नेपालका देवीदेवताहरू यानि ‘डेटिज अफ नेपाल’ नामक बृहत् कला प्रर्दशनी नेपाल आर्ट काउन्सिल, बबरमहलमा चलिरहेको छ । ॐ नै पृथ्वी उत्पत्तिको पहिलो बिज मन्त्रको रूपमा मान्दै ब्रह्माण्ड उत्पत्तिलाई दर्शाउने समावेश भएको कलाकृतिहरूलाई नियाल्दै जाँदा सृष्टिको कथामा प्रवेश हुन्छ । अविनाशी परब्रह्म यानी कालले केही समयपछि, आफ्नो द्वितीयको इच्छा प्रकट गरे । उसमा एकबाट अनेक हुने संकल्प उदित भयो । निराकार परमात्माले आफ्नो लीला शक्तिले आकारको कल्पना गरे, जो मूर्तिरहित परम ब्रह्म हो । त्यो परम ब्रह्म भगवान् सदाशिव हुन् । अर्वाचीन र प्राचीन विद्वानले उनलाई नै ईश्वर भने । एकांकी रहेर स्वेच्छाले सबैतिर विहार गर्ने सदाशिवले आफ्नो विग्रह (शरीर) ले शक्तिको सृष्टि गरे । हिन्दु धर्ममा प्रमुख नारीहरू प्रायः देवता पत्नीहरू, विष्णुको लक्ष्मी, ब्रह्माको सरस्वती, शिवको शक्ति (दुर्गा वा काली) हुन् । तिनीहरूले आ-आफ्नो क्षेत्रको संरक्षकको रूपमा आफ्नै अधिकारमा देवीहरूको रूपमा शक्तिशाली भूमिका खेल्छ्न् । विद्या, शिक्षा, संस्कृति कला, संगीतको परिधिमा सरस्वतीले हाँस र मयूरलाई वाहन र लक्ष्मीलाई लाटोकशेरोको वाहन, गाईसहित धन र समृद्धिकी देवी भनिन्छ ।
कलाकार रागिनी उपाध्यायको “लक्ष्मी” शीर्षकको क्यानभास, अमावस्यको कालो र अँध्यारो रातमा सुनौलो प्वाँख लिई उडिरहेको लक्ष्मीको आकर्षक चित्र प्रदर्शनी कक्षको भित्री भागमा नियाल्न सकिन्छ । जहाँ देवी लक्ष्मी आफ्नो वाहन लाटोकोसेरोसँग देखिन्छन् । पौराणिक मान्यताअनुसार, लाटोकसेरो सबैभन्दा बुद्धिमान निशाचारी प्राणी हो । जसलाई भूत र भविष्यको ज्ञान पहिलेदेखि हुन्छ। लक्ष्मीको वाहन पूर्वीय संस्कृतिमा शुभता र धन सम्पत्तिको प्रतीक मानिन्छ । सामान्यतः धनकी देवी लक्ष्मीको पूजा औंशीको रात्रिमा गरिने भएकाले पनि पाश्र्व भागमा देखिने गहिरो नीलो-कालो मिश्रित रङको प्रयोगले कलाकृति जीवन्त भएको छ । लक्ष्मी समुद्रबाट प्रकट भइन्, र विष्णुको सेवामा लीन भइन् । जसको स्वभाव चञ्चल मानिन्छ । तसर्थ भनिन्छ धन स्थिर रहँदैन । देवी लक्ष्मीको वाहन लाटोकसेरो हो, जो राति सक्षम हुन्छ र अँध्यारोमा जाग्रत हुन्छ । देवी लक्ष्मी आफ्नो वाहन लाटोकसेरोमा बसेकी छन्, कलाकार रागिनी उपाध्याय भन्नुहुन्छ, “हिन्दु देवताले स्त्रीलाई शक्तिको प्रतिनिधित्व गर्ने गर्दछ । एक हातमा मोबाइल अर्को हातमा कम्प्युटर आजको आधुनिक ज्ञानको स्रोत हो, सवाल सही र गलत प्रयोगको मात्र हो । यसको अर्थ, उनी अज्ञानको सवारी गर्छिन् र सही ज्ञानलाई जाग्रत गर्न सहयोग गर्छिन् । यदि अज्ञानले देवी लक्ष्मीको उपयोग भएमा त्यो भोग र नाशसम्म सीमित रहिरहन्छ । यदि ज्ञानको उपयोग भएको खण्डमा दान र परोपकारको दिशामा लाग्छ। रातो पदचिह्नले घर-घरमा लक्ष्मीको प्रवेश होस् । कुनै समयमा भनिन्थ्यो जहाँ सरस्वतीको बास हुन्छ, त्यहाँ लक्ष्मी को बास हुदैन l तर आज परिस्थिति फेरिएको छ, जहाँ सरस्वती छ, त्यहाँ लक्ष्मी रमाउँछिन् । मात्र यति होस् कि रीतपूर्वक कमाएको धन सुरीतले खर्च गरौं । जसको हाम्रो देशमा सर्वाधिक खाँचो छ । ”
उहाँ अगाडि थप्नु हुन्छ, “हिलैमा हुर्कै पनि कमल हिलोबाट अलग्ग हुन्छ । हिलोमा फुल्ने हुनाले कमललाई पङ्कज भनिएको हो । संसारमै रहेर पनि सांसारिक विषयदेखि मुक्त हुन यसले सिकाउँछ । यानि कि हिलोमा फुले पनि मैलोपनको कुनै प्रभाव कमललाई पर्दैन । जो सर्वदा स्वच्छ, निर्मल र दिव्य रहन्छ । कमलले दर्शाउँछ- हामी जे-जस्तो परिस्थितिमा विपरीत किन नहोऊँ, हामीले आफ्नो अन्तकरणलाई सर्वदा निर्मल तथा पवित्र राख्नु पर्दछ।”
मानिस प्रकृतिको असीम शक्तिको सर्वोत्तम अभिव्यक्ति हो | मानिस भित्रको ऊर्जाको अनन्त अलौकिक तल र कलात्मक रहस्य विद्यमान छ । जसको मूल स्रोत निःसन्देह यो प्रकृतिको विराट सत्ता हो । सृष्टिमा अन्तर्निहित सौन्दर्यबोध र मानिसको कलात्मक अभिव्यक्तिलाई हेर्न, बुझ्न जति पनि मान्य कलात्मक दृष्टि प्राचीन कालदेखि आजसम्म विकसित हुँदै रहँदा त्यसमा तन्त्रको कला दृष्टि स्वयंमा दार्शनिक उत्कर्षको शिखर बिन्दु हो । यसले प्रकृतिलाई आफ्नो त्रिगुणात्मक स्वरूप र गुणातीत मूल स्वरूपमा आद्यशक्ति भनाउँछिन् ।
यद्यपि पार्वती-काली-दुर्गा शक्ति हुन्, जसले दानवहरूबाट स्वर्ग, पृथ्वी र यसका धर्मात्मा मानिसहरूको रक्षकका रूपमा उभिन्छिन्, उहाँहरूको आरोहण बाघ हो र देवताहरूले जगतको रक्षा गर्न असफल हुँदा पनि देवी-देवताहरू मिलेर राक्षसी शक्तिहरूलाई नष्ट गर्छ्न । देवीहरूलाई देवताहरू जस्तै समान भक्तिका साथ पूजा गरिन्छ । वास्तवमा हिन्दुहरूका प्रमुख चाडहरू दशैं तिहारमा लक्ष्मी र वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरिन्छ । यसका अतिरिक्त शक्तिलाई हिन्दु धर्मावलम्बीमा स्त्री शक्तिलाई ईश्वरीय ब्रह्माण्ड शक्तिको रूपमा चित्रण गरिएको छ र शक्ति शिवसँगको मिलनलाई पुरूष चेतना र प्रकृति जस्ता रूपहरूमा चित्रण गरिएको छ ।
परमात्मासँग एकताको लागि मानव आत्माको चाहनाको अधिक रूपक प्रतीकात्मक रूपमा जीवनको आनन्दको स्पष्ट उत्सवको रूपमा धेरै अर्थहरू छ्न् । थप रूपमा शक्तिलाई एक दिव्य ब्रह्माण्डीय शक्तिको रूपमा चित्रण गरिन्छ । जसले पुरूष र महिला देवताहरूको मिलन चाहे मूर्ति होस् वा चित्रकलामा, पुरातन ग्रन्थहरूमा आवर्ती विषय वस्तु हो र व्यापक रूपमा पूर्वीय भारतीय उपमहाद्वीप, जम्वुद्वीपका मन्दिरहरूमा पाइन्छ । प्रायः स्वेच्छिक अँगालोमा कामकला अवस्थामा चित्रण गरिएको छ । यस्तो कार्य र रचनालाई रूपक प्रतीकात्मक रूपमा हेर्न सकिन्छ । जो प्रजनन, प्रचुर्ता र समृध्दिसँग सम्बन्धित छ्न् ।
कलाकार दीपा कर्ण मिथिला शैलीमा प्रस्तुत भएको छिन् । मूलाधार चक्रमा कुंडलिनी (कुंडलीमा बसेको सर्प ) शक्तिको मूर्त रूप हो माँ छिन्नमस्तिका । चित्रमा देवी आफ्नो रक्तपान गरेको देखिन्छ । जसले यो तथ्यलाई उजागर गर्छ कि आमा आफ्नो रक्तपान गरेर सबल रहन्छिन् । यसरी नै जीवनमा विराजमान कुंडलिनी शक्ति, स्वयंको रक्तले नै पोषित हुन्छ । कुंडलिनी शक्ति जाग्रत भएमा मायाको प्रभाव क्षीण हुन्छ, संभवतः यिनै कारणले देवी माँलाई निर्वस्त्र देखाइएको हो । देवीको खुट्टा तल कामदेव तथा रति छ, जो काम ऊर्जाको प्रतीक हो । यही काम ऊर्जा ऊधर्वगामी भएमा प्रज्ञा रूपी कमल फुल्छ र साधक आफ्नो असीम सम्भावनासँग उपलब्ध रहन्छ । माँ छिन्नमस्तिकालाई प्रचण्ड चंडिकाको रूपमा पनि जानिन्छ र पूजिन्छ ।
कलाकार दीपा भन्छिन्, “पौराणिक धर्मग्रन्थ मार्कंडेय पुराण व शिव पुराणमा उल्लेखित छ कि जब माँ छिन्नमस्तिकाले चण्डीको रूपमा राक्षसहरूको संहार गर र दैत्यलाई परास्त गरी देवतालाई अभयको वरदान दिँदा, चारौँ दिशा माँको जयघोषले गुञ्जायमान भए । तर यति हुँदाहुँदै, जब सहायक सहचरीय अजया र विजयालाई रूधिर पिपासा शान्त नहुँदा, माँले आफ्नो टाउको काटेर आफ्नो रक्तले उसको रक्त प्यास बुझाइन् । यसै कारणले मातालाई छिन्नमस्तिका नामले जानिन्छ ।”
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ताको सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक प्रशिद्ध शक्ति पीठ मानिएको हुँदा नेपाल र भारतका आम जनमानसको ठूलो आस्था रहेको छ ।
गीतामा वर्णित योगमाया शक्ति हो, जो व्यक्त र अव्यक्त रूपमा रहेको छ । कृष्ण ‘योगमायामुवाश्रित:’ भएर नै आफ्नो लीला गर्छन् । राधा उनको शक्ति हो । शिव शक्तिहीन भएर केही गर्न सक्दैन । पूर्वी दर्शनमा कुनै न कुनै नाम रूपले यसको चर्चा हुने गर्छ । पुराणमा विभिन्न देवताको विभिन्न शक्तिको कल्पना गरिएको छ । प्रायः शक्तिलाई धेरैजसो देवीको रूपमा र मूर्तिमति मानिएको छ ।
मार्कण्डेयपुराणको अनुसार सबै देवताको तेजोराशि देवी शक्तिको रूपमा भनिएको छ, जसको शक्ति वैष्णवी, माहेश्वरी, ब्रह्माणी, कौमारी, नारसिंही, इंद्राणी, वाराही आदि हुन् ।
पंक्तिकार र कलाकार स्वयं एससी सुमनको ‘शक्ति’को चित्रमा दुर्गादेवीका दस हात आठ वा दस दिशा हुन्– पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, आग्नेय, वायव्य, नैऋत्य, आकाश र पाताल । दसै दिशाबाट बाहुबलले रक्षा गर्ने । वाहन सिंह शक्ति, इच्छा, सङ्कल्पको प्रतीक हो । सिंहलाई बसमा गर्नु र सिंहमा चढनु शक्ति-इच्छा-सङ्कल्प माथि नियन्त्रण राख्नु हो । दुर्गाका उपासकले पनि आफूसँग भएको घमण्डलाई वशमा राख्नुपर्दछ । हातमा भएको वज्र वचनबद्धताको प्रतीक मानिन्छ । देवीको हातको औँलामा सुदर्शन चक्र छ । यो शस्त्र अचुक र सृष्टि चक्र हो । हातमा रहेको तरवार ज्ञानको प्रतीक हो । टल्केको धारले सम्यक् ज्ञान अर्थात् आशङ्कारहित ज्ञान सङ्केत गर्दछ । हातको त्रिशुललाई सत्व, रज र तम गुणको प्रतीक हो । हातमा भएको शङ्खले शब्दब्रह्मलाई इङ्गित गर्दछ । शङ्खध्वनिलाई ॐ अर्थात् प्रणव मन्त्रको प्रतीक मानिन्छ । दुर्गा सप्तशती ग्रन्थमा देवी कवच स्तोत्र छ, जहाँ निम्नाङ्कित श्लोकमा नवदुर्गाका नाम क्रमश: यसरी दिइएको पाइन्छ –
प्रथमं शैलपुत्री च द्वितीयं द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।
पृष्ठभूमिमा यस्ता मन्त्रको प्रयोग गरिएको छ । चित्रकला सुलेख लेखन यानी क्यालिग्राफिक प्रचलित शैली हो । मिथिला चित्र शैली र क्यालिग्राफिक शैली दुवै परम्परागत शैली हुन् । मिथिला शैलीसँग क्यालिग्राफिकको प्रयोगले नौलो अनुभूति दिन्छ । कलाकृतिको तल घेरामा मिथिला कलामा प्रचलित कोर यानी बोर्डरमा देवीको विभिन्न रूपलाई मुखाकृतिको रूपमा प्रयोग गरिएको छ । त्यसमाथि लहरै रातो कमलको फूलमा देवी लक्ष्मी र सरस्वतीसँग सिंहवाहिनी देवी दुर्गा विराजमान छिन् । देवी लक्ष्मी धनकी तथा सरस्वती विद्याकी देवी हुन् । सबैभन्दा पहिले ऋग्वेदमा शक्तिको वर्णन वेद वाणी सरस्वतीको रूपमा गरिएको छ । तत्प्श्चात उषा र अदितिको रूपमा प्रकट भए । संस्कृतिमा देवी शक्तिलाई मातृ रूपमा स्वीकार गरिएको छ । देवी प्रकृतिमा पारिस्थितिक सन्तुलनको पछाडि काम गर्ने ईश्वरीय शक्तिको रूपमा, सम्पूर्ण जीवनको पालनपोषणकर्ता र सम्पूर्ण पारिस्थितिक ज्ञानको स्रोतको रूपमा देखाउँदछ । उनी महान् पोषणकर्ता हुन् जसले प्राकृतिक जीवनलाई बाहिर निकाल्छिन् र यसलाई आफैंमा जम्मा गर्छिन् । जीवन रूपहरूको प्रचुरतासँग देवीको तीन नेत्र यानी आँखा पुनरावृत्ति हुन् । त्रिम्बके अर्थात् तीनवटा आँखा भएकी दुर्गालाई त्रिकालदर्शी अर्थात भूत-वर्तामान-भविष्य देख्ने मानिन्छ । देब्रे आँखा चाहना, जून, शीतलता, दाहिने आँखा घाम, कर्म-तातो-न्यानो र निधारको आँखाले आगो, ज्ञान-ज्वालाको प्रतीक हुन् । जसले आफ्नो कलात्मक अभिव्यक्तिमा विश्व सृजनको कारक तत्त्वको भूमिका खेल्छ । शक्तिले नै कुनै पनि मानिसलाई शक्तिशाली बनाउँछ । तसर्थ शक्तिलाई शिवको जन्मदात्री मान्नुको कारण त्यसलाई शिवभन्दा पनि श्रेष्ठ भनिएको छ ।
कलाको समष्टिगत स्वरूप हेर्न र बुझ्न तन्त्रको दृष्टिको आवश्यकता हुन्छ । तन्त्र कलाको समस्त आयामलाई आफ्नो रचनात्मक प्रक्रियामा समाहित गर्छ । त्यसैले तन्त्रलाई कलालाई तत्त्व र प्रक्रिया दुबै मानिएको हो । कला शब्दको मूल अर्थ हो शक्ति । परमेश्वर एकातिर निष्कल यानि कलारहित र अर्कोतिर सकल अर्थात अखंड कला सम्पन्न हुन्छन् । उनको यो सकल अवस्थाले नै सृष्टिको धारा प्रवाहित हुन्छ । तन्त्र बिन्दुलाई शिव र रेखालाई शक्तिको प्रतीक मानिन्छ । बिन्दु मात्र शान्त र स्थिर रहन्छ, रेखाले नै उसलाई चलायमान बनाउँछ र यो दुवैको संयोग संसारको कलात्मक अभिव्यक्तिको एक मात्र कारण बन्छ । रेखा र बिन्दुको संयोगले बन्ने सबै कोण नै लोक हो र लोक नै शक्तिको पटल हो । नेपालका देवीदेवताहरूको लोक, परम्परागत र समसामयिक कलाका साथसाथै हस्तकलालाई समेत एउटै धरातलमा राखी प्रस्तुत गरिएको मंसिर ११ गते देखि शुरू भएको यो प्रदर्शनी मंसिर २५ मा सकिँदैछ ।
artistsuman@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।