साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चित्र, मूर्ति र संगीत एकसाथ जमेका भीम श्रेष्ठ

Chovar Blues Mobile Size

 

युवा कलाकार भीम श्रेष्ठको जन्म चितवनको पार्वतीपुरमा भएको हो। सानैदेखि चित्रकला, मूर्तिकलामा र संगीतमा रुचि राख्ने श्रेष्ठले तीनै विधामा उत्तिकै दख्खल राख्छन्। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट मूर्तिकला विषयमा स्नातकोत्तर गरेका श्रेष्ठले देशका विभिन्न ठाउँमा आयोजना गरिएका कलाका प्रदर्शनी तथा कार्यशालामा भाग लिइसकेका छन् ।

भीम श्रेष्ठ

मूर्तिमा खासगरी दैनिक जनजीवनका विषयमा काम गर्न रुचाउने श्रेष्ठ मूलतः काष्ठ र प्रस्तर माध्यममा मूर्ति निर्माण गर्छन्।

मूर्तिकला बाहेक भीम श्रेष्ठले चित्रकलामा पनि निकै नाम कमाएका छन्। सुन्दर प्राकृतिक छटा, हिमाल र याकका दृश्यहरू साथै नेपालीजनका मुहारचित्र एवं गाउँले जनजीवन उनका रोजाईका विषयहरू हुन्। एक्रेलिक र जलरंग माध्यममा चित्र कोर्न उनी माहिर छन्। एक्रेलिक माध्ययममा खासगरी हिमालका दृश्य चित्र कोर्दा उनले प्रयोग गर्ने नाइफ र क्यानभासमा त्यसले छोड्ने रङका स्ट्रोकहरू अत्यन्त्यै मर्मस्पर्शी लाग्छन्। उनको यही मौलिक शैलीले नै उनलाई अन्य कलाकारहरू भन्दा भिन्नै रुपमा चिनाएको छ। साथै जलरंगबाट निर्मित उनका वेट अन वेट शैलीका मुहारचित्रले दर्शकको मन सजिलै तान्छ।

sagarmani mobile size

उनको यही विशेषताले गर्दा देश विदेशमा उनका कलाकृति निकै रुचाइएका छन्। चित्रकलाकै सिलसिलामा उनी युरोप र एसियाका केही देशमा समेत पुगेका छन्।

सांगीतिक क्षेत्रमा पनि उनको प्रतिभा अब्बल देखिन्छ । रियालिटी सो ब्राइटर तिम्रो सुन्दर र संगीतमा प्रतिस्पर्धी र विजेतासमेत बनेका श्रेष्ठले रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरेका छन्
। लामो समयदेखि विभिन्न स्कुलहरूमा संगीत र कलाको अध्यापन गराएका श्रेष्ठ हाल फ्रिलान्स कलाकारका रुपमा आफ्नो कला गतिविधिलाई अगाडि बढाइरहेका छन्। अनवरत रुपमा कलाक्षेत्रमा लागेका श्रेष्ठले केही पुरस्कार र मानसम्मान प्राप्त गरेका छन्। पछिल्लो समय सन् २०१९ मा उनले राष्ट्रिय ललितकला प्रदर्शनीमा मूर्तिकलातर्फ प्रादेशिक पुरस्कार प्राप्त गरेका छन् ।

कला विकासका लागि समेत श्रेष्ठले विभिन्न विभिन्न संघसंस्थामा रही काम गरिसकेका छन् । हाल उनी अन्तर्राष्ट्रिय जलरंग समाज नेपाल र ललितकला संघ नेपालका केन्द्रीय कोषाध्यक्ष भई काम गरिरहेका छन् ।

आऔँ उनका कलाकृतिहरूलाई केही छिन नियालौं:

प्रतिक्रिया
Loading...