कति बेला म बिउँझेँ – मलाई थाहा छैन । बियरले लट्ठिएका आँखा खोलेर हेर्दा म कुर्सीमाथि थिएँ । मेरा दुवै हातहरू कुर्सीका हातमा बाँधिएका थिए । असम्भव थियो त्यो बन्धनबाट मुक्त हुनु मेरा लागि । अगाडिको डिनर टेबलमा बोडवाइजर बियरको ढलेको सानु बोतल । वरपर छरिएका बिफका स्टेकहरू । अनि केही बुझ्नु र नबुझ्नुको स्थितिमा म । थाहा छैन-कसरी त्यहाँसम्म पुगें । कसरी ऐलामेटरमा चढें । कसरी त्यो नम्बर थिचेर यो आकाश छुने महलको खोपीमा आइपुगें ।
जीउ त्यस्तरी गलेको अनुभव भएको छैन, जति सधैं विक्इन्डमा हुन्थ्यो । हरेक शुक्रबारलाई कति बोर भएर पर्खनुपर्छ । हरेक आइतबार फेरि कति बोर भएर बिदा दिनुपर्छ । आज त शनिबार होला । हो, शनिबार हुनुपर्छ । भोलि आइतबार पर्सि सोमबार । यो सोमबार बिहान । यो सोमबार बिहान कस्तो नरमाइलो हुन्छ । बिहानै उठ्नु, हातमुख धुनु, हट-वाटर बाथ लिनु अनि हतारसँग पाउरोटीका टुक्राहरू खानु ।
फेरि गाडी झिक्न १५ स्टिटसम्म जानु । पूरा दश मिनेट लाग्छ । छेउछाउ कतै पार्क गर्ने ठाउँ छैन । मेरो एपार्टमेन्ट नै यस्तो । लाग्छ, एपार्टमेन्ट साटूँ । तर खोज्ने फुर्सद नै कहाँ छ र ? त्यो गाडी पनि पुरानो भइसक्यो – १९७१ मोडल । कति बोर लाग्छ, सधैं यौटै गाडी चढ्नु, सधैं यौटै रङ हेर्नु र सधैं त्यही सिटमा बस्नु । त्यही पेटी बाँध्नु र त्यही बाटोबाट गाडी हाँक्नु, अफिस पुग्नु र करले मुस्काउनु हाई । हाउ आर यु ?… …
“हाई, मिस एली । हाउ आर यु ?” बूढो माइक मुस्काएर कोठाभित्र पस्छ । हेर्छु – उसका आँखामा अझै बियरको गन्ध छ, एक किसिमको तरल र परपराउने । उसलाई म के जबाफ दिऊँ ? ‘हाउ आर यु’ को जबाफ मसित छैन । रातभरि त म उसकै कोठामा छु त्यसरी बाँधिएको र, अहिले ऊ मलाई ठट्टा गरिरहेछ- ‘हाउ आर यु ?’
कोठामा पसुन्जेल माइक मेरा लागि असाधारण थिएन । बारबाट निस्कँदासम्म पनि मलाई पूरा होस छ । माइकलाई अँगालेर उसको गाडीभित्र पसेको, उसका दुवै गालामा म्वाइँ खाएको र गाडी बिस्तारै हिँडेको । शहरका बादल छुने घरहरूलाई छोपेजस्तो भएको थियो । मलाई कुर्सीमा राखेर बटन थिचेको पनि याद छ । अनि म बन्धनमा परें भन्ने पनि याद छ ।
यी सब जासूसी कथाझैं लाग्छ । माइकको कोठामा यौटा सन्तोषको हाँसो उठेको थियो र खुशीले बेहोस भएर ऊ कराएको थियो- “मैले फेरि अर्को अवसर पाएँ । मैले फेरि अर्को जिन्दगी पाएँ । आहा ! कति सुखमय रात छ आज ! कति रमाइलो र कति आह्लादपूर्ण …!”
“तिमी के चाहन्छौ मिस्टर माइक ?” मैले बिस्तारै सोधेकी थिएँ ।
“म केही चाहन्नँ एली । म केही चाहन्नँ ! तिमीलाई थाहा छ म केही चाहन्नँ । के मलाई तिमी खराब ठान्छौ ? यस्तो भूल नगर एली ।” माइक बरबराउँदै जान्छ, “तिमीलाई थाहा छ म हिजो मात्र साठी वर्ष लागें-आधा शताब्दीभन्दा बढी । दोस्रो विश्वयुद्धमा म नेमीको कप्तान थिएँ । म लडें, खूब लडें र थाहा छ त्यही लडाइँले मलाई कर्नेल बनायो ।
“मेरो हातमा यसरी सिक्री लाइदिनाको कारण माइक ? तिम्रो इरादामाथि मलाई शङ्का लाग्छ, मैले पुलिस त बोलाउन नपर्ला …।” ऊसँग म अलि कड्किन खोज्छु । तर मेरा वरिपरि सारा कुराहरू घुमिरहेका छन् । गो गो … गर्ल दी पार्क, बाल्टिमुर, न्युयोर्क र बोस्टान । मेरो पहिलो ब्याय फ्रेन्ड लेमिट । मेरो मुटुमा पहिलो प्रेमको रेखा कोर्ने लेमिट । लेमिटको बलिया हातहरू र क्यालिफोर्निया गएर रङ्गीन दिन बिताउने उसका इच्छाहरू । डिसनेल्यान्डमा पुगेर रोमाञ्चक काल्पनिक यात्रा गर्ने उसका सपनाहरू । मलाई फेरि रिंगटा लाग्छ- लेमिटका आँखाहरू सम्झेर । ती आँखाहरू साटिन्छन् र त्यहाँ जेक देखा पर्छ । जेकका कोमल औंलाहरूमा मैले लगाइदिएको इटालियन औंठी । त्यसले त्यो औंठी बेचेर खाइसक्यो होला । र … र… र… अनि यो बूढो माइक मबाट के चाहन्छ ? त्यही साधारण खेल खेल्न चाहन्छ, त्यही विसङ्गत इच्छा ! मलाई सारा स्थिति राम्ररी थाहा छ ।
“अहिलेसम्म मैले बिहे गरेको छैन एली । म कुमार छु । म जवान छु र म धनी छु । मेरो बैङ्कब्यालेन्स थाहा छ तिमीलाई पचास लाख डलर । के चानचुने रकम हो ? …” माइक पहिलेको भन्दा बढी उत्तेजित छ, “जो कोही सोह्र वर्षकी केटीलाई म बिहे गर्न सक्छु एली ! तर … तर … तर म कुमारी केटीको लोभमा छु । ठान एली यो मेरो बहुलट्ठीपन हो । क्रेजिनेस ….”
अकस्मात् मलाई लाग्छ कि बूढो माइकलाई म भनिदिऊँ – “सत्य ! म कुमारी केटी होइन । सेक्सलाई पवित्र ठानेर जिन्दगी डुबाउने ठिटी होइन ।”
तर बियरमा लगिएर माइक त्यसरी नै कराइरहेछ- “हरेक कुमारी आई मिन ‘भर्जिन’ केटीलाई ल्याउनु । यस कुर्सीमा तिमीलाई जस्तै राख्नु । सम्फ एली … त्यसरी नै … तिमीलाई जस्तै ट्यापमा पार्नु, बन्धनमा पार्नु … मृगलाई जस्तै अनि … अनि वान टु… श्री … वान … टु … !”
“के रे माइक ! यु सन अफ बिच (कुकुर्नीको छोरा) । …” मलाई थाहा छ- म अलि बढी उत्तेजित हुन्छु । बिजुलीको मद्धिम उज्यालोमा सारा स्थितिहरू भ्रमपूर्ण लाग्छ ।
अनि यौटा बाघले जस्तै माइक मलाई एक्कासि झम्टन्छ । ऊ मेरो बेसरीलाई मिनेटभरमा दुई टुक्रा पारेर च्यात्छ । र मेरो हुजलाई यसरी जथाभाबी च्यातचुत गरेर धुजाधुजा पार्छ कि आँखा खोलेर हेर्दा मलाई थाहा हुन्छ मेरो जीउमा लुगाको एक धरोसम्म छैन । जोकोही लोग्नेमान्छे यस्तै क्रेजी हुन्छ । जोकोही लोग्नेमान्छे यस्तै जङ्गली काम गर्न रुचाउँछ ।
“मलाई यसरी नङ्ग्याउन मन पर्छ माइक तिमीलाई !”
“हो एली ! किनकिन हरेक कुमारी केटीको कुमारीत्व मलाई मन पर्छ । तिमी कुमारी छ्यौ । कति, उन्नाइस लाग्यौ । स्विट नाइन्टिन । कति राम्री … ।” र माइक आफ्ना ओठहरू जोड्न कोसिस गर्छ । मलाई धेरैबेरसम्म अँगालो मार्छ र फेरि भन्छ, “वर्ष दिन भयो बुझ्यौ । तिम्रो कुमारीत्व लुटिदिने इच्छा मलाई जागेको । मिनीस्कर्टका नाङ्गा पिँडौलाहरू देखाएर तिमी बुरुकबुरुक उफ्रेर स्कूल जान लागेकी मैले वर्षों दिनसम्म हेरिरहें…। हेरिरहें । तिमी जाने जर्ज वासिङ्टन युनिभर्सिटी न हो । त्यही विस स्ट्रिटमा । र यस वर्ष दिनका बीच तिमीजस्ता बाह्र पुतलीहरूलाई मैले आफ्नो बनाएँ । तर तिमीलाई भने बगैंचाको फूलजस्तै मैले बढ्न दिएँ । अब त तिमी फक्रन लाग्यौ एली ! र फक्रेपछि के हुन्छ- तिमी पनि अरू जस्तै बूढी बोक्सी हुन्छयौ ?” माइक यौटा लामो कथा भनिरहेछ ।
मलाई ‘दि वासिङ्टन पोस्ट’ का क्राइम एन्ड जस्टिस्का कलमहरूमा हतारहतार आँखा दौडाएजस्तो भान भइरहेछ । आज भर्जिनियामा ड्युकले फेलिनालाई दिउँसै सडकमा रेप गर्यो । आज यसो भयो… उसो भयो । क्राइम भयो । दुर्घटना भयो । कति सङ्कष्टले घेरिएर बाँचिरहेछ यो देश ।
“आहा ! आज कति रमाइलो होला एली मलाई । ‘रिएल्ली आई स्याल इन्ज्वाए भेरी मच टु नाइट ।’ कति छाँट परेको शरीर छ तिम्रो । जिन्दगी भनेको यही न हो । केही रमाइलो केही साटासाट … यसैका लागि न मान्छे बाँच्छ… ।” माइक मेरै छेउमा आएर बसिसकेको छ र मेरो कानमा साउती गरिरहेछ ।
“साठी वर्षको यत्रो लामो अवधिमा तिमीजस्तो ‘भर्जिन’ केटी मैले नभेटेको होला एली । कति प्यारी छौ तिमी । कति मायालु । म भाग्यमानी छु निश्चय नै …।” माइकको टेप खुल्दै जान्छ- “तर मेरो यौटा प्रश्न छ एली तिमीलाई … के साँच्चै तिमी कुमारी छ्यौ ? कस्तो मूर्ख प्रश्न सोधिरहेछु म तिमीलाई । साँच्चै अहिलेसम्म तिमी कोहीसँग परेकी छैनौ ? मलाई थाहा छ तिमी चोखी छ्यौ एली । तैपनि म तिम्रै मुखबाट सुन्न चाहन्छु- विलिभ मी माइक ! रिएल्ली आई एम भर्जिन … रिएल्ली … ।”
हरे ! म के जबाफ दिऊँ यस बूढो माइकलाई। मेरा अगाडि थुप्रै अनुहारहरू आउँछन् । थुप्रै आँखाहरू आउँछन् । कति टाढा छ त्यो समुद्र । कति टाढा छ त्यो माथिको आकाश । कति नजिक आइरहेछ फेरि त्यो ‘कोनी आइजलैन्ड ।’ लेमिटको यही सोधाइ थियो । जार्ज यसरी नै सोध्थ्यो । जेसस जेसस … यो ढाँट्नुपर्ने सङ्कष्टबाट मलाई मुक्ति देऊ । मलाई रक्षा गर मेरो लर्ड । हरेक लोग्नेमान्छेलाई मैले तिनै शब्दहरू सुनाइदिनुपर्छ- “पहिलोपल्ट म तिमीलाई प्रेम गर्न लागेको छु । म कुमारी छु र भित्रदेखि नै तिमीलाई चाहन्छु ।” माइकका नीला आँखाहरू गुलुफझैं बल्न लागेका छन् । म के गरूँ ? यो रात पनि मिसिसिपी नदीजस्तै लामो भएर गइरहेको छ ।
“माइक ! पहिले त्यो बटन थिच र मलाई बन्धनबाट मुक्त गर …?” अलि शान्त भएर म भन्छु ।
“अब त्यस्तो हुन सक्तैन एली ! त्यसै मेरा केसहरू सेता भएर फुलेका छैनन् । तिमीजस्ता थुप्रै ठिटीहरूको धुर्त्याइँबाट म परिचित छु । मेरो प्रश्नको साँचो जबाफ देऊ डियर एली !” माइक हाँस्छ र मलाई भने दिक्क लाग्छ । आँखा भारी भएर आइरहेछ ।
“बिहान हुनै लाग्यो, मलाई तङ नगर माइक । … म कुमारी नहुन सक्छु … म तिम्रो सोचाइजस्तो नहुन सक्छु !”
म कुमारी नहुन सक्छु भन्ने कुरा माइक बुझ्दैन । उसका आँखाहरू अहिले राता भइसकेका छन् र खाउँला झैं ऊ मात्र मलाई हेरिरहेछ ।
“मेरो व्यक्तिगत कुरासँग तिम्रो के सम्बन्ध माइक । म पूरै कुमारी हुन पनि सक्छु, नहुन पनि । यो मेरो समस्या हो तिम्रो होइन ।”
“हो थाहा छ एली । मलाई राम्रै थाहा छ । सबै अविवाहित ठिटीहरू कुमारी नै हुन्छन् भन्ने म विश्वास गर्न सक्तिनँ । मलाई त कुमारीत्वसँग लोभ छ ।” माइकलाई रक्सी लागिसकेको छ ।
मलाई आफ्नो कमजोरीमाथि घृणा लागिरहेछ । भोलिका सपनाहरूदेखि अविश्वास बढिरहेछ । म कसरी टुक्रिँदै गइरहेको छु । सिद्धिँदै गइरहेको छु ।
“मेरो प्रश्नको जबाफ दिन्नौ एली ।”
“मसँग जबाफ छैन मूर्ख माइक । मसँग केही जबाफ छैन- तिम्रो क्रेजी प्रश्नको । ठिटीहरूलाई कुन आँखाले हेर्छौं तिमी बूढाहरू कुन्नि …
“तिमी कुमारी छैनौ भने … तिम्रो यो पहिलो सुखद अनुभव हुँदैन भने, मेरा वर्षवर्ष दिनका सोचाइहरूसँग तिम्रो भेट हुँदैन भने एली… डियर एली ।” माइक रुन लागेको छ- केटाकेटीजस्तै ।
“मैले तिमीलाई चोट पुऱ्याएँ माइक । मलाई माफ देऊ … ।”
माइकसँग पनि त्यही भ्रम छ, जो यस शहरका हरेक लोग्नेमान्छेहरूका आँखामा छ । त्यही माइक अहिले मुस्काएर मलाई सोधिरहेछ- “हाउ आर यु एली … ?” म के जबाफ दिऊँ । कस्तो वाहियात सोधाइ हो यो ।
लाग्छ, माइक पनि पुरानो भइसक्यो । यो शहर पनि पुरानो भइसक्यो । यो जब छाड्न पाए पनि हुने । त्यसको अर्थ हुन्छ यो शहर छाड्नु । भ्रम लिएर बाँचेका माइकका जस्ता थुप्रा आँखाहरूलाई छाड्नु र अर्को नयाँ शहरमा जानु । कुनै धेरै टाढाको शहरमा जानु । कुनै नयाँ सपनाहरू देख्नु । म आफै कति पुरानो भइसकें … कति सीमित भइसकें … कति टाढा भइसकें । मेरो भगवान् । म तिमीबाट कति टाढा भइसकें । त्यो मेरो सपनाको नयाँ शहर कति धेरै टाढा छ भगवान् । हे मेरो क्राइस्ट !! एली आफू भित्रभित्रै काँप्छे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
७ माघ २०८२, बुधबार 










