एस.सी. सुमन
लोकले बुझ्ने गरेको कलाको खास पारिभाषिक अर्थ सौन्दर्य शास्त्रसँग सम्बन्धित हुने गर्दछ। यसले मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ, जुन शिल्प र शैलीसँग जोडिएको हुन्छ। जब कला नियममा बाधिन्छ, त्यतिखेर त्यो शास्त्रमा रूपान्तरित हुन्छ। लोककलाको सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्ति प्रतिभाशील लोकजन बाट हुने गर्दछ। कुनै पनि कलाको सिर्जनाको आधारभूमि कल्पना हो। कल्पना एउटा बिशाल सिर्जनाशक्ति हो। अल्वार्ट आइन्स्टाइनका अनुसार “कल्पना ज्ञानभन्दा शक्तिशाली हुन्छ। ज्ञान सिमीत छ। कल्पनाले पृथ्वीको फेरो लगाउछ।” भनिन्छ, उनी लगातार एक्काईस घन्टासम्म सिर्जनशिल कल्पनामा हराउथे। कल्पना संभावना हो। यसमा अनन्त शक्ति हुन्छ। जर्ज बर्नाड शाले कल्पनाको सिर्जनाशक्ती को बारे यसो भनेका छ्न्–“कल्पना सिर्जनाको शुरूवात हो। जे चाह्नन्छौं, त्यो कल्पना गर्छौ। जे कल्पना गर्छौ, त्यो इच्छा गर्छौँ र अन्त्यमा जे इच्छा गर्छौं त्यो सिर्जना गर्छौँ । भनिन्छ, कल्पना इच्छा र चाहनाको पुर्तिका लागि ब्रह्माण्ड नै लागि पर्छ।
काल्पनिक प्रवृत्ति कल्पना कलाको सृष्टि को आधार हो। कलाको रचना कल्पना बिना संभव हुदैन। हामी भन्न सक्छौ सबै कलाको शैली काल्पनिक हुने गर्दछ। यसको अतरिक्त कुनै दोस्रो शैली हुन सक्दैन। आलंकारिक चित्रकला, विषय-प्रधान चित्र- कला वा सूक्ष्म चित्रकला सबैमा कल्पनाको आवश्यकता हुने गर्दछ। तसर्थ सबै चित्रकला काल्पनिक हुने गर्दछ। यसरी काल्पनिक चित्रकलालाई हामी कुनै विशिष्ट शैली भन्न सक्छौ। काल्पनिक चित्रकला भन्नाले त्यो शैली भुझिन्छ जसमा चित्रकारले आफ्नो आँखाले देखेको प्रकृति चिजबिजको वर्णन नगरी आफ्नो कल्पना को आधारमा गर्ने गर्छ र नयाँ संसारको सृष्टि गर्दछ। यो नयाँ संसार, कलाकारको आफ्नो संसार हुने गर्छ , जसमा कलाकारले आफ्नो अनुभव, कल्पना तथा रुचिको अनुसार नै परिवर्तन र परिमार्जित गरेका हुन्छन्। मानिसले गरेको स्वर्गलोक र चन्द्रलोकको कल्पना। मानिसले स्वर्गलोक र चन्द्रलोक साच्चैमा देखेको लोक होईन। तथापि यो हुनु पर्दछ, यसको कल्पना गर्दछ। यसै प्रकार प्रत्येक मानिसले आफ्नो रुचिको अनुसार यो लोकको विभिन्न प्रकारले कल्पना गर्दछ। यो कल्पना उसको इच्छाको एउटा बाह्य रूप हो। यसरी चित्रकारले पनि स्वर्गलोक, स्वप्नलोक, वा चन्द्रलोकको कल्पनाको आधारमा चित्राकित गर्ने गर्द्छ।
कल्पनाले नै कलाकारको मानसिक सृजन शक्ति हुने गर्दछ। कल्पनाले वस्तुको सौन्दर्य प्रसाधनमा प्रमुख भूमिका निर्वाह गरेको हुन्छ। सौन्दर्यशास्त्रमा जसलाई कल्पना भनिन्छ, त्यो नै संस्कृत काव्य- शास्त्रमा प्रतिभा भनिएको छ। जो प्रतिभाशील व्यक्तिभित्रको रचनात्मक क्षमता पनि हो। वास्तवमा प्रतिभाशील व्यक्तिले आफ्नो कलामा दिने जुन पृथक्पन हुन्छ, त्यो कल्पनाको माध्यमबाट जन्मिएको हुन्छ। पाश्चात्य जगतका महान् आचार्य अरिस्टोटलले कलालाई प्रकृतिको अनुकृति भनेका छन्। तर अनुकरण सपाट मात्र भयो भने त्यसले कलात्मक भव्यता पाउँदैन भन्ने कुरा पनि उनले थपेका छन्। अरिस्टोटल भव्यतर अनुकरणका पक्षधर देखिन्छन्।
भव्यतर अनुकरण भनेको कुनै पनि वस्तुको चित्रण गर्दा त्यसका सुन्दर पक्षको मात्रै नभई , कुरूप वा कमजोर पक्षहरूलाई ढाकछोप गरेर सौन्दर्यमूलक ढङ्गले चित्रण गर्नु हो। यसको लागि कलाकार र सर्जकहरुमा कल्पना शक्तिको प्रमुख भूमिका हुने गर्दछ। कलाकारले आफ्नो कल्पना शक्तिको माध्यम बाट उजाड भूमिलाई हराभरा देखाएका हुन्छन्, झुपडीलाई पनि भव्य र आकर्षक महल देखाएका हुन्छन्, मगन्ते भिखारिलाई भगवान सग जोडेका हुन्छन्, मूर्खभित्रको विद्वता र विद्वान भित्रको मूर्खताको पहिचान सहित चित्रण गरेका हुन्छन्। यस्तो खुबीबाट नै भव्यतर अनुकरण हुन सक्दछ। यसरी बुझ्दा अरिस्टोटलको भव्यतर अनुकरणको अवधारणालाई कल्पनासँग तुलना गर्न सकिन्छ। कल्पनाविना भव्यतर अनुकरण वास्तवमा असम्भव छ । यो प्रतिभालाई कलाकारमा रहेको विशिष्ठ्ता मानिन्छ। तर यो खतरनाक पनि हो, कहिलेकाही अतिकल्पनाको बानी पनि लाग्न सक्छ। एउटा सीमा सम्म स्मृति र भावना दुबैको समावेश कल्पना हो । कल्पनाको सीमा उलंघन हुँदा अतिकल्पना विकसित हुन्छ।
सृजनामा कल्पना गरेका विम्ब, प्रतीक, अलङ्कार, आख्यानका लागि सोचेका कथानक, परिवेश, चरित्र, चित्र, मूर्ति आदिका लागि कल्पना गरेका आकृति, रङ आदि सिर्जना वा निर्माणका क्रममा जस्ताको त्यस्तै आउन सक्दैनन्। स्मृति र कल्पनाको प्रत्यक्ष आधार ज्ञान हो। आफ्नो कल्पनाले सृजना गर्दा माध्यम को आवश्यकता पर्दछ । क्यानभास, रग, तुलिका, ढुङा, धातु, स्वर, बिम्ब आदि कल्पनाको अभिव्यक्तिको माध्यम हो। कल्पनाले प्रतिमा निर्मित हुन्छ। यसलाई यसरी बुझन सकिन्छ, कल्पना प्रतिमाको रुपमा मूर्तित हुन्छ र सौर्न्दर्यशास्त्रको दृष्टिले प्रतीक कहलिन्छ। प्रतिकावस्थमा आउनु भन्दा पुर्व प्रतिमा कहिले पूर्ण रुपले प्रकट हुन्छ त कहिले सांकेतिक त कहिले अपूर्ण पनि रहिरहन्छ। कल्पनाको बिकास अमूर्तता देखि मूर्तता तिर अग्रसर हुन्छ। पूर्ण मूर्त चित्रको दाँजोमा अमूर्तता देखि मूर्तता तिर बढदा उत्पन्न हुने अर्धमूर्तता पनि मनमोहक र महत्वपूर्ण हुन्छ। जसले दर्शकलाई उत्तेजित गर्ने अवसर प्रदान गर्छ। तसर्थ अर्धमूर्त चित्र उच्च अस्तरिय हुनजान्छ। कलाकारको मनमा आउने प्रतिमालाई व्यक्त गर्दा, प्रतिमामा रुप मात्र नभै सृजनकर्ताको संस्कार, सम्वेदना र प्रभाव पनि सम्मलित हुन्छ। प्रतिमा इन्द्रियबोधमा आश्रति भएपनी सौर्न्दर्यबोधले गर्दा नै सुन्दर भनिन्छ। कल्पनालाई अन्तर्मनको कलाको पुनर्सिजन पनि मान्न सकिन्छ। भनिन्छ, कल्पना मस्तिष्कको जटिल प्रक्रियामा आधारीत दिमाग कै एक अंश हो अर्थात ज्ञानेन्द्रीय,मस्तिष्क र मांसपेशीबाट हुने शारीरिक र ब्यवहारिक क्रिया हो। जसको सहायताले ब्यक्तिले मानसिक उडान भर्दै एक काल्पनिक तथा स्वप्निल जगतको निर्माण गर्दछ जुन वास्तविक जगतको तुलनामा आवश्यकताको सन्तुष्टिका लागि अधिक महत्वपूर्ण र सहज हुन्छ। भनिन्छ कल्पनाले प्रतिमा यानी मूर्तिको निर्माण हुन्छ। यस भनाईलाई प्रष्ट पार्दा कल्पना प्रतिमाको रुपमा मूर्तित हुने गर्छ। कहिलेकाही प्रतिमा नै प्रतिकको रुपमा प्रस्तुत हुन जान्छ। पटकपटक प्रतिमाको प्रयोगले उसको अर्थ निश्चित हुन जान्छ र त्यो सौर्न्दर्यशास्त्रीय दृष्टिले प्रतीक भनिन्छ। लोक कलामा यस्ता प्रतीकहरुको व्यापक प्रयोग हुने गर्दछ। खास गरेर मिथिला लोक चित्रकलामा प्रतिकात्मक अभिव्यक्तिको प्रमुखता हुने गर्दछ।
सहजानुभूति कल्पनाका माध्यमबाट उद्भूत हुन्छ। मूल र गौण गरी कलाका दुई प्रकार पनि भनिएको छ। प्राथमिक कल्पनाको प्रभावमा नै गौण कल्पना सक्रिय हुन्छ। प्राथमिक कल्पनाको भरमा मात्रै गौण कल्पनाको अनुपस्थितिमा कुनै पनि व्यक्ति स्रष्टा वा कलाकार बन्न सक्दैन। यो मानवीय सजग इच्छाशक्तिमा निर्भर हुन्छ। मूल कला आत्मिक हुन्छ। कवि–कलाकारले मनभित्र कल्पना गरेको तर बाहिर प्रकट नभएको कला नै मूल कला हो। मूल कला कवि–कलाकारभित्र गर्भमा रहेको कल्पना हो, जुन बाहिर अभिव्यक्त भएको हुँदैन। जब आत्मिक कलाको कल्पना लिपिबद्ध भएर वा ध्वनि, प्रदर्शन, रूपाकृति आदिमा अभिव्यक्त हुन्छ त्यो बाह्य प्रकटीकरण हो। हामीले मान्ने गरेको मूल कला यही बाह्य प्रकटीकरण हो। कविले कविता लेख्नुपूर्व नै उसको अन्तर्मनमा उसले लेख्न चाहेको पूर्ण कविता तयार भइसकेको हुन्छ। त्यसरी नै परिपक्व एवं खारिएको अनुभूतिको संवेदनशील पोखाइमा चित्रकारका मनमा सम्पूर्ण चित्रको झलक उत्पन्न हुन्छ, त्यही झलकलाई उसले क्यानभासमा उतार्छ र रङ भर्छ। मूर्तिकारले आफ्नो मनमा निर्माण भइसकेको भव्य मूर्तिलाई छिनो हतौडाजस्ता उपकरणका सहाराले उत्कीर्ण गर्छ। यसरी नै गायक, नर्तक, अभिनयकर्ताका मनमा पनि प्रस्तुति पूर्व नै त्यसको पूर्णताभास हुन्छ र मञ्चमा उपस्थित हुँदा त्यही पूर्वाभासको आधारमा आफ्नो कला प्रस्तुत गरेका हुन्छन्।
वास्तवमा कवि–कलाकारभित्र रहेको कल्पना सबै बाहिर प्रकट हुन सक्दैन। उनीहरूले गरेको आत्मिक कल्पनाको सौन्दर्य केही प्रतिशत मात्र अभिव्यक्त हुन्छ। कवि–कलाकारले कविताका लागि कल्पना गरेका विम्ब, प्रतीक, अलङ्कार, आख्यानका लागि सोचेका कथानक, परिवेश, चरित्र, चित्र, मूर्ति आदिका लागि कल्पना गरेका आकृति, रङ आदि सिर्जना वा निर्माणका क्रममा जस्ताको त्यस्तै आउन सक्दैनन्। कवि–कलाकारहरूले जेजस्तो भव्य कल्पना गरेका हुन्छन् तीमध्ये प्रकट गर्ने क्रममा बिर्सेर वा अन्य कारणले धेरै छुटेका हुन्छन्। त्यसैले गौण कला अपूर्ण हुन्छ भन्ने क्रोचेको मान्यता केही हदसम्म ठीक पनि लाग्छ। तर आत्मिक कलाको उपभोग स्वयम् कल्पनाकारले मात्रै क्षणिक रूपमा गरेको हुन्छ, यो उपभोक्ताहरू समक्ष पुग्न पाएको हुँदैन। यसका साथै कवि–कलाकारका मनमा सिर्जनामा लीन रहेकै बेलामा नवीन कल्पना उद्भूत हुन पनि सक्छ, सुरुमा गरेको कल्पनामा परिवर्तन हुन पनि सक्छ। यसर्थ कला सिर्जनामा आत्मिक अर्थात् मनभित्र रहेको अप्रस्तुत कलाको आफ्नै औचित्य र अस्तित्व हुँदाहुँदै पनि पठन, श्रवण, अवलोकन आदिका दृष्टिले यसको जुन महत्व र मूल्य छ, त्यो बाह्य प्रकटीकरणमा मात्र सम्भव छ। कवि–कलाकारका मनोजगत्को सौन्दर्यमयी कल्पना यदि बाहिर प्रकटित हुँदैन भने त्यसको अर्थ रहँदैन।
यहाँ कल्पनाको चर्चाको प्रसङ्गमा रम्य कल्पनाको उल्लेख गरिन्छ। अंग्रेजीमा रम्य कल्पनालाई फेन्सी भनिन्छ। विलियम वर्ड्सवर्थ, विलियम टेलर, दार्शनिक हब्स, एडिसन आदिका विचारहरू यसका पक्ष र विपक्षमा बहसका रूपमा आएको पाइन्छ। कल्पना र रम्य कल्पनालाई समानार्थक र भिन्नार्थक भेदका रूपमा वर्गीकरण गरेर अध्ययन गर्ने परम्परा अङ्ग्रेजी साहित्यमा इसाको सत्रौँ शताब्दीदेखि चल्दै आएको हो। कसैले रम्य कल्पनालाई बढी महत्व दिएका छन् भने कसैले कल्पनालाई। वास्तवमा रम्य कल्पना कलालाई सुन्दर देखाउन प्रगोग गरिन्छ, जो एक प्रकारको बाह्य आभूषण वा सजावट हो। यसलाई शब्दालङ्कार जस्तै मान्न सकिन्छ। जसमा जीवन र जगतको सूक्ष्म देखि लिएर स्थूल सम्मको सम्वन्ध र अनुभूतिको सङ्क्षिप्त देखि लिएर विस्तृत, विराट र गम्भीर स्तरसम्म पुगेको हुन्छ। लोक जनले बुझने गरि भन्नू पर्दा, अनुभूतिको लयात्मक अभिव्यक्ति नै चित्रकारको रमणीय अदभूत चित्र संसार हो।
artistsuman.scd@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।