाउँछ जस्तो लागेको थियो । शायद ‘अराउन्ड द वल्ड इन ऐठ डलरस्’ को पनि सम्झना आयो । म चाहन्थें कि ‘इपिए’ बारे थप चर्चा गरूँ, जुन १९७० मा कांग्रेसको विधेयक ‘स्वच्छ जल विधेयक’ अन्तर्गत स्थापित गरिएको थियो । यस विधेयकको सारमा भनिएको छ कि ‘राष्ट्रको पानी माछा मार्न योग्य र पौडी खेल्न योग्य हुनुपर्छ ।’ म हाम्रो आफ्नै बागमती नदीका लागि पनि त्यही सपना देख्छु । मेरी श्रीमतीले ‘गौरीघाट’लाई एक पवित्र स्थान मान्छिन् जहाँ देवी पार्वती स्नान गर्नुहुन्थ्यो भन्ने आस्था राख्दछिन् । यस पुस्तक समीक्षालाई यस्तै रोचक मोडमा समाप्त गर्न चाहन्छु ।
लेखकको जाँगरले सिर्जित हुन सकेको यो पुस्तकको लागि उहाँलाई धन्यवाद !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ माघ २०८२, बुधबार 










