हिजोआज नवयुवा कलाकारहरू नितान्त नौलौ रुपमा कलाहरू प्रस्तुत गरी आफूलाई अलग बनाउन प्रयत्नशील देखिन्छन् । यस्ता नवीन प्रस्तुतिका लागि मूलतः दुईवटा कुराहरूमा उनीहरूको बढी ध्यान गएको देखिन्छ । एउटामा कलाको थिम (टाइटल) अनि अर्कोमा चाहिँ माध्यम । यसैमा थप, चित्रपटमा थोरै कलाको संयोजन अलग्ग पारेर समायोजन गर्नु उनीहरू सदैव प्रयासरत रहेको देखिन्छ । यी नवयुवा कलाकारहरू नयाँ थिममा घोरिएर चिन्तनमनन गर्ने अनि सृजन–प्रक्रियामा बढी ध्यान दिने गर्दछन् । अनि नयाँ नयाँ माध्यमलाई सम्मिश्रण गर्दै नयाँनौलो रुपको निर्माण गर्ने खोजमा मग्न रहन्छन् । कला भनेको खोज हो । वा अनुसन्धानमूलक हुनुपर्छ भन्ने नयाँ सोच पनि आजका कलाकारहरूले रामरी बुझेको देखिन्छन् ।

सम्भवतः यी कुराहरू नयाँ रुपमा देखिएपछि झट्ट हेर्दा उनका कला अरुको भन्दा स्वतः अलग्ग पनि देखिन्छ । अलग्ग देखिनु नै आफ्नो मौलिकता प्रस्तुत हुनु–गर्नु हो भन्ने चाहिँ सबैले बुझेकै देखिन्छ । यसकारण पनि कलालाई हिजोआज भिजुअल–आर्टको रुपमा बढी मात्रामा उल्लेख गर्ने चलन छ । आजका कलाकारहरू आफूलाई भिजुअल आर्टिस्ट भन्न बढी रुचाउँछन् । हुन त, कला पहिलेदेखि नै दृश्यात्मक कला (खष्कगब िबचत) नै हो । कला अवलोकन गर्ने नै हो । अर्थात्, कला हेर्ने नै हो । पहिला यसरी भन्ने चलन थिएन । किनकि कलालाई अलग्ग देखिने भन्दा पनि भावनामा अभिव्यक्त गर्ने वा भक्तिभावका साथ कला बनाउँथे । यसकारण पनि हाम्रो परम्परागत कलाहरू एउटै शैली–प्रवृत्तिमा देखिने गर्दथ्यो । अझ यसैलाई बचाइराख्न यसैलाई नक्कल गर्न गौरव ठान्थे । अनि भावनाकै कुराहरू बढी मात्रामा हुने गर्दथ्यो । अचेल कलाकारहरू बढी मात्रमा कलामा विचारहरूसँग खेल्ने–खेलाउने गर्दछन् । समसामयिक मुद्दामा, सामाजिक सवालमा राजनैतिक अवस्थामा चेत आउनु अनि यसैलाई आफ्नु कलाको विषयवस्तु बनाउने उपक्रममा कलाकारहरू बढी लागेको देखिन्छ ।

अब अलिकता कलाका कुरा गरौं ।

आर्ट काउन्सिलमा सेप्टेम्बरको ६ तारीखमा यो सामूहिक कला प्रदर्शनीको उद्घाटन भयो । यो समूहगत कला प्रदर्शनी सेप्टेम्बरको अन्त्यसम्म चल्नेछ । यसपल्टको कला प्रदर्शनीमा नवयुवा कलाकार अक्षत ताम्राकार, यस्तै दुईवटा अनौठो प्रकारका चित्रहरू लिएर देखापरेका छन् । अचेलका युवा कलाकारहरू कलालाई कस्तो विचारमा, कसरी नितान्त नौलो प्रकारले प्रस्तुत गर्न खोज्दैछन् भन्ने यो एउटा उदाहरण पनि हो । उनले आफ्नो कलाको नाम पनि यस्तै अनौठो राखेका छन् । एउटाको नाम डन्ट ट्रीम योर नेल एट नाइट र अर्कोको नाम चाहिँ डण्ट स्वीप एट नाइट राखेका थिए । यो उनको अनौठो नामको पछाडि उनले बालककालदेखि नै सुन्दै आएको समाजको अनौठो परम्परा र यसमाथिको विश्वासलाई पनि सम्झेर चित्र बनाएका हुन् । हामी सबैले बच्चादेखि नै सुन्दै आएको यो एक प्रकारको सामाजिक कथन सबैमा गहिरो छाप बसिसकेको एउटा भाष्य पनि हो । रमाइलो कुरा त, सबैले अहिले पनि यसलाई पालना गर्दै आएका छन् । अनि यसमा गहिरो विश्वास भएको कथन पनि हो । अहिले पनि राति कसैले घर बढार्ने काम गर्दैनन् । नङ पनि राति काट्ने गर्दैनन् । अझै पनि त्यस्तो काम गरे अलच्छिन लाग्छ समेत भन्ने गरेको पाइन्छ । यही समाजिक कथनलाई लिएर उनले दुरस्त मिल्ने गरी कलाहरू बनाएका छन् ।

उनका कलाहरू चाहिँ स–साना छन् । तर अलग्गै माध्यमबाट (गोचे अन ब्लाइण्ड इम्बोज्ड) उनको कला बनेको छ । यो उनको कलामा सेतो सतहमा सेतै इम्बोज गरेर उठाइएका अनगिन्ती लहरहरू देखिन्छन् । अनि छेउमै सानो पहेँलो रङको नेलकटर यथार्थ रुपमा बनाएको देखिन्छ । अनि अझ स–साना छरिएका नङका टुक्राहरू, पहेँलै रङमा छन् । ती लहरहरुमा बगेको देखिन्छ । रातको विम्वको रुपमा सेतो माथि सेतो आधा चन्द्रमा पनि देखाइएको छ । चित्रपटमा सबैतिर मात्र सेतो देखिनु अनि कुनामा सानो रुपमा एक अलग्ग देखिनु पनि अचम्मैको संयोजन छ । एकताका विश्व कला बजारमा ह्वाइट अन ह्वाइट कम्पोजिसनको नयाँ कलागत प्रयोगले धूम मच्चाएको थियो । यसैको कहिँ कहिँ उनीमा प्रभाव परेको देखिन्छ । सन् १९१८ ताका रुसमा शुरु भएको सुप्रम्याटिज्म मुभमेन्ट ह्वाइट अन ह्वाइट मुभमेन्ट थियो । यो अमूर्त कला काजिमिर मिलाभेचले बनाएका थिए ।

हेर्दाखेरी के के जस्तो लागे पनि कथनलाई सम्झनेबित्तिकै उनका कला सर्लक्कै बुझिने रुपमा देखा पर्दछ । अर्कोमा पनि यस्तै यस्तै सेतोमा उठेका लहरहरूमा केही सुनका पहेँला टुक्राहरू अनि छेउमै कुचो बनाइएको देखिन्छ । इम्बोज्ड प्रिन्ट मेकिङ कलाको अर्को सशक्त माध्यम हो । सन् अस्सीको दशकतिर कलाकार वत्स गोपाल वैद्यले यस्तैयस्तै इम्बोज्ड गरेर चित्र बनाउँथे । उनीबाहेक कसैले यसको प्रयोग गरेको देखिएको छैन । अलि पुरानो तर सशक्त यो माध्यममा अहिले पुनः देखिनु पनि रमाइलो नै देखिन्छ ।

अर्का कलाकार स्मारिका महर्जनले पनि यस्तै प्रकारले टेरीटोरी इज नट होम नामक चित्रमा यस्तै अनौठौ संयोजन गरेकी छन् । उनको टेक्स्चरहरू उठेको सेतो तहमाथि गाडा नीलोे रङमा चराहरू उडिरहेका देखाएकी छन् । यस्तै अर्कोमा भने सानो नक्साको टुक्रालाई अंकन गरिसकेपछि कुनामा एउटा सेता चरालाई एउटा विम्वको रुपमा स्थापित गरेकी छन् । चराहरूको आफ्नै क्षेत्र नभएको, जहाँ पनि जैले पनि आउ–जाउ गर्न सक्ने, सबै आफ्नै क्षेत्र जस्तो गरी गरी उडिबस्ने आदि इत्यादिको भाष्य निर्माण गर्न उनी लागिपरेको देखिन्छ । मूलतः यो पनि प्रिन्ट मेकिङकै काम हो ।

यसैगरी सम्झना राजभण्डारीले चाहिँ ट्रेजर ट्र्यू नामक चित्र उडकट माध्यमबाट बनाएकी छन् । यो पनि प्रिन्ट मेकिङ कलाको साहै्र पुरानो माध्यम हो । गाग्री, करुवाहरूलाई अलग्ग किसिमबाट प्रस्तुत गर्नु उनको पुरानै तरिका हो । उनले गतका सालदेखि यस्तायस्तै उडकटमा राम्राराम्रा काम गर्दै आइरहेकी छन् । यो प्रदर्शनीमा यमुनाको पञ्चकन्या नामक स–साना पाँचवटा मूर्तिहरू अझ आकर्षणका साथ देखापरेको छ । यो सेरामिकबाट बनेको हो । विगतका केही वर्षदेखि उनी यस्तै अचम्म खालका कलाहरु बनाउने गर्छिन् । टाउको हात खुट्टा बिनाका यी मूर्तिहरू स–साना छन् । तर नेपाली मौलिक साडीमा सजिदा भने रंगीचंगी देखिदै अरु भन्दा अलग्ग देखिन्छन् । मूर्तिहरू साना छन् तर महँगा छन् । मूल्य तीन लाख राखिएको छ । तथापि यो बिक्री पनि भइसकेका कलालाई नेपालीले पनि विस्तारै बुझ्न थालेछन् भन्ने देखिन्छ ।

चुनु बास्तोलाको अझ गजबको काम छ । उनले टेक्सटाइल माध्यमबाट काम गरेकी छन् । यो उनको काममा उपयोगी वस्तुको रुपमा बनाइएका कपडाहरूलाई मात्र झुण्डाएर कलाको रुपमा प्रस्तुत गरेकी छन् । तथापि उनका कला अनेकानेक नाममा भावनात्मक रुपमा प्रस्तुत हुँदा यो आफैँमा अलौकिक लाग्दछ । नामहरु जस्तो कि, त्री–शक्ति, द आइज अफ डिभानिटी, द बर्थ प्लेस अफ स्वयम्भू, अष्ठमातृका एण्ड ग्लोरी अफ कुमारी आदिआदि । जसले स्वाभावतः धार्मिक गाथालाई मात्र याद गराउँदैन, कलाकारको निजी भावना र आस्थालाई पनि उजागर गर्ने काम गर्छ । यी कपडाहरूमा पनि मठ–मन्दिर आदिको गजबको चित्र अंकित हुँदा, यो प्रयोग गर्ने कपडा मात्र हो जस्तो लाग्दैन । उपयोगी कला हुँदै गर्दा इन्स्टलेसनको रुपमा कक्षमा झुण्डेर बस्दा पनि एक तमासको कलाको रुपमा दृष्टिगोचर हुन्छ । अझ झट्ट हेर्दा रेडिमेड याप्रोचको रुपमा बनेको देखिदा यसले अत्याधुनिक कलाको रुप धारणा गरेको समेत देखिन्छ । प्रवल विक्रम शाहले स्क्रिन प्रिन्ट माध्यमबाट (यो पनि प्रिन्ट मेकिङ कला नै हो) आमा नामक कला बनाएका छन् । जहाँ आमाको विविध भूमिकालाई अलि धमिलो पाराले प्रस्तुत गर्दा अनौठोको खोजीपस्ने विषय बन्न गएको देखिन्छ ।

 

यस्तै एरीना ताम्राकारले स–साना बीसवटा आफ्नै निजी शैलीका चित्रहरू एकैठाउँमा प्रस्तुत गरेर नौलोपनको आभाष दिलाएकी छन् । आफ्नै विषय महिलाको मुहारलाई सदैव प्रयोग गरी बस्ने एरिना यसपल्ट पनि विमुख भएकी छैनन् । नारीको आन्तरिक शक्तिको रुपमा कला बनाउदै आएका एरीना साना ठूला महिलाको मुहारलाई बलियो पात्रको रुपमा उभ्याउने गरेकी छन् ।

सुनिता

यसपल्ट सुनिता राणा पनि आधुनिक दृश्यचित्रमा देखा परेकी छन् । हुन त केही वर्षहरूदेखि श्वैर काल्पनिक रुपमा उनी दृश्यचित्रको समायोजन गरिरहेकी छन् । यसर्थ पनि उनका चित्र भावपूर्ण भएको हुँदा यो साधारण दृश्यचित्र जस्तो भने लाग्दैन । आकारमा यो सानो छ तर महङ्गो (करीव एकलाख सतासी हजार) छ । यो चित्र वस्तुतः पारदर्शी जलरंगी टेक्स्चरको स्वभावमा देखा परेको छ । रङका बहाव उनको कलागत स्वभाव हुँदा पनि प्रायः उनको आफ्नै विशेषता देखा पर्ने गर्दछ । फरक फरक कलागत संयोजनमा खेलिबस्ने उनको स्वभाव पनि हो । यथार्थ रुपमा देखापरेको यसपल्टको देव–वराह अलग्गै समायोजन हुनु अनि अलग्गै मन्दिरको अंकन हुनु पनि अनौठो संयोजन नै लाग्दछ । वज्रवराही नामक उनको चित्र सामान्य देखा परे पनि शिल्प दक्षताको हिसाबमा भने अब्बल देखा परेको छ ।

रवीन घटुवाको गृहत्याग नामक चित्र गौतम बुद्धले घर त्याग गरेको मार्मिक दृश्यलाई संयोजन गरेको छ । सानो तर ज्यादै महङ्गो (सात लाख पचास हजार) मूल्य रहेको चित्र भने अब्बल नै देखिन्छ । एउटा अलग्ग संरचनामा निर्माण भएको यो चित्रमा कलात्मक परम्परागत मूलढोकाबाट गौतम बुद्ध घोडा चढी बाहिर निस्कदै गरेको दृश्य देखिन्छ । पछाडिको भागमा सुन्दर महल देखिन्छ भने माथि आकाशबाट देवीदेवताहरूले फूल वर्षाइरहेको देखिन्छ । अग्रभागमा आम–जनता अनि ब्रह्मा, सरस्वती आदि देवदेवीहरूलाई पनि उपस्थितिको माहौल बनाई अद्भूत संरचना निर्माण गरेको देखिन्छ । अति डिटेलमा धार्मिक चित्रको रुपमा वनेको यो चित्रमै पढ्न सकिने सिङ्गो कथा समाहित भएर देखापरेको देखिन्छ । केके कर्मचार्यको मोसन १६१ गजबको अमूर्त चित्रका रुपमा देखापरेको छ । उनको यस्तो शैली एक प्रकारले ब्राण्डजस्तै भइसकेकोले जसकसैले उनका चित्रहरू सहजै चिन्दछन् । कृष्ण लामाको ट्री अफ लष्टमा प्रकृति अनि मानवको रहस्यमय संसार दृश्यावलोकन हुन्छ । अनि स्वैर–काल्पनिक अनेक विम्वहरू चारैतिर भौंतारिएर अजीवको वातावरण सिर्जना गराउने उनको अभिलाषा देखिन्छ ।

दीपक औजीको कनेक्सन बिटवीन टाइम अझ आकर्षक ढंगबाट देखिन पुगेको छ । मानवीय शरीर उल्टोबाट प्रदर्शित हुँदा अन्तरिक्षमा देखापरेको असन्तुलितको अवस्था गजबले चित्राङ्कन भएको देखिन्छ । यसैमा कलाकार, भावक अलौकिक एवं आनन्दनुभूत हुनु भएको देखिनु पनि उनको खास विशेषता देखिन्छ ।

नवीन नाल्वोको क्यारीकेचर काम यसपल्ट पनि आकर्षक ढंगले देखापरेको छ । विशेष गरेर कलाकारहरूलाई मात्रै पात्र बनाउने उनको सोच र प्रस्तुति पनि निकै नै चाखलाग्दो छ । यसो हुँदा पनि क्यारीकेचरकै विधामा उनको अलग्ग पहिचान छ । नरेश सैँजुको आकाश भैरव, सानो साइज तर निक्कै नै महङ्गो (एकलाख त्रियानब्बे हजार सातसय) रुपमा देखापरेको छ । कृष्ण गोपाल श्रेष्ठको नेवारी डान्स साह्रै मनमोहक रुपमा देखापरेको छ । रियालिस्टिक रुपमा रेखाहरूलाई खेलाउन सक्ने कृष्ण नेवारी भेषभूषामा भर्खरै यौवनावस्थामा पाइला टेक्दै गरेकी किशोरीहरूलाई गजबले समायोजन गरेका छन् । उनको कामको अनुसार कलाको मूल्य महङ्गो (एकलाख पच्चीस हजार) पनि छैन । जलरङबाट बनाइएको यो चित्र बिक्री पनि भइसकेको छ ।

हेमाकुमारी दासको मैथिली चित्र फूलपाती कैलाश यात्रा पनि आफ्नोपनका साथ देखापरेको छ । अझ मिथिला कलाको सन्दर्भमा सरितादेवी मंडलको महाछठ पर्व विशेष आकर्षक ढंगबाट देखापरेको छ । देवी दुर्गादेखि यो पर्वमा गरिने सबैजसो क्रियाकलापलाई साह्रै गजबले समायोजन भएको चित्र पनि (त्रियानब्बे हजार सात सय) बिक्री भइसकेको छ । यसले लोककलामा पनि आम मान्छेमा चेत भइसकेको देखिन्छ ।

वत्सगोपाल वैद्यको गणेश र कुमारी नामक दुईवटा चित्रहरू यस प्रदर्शनीमा महत्त्वका साथ देखापरेको छ । यी दुवै चित्रहरू आधुनिक नवतान्त्रिक चित्रहरू हुन् । यो चित्र महत्त्व हुनुमा यसको प्रारम्भ अनि यसको इतिहासले गर्दा पनि हो । नेपालमा सन् साठीको उत्तराद्र्धमा उनैबाट सर्वप्रथम नवतान्त्रिक कलाको शुभारम्भ भएको थियो । मिथकलाई बढी मात्रामा प्रयोग गरी परम्परालाई आजको सन्दर्भमा प्रयोग गर्ने उनी शुरुदेखि नै क्रियाशील कलाकार हुन् । अझ साठीको उत्तराद्र्धदेखि आजको दिनसम्म निरन्तर यही प्रवृत्तिमा काम गरिरहने उनी एकमात्र कलाकार हुन् भन्दा अतिशयोक्ति हुँदैन । यसकारण पनि उनका यस्ता कला (यो उनको कला उनले १९९८ मा बनाएका हुन्‌)ले विशेष अर्थ राख्दछ । नेपालमा पारम्परिक कलाले धर्म परम्परागत संस्कारको अभिन्न अंगको रुपमा देखा पर्दछ भने उनले भने यसैका आधारमा देव–देवी अनि यसका आयूध, आसन, वाहन आदिलाई आधुनिक फर्ममा आफ्नै भाव विचारलाई प्रस्तुत गर्ने गर्दछन् । यसैले पनि यस्ता कलालाई तान्त्रिक नभनेर नवतान्त्रिक कला भन्ने चलन छ ।

उनको कलागत संरचना पनि अनौठो प्रकारले गर्ने गर्दछन् । पहिला देवीदेवताका स्वरुपलाई खण्डखण्डमा विभाजित गर्दछन् । तत्‌पश्चात देवीको रुपलाई सर्वाङ्गको अनुभूत हुनेगरी प्रस्तुत गर्ने गर्दछन् । यसपल्टकै कलाको सन्दर्भ लिऊँ : देवी कुमारीको रुपलाई दुर्गा भवानीको रुपमा बाघमाथि चढी संहार गरेको प्रतीकात्मक विम्वहरू खण्डखण्डमा विकसित भएको दखिन्छ । अनि खण्डहरू नै संगठित गरी अर्द्ध अमूर्ततामा प्रस्तुत भएको देखिन्छ । समग्रमा हेर्दा बुझ्दा दुर्गा भवानीले राक्षसको वध गरेकै देखिन्छ । बाघ अलग्गै, भैंसीको टाउको अलग्गै अनि सानो ठूलो गोलाकारमाथि सानो गोलाकारमा कुमारीको आँखा सपाट रुपमा स्थापित हुँदा यी प्रतीकात्मक विम्वहरूले सरल तरिकाले यो गाथालाई प्रस्तुत गरेको देखिन्छ । अझ चारैतिर विविध आयूधहरूलाई समायोजन गरेर देखाउँदा त साक्षात् देवी दुर्गाको उग्र रुप महसूस गर्न सकिन्छ ।

प्रधुम्नको साङ्ग्रीला नामक चित्र मिथकको फेरि अर्कै प्रकारको संयोजन हो । वयोवृद्ध कलाकार हरिप्रसाद शर्माको राजा रणजित मल्लले गोल्डेन गेट उद्घाटन गर्दै गरेको देखाइएको छ । सैंतीस लाख पचास हजार मूल्य राखिएको यो चित्र ऐतिहासिक रुपमा निक्कै महत्त्वको छ । राजा रणजित मल्ल आफ्ना रानीसहित सिंहासनमा बसी ठूलो होमका साथ उद्घाटका समारोह गर्दै गरेको दृश्य देखिन्छ । यो अलि पुरानो शैली हो, तथापि अहिलेसम्म पनि यसले वर्चश्व कायम गरेकै छ ।

(मुकेश मल्ल नेपालका प्रख्यात कलाकार तथा कला समीक्षक हुनुहुन्छ ।)